Wednesday, September 7, 2016

शैक्षिक प्रतिष्ठानहरूमा किन उथलपुथल?

सुमेन्द्र तामङ

'Perhaps, you pronounce this sentence against me with greater fear than i received it'

यी शब्दहरू इटालीको महान् दार्शनिक, कवि अनि विचारक गियारदोनो ब्रुनोले भनेको हुन्। गियारदोनो ब्रुनो 16 औ शताब्दीका सर्वश्रेष्ठ चिन्तकहरू मध्ये एक हुन्। उहाँले समय, विज्ञान र विचारको प्रगतिशीलता र परिवर्तनलाई बुझेका थिए। त्यसबेला रोम साम्रज्यको निरन्तर रुढीवादी सोचलाई चुनौती दिएर, वैज्ञानिक तथ्यहरूलाई प्राथमिकता दिने गर्थे, ब्रुनो। रोम साम्रज्यको आखाको छारो भएका थिए उनी। ब्रह्माण्ड अपरमित छ र यसको केन्द्र पृथ्वी? त के अरू केही पनि हुन सक्दैन भनी मान्थे ब्रुनो।  यसैले यही सोच र विचारले गर्दा ब्रुनोलाई मध्यान्हको उज्यालोमा हजारोँ मानिसको अघि ज्युदै जलाएर मारियो, रोमको क्याथोलिक चर्चले। तर त्यो सोच र विचार भने त्यही जलेको आगो झैँ संसार भरि फैलिएर गयो। सन् 1600 मा केवल, ब्रुनोलाई जलाईएन, त्यस दिन विचार र बोलीको अधिकार माथि पनि हमला भएको थियो। रोम साम्रज्यले आफ्नो 'धार्मिक सत्य' लाई थोप्नु र बचाउनुको निम्ति विज्ञान, सोच र बोली माथि हिंसात्मक र वर्चस्वको थप्पा लगाई दियो। त्यस दिन देखि गियारदोनो ब्रुनोलाई स्वतन्त्र सोच र बोलीको अग्रदुत मानिने गरिन्छ। उहाँले विज्ञान र समाजको प्रगतिको निम्ति आफ्नू ज्यान समेत त्यागी दिए र उहालाई यो पनि थाहा थियो कि यो बलिदान त्यसै खेरो जाने छैन भनेर र इतिहास साक्षी छ, ब्रुनोको बलिदान त्यसै खेरो गएन पनि। 
'Freedom of thought and speech' को कुरा गर्दा भारतमा धेरै हल्ला-खल्ला भइरहेको छ। भारतको विभिन्न ठाउँहरूमा धार्मिक, अर्थनीतिक र वैचारिकरुपमा कट्टरवादी वर्चस्व भइरहेको छ। काश्मिर देखि तमिलनाडु र मणिपुरदेखि गुजरात चारै दिशामा स्वतन्त्र सोच र वाणी माथि निरन्तर हमला भइरहेको छ। 'बोल्नु पनि पिर र नबोल्नु पनि पिर' भने झैँ भारत को राजनैतिक र सामाजिक हालत अहिले धेरै सोचनीय अवस्थामा आइपुगेको छ। ठाउँ-ठाउँमा व्यक्तिगत रूपमा बोक्सी हत्या 'witch hunt' भइरहेको छ। हैदेराबाद विश्वविद्यालयमा रोहित वेमुलाको संस्थागत हत्या 'institutional murder' पछि देशभरिनै रिस र प्रतिरोधको भक्कानो र आवाजहरू उठेको छ, उठेको छ भन्नु त भारतको क्रान्तिकारी इतिहासलाई हेला गर्नु जस्तो हुन्छ तर पनि रोहित वेमुलाको त्यो शोषित पीडित कथा र आत्महत्याको चिठीले गर्दा आन्दोलनको स्थर निक्कैनै माथि पुगेको छ। यस दमन र शोषणको गाठोलाई तोड्ने प्रयासमा देशभरि विभिन्न विश्वविद्यालयहरूमा, विभिन्न ठाउहरूमा, गल्ली-गल्लीहरूमा प्रतिरोधको तरंगहरू उठिरहेको छ। दिल्ली स्थित