Wednesday, September 7, 2016

बगान चालु तर मजदुरहरूको ज्याला र सहुलियत ठप्प— अलकेमिस्टको चिया बगानहरूमा अचम्मको स्थिति!

शमीक

अलकेमिस्ट भन्ने शब्द प्राचीन युगको अलकेमि बाट आएको हो, जसको अर्थ हो ‘धातुलाई बदलिने कौशल’। तिनीहरूले विभिन्न धातुलाई बदलिएर सुन बनाइदिने सपना देखाएको थिए। हामी नयाँ तौरले जुन ‘अलकेमिस्ट’लाई चिन्दैछौँ, तिनीहरू दस हजार करोडको एउटा कम्पनी हो, थुप्रै व्यापारहरू सितै तिनीहरूको हातमा दार्जीलिङ पहाडको चिया बगानहरू पनि छन्। पहिला तिनीहरूको नाम थियो टुब्रो, अहिले, अलकेमिस्ट। मालिकको नाम के डी सिङ। तृणमूल काँग्रेसबाट राज्यसभाको सांसद।
अलकेमिस्ट ग्रुपको हातमा दस-बाह्र वर्षदेखि पश्चिम बंगालमा तीनवटा चियाबगान छ। एउटा हो पेसोक चिया बगान— जुन टिस्टाबजार नजिक छ। अरू दुईवटा हुन् सुनादा-रङबुल भएर ओह्रालो जाँदा आउने कलेजभेल्ली, त्यसपछि बालासन खोलाको वरिपरि छरपस्टिएको धोत्रे चिया कमान। जम्मा तीनवटा चिया बगानको 2075 हेक्टरभरि 7 वटा डिभिजनमा स्थायी श्रमिकको सङ्ख्या 2544। त्यसबाहेक अझै तीन हजार जस्तो बिघा मजदुर पनि यस बगानहरूमा काम गर्थे।
बगानहरू चालु नै छ। तर अस्थायी मजदुरहरूको कुरा त छोडिदिनुस्, स्थायी श्रमिक मध्ये पनि ज्यादातर अहिले बगानमा काम गरिरहेका छैनन्। मजदुरहरू तलब पाइरहेका छैनन्। ज्यालाको अंशको हिसाबले पाउनुपर्ने कुरा र सुविधा-सहुलियतहरू पनि पाइरहेका छैनन्। पोहोरको दशैँ बोनस लिएर जुन टालटुल शुरू भएको थियो, त्यो नै बढ्दै बढ्दै अहिले समस्या शिखरमा पुगेको छ। श्रमिक-कर्मचारीहरूको पाउनुपर्ने आर्थिक बकाया राशिको परिमाण हो 1.72 करोड, त्यससित दवाईको बिल, दाउराको पैसा, छाता, चप्पल आदि अनि अवकाशप्राप्तहरूको ग्र्याचुइटिको बकाया जोड्दा यही राशि 5 करोड पुग्छ। केही महिना अघिसम्म मजदुरहरू जुन अलिकति भए पनि आर्थिक सहायता पाउदैथिए, हालैमा दुई महिनादेखि त्यो पनि ठप्प भएको छ।
सङ्ख्यामा निकै कम्ती मजदुरहरू पत्ती टिप्ने काममा हिडीरहेका छन्। थुप्रैले बाटो बनाउने काम, सय दिनको काम, नदीमा गिटि कुट्ने काम गरेर दुइछाक जुटाउने कोसिस गरिरहेका छन्। धेरैजना टाढा परदेशमा पनि गइसकेका छन्। सरकारको श्रम विभागले बोलाएको दुईवटा त्रिपक्षीय मिटिंगहरूमा सबै बकाया राशि बटुल्ने समय सीमा दुई पल्ट तय भएतापनि मालिकपक्षले ती गरेका छैनन् अनि हालैमा मिटिंगमा उपस्थित हुनु वा श्रमविभागको अफसरहरूको फोन उठाउनु पनि बन्द गरेका छन्। मजदुरहरूलाई थाहै छैन, कहाँ जाँदा समाधान हुनेछ, अचम्मको के छ भने श्रम विभागको अफसरहरूलाई पनि त्यो थाहा छैन हरे— मजदुरहरूलाई तिनीहरूले त्यस्तै भनेका छन्!
