Wednesday, September 7, 2016

फिल्म रिभ्यू : वृत्तचित्र "नबोल्दा नबोल्दै..." — बोलिपठाएको सजीव कथा!

टिका 'भाइ'





मेरा मित्र शमीक चक्रवर्तीले फोन गरेर कालेबुङ आउने खबर दिए। राजनैतिक कर्मी समीक वृत्तचित्र निर्माण, पत्रिका प्रकाशन अनि कम्युटरसम्बन्धित काममा पनि निपुण छन्। ‘गोर्खाल्याण्ड आन्दोलन’-लाई बुझ्ने अनि यसको छेउ कुनाबारे अन्यत्र पनि जानकारी होस् भन्ने हेतुले इनकै सक्रियतामा अनि क्यानभासको ब्यानरमा ‘क्वेस्ट अफ मदरल्याण्ड’ निर्माण भएको थियो जो नेपाली, अङ्ग्रेजी अनि बङ्गला तिनभाषामै प्रस्तुत गरिएका थिए। अरू पनि केही काम क्यानभासद्वारा भएको थियो। यसचोटी कालेबुङ आउँदा उनले हेराए ‘नबोल्दा नबोल्दै!’ शुरूदेखि अन्तसम्म यो वृत्तचित्र हेरेपछी मनमा धेरै कुरा उठे अनि गए। तत्काल यसबारे केही लेख्ने सोच बनाएको थिएँ तर लेख्ने फुर्सद निकाल्नु केही समय लाग्यो।
क्यानभास् अनि रेप्टाईल्सको संयुक्त प्रस्तुतिमा निर्मित वृत्तचित्र ‘नबोल्दा नबोल्दै’ दार्जीलिङका चिया मजदुरहरूको दैनन्दिन जीवनको कहाली लाग्दो जीवनको धेरै निकट उभेको छ। केरलाको एक अन्तर्राष्ट्रिय फिल्म महोत्सवको निम्ति चयन भएको र प्रदर्शित यस वृत्तचित्रको निर्माण धेरै सामान्य अनि कम खर्चालु भएपनि यसको विषय अनि सम्पादनले वृत्तचित्रलाई गहकिलो तुल्याएको छ। वृत्तचित्र निर्माणको पारम्परिक तरिकाहरूभन्दा भिन्न, बनेकै कारण यसमा कृतिमताभन्दा धेर स्वाभाविकता छ। यसलाई हेर्दा ‘चियाबगान’-को जीवनमाथिका विभिन्न सवाल र सङ्कटहरू मनमा चित्र आउँछ अनि जान्छ। सायद ‘नबोल्दा-नबोल्दै’ शीर्षक राखिनुको कारण पनि वृत्तचित्रले कुनै नियोजित धारणा र उत्तर प्रस्तुत नगर्नुले गर्दा हो। यस वृत्तचित्रको प्रस्तुतिलाई काव्यिक मान्दा हुन्छ। विषयहरू निर्धारित अनि निश्चित नभएर चियाबारीका विभिन्न पक्षहरूलाई बिस्कुन जस्तो छरपष्ट देखाईदिएको छ र यसमा वृत्तचित्र अवलोकन गर्ने दर्शकका निम्ति चियाबारीको समस्या हेर्ने, समस्या बुझ्ने अनि जवाब खोज्ने स्पेस पनि दिन्छ।
 एक चियाबारी मजदुर महिलाको साँझ-बिहान अनि मेलोमा बित्ने जीवन वरिपरीका घटनाक्रमहरूको सजीव चित्रसहित कमानको जीवनका विभिन्न पक्षहरूको सूक्ष्म चित्रणले वृत्तचित्रलाई बलियो तुल्याएको छ।  नाटकीयता भन्दा धेर स्वाभाविक घटनाचित्र, स्वाभाविक सम्वाद, साँचो अनि काँचो प्रस्तुतिले वृत्तचित्र हेर्दा कुनै वृत्तचित्र हेरिरहेको नभएर म कुनै चियाबगानमा घुम्दैछु अनि त्यो चियाबगानको शुख-दुखसित परिचित बन्दैछु भन्ने भावले ओतप्रोत गरिदिन्छ।
एउटा विकट कमान छ, त्यहाँ पुग्ने बाटो राम्रो छैन, रोगिलाई बोकेर सडकसम्म पुराउनु पर्दछ, त्यहाँको जीवन र दुख बुझ्न, मालिक-अधिकृत-नेताहरू कोही-कोही पुग्दैन। त्यहाँ एक मजदुर महिलाको जीवन र संसार छ। बेला-बखत चियाबारी समस्या लिएर स्वाभाविक कुराकानी अनि चियाबगानका मजदुरहरूको आफ्नो मन्तव्यलाई पनि देख्न सकिन्छ। यस वृत्तचित्र केवल एक एजेन्डा वा मुद्दामा केन्द्रित प्रस्तुति नभएर समग्रमा चियाबारी सङ्कट र मजदुर समस्याबारे आजको समाजलाई उठेको एक सवाल हो। जस्तो दयनीयता, दुख पीडा वा सङ्कटहरू छन् त्यससित जसो-तसो ज्युन नै पर्ने जस्तो जीवन छ मेहनतकस चियाबारी मजदुरहरूको। देशको यो उद्धयोगमा मजदुर ऐन या सरकारको कुनै ठोस योजना या सुरक्षाले काम गर्दैन तर यसलाई त्यागेर अलग संसार र जीवनको कल्पना पनि गर्न नसक्ने चिया बगानका मजदुरहरूका जीवन-सङ्कटको वास्तविक समाधान के?– बेला-बखत तनखा बढ्नु, बोनस बढ्नु अनि कहिले घट्नु, मुनाफा घट्ने सम्भावना देख्दा कमान बन्द गरिनु अनि मजदुरहरूलाई कुनै राहत बिना बेसहारा जीवन बिताउन छोडिदिनु। यस्ता धेरै कथाहरूले भरिएका छन् तर पनि ‘चुपचाप’ छन् कि लाग्छ। युवा-युवतीको औसत पढाई पछि गाउँ छाडेर टाढा काम खोज्न जानु अनि कमाई राम्रो हुनेहरूले घर अलि व्यवस्थित गऱ्यो, नसक्ने वा कम पढेकाहरू बाहिरी शहरतिर पनि उस्तै यातनापूर्ण जीवनकै हिस्सा बन्दैछन्। चियाबारीको उराठिलो जीवनमा ‘नबोल्दा-नबोल्दै’ निस्किने सुस्केरा, अनिश्चयता, दयनीयता आदिको सफल चित्रण बनेको छ यो वृत्तचित्र।







No comments:

Post a Comment