Thursday, April 2, 2015

प्राचीन भारतमा विज्ञान अनि प्रविधि

विशेष निवन्ध 

प्राचीन भारतमा विज्ञान अनि प्रविधि

[बंगलादेशको अभिजित राय, फिजिसिस्ट अनि प्रगतिशील ब्लोगर, ढाकामा पुस्तक मेलाबाट फर्किंदै गर्दा धार्मिक कट्टरवादी शक्तिहरूको हातबाट मारिए किनभने तिनले झुठो-विज्ञान अनि अन्धविश्वासको विरुद्ध आवाज उठाएका थिए। हामी भारतमा पनि यस्तै वातावरणको सामना गर्दैछौं। अभिजित रायले प्रगतिवादी ब्लग मुकतो-मोनो शुरू गरेका थिए। यो लेख त्यहि ब्लगमा प्रकाशित भएको अशोक मुखोपाद्यायद्वारा लेखिएको हो। यही लेखको संक्षिप्त नेपाली अनुवाद यहाँ पाठकहरूको निम्ति प्रस्तुत छ।]

हालैमा प्राचीन भारतको विज्ञान र प्रयुक्ति लिएर निकै प्रचार शुरु भएको छ। आरएसएस अनुसार कुनै एकजना दीननाथ बत्राले हिन्दीमा केही किताबहरू लेखेर प्राचीन भारतमा वैज्ञानिक आविष्कारको धेरै दावा गरेकाछन्। गुजरातको बीजेपी सरकारले उनको त्यस्तो किताबहरूलाई गुजराती भाषामा अनुवाद गरेर नि:शुल्क विद्यार्थीहरूलाई वितरित गऱ्यो र अनिवार्य पाठ्य बनायो। बत्राले अब NCERT र CBSEलाई स्कुल पाठ्यक्रम संशोधन गर्ने परामर्श दिंदैछ। प्रधानमन्त्री भएपछि मोदीले स्वयम् मुम्बईमा एउटा निजी अस्पताल उद्घाटन गर्दा गणेशको हात्तीको टाउको बारे उल्लेख गर्दै प्लास्टिक सर्जरी अनि कर्णको जन्मकथा सुनाएर जेनेटिक्स मा प्राचीन भारतले कत्रो विकास गरेको थियो त्यो देखाउने कोशिश गऱ्यो। अचम्म को कुरा के छ भने, त्यहाँ निश्चयनै कतिजना डाक्टरहरू थिए, अनि उनीहरूले धरी चिया, समोसा, स्यान्डविच बिरियानी सित ज्ञानी मोदीको यस्तो भाषणहरू पचाइदिए। उहाँले विज्ञान सिक्न आवश्यक छैन भनेर आरएसएसको विश्वासलाई प्रचार गरे। त्यसको सट्टामा बरु हामीले पुरातन संस्कृत अध्ययन गर्‍यौ भने, राम्रो तरिकाले विज्ञान जान्नसक्छौं, त्यो पनि आजभन्दा बेसी। सबभन्दा चाखलाग्दो घटना चाहिँ भारतीय राष्ट्रिय विज्ञान काँग्रेसमा भयो। त्यहाँ धुमधामसँग एउटा सत्रनै थियो के माथि भने प्राचीन भारतमा ऋग्वेदको जमानामा के के विज्ञान र प्रविधिको विकास भएको थियो, त्यसको व्याख्यामा। एकजना पायलट (वैज्ञानिकहरूको सभामा पायलट?) आएर भन्यो त्यो जमानामानै हवाईजहाज चल्थ्यो। 
सबैलाई थाहा छ कि यी सब थिएन— यी सबै बोल्नेकुरा मात्रै हो, कतिजना अन्धविश्वासी, मूर्ख, न्यूनतम युक्तिज्ञान विहीन मानिसले यी बकवासहरू मान्नसक्छन्। तर यो लेख लेख्दा यो चर्चालाई अर्को प्रकारले हामीले गऱ्यो भने एउटा नयाँ दृष्टिकोण खोलिन्छ। प्राचीन भारतमा जिन थ्योरी वा प्लास्टिक सर्जरी थिएन भन्ने कुरो त सबैलाई थाहा छ। त्यसोभए हामीले यसरी राख्नसक्छौं यो प्रश्नलाई— के यी सबै कुराहरू त्यतिखेर हुनु सम्भव थियो? 