मजदुरहरूले विधानसभा चुनाव अघि चुनाव बहिष्कारको निर्णय लिएका थिए, त्यतिबेला बकाया फर्काउने आश्वासन पनि पाइएको थियो, त्यसपछि कैयौँ पक्षबाट दबाउ आएकोमा चुनाव वहिष्कारको निर्णयबाट तिनीहरू हट्नु पयो अनि बकाया राशिहरू पनि पाइएन। चुनावी राजनीतिको समीकरणमा जुनसुकै ध्रुबीकरण होस्, मजदुर युनियनहरूको माथिल्लो स्तरमा जुनसुकै विन्यास बसोस्, तर बगानको धरातलमा मजदुरहरू एक भईकन सम्पूर्ण युनियनहरू संयुक्त भएर जोइन्ट एक्शन कमिटी गठन गरे। आन्दोलनको विभिन्न कार्यक्रम निरन्तर चलिरहेको छ र त्यससित चलिरहेको छ मजदुरहरूको दिग्भ्रमित भागदौड— कहाँ जाँदा समाधान हुन्छ? कसले समाधान गरिदिन्छ? त्यसको खोजीमा!
अलकेमिस्ट ग्रुपको चिया बगानहरुबाट ‘अर्थोडक्स टि’ र ‘चायना टि’ भन्ने प्रकारको पत्ती जर्मनी, अस्ट्रिया, सिंगापुर, साउदी र अमेरिकामा निर्यात हुन्छ भन्ने कुरा तिनीहरूको वेबसाइटमा छ। ठण्डा महिनाहरुमा पत्ती टिप्ने काम बन्द रहेपछि, मार्च देखि मई महिनासम्म पहिला पत्ती (फर्स्ट फल्स) टिपाइ हुन्छ, त्यही फर्स्ट फ्लसको चिया पत्तीको भाउ अन्तर्राष्ट्रिय बजारमा सबभन्दा बेशी छ। त्यसको 15-20 दिन पछि सेकेन्ड फ्लसको पत्ती टिप्ने काम शुरु हुन्छ। मजदुरहरूले सोचे, फर्स्ट फ्लस त गयो गयो, कम्ती मजदुर अनि हेरचाह र कम्ती बर्खाले गर्दा यसपालि पत्ती टिप्ने काम राम्रोसँग भएन। तर सेकेन्ड फ्लसमा निश्चयनै मालिकपक्ष ध्यान दिन्छन् होला! तर खै त! त्यसको पनि नामोनिसान छैन!
चिया उद्योग नोक्सानमा चलिरहेको छ भन्ने कुरा लिएर मालिकहरू जति नै हल्ला गरोस्, यथार्थ चाहिँ अर्कै छ। 277 वटा चिया कमान मध्ये मुट्ठीभर बगान मात्रै बन्द छ। कतिपय बगान ठण्डा महिनामा बन्द हुन्छ, किनभने त्यसबेला पत्ती उम्रिन्दैन। धेरै मालिकहरू बगान बन्द गरेर त्यसबेलाको खर्च जोगाएर झन् बेशी मुनाफा लुट्न खोज्छन्। फलस्वरूप मजदुरहरूले पाउनुपर्ने कुरोहरू बाकी राख्नु र बगानको हेरचार लिएर डरलाग्दो हेलचेक्र्याइँ चलिरहन्छ। अलकेमिस्टको बगानहरू त्यसको स्पष्ट प्रमाण हो। पोहोरसाल डंकनस्-गोयेंकाको बगानहरूको खण्डमा पनि हामीले त्यस्तै देखेका थियौँ। दीर्घकालदेखि ती बगानहरूको स्थिति डामाडोल रहेपछि पोहोरको अप्रेल देखि मालिकले श्रमिकहरूको तलब र सहुलियतहरूको आपूर्ति बन्द गरिदियो र कुनै लक आउट नोटिस बिनै बगान छोडेर सुइकुच्चा ठोक्यो! त्यसको निकैबेर पछि मजदुरहरूको रगतपसिना सँगै टिस्टा-तोर्सा-लिस-घिसबाट अनेक पानी बगिसकेपछि सरकार-प्रशासन-न्यायपालिकामा अलि अलि हलचल शुरू भयो। अहिले