Thursday, December 30, 2021

पहाडमा एउटा 'भ्याक्युम' छ !

छेवाङ योञ्जन


जिउँदै छ देवतन्त्र

लद्दाख टुरबाट फर्किएका पूर्व गोरामुमो नेता अजय एडवर्डलाई उनका अनुयायीहरूले (यहाँ 'अनुयायी' शब्द नै उचित होला। किनकि एडवर्डलाई कुनै धर्मगुरु वा देवता भन्दा कम स्वागत गरिएको थिएन) सिलगढीमा जुन भव्यताका साथ स्वागत गरे, त्यो देखेर म धेरै बेर हाँसी रहे। अनुयायी होस् वा समर्थक आखिर उनीहरूले अजय एडवर्डलाई बनाउन चाहेका के हुन्? एडवर्डमा देख्न चाहेका के हुन्? सायद स्वागत कर्ममा जुटेकाहरूलाई नै थाहा थिएन। 

मोबाइलमा लाइभ भिडियो हेर्दै एक जना मित्र म नजिकै गमिरहेका थिए। मलाई भने एडवर्ड ग्रुपको तामझाम र मिडियाको एक्सट्रीम कभरेजले दिक्क बनाइ सकेको थियो। लाइभ भिडियोमा एकाग्रह भइरहेका मित्रलाई सोधेँ— 'के लिएर आएछन्? स्वागत जोडतोडको छ त।' उनले मेरो प्रश्नको प्रतिक्रिया दिएनन्। भनौँ दिन चाहेनन्। मलाई थाहा छ— 'जवाफ दिन लायक केही पनि ल्याएका छैनन्।'

लद्दाख घुम्न गएको एक जना नेताले दलभित्रको षड्यन्त्रको खुलासा गर्दै राजीनामा दिएको घोषणा गर्छन्। केही दिन लद्दाखमै मनोरम दृश्यहरूमा रमाएर घर फर्कन्छन्। ती राजीनामा दिने नेतालाई समर्थकहरू चमत्कारी पुरुष ठान्दै भव्यतासाथ स्वागत जनाउँछन्। साधारण आँखाले देखेको घटना यति मात्र हो। यति ठुलो स्वागतको भागिदारी बनेका अजय एडवर्डले भनौँ नै भने आफ्ना नजिकका समर्थकहरूलाई लद्दाखको भोटे छुर्पीसमेत ल्याउन भ्याएनन्। 

एडवर्डको स्वागतलाई किन यति धेर कटाक्ष? भन्नु होला। तर यति पनि बुझौँ, जबसम्म पहाडको क्षेत्रीय राजनीतिमा अतिरञ्जनापूर्ण परम्परा, हिरो कल्चर, व्यक्तिवाद, अनुयायी प्रवृत्ति, आशय मानसिकता रहिरहन्छ तबसम्म यस्ता कुराजनीतिक संस्कारहरू विरुद्ध लेख्नै पर्छ। किन कि राजनीतिमा हिरो कल्चरले गर्दा नै बदमास भन्दा बदमास नेताहरूलाई पनि समर्थकहरूले राम, बुद्ध, इशु र अल्लाह बनाउने प्रयास गर्छन्। जुन एडवर्ड एन्ट्री प्रकरणमा स्पष्ट देखियो। किन कि पुरानो दलमा हुँदा उनले जति जे गर्न सके। अब पनि गर्ने भनेको त्यति नै हो। उनका समर्थकहरूले यति मात्र बुझुन् कि उनी कुनै चमत्कारी पुरुष होइनन्। जसले तपाईँको जीवनमा ‘छुमन्तर’ गर्नेछ। जसले एकै रातमा पर्जा-पट्टा दिलाउने छ। जसले एकै साँसमा न्यूनतम ज्याला दिलाउने छ। त्यसैले उनलाई नेता ठान्नेहरू हो कृपया उनलाई नेता नै हुन् देऊँ! देवता नबनाऊँ। 

यसैले म किटान गरेर भन्छु राजनीतिमा यस्ता देवतन्त्र कायम रहेसम्म जनताले न्याय पाउँदैनन्। संस्कारी राजनीतिको बोक्रे बहस गर्ने बौद्धिकहरूले हिरोइजम एव देवतन्त्रबारे बोल्ने प्रयास गरून्। जनतालाई अर्को खाल्डोमा पस्नबाट सचेत गराऊँ। 

कालेबुङबाट एक जना पत्रकार मित्रको फोन आउँछन्। उठाएर सुन्छ - ' अस्ति नै कलकत्ता पुगेको थियो रे! आइबी/डीआईबी-को रिपोर्ट छ' सुनेर मैले भने  - ' पोहोरसम्म दश जना ठेकेदार थिए अब एघार जना भयो। कति ठगिने हो जनता।'


