Wednesday, September 7, 2016

बंगलुरुमा महिला गार्मेन्ट मजदुरहरूको संघर्ष

संगीता खेवा

यो वर्ष मई दिवस आउन अघाडीनै बंगलुरु अनि छेउछाउको ठाउँ जस्तै मुद्दुर, रामनगर, निलामाग्ला अनि श्रीरंगपत्तनममा अप्रेल 18 अनि 19 मा प्राय जसो 3.5 लाख लुगा बनाउने महिला मजदुरहरूले ठुलो आन्दोलन गरे। यो आन्दोलनको मुख्य कारण केन्द्र सरकार द्वारा पी. एफ. निकाल्न नपाइने निर्णयको विरोध थियो। मजदुरहरूले काम रोकेर, बाटो अवरोध गरेर अनि “ मोदी गे धिक्कारा” (मोदी मुर्दाबाद) जस्तो नारा लगाएर आफ्नो विरोध जनाए। आगो जस्तो घामको पर्बाह नगरीकन यी मजदुरहरूले सरकारद्वारा मजदुरहरू माथि गरिएको अन्यायको ओठे जवाब दिए। पी. एफ. सम्बन्धित सुधारलाई वापस लिइयोस् भनेर यहाँका मजदुरहरूले दुई दिनसम्म काम ठप्प राखे अनि बंगलुरुबाट बाहिर जाने मुख्यबाटो अवरोध गरे। आसपासको ईलाकामा पनि मजदुरहरूले यस्तै बाटो अप्नाए। सारा शहरमा धुम मच्चियो। सरकार अनि पुलिसलाई भइरहेको घटनाको धुईपत्तो थिएन। अनि यसलाई कसरी सम्हाल्नु भन्ने कुरामा त झन् तिनीहरू दिशाहीन थिए कारण सरकारको अर्को पट्टि साहसी र जुझारु युवा महिला मजदुरहरू थिए। एक जना मजदुरको भनाइ अनुसार यदि तिनीहरू चुपो लागेर कामबाट निस्केर धर्नामा बसेको भए तिनीहरूले मिडियाको यस्तो आकर्षण पाउन सक्ने थिएनन्। सोचे जस्तै पुलिसले त्यसपछि अन्धाधुन्ध लाठी चार्ज शुरु गरे, आँसुग्यास फ्याके अनि कतिवटा फायरिंग पनि गरे। सबैजसो पुरुष पुलिसको टोलीले यी निहत्ये महिला मजदुरहरूलाई कुट्नु सम्म कुटे। यस्तो निर्मम र बर्बर आक्रमणको अघाडी पनि तर मजदुरहरूले हार मानेनन्, पुलिसको लठ्ठीले तिनीहरूको लक्ष्य र संकल्पलाई भाँच्न सकेन। यिनीहरूको साहसले मोदी सरकारलाई घुडा टेक्नु लगायो अनि सरकारले अहिलेको लागि पी. एफ. सुधारको निर्णयलाई फिर्ता लियो। 
यहाँ यो कुरा खुबै आश्चर्यजनक रह्यो कि पुलिसले किन यस्तो बर्बरता साथ यी मजदुरहरू माथि आक्रमण गयो त? यस्तो उत्तरमा पुलिसले ढुङ्गा फ्याकेको र बसहरू जलाएको आरोप लगायो तर कारण त सहज थियो कि कुनै पनि बुर्जुवा पार्टीको सरकारले मजदुरहरूको यस्तो उभारलाई सहन गर्न सक्छ र? उनीहरूले चाडो भन्दा चाडो यो जनउभारलाई कुल्चनुको लागि मात्रै अफ्नो वफादार सेवकको प्रयोग गरेका थिए। फलस्वरूप मजदुरहरू गम्भीर रूपले घइते भए। त्यसपछि पनि पुलिसले हजारौँ मजदुरहरूमाथि झुठो मुद्दा हाल्यो अनि फ्याक्ट्री देखिनै दुई तीन दिन पछाडि धेरैजनालाई गिरफ्तार पनि गयो। 
एकापट्टि राज्य सरकार अनि पुलिसले सार्वजनिक रूपमा बयान दियो कि यो हिंसाको मुख्य कारकहरू ‘बाहिर’-का मानिसहरू थिए, लुगा फ्याक्ट्रीका मजदुरहरूको यससँग कुनै लेनादेना छैन। तर अर्को पट्टि चाहिँ 19 तारिक पछाडि प्राय 280 जना मजदुरहरूलाई पुलिसले खुबै घातक अपराधको निहुँमा पक्राउ गयो जसमा मान्छे मार्ने प्रयास, हतियार राख्ने अपराध साथै गैरकानुनी रूपले भेला हुने अपराधहरू छन्। धेरै कष्ट गरेर कतिपय मजदुरहरू बेल लिन सफल रहेका छन् भने धेरैजना अहिले पनि जेलमै छन्। राज्य सरकारले यी जम्मै केसहरू फिर्ता लिने बाचा त गरेको छ, तर यसमा कत्तिको सच्चाई छ त्यो त समयले नै बताउछ। 