विज्ञान र प्रविधिको विकासको एउटा निर्दिष्ट गति छ। यो विकास अनियमित, जसोतसो प्रकारले त हुँदैन। एउटा लामो समयसम्म मानिसले प्रविधीलाईनै मात्र आत्मसात् गऱ्यो। त्यसको अन्तर्निहित सिद्धान्त त्यतिबेला उसलाई थाह थिएन। उहाँले बिस्तारै, धेरै पछि सम्बन्धित सिद्धान्तहरू सिकेका हुन्। उदाहरणस्वरूप, मानिसले छ हजार वर्ष पहिलेनै धातुको प्रयोग गर्नथालेको थियो, तर धातुको रसायन थाह भयो केवल दुई सय वर्ष अगाडी। आज भन्दा चार सय वर्ष अघि पनि संसारको कुनै पनि ठाउँमा मानिसले आठ भन्दा बेसी धातु बारे जानकारी पाएको थिएन। सुन, चाँदी, फलाम, टिन, जस्ता, तामा, सिसा, पारा। त्यही कारणले गर्दा कुनैपनि देशको ज्योतिषशास्त्रमा अष्टधातु भन्दा केही बेसी भनिएको छैन। भारत मा पनि।
विज्ञान र प्रविधिको समस्याहरू सजिलो नभइन्जेल सम्म यस्तो स्थिति बरकरार थियो। प्रकृतिमा यसरी नै उपलब्ध कुराहरूलाई लिएर परीक्षण-निरीक्षणको सजिलो प्रक्रियाको प्रयास-विफलताको बाटोमा केही प्रविधिको आविष्कार भयो। तर पछि गएर विपरीत हुनथाल्यो। कोपर्निकस-उत्तर पर्यायहरूमा विज्ञानको विकासको क्रम उल्टो जस्तो देखापऱ्यो। पहिला आयो सैद्धान्तिक कुराहरू, आधारभूत धारणाहरू, केही मूल सत्यहरू अनि त्यसको आधारमा ती सबै उपयोग गरेर प्रविधिको चिन्ता आयो। जस्तै न्युटनको मेकानिक्सबाट आयो यन्त्रविद्या र यान्त्रिक प्रविधिको अग्रगति। प्रकाश सम्बन्धित विज्ञान र प्रविधि, जिन सम्बन्धित नयाँ ज्ञानहरूबाट सम्बन्धित जिन प्रविधि आयो। प्राणीविद्या, उद्भिदविद्याको ज्ञान विकसित भएको छैन, कोष सम्बन्धित धारणाको अग्रगति भएको छैन, तर जिन विद्या र प्रविधि अघि हिड्नु थाल्यो — ज्ञानको क्षेत्रमा यस्तो कहिल्ये पनि हुँदैन। 
विज्ञानको कुनैपनि शाखामा यस्तो एक्लैले विकास हुँदैन। भौतिकविद्याको विकास भइसक्यो, तर रसायनविद्या पछाडिएको छ, जीवविद्या स्थिर, गणितको विकास रोकिएको हालतमा हुन्सक्दैन। केही दशकौको फरक हुनसक्छ त्यसमा, तर केही शताब्दीको फरक चाँही यस खण्डमा हुँदैन। ग्यालिलियो टेलिस्कोप बनाएर बृहस्पतिलाई हेर्ने बेलामा उनले लेन्स बारे पनि सोच्नुपऱ्यो। न्युटन जब आधुनिक भौतिकवादको विकास गराउदैछन्, त्यतिबेला नै तिनी आधुनिक क्याल्कुलासको पनि जन्म दिँदैछन्। यसैले विज्ञानको इतिहास बारेमा कुनै पनि दावा गर्दाखेरी यो मुलभुत समझदारी कसैलाई पनि हुन जरुरी छ। 
यो मूल कुरा सँग अझै एक-दुईवटा कुरा यो सन्दर्भमा भन्नुपर्छ। अचम्मको कुरा के छ भने, प्राचीन भारतको बारेमा केवल ती आविष्कारहरू बारे हामी सुन्दै छौ, जुन चाँही पश्चिमी देशहरूमा आविष्कार भएको छ। अझै आश्चर्यजनक हो ती सबैको नामहरू— हाम्रो देशको आविष्कार थियो भने त त्यो कुराको नाम हाम्रो देशको भाषा-संस्कृति सँग सम्बन्धित हुनपर्ने थियो। तर यी सबैको नाम चाँही एकदमै आधुनिक पश्चिमी नाम कसरी आयो? प्राचीन भारतमा जब गणेशको जिउमाथि हात्तीको टाउको लगायो, त्यसको नाम प्लास्टिक सर्जरी कसरी भयो? त्यसको नाम शुद्ध आर्य संस्कृत भाषामा “अथः अन्यशरीरेतर मुण्डयोजन” जस्तै केही हुनपर्ने थियो नि! होइन र?