कतिवटा बगान खोलिएको छ, यद्धपी ज्यादातर फ्याक्ट्री खोलिएको छैन, पाउनुपर्ने बाँकीहरू लिएर टालटुल चलिरहेको छ, अनि सातवटा बगान त अहिलेसम्म बन्द नै छ। केन्द्र सरकारको अधिग्रहण, उच्च न्यायालयको मुद्दाहरू, सरकारको उदासीनता, बगान खोल्ने बन्द गर्ने आशंका, बिना-चिकित्साले गर्दा मृत्यु, पिउने पानीको लागि हाहाकार, रासिन वितरणमा डरलाग्दो अव्यवस्था, काँचो पत्ती टिपाइ लिएर अराजक स्थिति अनि अर्कोतिर चुनाव पछि निश्चयनै केही न केही समाधान हुनेछ भन्ने आशा लिएर बाँचीरहेका छन् डुवर्सका तथाकथित ‘डंकन नगरी’का सातवटा चिया बगानका बासिन्दाहरू।
हामी अलकेमिस्टको बगानहरू लिएर कुरा गर्दागर्दै डंकनसको कुरा आइहाल्यो किन? बगान पनि बन्द छैन, तर मजदुरहरूको ज्याला र सहुलियतहरू बन्द छ— खुल्ला र बन्दको लुकीचोरीको यस्तो मोडेललाई यदि डंकन देखि अलकेमिस्ट... अनि यस्तो अझै थुप्रै मालिकहरूले नाफा कमाउने बाटोको हिसाबले लिन थाले भने त यो सबभन्दा खतराको विषय बनिनेछ! मजदुरहरूले ज्याला र सहुलियतहरू केही पाउनेछैनन्, न त पाउँनेछन् बन्द बगानको निम्ति निर्धारित ‘फाउलाई’ भत्ता! अलकेमिस्टको बगानहरूलाई हेर्दा के साफ छ भने— सबै बगानहरूमा पुरानो बोटको (50 वर्ष भन्दा बेशी उमेर भएको बोटको उत्पादकता कम्ती हुन्छ) सङ्ख्या नै बेशी छ, त्यसलाई उखेलेर नयाँ बोट रोप्नु, बगानभित्रको खालि ठाउँ भर्नु, सही मल र किटनाशकको प्रयोग, सिँचाईको राम्रो व्यवस्थापन— यी सबैको नै हालत दयनीय स्थितिमा छ। जम्मा 2075 हेक्टर जमिन मध्ये 995.23 हेक्टर प्लान्टेशन एरियामा पर्छ, अपरुटिङ र रिप्लान्टेशन भएको छ 20.45 हेक्टरमा, इनफिलिङ 2.27 हेक्टरमा, इरिगेशन 180.07 हेक्टरमा, ड्रेनेजको व्यवस्था छ 150 हेक्टरमा। फलस्वरुप उत्पादकताको दर निकै नै कम्ती छ। पहाडमा हरदर उत्पादकता 500 केजी/हेक्टर हुनुपर्ने रहेछ। कलेजभेल्लीमा उत्पादकता 540 केजी/हेक्टर रहेतापनि धोत्रेमा 406 केजी/हेक्टर मात्र रहेछ, पेसोकमा त झन् कम्ती, 335 केजी/हेक्टर मात्रै रहेछ। यी आँकडाहरू तीन वर्ष पुरानो हो, सरकारी रिपोर्टमै प्रकाशित भएको थियो। त्यसपछिको स्थिति त झन् बिग्रिँदै गएको छ।
धोत्रे र कलेजभेल्लीको बगानहरूमा मजदुरहरूले बगानको सञ्चालनमा यस्तो नराम्रो परिस्थिति कहिल्ये पनि सुनेका थिएनन् हरे। तर माथिको आँकडाहरूले नै देखाउँदैछ आजको परिणतिको रसायन। पेसोक बगान यद्धपी आज भन्दा एक दशक अघिसम्म प्राय: 12 वर्षको निम्ति बन्द थियो। त्यतिबेला नै बगानको फ्याक्ट्री, अस्पताल, गोदाम— सबै खतम भइसकेको थियो। अहिले यहाँ टिपेको पत्तीलाई लामो बाटो अतिक्रम गरेर पुर्याेउन पर्छ धोत्रे बगानको तुमसुङस्थित फ्याक्ट्रीमा। तीनवटा बगानको एउटा मात्रै फ्याक्ट्री चालु छ, धेरैजसो चिया बोट एक सय वर्ष पुरानो छन्, अन्ततः तीन वर्षदेखि किटनाशक प्रयोग भएको छैन— यसरी नै लडबढाउँदै चलिरहेका छन् अलकेमिस्टको बगानहरू।