कर्नाटकामा लुगा बनाउने कारखाना बंगलुरु अनि छेउछाउको ईलाकामा केन्द्रित रहेको छ। प्राय 5.5 लाख मजदुरहरू यहाँको 1500-2000 युनिटले गठित कारखानामा कार्यरत् छन्। जसमा 90% मजदुरहरू महिला मजदुरहरू हुन्। कोयम्बटोर, तिरुप्पुर, इरोड, सलेम, नामक्कल इत्यादि ठाउँमा तमिलनाडु सरकारले ‘मंगलसूत्र स्किम’ शुरु गरेको छ, जसमा गाउँ गाउँबाट महिला मजदुरहरूलाई ल्याएर फ्याक्ट्रीकै ससाना कोठाहरूमा राखिन्छ अनि दिन रात काममा जोताएर केही वर्ष पछाडि मंगलसूत्र दिएर बिदा गरिन्छ ताकी यी केटीहरूको बिहे हुन सकोस्। यस्तै किसिमको केन्द्र सरकारको अर्को योजना अनुसार उडीसा, झारखण्ड इत्यादि ठाउँहरूबाट केटीहरूलाई बंगलुरुको लुगा फ्याक्ट्रीहरूमा काममा लगाइन्छ जहाँ होस्टेलको नाममा यिनीहरूलाई एकप्रकारले बन्दी बनाएर सानो कोठामा बोरा खदाइ गरेर राखिन्छ। यिनीहरूलाई केवल फ्याक्ट्रीबाट होस्टेल र होस्टेलबाट फ्याक्ट्री लगिन्छ। जस्तो प्रकारको अवस्थामा यी मजदुरहरू काम गर्न बाध्य छन् त्यो अमानवीय, शोषणपूर्ण र निर्मम छ। 8 घन्टे कामको लडाई धेरै अघि लडेर लिई सकेको सयौँ वर्ष पुग्दा पनि यी मजदुरहरूले आज पनि काम, ओभरटाइम, आउने जाने समय मिलाएर प्राय 17 घण्टा जस्तो काममै बिताउने गर्छन्। कामको अवस्था झन् तर्साउने सपना जस्तो छ यहाँ। यी मजदुरहरूले स्वच्छ पिउने पानी शौचालयको व्यवस्था धरी पाउदैनन्। एकपल्ट फ्याक्ट्री भित्र पसे पछि यिनीहरूले बाहिरको संसारसँग कुनै प्रकारको सम्पर्क राख्न सक्दैनन् कारण यहाँ मोबाइल फोन वर्जित हुन्छ। म्याक्सिम गोर्कीको ‘आमा’ उपन्यासमा वर्णन गरिएको कामको वातावरण सित यहाँको स्थिति ठ्याक्क मिल्छ फरक यतिनै छ की त्यो आजभन्दा प्राय 100 वर्ष अघाडीको स्थितिको वर्णना थियो र जुन आजसम्म पनि सत्य साबित भइरहेको छ। त्यही माथि पनि यी मजदुरहरूले आफू नारी भएको पापको सास्ती खप्नु परिरहेको छ, कसरी? यिनीहरूको कामको धेरै समय आफू भन्दा उचा पदमा रहेको पुरुष सुपरभाइजरद्वारा गरिने शारीरिक र यौन अत्याचारको सामना गर्दैमा व्यर्थ हुन्छ। आफू माथि थोपिएको कामको ठिका जसलाई पुरा गर्न नसकेको खण्डमा तलब काटिने धम्की, शौच गर्न जाने अनुमति नपाउनु, अरूबाट शारीरिक र मानसिक अत्याचार सहेर काम गर्नु पर्ने स्थिति एकदमै चल्तीमा छ। नाथे 7000 रुपियाँ महिनाको चाकरीको लागि यी मजदुरहरूले पशुतुल्य अवस्था सहनु पर्छ। कुनै प्रकारको भेटघाट तथा युनियनको कुरा सुन्ने बित्तिकै ती मजदुरहरूलाई बिदा गरिन्छ र भएन भएन भने त्यो युनिटनै बन्द पनि गरी दिन्छ मालिक। कारण एउटा युनिट बन्द हुँदा करोडौको मालिकको के जान्छ र? यस्तो कारखानाले बजारमा मजदुरहरूको समय, श्रमशक्ति, ज्याला, तिनीहरूको सामयिक शक्तिको चोरी गरिरहेको छ अनि यिनीहरूको आत्मसम्मानलाई नाङ्गो परिरहेको छ। यी मजद्र्हरूले दिनरातको पसिनाले संसारको दामी दामी कपडाको ब्रान्ड तैयार गर्छन् जस्तै एइच एण्ड एम, पिएर कार्डिन, एलेन सोली, ग्याप, जेसी पेनि, जारा, ब्ल्याकबेरी, नाइकी, टमी हाइलफिगर, लाकोस्टे, बेनेटन इत्यादि। 