अर्को कुरा के छ भने, मानवज्ञानको इतिहास अधि बढ्दा लाइब्रेरी र अन्यप्रकारको ज्ञान सङ्ग्रहको प्रक्रियाको अग्रगति सितै यस्तो चलन आयो कि जुन विषयको किताब, त्यसमा त्यही विषय लिएरनै चर्चा रहन्छ। भारतमा पनि ज्ञानको विकास यसरी नै भएको छ। तर प्राचीन भारतमा आधुनिक विज्ञानको सबै आविष्कारलाई खोज्नेहरूले ती विज्ञानको कुराहरू जहीतहीँ खोज्छन्। जस्तै हुनसक्छ कि उनीहरूले चुम्बक बारे खोज्दैछन् कौटिल्यको अर्थशास्त्रमा, अपेक्षवाद ब्रह्मापूरानमा, जिनविद्या महाभारतमा... यसरी होला! केही दिन अघि कतिजनाले दाबी गऱ्यो ऋग्वेदमा पाइथागोरस थ्योरेमको कुरा छ भनेर। अब भन्नुस त, किन चाँही ऋग्वेदमा पाइथागोरसको थ्योरेम रहन्छ? के ऋग्वेद ज्यामितिको ग्रन्थ हो र? किन चाँही यस्तो आशै राख्नु कि ऋग्वेदमा यस्तो कुराहरू हुनसक्छ भनेर?
प्राचीनकालमा भारतीय चिकित्सकहरू प्लास्टिक सर्जरीमा सिद्धहस्त थियो भन्ने प्रमाण हो टाउको विहीन गणेशमाथि हात्तीको टाउको जोडीदिनु! गान्धारीको सय पुत्र जन्मको घटना आधुनिक विज्ञानको स्टेमसेल रिसर्च जस्तै हो!! यस्तो वक्तव्यहरू सुन्दा सुन्दै अचानक मुम्बईको विज्ञान काँग्रेसमा एकजना पाइलटले भन्यो— वैदिक युगमा भारतमा हवाई जहाज पनि चल्थ्यो। विज्ञानमा यस्तो कुराहरूको जग्गा छैन, धार्मिक गुरुहरूको स्थानमा गाँजा पिएर कसैले यस्तो कुराहरू भन्न सक्ला, तर विज्ञानको आँगनमा यी सबै कुरा ल्याए निकै मुस्किल छ। 
तर प्राचीन भारतमा गर्व गर्ने केही सम्पदा निश्चयनै छ। ती सबै प्राचीन युगको नै आर्जन हो। ती लिएर आजको काम चल्दैन, आजको जमानाको ज्ञान-विज्ञानसँग त्यसको तुलना पनि चल्दैन। तर त्यतिखेरको लागि यी सबै निकैनै महत्वपूर्ण थियो। तीनवटा विषयमा यो आर्जन समकालीन दुनियाँको तुलनामा अन्य देशहरू भन्दा अगाडि नै रहनेछ। साहित्य, भाषाविज्ञान र गणित। 
साहित्यको हिसाबले ऋग्वेद प्राचीन भारतको एउटा विस्मयकारी सृष्टि हो। आजदेखि प्रायः साढे तीन हजार वर्ष अगाडी एउटा जंगलनिवासी युद्धगर्ने पशुपालक बन्जारा मानिसहरूका टोलीले सम्पूर्णरुपले दन्तेकथामै यस्तो एउटा विशाल काब्य रचना गरेको थियो अनि त्यसलाई श्रुति-स्मृति-आवृत्ति-पुनरावृति एउटा सामूहिक प्रक्रियाले एक हजार वर्षसम्म संरक्षण गरेको थियो, अनि त्यसपछि लिपिको