Wednesday, September 7, 2016

भारतमा आधुनिक दासत्व


प्रियशिखा राई

दासत्वको इतिहास पल्टाएर पूर्व समयदेखि आधुनिक समयसम्म यो लगभग हरेक संस्कृति, राष्ट्रियता र धर्ममाझ फैलिएको छ। तर यसको सामाजिक, आर्थिक र कानुनी ढाचा भने विभिन्न ठाउँ र समय अनुसर भिन्न-भिन्न रहेको छ। दासत्व अथवा गुलामी दमनको सबैभन्दा खराब रूप हो जहाँ एउटा मानिसको कुनै पनि प्रकारको स्वतन्त्रता हुँदैन। आफ्नो शरीर लिएर होस् वा काम लिएर। पुँजी भएको मान्छेले नभएकोलाई पुँजी वृद्धि गर्ने एउटा यन्त्रको दर्जा मात्र दिएर निरन्तर शोषण गर्दै आएको इतिहास छ। यस व्यवस्थालाई समय अनुसार शासक वर्गले आकार दिदैं आएको छ र यस्तो दमनको शिकारहरू पनि एकै रूपमा शोषित हुँदै आएका छन् र भइरहेका छन्। शाषक वर्गको पनि केवल नाम र अनुहार बदलिएको छ, पहिला दास मालिक थिए भने आज पुँजीवादी छन्।
जब-जब अत्याचार र शोषण भएको छ आवाजहरू एक भई हक र अधिकार खोज्दै बाटोमा ओर्लिएकै छ। दासत्वको विरुद्ध पनि लडाई 16-17 शताब्दी देखि नै शुरु भएको हो। अफ्रिका-अमेरिकाको दासत्व खिलाफ 1688-को जर्मन टाउन क्वेकर प्रोटेस्ट पहिलो ठुलो विरोध थियो। लडाई जारी नै रह्यो। यसरि कैयौँ वर्षसम्म चलेको गुलामीको खिलाफ मानिसहरूले निरन्तर लडाई गरे फल्स्वरूप उन्नाइसौं शताब्दीमा आएर विभिन्न राष्ट्रहरूले दासत्व रद्द गर्ने ऐनहरू पारित गरे। 20 औ शताब्दीमा युनाईटेड नेसंन्सले वैश्विक दासत्वको खिलाफ विभिन्न घोषणाहरू गरे। यसै क्रममा भारतले पनि 1843 मा दासत्वमाथि Indian Slavery Act, 1843 द्वारा निषेध लगाए। 
आजको दिनमा विश्वभरि प्राय हरेक राष्ट्रमा दासत्वको खिलाफ कानुन छ। तर अरू अन्याय र शोषण विरुद्ध कानुन पारित गर्दैमा त्यसको अन्त र नयाँ बिहानी नआए जस्तै, दासत्व पनि अन्त भएको छैन। अहिले पनि विश्वभरि नै यो व्यवस्था चली रहेको छ। गरीब मानिसहरूको खून, पसिनाको बदलामा पुँजी एकत्र गरी नै रहेको छ। त्यसैले मालिकवर्गको पुँजी गठनको लागि दासत्वलाई सामाजिक ढाचाको परिवर्तन सँगै अलिकति घटबढ गरेर जारी राखिएको छ। आधुनिक गुलामी विश्व भरि बाध्य श्रम, मानव तस्करी, व्यावसायिक यौन शोषण, बाल श्रम, घरेलु सेवा, आदिको रूपमा जारी छ। अनि यो सुची अझ लामो बनिन सक्छ। 
2013 साल देखि गालअप र वाल्क फ्री फाउंडेशन-ले वार्षिक वैश्विक सर्वेक्षण सञ्चालन गरेर वैश्विक दासत्व सूचकांक प्रकाशन गर्दै आएको छ। 2016-को विश्व दासत्व सूचकांकको निष्कर्षमा 167 राष्ट्रहरूमा 45.8 मिलियन मानिस आधुनिक दासत्वका शिकार भएर बाँचीरहेका छन्। यो रिपोर्ट अनुसार यी राष्ट्रहरू मद्धे जनसङ्ख्याको अनुपातमा सबैभन्दा बेसी दासत्वको सङ्ख्या उत्तर कोरियामा छ, त्यस पछि क्रमैसँग उज्बेकिस्तान, कम्बोडिया, भारत र कतार छ। जनसङ्ख्याको अनुपातमा भारत चौथो स्थानमा रहेता पनि निरपेक्ष दासत्व तथ्याङ्कले भारतमा सबै भन्दा बेसी दासत्वको चलन छ। भारत पछि चीनमा (3.39 मिलियन), पाकिस्तान (2.13 मिलियन), बांग्लादेश (1.53 मिलियन) र उज्बेकिस्तान (1.23 मिलियन) दासहरू रहेको पाइन्छ। यी 5 वटा राष्ट्रहरूमा विश्वभरिको सम्पूर्ण दासत्वको 58% मानिस बसोबास गर्छन्।
गालअप र वाल्क फ्री फाउंडेशन-ले भारतका 15 वटा राज्यहरूमा (देशको 80% जनसङ्ख्या) यो सर्वेक्षण गरे। भारतको 1.4% जनसङ्ख्या आधुनिक दासत्वमा बाँचीरहेका छन्। यो सङ्ख्या केही देश जस्तै निदरल्यांड, क्युबा, स्वीडेन, पोर्तुगल, ग्रीस र अन्य धेरै राष्ट्रहरूका सम्पूर्ण जनसङ्ख्याभन्दा पनि बेसी हो। दोस्रो स्थान ग्रहण गरेको चीनमा आमूल फरक छ जहाँ 18.35 मिलियनको तुलनामा केवल 3.39 मिलियन मानिस दासको जीवन बिताई रहेका छन्।
