Thursday, April 2, 2015

"धर्मान्तरकरण"— तसलिमा नासरिन

विशेष निवन्ध 
धर्मान्तरकरण
तसलिमा नासरिन
(अनुवाद : संगीता सुब्बा)



छलकपट, जबर्जस्ती, धम्की, खुनखराबीको माध्यमबाट संसारभरि क्रिश्चियन अनि इस्लाम धर्म फैलिएको छ। यस्तो नभएको खण्डमा ती दुईवटा धर्ममध्ये कुनैले पनि मध्यपूर्वको सीमा टेकेर बाहिर आउनु सक्ने थिएनन्। यसप्रकारको धर्मान्तरकरण चाँही यहुदी र हिन्दु धर्ममा हुँदैन भन्ने हामीलाई थाहा थियो। तर अहिले के देख्दैछु भने अघाडीको त्यो पार्थक्य हराईसकेको छ। कसैले चाहेमै उ यहुदी बन्नसक्छ। कसैले चाहे भने हिन्दु पनि। थाहा भएकै कुरो हो कि हरेकृष्ण समुदायको विदेशीहरूले धरी निधारमा टीका लगाएर अनि संस्कृत श्लोक भट्टाउदै हिन्दु धर्म अप्नाउछन्। तर आज धर्मान्तरकरणको कुरा कृष्णभक्तहरूभित्रै सीमित छ जस्तो त लाग्दैन। केही दिनदेखि भारतमा पनि जन-धर्मान्तरकरणको सिलसिला चल्दैछ, मुसलमानहरुको टोली टोली हिन्दु हुँदै जाँदै छन्। के मुसलमानहरूले हिन्दुधर्म मनपराएर हिन्दुत्व आत्मसात् गरिरहेकाछन्? यदि हिन्दु धर्मप्रति आकृष्ट भएर हुँदैछन् भने मेरो केही आपत्ति छैन। तर जबरजस्ती धर्म परिवर्तन गरेको हो भने मलाई आपत्ति छ। म कुनै कालमा पनि कसैलाई जबरजस्ती केही पनि गराउनुको घोर विरोधी हु। सुन्दैछु कि हिन्दु कट्टरपन्थीहरूले मुसलमानहरूलाई जबरजस्ती हिन्दु धर्ममा हाल्दैछन् हरे। सुन्दैछु यी हिन्दु कट्टरपन्थीहरूको डरलेनै धेरैजसो मुसलमानहरू आफ्नो धर्म परिवर्तन गर्दैछन्। धर्म भन्दा जीवन बढी हुन्छ। त्यसैले जसले पनि आफ्नो जीवन बचाउने कोसिस त गर्छ नै। कसै कसैलाई रुपियाँ पैसा पनि दिइन्दैछ हरे, यसको अर्थ धर्मान्तरकरणको निम्ति लोभ पनि देखाइन्दैछ। यो धर्मान्तरकरणको निम्ति हिन्दु कट्टरवादीहरू खुल्ला हातले खर्च गर्दैछन्। एउटा मोटो फण्ड पनि बनाइएको छ यस कामको निम्ति र यो ख्रिस्तान मिशनरीय र सुफीहरूको खानकाशरीफिय पद्धति जस्तै छ। हिन्दुहरूले यो धर्मान्तरकरणको नाम दिएका छन् ‘घर वापसी’। यसको व्याख्या यसप्रकारले गरिन्छ कि ‘तिमीहरू त बाध्य भएर हिन्दुबाट मुसलमान भएका थियौँ, अब आफ्नो स्वधर्ममा फर्कने समय आएको छ, अर्थात् घर फर्कने बेला आएको छ। धर्मान्तरकरणको जब कुरा हुँदैछ तब एकजना हिन्दु कट्टरवादीलाई मैले सोधे ‘कतिदिन पछाडि यो घर फर्कने कार्यक्रम चलाइन्दैछ’? उ चुपलागेर बस्यो। त्यसपछि मैले आफै भने ‘आठसौ वर्ष, होइन र’? 