उद्भव भएपछि लेख्ने कौशल आत्मसात गरी त्यसलाई भाग भागमा लेखिसकेको थियो— यस्तो घटना त संसारमा कम्ती नै छ। यस्तो विशाल साहित्यलाई धर्मग्रन्थ बनाएर यसको पाउनुपर्ने मर्यादालाई त सम्पूर्णरुपले खतम पारिदिएको छ। खास कुरा के हो भने, धर्मग्रन्थको हिसाबले यो ऋग्वेदको चाँही कुनैपनि योग्यता छैन। यसमा पूजाको कुरा छैन, छैन आत्मा परमात्माको कुरा, स्वर्ग-नर्क छैन, पाप-पुण्य छैन, छैन मोक्ष लाभको कुरा पनि— धर्मको लागि महत्वपूर्ण यस्तो कुनै पनि कुरा यसमा कहाँ छ र? यसमा छ प्रकृतिको विभिन्न शक्ति जस्तै सूर्य, पहाड, नदी, उषा, अग्नि इत्यादिको प्रशंसा र प्रशस्तीको कविताहरू। यी सबैलाई केन्द्रित गरी नानाथरीका आवेगको अभिव्यक्तिहरू। यसमा छ विपुल भोजनको राम्रो-नराम्रो असर बारे कुराहरू। खाद्यान्न सङ्ग्रह र लुटपाटको समस्या बारे भनिएको छ यसमा। सूर्य, पहाड, नदी इत्यादि जुनलाई देवता भनिन्थ्यो तीहरू मानिसभन्दा पनि नराम्रो हो— हिंसा, आरिस, लोभ, रिस, चाहनामा तीहरू मानिसभन्दा दस गुणा बेसी खराब हो। प्राचीनयुगको मानिसहरूका स्वतस्फूर्त काब्यको हिसाबले वैदिक सुक्त वा कविताहरूको तुलना छैन। तर धर्मिक साहित्य वा शास्त्रको हिसाबले प्राचीनता बाहेक यसको कुनै पनि मूल्य छैन। 
दोस्रोमा आउँछ भाषाविज्ञान। संस्कृत सायद संसारको एकमात्र क्लासिक भाषा हो जसको जन्म भएको थियो केही चिन्ताशील मानिसहरूका निकै गहिरो विचार-विश्लेषण र संश्लेषणको बाटोबाट। वैदिक भाषा थियो खासमा मौखिक असंगठित विन्यास विहीन भाषा। त्यसबाट शब्दमूल धातुमुल खोजी निकालेर समस्त भाषाको ढाँचालाई राम्रो प्रकारले व्याकरण निर्माण गरी सङ्गठित गर्ने एकमात्र उदाहरण सायद यो नै हो। त्यही कारणले यस भाषाको लिपि प्रकरणमा प्राय सबै उच्चारणयोग्य स्वरध्वनी र व्यन्जनध्वनी अन्तर्भुक्त भएको छ। स्वरध्वनिहरू उच्चारणको क्रमानुसारले राखिएको छ। अ आ इ ई ... इत्यादि। व्यन्जनध्वनीहरू पनि मुखभित्रको उच्चारण स्थानको अनुसारले एउटा चाखलाग्दो क्रममा राखिन्थ्यो। अनि यी सबै विकास भएको थियो आज भन्दा साढे दुई हजार वर्ष अघि। यो त निश्चयनै गर्वको कुरा हो।
