Wednesday, September 7, 2016

हाम्रो मई दिवस पालन

निकिता लामा

'अब दिन वो प्यारा आया है...'— यो गीत गाउँदै प्रत्येक ठाउँमा हामीले यसपालिको मई दिवस पालन कार्यक्रम शुरू गरेका थियौँ। गीत मई दिवस मजदुरहरूको दिन भनी सारा विश्वमा नै मनाइने गरिन्छ, यो दिन मजदुरहरूको सङ्घर्षले पाएको हक र अधिकारहरू को प्रतीक हो।  1 मई को दिन मजदुरहरू को लागि निकै महत्त्वपूर्ण दिन हो।  इतिहासको पन्नामा छ मई दिवसको कहानी। सन् 1886 को 1 मई अमेरिकाको शिकागो शहरको हे मार्केटमा श्रमिकहरू भेला भएका थिए एउटा सम्मानजनक जीवनको मांग लिएर— आठ घण्टा काम, आठ घण्टा बिश्राम, अनि आठ घण्टा मनोरन्जनको अधिकार। यस आन्दोलनलाई कानुनीरूपले स्वीकृत गराउनुको लागि भेला भएको त्यस लडाइमा कैयौ मानिसहरूको मृत्यु भयो। अनि त्यो लडाइलाई सङ्गठित गर्ने ‘अपराधमा’ बम फ्याकेको आरोप लगाएर सातजनालाई फाँसी र एकजनाको आजीवन कारावासको सजाय भयो, पछि गएर 4 जना वीर श्रमिक नेतृत्वलाई फाँसी भयो— एन्जेल्स, फिसर, पर्सन्स, स्पाइस। 
मई दिवस मजदुरहरूको पुँजी अनि मुनाफा कमाउने चक्रव्यूहको विरुद्ध लडाई हो। मजदुर वर्गको सङ्घर्ष आज मुन्नार देखि बंगलुरुसम्म, मानेसरदेखि होन्डासम्म अनि संसारभरिनै अमेरिका देखि फ्रान्स र पाकिस्तान देखि बङ्गलादेश फैलिएको छ। यो सङ्घर्ष संसारभरिनै चलिरहन्छ जब सम्म एउटा यस्तो समाज बनिन्दैन जहाँ मानवताको बास हुन्छ मानिसहरू प्रेमको सुर्योदयको लागि बाच्नेछन्। 
यसै दिनलाई पालन गर्दै यसपालि हामी चिया बगान सङ्ग्राम समितिले आयोजना गरेको कार्यक्रमहरूमा भागीदारी लिँदै 30 अप्रिल देखि 2 मई सम्म  डुवर्सको ठाउँ ठाउँका चिया बगानहरूमा हिड्यौं। यो मई दिवसमा चिया बगान सङ्ग्राम समितिले मिनिमम वेज, फ्रिन्ज बेनिफिटको राम्रो वितरण, कामको सुनिश्चितता साथै मजदुरहरूको निम्ति आत्मसम्मानपूर्ण जीवनको नारा लगाए। हाम्रो लालीगुराँस टोलीको गीत सँगसँगै थियो हाम्रो नाटक टोली दृश्यसमूहको सडकनाटक प्रस्तुति ‘विश्वकर्मा’।   प्रथम दिन हामी बाग्राकोट गयौँ, जुन धेरै समय बन्द भए पछि हिजस्ती खोलिएको थियो। फ्याक्ट्री त अझै बन्दनै थियो। चरम सङ्कटमा परेर यहाँका मानिसहरू कामको खोजीमा टाढा टाढा पलायन हुँदै जाँदैछन्। बग्राकोटकै गोकुल सिंग थापाको गीतको बोलले भने झैँ “घरबार छोडेर लै लै गएछ केरेला” यहाँको निम्ति घाम जत्तिकै सत्य छ। हाम्रो सडकनाटक विश्कर्माको उद्घाटन यही बगानबाटै भयो।  
त्यसै पनि श्रमिक श्रेणीको अस्तित्व कतै पनि छैन। स्कुल पाठ देखि लिएर खबर मध्यम कतै पनि छैन। यहाँका बगानका श्रमिकहरूको अवस्था त अझ खराब छ। बन्द चिया बगान खोलिने आशा त होइन बरु चल्दै गरेकै बगानहरू पनि एक एक गर्दै बन्द हुँदै छन्। सामाजिक सुरक्षा त परै जावोस्, प्राणको सुरक्षा पनि मजदुरहरूलाई दिनु मालिक आनकानी गर्दैछन्। यसैले अलिक उन्नत जीवनको आशामा यहाँका मानिसहरू सुदुर ठाउँहरूमा जादैछन्।  
हामी यी कमानहरूमा जानु को मूल उदेश्य त्यहाँका मजदुरहरूलाई आफ्नो हक र अधिकार बारे जागरुक गराउनु र आफ्नो क्षमता को बोध गराउनु थियो। यो नाटक कलकताका स्वभाव कोलकाता भन्ने नाटक दलको हो, जसमा एक जना जुट मजदुरको कथा छ, जुट मिल बन्द हुनु र त्यसपछि पलायन भई अन्य ठाउँहरूमा गएर खटीखाने मजदुरहरूलाई लिएर लेखिएको हो। यसलाई अलिकति फेरबदल गरेर जुट मिलको सट्टा बन्द चिया बगानको श्रमिक बनाउदा र अरू सान्धर्भिक परिवर्तन गर्दा कुनै पनि समस्या भएन कारण श्रमिकहरूको समस्या र तिनीहरूमाथि शोषण सबै ठाउँमा एउटै हो। नाटकमा उद्योगहरूको स्थिति बन्द भए पछि के कस्तो हुन्छ र  पलायन भई काम गर्न गएका मजदुरहरूले खप्नु परेको अवस्थालाई दर्शाइएको छ, कसरी भोको पेट बसी बसी काम गर्नु पर्छ र अर्काको हेपाई सही पैसा कमाउनु पर्छ, परदेशमा सहनु परेका पिर र मर्का, मालिकको हेपाई,  कम वेतन, बस्ने असुविधा इत्यादिहरूलाई यस नाटकमा राम्ररी दर्शाइएको छ। मजदुरहरूलाई कसरी मालिकहरूले शोषण गरी मुनाफा कमाउछन् र मजदुरहरू मालिकको मुनाफाको लागि कतिको खटिनुपर्छ यी सबै कुराहरू यस नाटक मा दर्शाइएको छ। पहिलो दिन बाग्रकोटमा नाटक प्रदर्शन गयौ, नाटक खुल्ला सडकमा भएको थियो नाटक सँग-सँगै कविता वाचन र जोस पूर्ण गीतहरू पनि गाएर त्यसदिन मई दिवस पालन गऱ्यौ।  कविगण मनोज बगोटि, प्रदीप लोहगुन, उमेश परियारले समस्याले ग्रसित श्रमिकहरूको कविता सुनाए भने हाम्रा साथी कलाकार अमिर सुन्दासले परिवर्तनको गीत गाए। मजदुरहरू तथा स्थानीय मानिसहरूले खुसी साथ हाम्रो कार्यक्रममा भाग लिए तथा आफ्नो वक्तव्य पनि राखे। त्यहाँ निकै मजदुरहरू र अन्य दर्शकहरू पनि भेला भएका  थिए र आफ्नो परिस्थितिलाई नाटकसँग दाज्न सकेकोमा नाटकसँग जोडिएको महसुस गरे।  