जवाहरलालनेहरू विश्वविद्यालय एउटा यस्तो ठाउँ हो जहाँ व्यक्तिगत र सामूहिक स्वतन्त्रताको प्रश्नहरू धेरै दशक देखि नै चली आइरहेको हो। जे. एन. यु मा स्वतन्त्र विचार र वाणीको अधिकारको निम्ति, विगत तीन महिना देखि निरन्तर आन्दोलन भइरहेको छ। सङ्घ परिवारको कट्टरवादी -फासिवादी विचारधारालाई विरोध गर्दै, विद्यार्थीहरूले आन्दोलनको बाटो लिएको छ। क्याम्पसमा बढ्दो दमनकारी र वैचारिक वर्चस्वको विरोधिताबाट शुरु भएको यो आन्दोलन आज देशभरि नै एउटा नयाँ बिजुलीको रूपमा अघि आइरहेको छ। फेब्रुअरी 9 तारिक अफज़ल गुरुको फासी माथि सांस्कृतिक कार्यक्रमबाट शुरु भएको वार्तालाप 2 हप्ता भन्दा ज्यादाको 'mass hunger strike' मा आएर उभिएको छ। RSS-BJP-VHP-ABVP को गणत्रन्त्र माथि बारम्बार हमलाको कारणले गर्दा, कट्टरवादी-फासिवादी-रुढीवादी को विरोधिताको रूपमा भारतवर्ष भरिनै यस्ता राज्य विरोधी आन्दोलनहरू डढेलो लागेझै सल्की रहेको छ। जे.एन.युका विद्यार्थीहरू, कतिपय शिक्षकहरू र यस आन्दोलनलाई समर्थन गर्ने समस्त मानिसहरूलाई 'anti national' र 'sedition' को ट्याग लगाई दिइसकेको छ यस मोदी सरकारले। प्रश्न गर्नु को फल हो यो, केवल प्रश्न मात्र होइन अफ्ट्यारो र सत्ता, पुँजी विरोधी प्रश्न गर्नुको फल हो यो। कन्हैया कुमार, उमर खालिद, अनिर्बन भट्टर्चार्य र अन्य विद्यार्थी अनि राजनैतिक कर्मीहरूलाई थुनी दियो, यो गणत्रन्त्र देशको प्रतिनिधिहरूले। आफ्नू हक र अधिकारको निम्ति जे.एन.यु का विद्यार्थीहरू र शिक्षकहरू अनिशितकालिन भोक हड्तालमा बस्नु बाध्य भए। भोक हड्तालमा कति धक्मीहरू आए, कति जना त हस्पतालमा भर्ना पनि भए। जे.एन.यु का यी विद्यार्थी र शिक्षकहरूलाई आतङ्कवादीको उपाधी पनि दिइयो। कति जना विद्यार्थीहरूको घरमा धम्कीको पत्र पनि पठाइयो। 'भारत माता कि जय' नभन्नु अब भारत विरोधी हुनु थियो। फेब्रुअरी 14 को दिन कन्हैयाको पटियाला कोर्टको सुनवाईको दिन बि.जे.पीको एम.एल.ए, ओ.पी शर्माको नेतृत्वमा कालो कोर्ट लगाएका (lawyer) संघीहरूले, कोर्ट बाहिर धर्ना गर्दै गरेका विद्यार्थीहरूलाई पिट्नु सम्म पिटे। अर्को तर्फ, जे.एन.यु को प्रवन्धनले High Level Enquiry Committee (HLEC) को गठन गयो। HLEC को रिपोर्ट अनुसार उमर, अनिर्बन र मुज्जेब गत्तो लाई युनिवर्सिटीबाट निकाली दियो भने कन्हैयाले 10,000 रुपियाँको जरिनामा दिनु पयो। HLEC को यही निर्णयको विरोध गर्दै आमरण भोक हड्तालको घोषणा गरेको थियो। 2 हप्ता भन्दा ज्यादाको भोक हड्ताल पछि उच्च न्यायालयले HLEC को निर्णयलाई स्टे अर्डर दियो। अहिले जे.एन.यु का विद्यार्थीहरू अझै आन्दोलन तर्फ जाने र यस फासिवादी विचारधारालाई विरोधिता गर्ने संकल्पमा अघि बढी रहेका छन्। 