तेस्रोमा भन्नसकिन्छ गणितमा शून्यको आविष्कार र उपयोग। सबैलाई थाहा छ, आधुनिक गणित र विज्ञानमा पनि, शून्य एउटा महत्वपूर्ण सङ्ख्या हो। शून्य बाहेक वीजगणित वा आलजेब्राको विकास हुनु असम्भव थियो गणितीय धारणाको हिसाबले शून्यको आविष्कार ठिक कुन बेलामा भएको थियो त्यो वर्तमानमा भन्नु त मुस्किल छ। भारतीय इतिहासकारहरूले यसलाई धेरै प्राचीनकालमा धकेल्ने कोशिश गरेतापनि त्यसबारे निर्दिष्ट तथ्य प्रमाणको छैन। लगभग पाँचौ शताब्दीमा आर्यभटको समयदेखि यसको गणितीय उपयोग देखिन्थ्यो। तर आर्यभटले पनि शून्यलाई उपयोग नगरेरै धेरै गणित लेखिएका थिए। तरैपनि, त्यो समयदेखि नै शून्यलाई उपयोग गरेर विभिन्न पद्धति विकसित हुनथाल्यो। ठुल्ठुला सङ्ख्या लेख्दा यो कस्तो प्रकारले सुविधा दिन्छ, त्यो जसलाई शून्य-विहीन सङ्ख्या लेख्नबारे थाह नहुनेहरूले कल्पना गर्नु असम्भव छ। यो शून्यको धारणा र यसको आधारमा बनिएको विभिन्न पद्धति वाणिज्य लेनदेनको बाटोले अरब भएर नवम शताब्दीमा युरोप पुग्यो। 
यी तीनवटा क्षेत्रहरूमा भारतको योगदान एकदमै महत्वपूर्ण छ। यस बाहेक प्राचीन भारतमा अझैपनि विज्ञान-प्रविधिको विकास भएको थियो। जस्तै— धातुविद्या, आयुर्वेद, शल्य चिकित्सा इत्यादि। यी सबै क्षेत्रमा अग्रगति संसारको अझै देशहरूको विकास सँगसँगै भएको थियो। जसले तथ्य र सत्य माथि आधारित भएर गर्व गर्न चाहन्छन, उनलाई यसबारे सचेत रहेरै दाबी पेस गर्नुपर्छ।

एकतिर हाम्रो देशबाट झुटो दावाको सङ्ख्या बढ्दा बढदै साँचो योगदानहरू भने छोप्नु आँटेको छ। त्यसमाथि यो त स्वीकार्नु पर्छ कि वर्तमानमा विज्ञान र प्रविधिमा मुलभुत योगदानको हिसाबले हामी पश्चिमी दुनियाँ भन्दा पछाडि नै छौँ। कुनै पनि झुटो चित्कारले यो सत्यलाई छोप्नु सक्दैन। तर, हामी हाम्रो गल्तीहरू राम्ररी बुझ्यौं भने, किन हामीले आधारभूत आविष्कारहरू गर्नसक्दैनौं— त्यसबारे चर्चा गर्‍यौ भने हामीले छिट्टै केही राम्रो अग्रगति गर्न सक्छौँ होला। झुटो दावा गर्नेहरूले यस्तो चाहन्नन्। उनीहरूले चाहन्छन् कि यस्तो सही अग्रगति नहोस्। झुटो दावा र गर्व लिएरै बसिरहोस् देशको मानिसहरू। हामीलाई नै निर्णय लिनुपर्छ, कतिबेरसम्म हामी आफूलाई यस्तो प्रकारले धोका दिँदै जान्छौं? कहिलेसम्म हामी विकसित दुनियाँ अगाडि आफूलाई यसरी हास्यास्पद बनाएर बस्छौं? वर्तमानको समयले प्रगतिको तर्फ आफ्नो दाबी उठाउन थालेको छ। 



No comments:

Post a Comment