30-35 जना मजदुरको दलले प्रत्येक 40 सेकेन्डमा एउटा सर्ट बनाउछन् अनि 70 जना मजदुरले 1 मिनटमा एउटा कार्गो प्यान्ट तैयार गर्छन्। यस्तो कामको चापमा यिनीहरूले पानी पिउने र शौच जाने फुर्सद सम्म पाउदैनन्। जहाँ एउटै H&M को स्कर्टको दाम $25 छ त्यहाँ एउटा मजदुरले दिनमा कतिवटा यस्ता स्कर्टहरू बनाउछन् होला तर पैसा कति पाउछन्!!
पी. एफ. एउटा संचय गर्ने स्किम हो जसमा कर्मचारीको बेसिक ज्यालाको 12% जम्मा हुने गर्छ जुन राशि मालिक र कर्मचारी दुवैले मिलेर भर्छन्। अहिले सम्मको नियम अनुसार एक जना मजदुर दुई महिनासम्म बेकरी भए उसले आफ्नो जम्मै पी. एफ. को राशि निकाल्नु सक्थ्यो। तर 10 फरवरीको नोटिसमा सरकारले उक्त राशि निकाल्नु सक्ने सर्तलाई संशोधित गर्दै भन्यो कि -कर्मचारीले केवल पी. एफ. को आफ्नो संचय मात्र निकाल्न सक्नेछ र बाँकी पैसा 58 वर्ष पुगेर रिटायरमेन्ट पछाडि मात्र पाइने छ। कमचारीको जुन 12% बेसिक ज्यालाको अंश मालिकले भर्छ त्यसको पनि 3.67% मात्रै पी. एफ. मा जम्मा हुनेछ र बाँकी 8.33% पेन्शन फण्डमा जानेछ। मजदुरको यस्तो हालतमा जहाँ पी. एफ. नै यिनीहरूको एकमात्र सहारा हो जुन प्रत्येक पाँच वर्षको अन्तरालमा बेकारी भएको खण्डमा निकाल्न सकिन्थ्यो त्यही पी.एफ. पनि यिनीहरूले अप्रेलको अन्त्यसम्म याचिका नदिएको खण्डमा आधा रकम मात्र पाउने अनि बाकी चाही रिटायर भएर मात्रै पाउने नियम सरकारले निकाले पछाडि यी मजदुरहरू यस्तो उग्र रूप धारण गर्न बाध्य भए। 
राज्य र केन्द्र सरकारले पक्कै पनि यसमा कसैको अदृश्य हात छ, नत्र महिलाहरू कसरी यस्तो उग्र हुन सक्छन् भन्ने टिप्पणीहरू गरे तापनि यो त साच्चै हो की यस्तो अवस्थामा काम गरेर पनि दुखको समयको निम्ति बचाएको पी.एफ. को रु. 40000- 50000 पनि चोरी दिँदा कसको दिमाग ततिन्दैन? पाँच वर्ष काम गरेन भने यिनीहरूले ग्राच्युती पनि नपाउने भए। यस्तो खबर देखि अत्तालिएर मजदुरहरूले युनियनहरूलाई पनि चाडो भन्द चाडो यसको विरोध प्रदर्शन गर्नु पर्ने आवश्यकता जनाए र त्यहाँबाट पनि ढिलाइ हुँदा चाहिँ यी महिला मजदुरहरू आफै सडकमा उत्रे। 
आजभन्दा 14 वर्ष अघाडी 24 जुलाई 2002 मा पनि पी. एफ.-कै मुद्दा लिएर लुगा बनाउने मजदुरहरूले आन्दोलन गरेका थिए। जब बेकारी भएका मजदुरहरूलाई पी. एफ. कार्यलयबाट पी. एफ. निकाल्ने फर्म दिन अस्वीकार गरियो। 10,000 युवा महिला मजदुरहरूले सडक अवरोध गर्दै विरोध प्रदर्शन गरे। त्यहाँ कुनै युनियन थिएन, कुनै नेता थिएन। त्यही भिडबाट वक्ताहरू जन्मिए, भाषणहरू दिइयो। त्यस दिन पनि अहिले जस्तै प्रश्नहरू उठेको थियो, अहिले जस्तै पुलिसले लाठीचार्ज गरेको थियो। 
मोदीद्वारा नेतृत र सङ्घ परिवारद्वारा चलित केन्द्र सरकारको नवउदारीकरण र वैश्वीकरणको नीतिनै यस्तो सङ्घर्षको कारण हो जहाँ देशी-विदेशी पुँजीको संरक्षण गर्न सरकारले यी मालिकहरूलाई मजदुरको शोषण गर्ने खुला लाइसेन्स दिई रहेको छ र यही मालिकहरूको स्वार्थ रक्षाको निम्ति सरकार दिनरात सजग छ। देशमा श्रम कानुन हुँदा हुँदै पनि मजदुरहरूको हालत बत्तर छ। ‘मेक इन इण्डिया’ को सुनौलो मखुटो भित्रको भयानक लक्ष्य मजदुरहरूलाई दास बनाउनु हो। त्यसैले यो सङ्घर्ष खटिखाने मानिसको भित्रको आगो हो र सास लिनु जस्तै यो आन्दोलन पनि अवश्यम्भावी र स्वाभाविक थियो।  


No comments:

Post a Comment