यो त भयो दिल्ली च्याप्टर, कलकत्ताको जादवपुर विश्वविद्यालयमा पनि ABVP-BJP-RSS को हमला चली नै रहेको थियो। जे.एन.यु आन्दोलनको समयनै जादवपुर विश्वविद्यालयको विद्यार्थीहरू माथि ABVP का गुण्डाहरूले हमला गरिरहेका थिए। जे.यु क्याम्पसलाई ध्वंस पर्ने आशा बोकेर जे.यु को गेट नम्बर 4 मा संघी हरू र विद्यार्थी हरूको लगभग 1 घण्टा सङ्घर्ष भएको थियो त्यसबेला। त्यसबेला जे.यु का शिक्षक शिक्षिकाहरूले विद्यार्थीहरूसित मिलेर मानववन्धन बनाएर क्याम्पस भित्र यी संघीहरूलाई छिर्नु दिएनन् र यस कुराले मानौं तिनीहरूको इज्जतमा आघात लागेको थियो। मई 6 तारिकको दिन ABVP को सदस्यहरूले ( हुन् त, जे.यु मा ABVP कुनै युनिट छैन ) विवेक अग्निहोत्रीको 'Buddha in a Traffic Jam' भन्ने चलचित्रको प्रदर्शन गयो। यो चलचित्रको विषय लिएर कुरा गर्न जादा गुगल मा यसको रिविउ मात्रै पढे हुन्छ, जे होस् यो चलचित्र जुन सुकै विचारधारामा आधारित् भए ता पनि, यस चलचित्रलाई हेर्ने वा प्रदर्शन गर्ने सबैको समान हक छ। यही नै हो सोच र वाणीको स्वतन्त्रता, जसको निम्ति हामी सबै लडी रहेका छौ। स्वयम् विवेक अग्निहोत्री पनि थिए त्यो दिन जे. यु क्याम्पसमा। अग्निहोत्रीले 40 मिनेट को वक्तव्यमा धेरै उल्टा पाल्टा शब्द र लजिकहरू बोले, जे .यु को विद्यार्थीहरू माथि अनावश्यक इल्जामहरू पनि लगाए। जे.एन.यु को आन्दोलनलाई 'anti-national', देशद्रोही बताए। तर पनि, ठिकै थियो आफ्नू मत र विचार राख्नु सबैको हक हुन्छ। अर्को तर्फ, जे.यु का विद्यार्थीहरूले पनि मुजफ्फरनगर बाकी है भन्ने साम्प्रदायिक दंगामाथि बनाइएको वृत्तचित्र प्रदर्शन गर्ने निर्णय लियो र यो विद्यार्थीहरूको बराबर हक हो। तर, ABVP का सदस्यहरूले विद्यार्थीहरू माथि हमला गयो। यिनीहरूको अनुसार, जे.यु का विद्यार्थीहरू मार्क्सवादी र आतङ्कवादी विचारधारा बोकेका सामाजिक किराहरू अरे! जे.यु को केटी हरू वेश्याहरू अरे! यसैले जे.यु लाई यस्तो दर्शनबाट मुक्त गराउने यिनीहरूको कर्तव्य हरे ! 4 जना ABVP को सदस्यहरू माथि मोलेस्टेसनको चार्ज पनि गरियो तर त्यो भने चार्ज को चार्ज नै भएर गयो, परिणाम भन्ने केही पनि आएन शायद भारतको न्यायपालिका यस्तै नै छ होला, मान्छे मरीसके पछि मात्रै हेयारिंग को डेट आउने ! मई 9 तारिक को दिन फेरी ABVP-BJP-RSS को कर्मीहरूले जे.यु हमला गर्ने कल दिए। यिनीहरूको उदेश्य जे.यु भित्रै आएर विद्यार्थीहरूलाई कुट्ने, केटिहरूलाई बलात्कार गर्ने अनि जे.यु मा आतङ्क फैलाएर ABVP को युनिट गठन गर्ने थियो। त्यस दिन क्याम्पस बाहिर तीन वटा ब्यरिकेड लगाएको थियो, पुलिसले। ब्यरिकेड को यस तर्फ भने विद्यार्थीहरू स्लोगन दिँदै अनि अर्को तर्फ भने संघीहरू हात-हातमा कट्टी बोकेर। यस्तो खतरनाक स्थितिहरूसंग गुज्रिनुपर्ने अवस्था आइसकेको छ अहिले, जहाँ निरन्तर धम्की, खतरा छ समस्त जनतालाई, प्रश्न गर्नु मनाइ छ यहाँ तर पनि प्रश्नले नै त विद्रोहको बाटो गोडछ। अहिले पनि जे.एन.यु, जे.यु र समस्त प्रश्न गर्ने मगजहरूलाई निरन्तर धम्की आइनै रहेको छ तर लडाई जारी नै छ, जारी नै रहने छ। 