भारतवर्षको अधिकांश मुसलमानहरूनै धर्मान्तरित हुन्। सानो जात, दुखी दरिद्र हिन्दुहरू मगजसफाईको कारणले होस्, रुपियाँ पैसाको लोभले होस्, सुफिहरूको आचरणले मुग्ध भएर होस्, ब्राह्मणहरूको घृणा पाएर होस् वा मुसलमानहरूको पिटाई खाएर होस्, मुसलमान भएका हुन्। अहिले पनि हुँदैछन्। हिन्दु-मुसलमानको विवाह भए हिन्दूपक्षलाई मुसलमान हुनु पर्छ। यसको विपरीत मुसलमान हिन्दु भएको घटना हुँदैन भन्दानै चल्छ। सय-सय वर्षदेखि भारतीय महाउपदेशमा हिन्दुहरूलाई धर्मान्तरकरण गरिएको छ। आज हिन्दु कट्टरवादीहरूले जब प्रतिशोध लिन खोज्दैछन् वा विपरीत घटना घटाउन खोज्दैछन् तब दिल्लीको संसद धरी थर्कमान भयो! हिन्दुहरूलाई मुसलमान वा ख्रिस्तान बनाउन सकिन्छ तर कसैलाई हिन्दु बनाउन सकिन्दैन! यस्तो विषमता मानिलिनु हुँदैन। हिन्दुहरू महाउत्साहसाथ मुसलमानहरूलाई धर्मान्तरकरण गराउदैछन्, तर २५ करोड मुसलमानहरूलाई के धर्मान्तरकरण गराउन सम्भव छ? २५ जनालाई धर्मान्तरकरण गराउदा त चारैतिर आवाज उठ्दैछ, निन्दाको “छि छि” हुँदैछ! 
धर्म परिवर्तनको अधिकार सबैलाईनै हुनु पर्छ। केशको स्टाइल, लुगाको फेशन, घर गाडी, राजनैतिक दल, नीति-आदर्श, पति-पत्नी सबै त फेर्न सकिन्छ, तब धर्म फेर्न नसकिने के कारण हुन सक्छ र? धर्म के यस्तो ? ढुङ्गा हो जसलाई जीवनबाट हटाउन सकिन्दैन! मानिस जति खुसी धर्म परिवर्तन गरून्, जुन धर्म मनपर्छ त्यहीँ धर्म ग्रहण गरून्। हिन्दुबाट मुसलमान होउन्, मुसलमानबाट हिन्दु होउन्, ख्रिस्तानबाट यहुदी, यहुदीबाट मरमन, मरमनबाट जिउभास युटनेस, जिउभास युटनेसबाट बोद्ध, बोद्धबाट जोरास्ट्रीयन, जोरास्ट्रीयनबाट बहाई, बहाईबाट पेगन होउन् वा जे इच्छा त्यै होउन्। धर्म परिवर्तन मानवअधिकारको अंश हो। स्वतःस्फुर्त रूपमै मानिसले धर्म परिवर्तन गरून्। अथवा स्वतःस्फुर्तनै मानिस नास्तिक भएर जाऊन्। धर्मको सांग्लोदेखी मुक्त होउन्। म त धर्मको संग्लोबाट शैशवदेखिनै मुक्त छु। खासमा कुनै पनि शिशुलाई धर्मद्वारा चिन्हित गर्नु उचित होइन। कुनै पनि शिशु कुनै धर्मविश्वास लिएर त जन्मेको हुँदैन। नानीहरूमाथि आमा-बाबुको धर्म विश्वास लादिन्छ। सबै नानीहरू आफ्नो आमा-बाबुको धर्मलाईनै आफ्नो भन्न बाध्य हुन्छन्। सबैभन्दा राम्रो त के हुनेछ भने नानी ठुलो भए पछि वा बुद्धि पलाएपछि यदि उसलाई संसारको जम्मै धर्मको बारेमा ज्ञान दिइयोस्, केवल धर्म मात्र होइन उसलाई नास्तिकता र मानवतन्त्र सम्पर्कमा पनि ज्ञान दिइयोस्, त्यसपश्चात् उसले आफ्नो विश्वासको निम्ति जुन कुनै धर्म छान्नेछ, अथवा नास्तिकता मन परे उसले त्यहीँ ग्रहण गर्ने छ। राजनैतिक विश्वास ग्रहण गर्नको निम्ति त वयस्क हुन पर्छ, तब धार्मिक विश्वास ग्रहण गर्नको निम्ति वयस्क हुने आवश्यकता किन छैन?