चिया बगानका मालिकहरूले बगानको नाफा अन्य व्यापारमा ‘साइफनिंङ’ गरेर, बगानलाई देखाएर बारम्बार विभिन्न प्रकारको लोन जुटाएर, लिलामी बजारलाई झुक्क्याएर अन्य नाना किसिमले चिया पत्ती बिक्रीको व्यापार गरेर बगानको हिसाबमा गडबडी गर्दै एक अभूतपूर्व लुटपाट चलाइरहेका छन्। यस देशमा उदार आर्थिक नीति पसे पछि चिया बगानहरूमा यस्ता सट्टाबाज मालिकहरूको सङ्ख्या निकै बढेको छ, जसले बगान किनेर त्यसपछि बगानलाई झुत्रो बनाएर छोडेर जाँदैछन्। अर्कोतर्फ चिया बगानको असङ्गठित क्षेत्रको हिसाबले द्रुतगतिमा बढिरहेको छ नयाँ बगान र बटलिफ फ्याक्ट्रीको व्यवस्था। खेतीपातीको जमिनहरूलाई बदलिएर चिया बगान बनाउनु र बाहिरबाट किनेको पत्ती द्वारा फ्याक्ट्री चलाउने दायित्वहीन असीमित नाफाको बन्दोबस्त! भारतको घरेलु बजारमा चियाको अभूतपूर्व खपत वृद्धिले गर्दा यही मोडेललाई नै अहिले मालिकहरूले मनपराउँछन्।
अर्कोतर्फ पुरानो एस्टेट बगानहरूमा बढिरहेको छ बिघा मजदुरहरूको सङ्ख्या, घट्दैछ बगानको हेरचार र श्रमिकहरूको लागि व्यय। चिया उद्योग जस्तो एउटा ठुलो सङ्गठित उद्योगमा अहिलेसम्म निम्नतम ज्याला लागु भएको छैन! मजदुरहरूले पाउनुपर्ने रासिन, चिकित्सा सुविधा, छाता, जुत्ता, कम्बल, दाउरा, क्रेच आदि सहुलियतहरूको प्रावधान रहेतापनि ती सबै नदिने तालिका लामो देखि अझै लामो भइरहेको छ। के सरकारले चुपचाप बसीबसी हेर्नेछन् ऐनको यस्ता डरलाग्दो उल्लंघनहरू? मजदुरहरूले विरोध देखाउने बित्तिकै खुब क्षति हुँदैछ भनेर आवाज उठ्न थाल्छ, बगानमा काम गरेर पोसाउदैन भनेर मजदुरहरू अन्य कामको खोजीमा जाँदा ‘एबसेन्टिजम्’को सङ्कट भयावह हुँदैछ भनेर हल्ला फैलाउँछन् मालिकहरू— तर किन चाँहि सरकारले एउटा राम्रो मनिटरिङ सिस्टम, वा मालिकहरू ऐन उल्लंघन गर्दा सजायको व्यवस्था गर्न सक्दैनन् त?
उहिलेको युगमा चिया श्रमिकहरूलाई टाढा देशहरूबाट ‘चियाको बोटमा सुन फल्छ’ भनेर हुलकाहुल ल्याइएको थियो। सुन बनाउने व्यापारी अलकेमिस्टहरूले मजदुरहरूको रगतपसिना र कमानको हरियो पत्तीबाट सुनलाई निचोरेर निकालिसकेका छन्। बगानमा रहिरह्यो दमित, हेलित र शोषित मजदुरहरूको आर्तनाद मात्रै।

No comments:

Post a Comment