सोक्रेट्सले प्रश्न सँग नै विद्रोह शुरु हुन्छ भने झैँ अहिले भारतवर्षमा सत्तामा बस्नेहरूको कुरा नसुन्नु र तिनीहरूको विचारधारा नमान्नु भनेकोनै भारत विरोधी हुनु हो। जे.एन,यु र जे.यु को मूल कुरा यही नै थियो। हिप्नोटाइज गरे झैँ सत्तामा बसने फासीवादका चम्चाहरूले भनेको कुरा मान्यो भने देश प्रेमी, नत्र देशद्रोही यही नै हो अच्छे दिन मोदी ज्यु ले भनेको। राष्ट्रवादको नाममा यहाँ बिजिनेस चली रहेको छ, राष्ट्रवादको मुकुट ओडेर यहाँ धार्मिक हिन्दु कट्टरवादीहरूले हिंसा, रगत र ज्यानको होली खेली रहेको छ। दार्जिलिंग-तराई-डुवर्समा कति वटा बगान बन्द छ, कति श्रमिकहरूको जीविका खत्तम भई रहेको छ, कति केटा केटीहरू पढ्न पाएका छैनन्, दिनहुँ युवा युवतीहरू पलायन भएर घरबार छोडेर केरेला, दिल्ली, बंगलुरु, दुबाई इत्यादि जानु परि रहेको छ ! यस्तो कुरा, यस्ता समस्याहरू मा खोइ त यिनीहरूको राष्ट्रवाद, यिनीहरूको देशप्रेम। पुरै देश भरि नै हालत यस्तै छ, खान नपाएर भोकले ज्यान गुमाउनु पर्ने देश भई सकेको छ भारत, केटीहरू एकलै दुक्लै हिड्दा सौ पल्ट सोच्न बाध्य हुनु पर्ने देश भई सकेको छ भारत, किसानहरूले ऋणको ब्याज तिर्न नसकेर आत्महत्या गर्नु पर्ने स्तिथिमा पुराउने देश भई सकेको छ भारत, विद्यार्थीहरूलाई प्रश्न न गर्नु दिने देश भइसकेको छ भारत। यी सबै कुरा मा खोइ यी संघी र कांग्रेसीहरूको राष्ट्रवाद र देश प्रेम। राष्ट्रवाद र देशप्रेम भनेको देशमा बस्ने मान्छेहरूको बारेमा सोच्नु, माया गर्नु र एक अर्कालाई दुख पीडामा साथ दिनु पो हो त प्रश्न सोध्नु बन्द गरी दिनु होइन। राष्ट्रवाद र देशप्रेम भनेको देशको गरिब दुखीलाई सामाजिक र अर्थनैतिक सुरक्षा दिनु पो हो त यिनीहरूलाई भोकै मर्नु होइन, देशप्रेम र राष्ट्रवाद भनेको सबैलाई हक र अधिकार दिनु पो हो त त्यसलाई चिर फार गर्नु होइन। यी संघी परिवारले हिन्दु कट्टरवादको हात पक्रिएर देशको विद्यार्थी, आदिवासी, दलित, मजदुर वर्ग सबैलाई बेची खाई रहेका छन्। बस्तारमा आदिवासी-दलितहरूमाथि निरन्तर हमला पनि यही फासिवादी- पुँजीवादीहरूको षड्यन्त्र हो। यी सबै कुरा लिएर मिडियाको पनि ठुलो भूमिका छ, तर धेरै जसो मिडिया हाउसहरूले साचो खबर नदिएर जनतालाई अँध्यारोमा हाल्ने काम गर्छ र 'मिडिया ट्रायल' गरेर नै अपराधी घोषित गरी दिने काम गरिदिन्छ। हामीले यो कुरा अर्नब गोस्वामीबाट बुझ्न सक्छौ। मिडिया-पुलिस-प्रशासन मिलेर जनतालाई अन्धकारमा राखने कुचक्र चलाई रहेको छ। विरोधको आवाजहरूलाई बमले हुन्छ कि 'भारत विरोधी' को हतियारले हुन्छ निरन्तर दमनको सांग्लोमा राखने प्रयास चलाई नै राखेको छ। BJP-ABVP-RSS र समस्त सङ्घ परिवारको बाटो र विचारधारामा हिड्ने हो भने भारत हिटलर को जर्मनी र मुस्सोलिनी को इटाली भन्दा पनि भयंकर र हिंसक देशमा परिणत हुने छ। यस अन्धकार भविष्यबाट निक्लनु छ भने  सबै मिलेर लडाई लड्ने पालो आइसकेको छ। एकजुट भएर, एक साथ भएर।   


No comments:

Post a Comment