Wednesday, September 7, 2016

सम्पादकीय : मई-जुलाई 2016

हाम्रो पर्यावरण!

वाट्स्यापमा एउटा मेसेज आयो कि "एउटा मान्छेले एक दिनमा प्राय 3 लिटर अक्सिजन लिन्छन्। जापानको एउटा कम्पनीले हिसाब गरे अनुसार 1 लिटर अक्सिजनको दाम 700 रुपियाँ हो। त, 3 लिटरको दाम रु. 2100, यसको मतलब एक वर्षको खर्च पर्यो रु. 7,66,000 अनि एउटा मानिस यदि हरदर 65 वर्ष सम्म बाँच्यो भने अक्सिजनको खर्च हुन्छ प्राय 5 करोड रुपियाँ। अब, यही 5 करोडको अक्सिजन अहिले हामीले हाम्रो वरिपरि भएको रुखपात द्वारा निःशुल्क पाइरहेका छौ। त्यसैले आशा गर्छौँ कि तपाईँले यिनीहरूको आदर गर्नु हुनेछ साथै सङ्ख्यामा पनि यिनीहरूलाई बढाउनु हुनेछ।” 
5 जुन, विश्व पर्यावरण दिवस, धेरैवटा मेसेज, धेरै लेख, धेरै चर्चा तर जुन प्रकारको विकासको मोडेल देशले अप्नाई रहेको छ त्यो पर्यावरणको लागि त खुबै खतरनाक छ। जुन दरले मानिसको जनसङ्ख्या बढ्दैछ त्यो भन्दा द्रुतगतिमा रुखपात जङ्गलको सङ्ख्या घटी रहेको छ। गाउँ शहरमा र शहर नगरमा परिणत भइरहेको छ। जस्तो प्रकारले शहरीकरण बढ्दैछ, बाटोघाटो फराकिलो हुँदैछ तर त्यही अनुपातमा रुखपातको कटाइ चल्दैछ। सिलिगुडी बागडोगराको कैयौँ दशकदेखि विद्यमान रुखहरूको कटाइ फटाफट चलिरहेको छ एसियन हाइवेको नाममा। उत्तरायणको टाउनशिपको निम्ति चादमनी कमान उखेलियो रातारात त्यो सँगै कैयौँ रुखहरू काटियो र अन्तमा कंक्रिटको महल तैयार भयो जसले प्रदूषण बाहेक अरू केही दिंदैन। अर्कोतिर प्रदूषण सम्हाल्नको निम्ति चाहिएको रुखपात कम्ती हुँदै जाँदैछ। देशको सन्दर्भमा, विगतको 30 वर्षमा 23716 वटा औद्योगिक परियोजनाको लागि विशाल जङ्गल क्षेत्र हराइसकेको छ। हुनेखाने एउटै मानिसको घरमा दुई तीनवटा गाडी हुन्छ, प्रदूषणको अर्को कारण। 
पहाडकी रानी दार्जिलिङ, जहाँ मानिसहरू हावा-पानी बदलिनु, राम्रो स्वास्थ्य बनाउनुको निम्ति जाने गर्थे, त्यही पहाडकी रानीको दयनीय अवस्था देखेर मेरो मन कुडिएर आउँछ। दार्जिलिङको साघुरो बाटोहरू जम्मै मानिस र गाडीको भिडले खचाखच भरिएको छ। भूकम्पको केन्द्रमा स्थित आफूले थामिनसक्नु भारले थिचिएको पहाड दुखाइले चिच्याइरहेको छ। तर बिल्डिंग पछि बिल्डिंग बनाउने मानिसहरूले शायद यो आर्तनाद सुन्न सक्दैनन् कि? नत्र भने तिनीहरू आफ्नै चिहान किन खन्थे। सौदर्यको खानी दार्जिलिंगमा एउटा पनि पुतली देख्न नपाउनु कस्तो आश्चर्यजनक हो! यसैले त्यहाँको पर्यावरणको क्षय भएको बुझाउछ, कारण पुतली भनेको पर्यावरणको सूचक हो। पहाडको स्थिति भयावह हुँदै जादैछ भन्ने कुरामा अत्युक्ति हुने छैन। उत्तराखण्डमा के भएको थियो, कसरी बिर्सिन सक्छौँ हामी? 
त्यसैले यदि पर्यावरण दिवसमा केही गर्ने हो भने यी सबै विषयलाई रामरी नियाल्नु पर्ने छ र चाडो भन्दा चाडो काममा उत्रिनु पर्छ कारण चर्चा मात्रै गरेर केही हुने वाला छैन। पर्यावरणलाई हानि पुर्याउने ठुलठुलो परियोजनाहरू कर्पोरेट संस्थान र सरकार बाट तयार हुन्छ, त्यसलाई विरोध गर्नुपर्छ, रोक्नुपर्छ। अर्कोपट्टि, आफ्नै घर वरिपरि आफ्नै गाउँ घरमा पर्यावरण संरक्षणको बारेमा के गर्नु सकिन्छ त्यो सोचेर, त्यही अनुसार काम गर्नु थाल्नु पर्छ। नत्र भने चाडै हामी पनि किनेको अक्सिजनमा बाँच्न बाध्य हुनेछौं तर 5 करोड त सबैकोमा हुँदैन त्यसैले तिनीहरू मात्र बाच्नेछन् जसकोमा करोडौ रुपियाँ छ। यहाँ चाखलाग्दो कुरो के छ भने जसकोमा अहिले करोडौ रुपियाँ छ तिनिहरूनै आफ्नो स्वार्थपूर्तिको लागि पर्यावरणलाई दाउमा लगाई रहेका छन्, त्यसो त तिनीहरू आज पनि बाचिरहेका छन् भोलि पनि बाँच्नेछन् त हामी साधारण मानिसहरू आजै सचेत भएर किन पर्यावरणको रक्षाको निम्ति आवाज नउठाउनु? कारण भोलिको निम्ति आजै सोच्ने बेला आईसकेको छ।

No comments:

Post a Comment