विश्व दासत्व सूचकांक रिपोर्ट अनुसार दुई वर्षभित्र भारतमा दासत्व 4.1 मिलियन सङ्ख्याले वृध्दि भएको छ। यसको मतलब हो कि 2014-2016 भित्र हरेक दिन 5,616 मानिस दासत्वमा परिरहेका छन्। भारतमा विश्वभरि रहेको हरेक प्रकारको आधुनिक दासत्वको पालन गरेको पाइन्छ। ती हुन् बन्धित श्रम, बाल श्रम, बाध्य विवाह, घरेलु सेवा, वंश दासत्व, व्यावसायिक यौन शोषण, मानव तस्करी इत्यादि। सबैभन्दा खराब अवस्था ईटा बनाउने कारोबारमा छ जसमा धेरै सङ्ख्यामा बन्धित श्रम र बाल श्रम छ। देशको कर्पोरेट वर्गका पूर्वाधारको सुधार, कहिले नटुंगिने आवास स्तरको वृद्धि, हरेक दिन जसो नयाँ कम्पनी, नयाँ ब्रान्ड, नयाँ प्रोडक्ट, नयाँ उद्द्योगहरूको अनियन्त्रित, अनियमित र असन्तुलित मांगहरू पूर्ण गर्नको कारण यी उद्योगहरूमा 'रक्तपातपूर्ण इँटा' उत्पादन् जारी रहेको हो। 
 भारतमा 1976-मा नै बाध्य श्रम त रद्द गरियो तर अहिले ग्रामीण क्षेत्रबाट गरिबहरूलाई कामको लोभमा फसाएर दासत्वमा हाल्ने चलन प्रचलित छ। तिनीहरूलाई धनी-मनिहरू कहाँ घरेलु सेवाको लागि, वेश्यावृत्ति, इटा उद्द्योग, कपडा एकाइहरू र ठुल-ठुला कृषि उद्द्योगमा लगेर बेचिन्छ। महाराष्ट्रमा ऋण दासत्वको व्यापक ढङ्गमा चलन भएको रिपोर्ट छ खास गरी अनियन्त्रित उद्योग जस्तै निर्माण, कृषि, खानी र इटा उद्द्योगहरूमा। केही आदिवासी सामुह मध्ये बिहा-बटुल, उत्सव, अन्त्येष्टिहरूका लागि ऋण लिने चलन प्रचलित छ जसको कारण तिनीहरू ऋण दासत्वको शिकार बन्न पुग्छन्। मानिसहरूलाई अव्यवस्थित रूपमा काम गर्न बाध्य गरिन्छ र उल्लंघन गरेको खण्डमा तिनीहरू गम्भीर रूपमा शारीरिक हिंसाको शिकार पनि बन्न पुग्छ। सरकारी आंकडामा भारतभरि 3,00,000 भन्दा अधिक बाध्य श्रम भेटिएको छ। घरमा काम गर्ने पेशामा त झन् कामको घण्टा निश्चित हुँदैन, समयमा वेतन पाउदैनन्, घर-बार जाने प्रबन्ध राम्रो हुँदैन र कसै-कसैले शारीरिक र यौन हिंसाको शिकार पनि बन्न पुग्छन्। सरकारी आंकडा अनुसार 3 मिलियन नारीहरू व्यावसायिक यौन कार्यमा संग्लन छन् र यी मद्धे 1.2 मिलियन 18 वर्ष भन्दा कम्ती उमेरका हरू छन्। लगभग आधा सङ्ख्या महिलाहरूको बिहे करकाप र उनीहरूको सहमति बिना हुन्छ र यस सम्बन्धभित्र उनीहरूबाट तलबबिनाको श्रम लिइन्छ। National Crimes Record Bureau को रिपोर्ट अनुसार 2009-2015 को अन्तरालमा भारतमा मानव तस्करी 92% ले बढेको छ।
केन्द्र सरकार ले भर्खरै सङ्गठित begging rings , बाध्य वेश्यावृत्ति र बाल श्रम जस्ता दासत्व खिलाफ प्रस्तावहरूमा सहमति त जनाए तर यो गएर कता टुंगिन्छ त्यो नै धमिलो छ। वाल्क फ्री फाउंडेशन-ले केन्द्र सरकारलाई निजी काम दिनेहरूका निम्ति सठीक नीति बनाउने सल्लाह दिए जुन द्वारा बाध्य श्रमको आपूर्तिकरणमा जाँच राख्न सम्भव हुन्छ। तर यो अवस्था सुधार्न सरकारबाट कुनै पनि गम्भीर चेष्टा देखा परेको छैन। हालत प्रत्येक साल झन् खराब हुँदै गई रहेको विभिन्न निष्कर्ष र रिपोर्टहरूद्वारा प्रतिबिम्बित भई रहेको छ। ऐनद्वारा दासत्वको अन्त घोषणा गर्नु आँखामा पर्दा लगाएर अघाडीको चित्र वर्णन गर्नु सरि हो। यसको पहल जटिल छ तर असम्भव भने छैन। हरेक क्षेत्र जहाँ दासत्व चलिरहेको छ त्यसको खुलासा गरी चारै दिशाबाट त्यसको खिलाफ विरोधको सङ्गठित र चर्को आवाज उठनैं पर्छ। 

No comments:

Post a Comment