दोस्रो दिन 1 मई, मा हामी बीरपाडा अन्तर्गत डंकनको बन्द चिया बगान दुम्सिपारामा कार्यक्रम लगेर गयौ र बेलुकी पाखा 5 बजीतिर हामीले अन्य समस्त प्रोग्राम साथ नाटक पनि प्रदर्शन गऱ्यौ। स्थानीय मजदुर र सचेत मानिसहरूले उत्साह साथ कार्यक्रममा भाग लिए, मई दिवसको ऐतिहासिक महत्वको बारेमा वक्तव्य राखियो, गीत प्रस्तुत गरियो साथै प्रदिप लोहगुन द्वारा निर्मित लघु चलचित्र “रित्तो गाउँ” को मंचन पनि गरियो। मई दिवस को महत्वलाई दर्शकहरू बिच पुर्याउदै हामीले त्यहाँ नाटक प्रदर्शन गऱ्यौ र त्यहाँ पनि दर्शकहरूले नाटक धेरै मनपराए र घर देखि टाढा गई आफ्नो परिवार पाल्ने मजदुरहरूको दुखलाई अनुभव गरे। तेस्रो दिन 2 मई मा हामी दिउसो दुम्सीपाडाको छेउमै अर्को बन्द चिया बगान हन्टापाडामा गयौ प्राथमिक पाठशालाको  ग्राउण्डमा नाटक प्रदर्शन गऱ्यौ। हन्टापाडाको कार्यक्रम भने त्यहाँका मानिसहरूको उत्सुकताले गर्दा त्यत्तिनै बेला तय गरिएको थियो। बेलुकी पख गारोपारा चिया बगानमा गयौ, त्यहाँ नयाँ अनुभव हामीले समेट्न सक्यौ र मजदुरहरूको दुखलाई अझै नियालेर पुष्टि गर्न सक्यौ। त्यहाको अनुभव साँचीनै प्रेरणादायक थियो। कार्यक्रम सकिएर पनि छेउछाउका कयौ युवायुवतीहरूले गीत गाउदै हाम्रो सुरमा सुर थप्यो। यस पालीको मई दिवस को उपलक्षमा मजदुरहरू बिच गई उनीहरूको सङ्घर्षलाई प्रोत्साहन दिँदै र हामी सबै पनि  यो सङ्घर्ष को एक हिस्सा हौ भन्दै हामीले मजदुर दिवस पालन गऱ्यौ। मई दिवस अमर रहोस्!



No comments:

Post a Comment