धर्म विश्वासको निम्ति अन्धोपनको प्रयोजन हुन्छ! अनभिज्ञ शिशुहरू यसको निम्ति अति उपयुक्त हुन्छन्। आँखा देख्ने मानिसहरूले त धर्मको परिकथालाई सहजै मान्न सक्दैन! यदि धर्मको नाममा नानीहरूको मजगसफाई आजदेखि बन्द गरे संसारबाट धर्मको विलुप्तिमा बेसी दशक लाग्ने छैन।
जब धर्मको अस्तित्वकै बारेमा प्रश्नचिन्ह लागि रहेको छ, यति बेला पनि हिन्दु कट्टरवादीहरू चाहिँ मुसलमान कट्टरवादीहरूको अनुसरण गर्नमै व्यस्त छन्। दायित्व लिएरै भन्दैछु, हिन्दु कट्टरवादीहरूले मुसलमान कट्टरवादीहरूको पदछाप अनुसरण गरिरहेका छन्। मुसलमानहरू भायलेन्स गर्छन् त्यसैले हिन्दुहरू पनि गर्ने। मुसलमानहरू विधर्मीहरूलाई धर्मान्तरित गर्छन्, त्यसैले हिन्दुहरूले पनि गर्ने। मुसलमान कट्टरवादी र हिन्दु कट्टरवादीमा ज्यादा फरक छैन। जम्मै कट्टरवादीहरूको एउटै धर्म, एउटै मन्त्र हो: मानिसहरूलाई विभ्रांत गर, समाजलाई स्थावित गर। 
सुन्दैछु धर्मान्तरण विरोधी एउटा ऐन जारी गरिंदैछ हरे। यो चाहिँ अति नै भयो। जिवनको अन्य जुन कुनै विश्वास परिवर्तन गर्ने अधिकार मानिसको हुनु, केवल धर्म परिवर्तन गर्ने अधिकार मात्रै नहुनु! यसको कुनै अर्थ छ? कुनै एउटा निर्दिष्ट धर्मको खाँचामा मानिसलाई बन्दी बनाएर राख्नु अन्याय हो। संविधानमा यदि गणतन्त्र र मानवअधिकारको कुरा लेखिएको छ भने, धर्मान्तरकरण विरोधी ऐन कानुनीरूपमा लागु गर्न सकिन्दैन। म बुझ्दिन धर्मको विलुप्तिको आशंका लिएर किन यस्तो भय? धर्मलाई के कुनै शक्तिको प्रयोगले पक्रेर राख्न सकिन्छ? कहिले राख्न सकिएको छ? सुमेरिय, मेसोपोटामिय, मिशरिय, ग्रीक, रोमन, भाइकिंग इत्यादि कति हौ कति धर्म मरेर खरानी भइसक्यो। आजकल हिन्दु धर्म, बोद्ध धर्म, यहुदी धर्म, ख्रिस्ट धर्म, इस्लामपनि एकदिन मर्नेछ। प्रकृतिसँग मेरो प्रार्थना गर्छु अब उसो झुठो अभिज्ञान अनि कुसंस्कार निर्भर नयाँ कुनै धर्म यो पृथिवीलाई जलाउन नजन्मोस्। 
मानवतन्त्र बाँचोस्। कुनै धर्मले मानव सभ्यतालाई बचाएर राख्दैन। मानिस प्रति मानिसको ममताले मात्रै सभ्यतालाई बचाउछ। मानिसको मुक्तचिन्ता, कुसंस्कारमुक्ति, विज्ञान मानसिकता, युक्ति बुद्धिलेनै मानिसलाई बचाउँने छ।

No comments:

Post a Comment