नयाँ पार्टीमा पुरानो नृत्य

दोस्रो लहरको कोरोनाले गाऊँ बस्ती सोत्तोर पऱ्यो। पहाड-तराई-डुवर्सका हरेक बगान-बस्तीहरू कोरोना सङ्क्रमणमा चुर्लुम्म डुबेको थियो। हाम्रा केही युवा साथीहरूले एउटा समूह तयार गरेका थिए -WSO। सङ्कटकालमा बगान-बस्तीमा राहत सामग्री लैजाने र पीडितहरूलाई सकेसम्म सहयोग गर्ने। सिलगढीमा राहत सामग्री, औषधि, अक्सिजन जम्मा गरेर एउटा स्टोरमा राख्नु पर्ने मेरो दायित्व थियो। कलकता-दिल्लीबाट समानहरू आउँदा, ल्याएर स्टोरमा राख्ने। दार्जिलिङ, मिरिक, कालेबुङ, डुवर्सतिर समानको माग हुँदा। पुऱ्याउनु जानु पर्ने। मेरो दैनिकी यसरी नै चलिरहेको थियो। 'सङ्कटकालमा केही अर्थपूर्ण काम त गर्न पाएँ' - मनमनमा सोच्थे। खुशी लाग्थ्यो। एक प्रकारको आनन्द पनि उस्तै। एक दिन अक्सिजन सिलिन्डरहरू बोकेर स्टोरमा जम्मा गर्दै थिए। गोजीमा फोन बज्यो। सिलिन्डर भुईँमा राखेर फोन हेरे। स्क्रिनमा परिचित नाम छ। सहयोग चाहियो होला भनेर फोन उठाएँ। सन्चो- सुविधा पुछताछ भयो। 'म ठिकै छु तपाईँको भन्नु होस्' मैले भने। 'अँ नयाँ समीकरण बारे के छ हौँ तिम्रो?' उताबाट कौतूहल आयो। 

दस लिटर सिलिन्डर बोकेकोले मेरो निदारमा चट-चटी पसिना चुहिरहेको थियो। त्यहीँ माथि यो प्रश्न सुन्दा मलाई भर्खरै पुगेको बाह्र घरे गाउँको याद आयो। डुवर्सको त्यो गाऊँ।  जहाँ सम्पूर्ण गाऊँ सङ्क्रमण हुँदा अधिकांशले ज्यान गुमाउन परेका थिए। हाम्रो राहत टोली देखेर गाउँलेहरू रोएका थिए। भावुक स्वरमा भनेका पनि थिए - 'चुनाव अघि नेता आए पुल बनाउने बाचा गरे। चुनाव सकियो। कोरोना आयो। स्वास्थ्य विभागले रेड जोन भन्यो। तर ग्रिन कसरी हुने? उपचार के होला? केही सुबुद्धि दिएन।' म अहिले पनि त्यो रङ्ग उडेको पहेँलो क्याप लगाउने अर्धवैसे दाजुलाई सम्झिन्छु। जसले हामी फर्कँदै गर्दा भनेका थिए - ' राक्षस मात्र होइन, यो संसारमा मान्छे पनि रहेछन्। जसले यस्तो बेला हामीलाई सम्झे'। उनको यी वाक्यलाई मनन गर्दै म प्रश्न गर्छु-यस्तो भिषण सङ्कटको समय पनि मलाई नयाँ समीकरणबारे सोध्ने ती पुरुष राक्षस कि मान्छे? 

आजको पुँजीवादी व्यवस्थामा जसले  बुर्जुआ राजनीति दलले सर्वहाराको हितमा काम गर्छ भन्छ र जसले पनि यो कुरालाई सत्य ठान्छ, ती दुवै मूर्ख हुन्। अझ यस्तो सङ्कटको समय जनकल्याणकारी काम नगरेर नयाँ दलको खाका कोर्ने नेताहरूले कसरी जनहितको काम गर्न सक्छ? नेताको मानसिकतामा के छ? त्यो त दल र दलीय क्रियाकलापले स्पष्ट पार्छ नि। राज्य वा केन्द्रको लगाम बिना क्षेत्रीय दलहरूको पिना गल्दैन भन्ने यथार्थ हामीले इतिहासबाट बुझिसकेका छौँ। वर्तमानमा पनि कुन दल केन्द्रको इसारामा छ र कुन दल राज्यको नोकमा चल्छ स्पष्ट छ। कर्पोरेटहरूको इसारा र नोकमा चल्ने राज्य र केन्द्रले क्षेत्रीय दलहरूलाई नचाउँछ। तब हामी कसरी यी दलहरूबाट जनहित र जनकल्याणकारी कामको अपेक्षा गर्नु? पहाडमा यति धेरै क्षेत्रीय दलहरू भइसकेका छन्, जसको राजनीतिक धरातल पहाडमा होइन तर दिल्ली र कलकतातिर छन्। 

राजनीतिले जनताको बुनियादी समस्याहरू सम्बोधन गर्नुपर्छ। जसरी यहाँका दलहरूले चुनाव क्रममा गरेका थिए। तर आज कहाँ पुगे त ती चुनावी वाचाहरू? चुनावपछि कति युवाहरूले रोजगार पाए? पर्चा-पट्टाको 'गोल्डन प्रमिस' के भयो? न्यूनतम ज्यालाको 'कमिटमेन्ट' के भयो? वाचा गरेका ती दलहरूलाई यी प्रश्नहरू कसले सोध्ने? अजय एडवर्डले पार्टी त्याग गर्दा चौतर्फी हल्ला हुने तर जनताले युगौँदेखि कुरेर बसेका बुनियादी मुद्दाहरूबारे मिडिया समेतले चर्चा नगर्ने? नयाँ समीकरणको डिजिटल प्रस्तुति गर्न सक्ने तर जनताको पिर-मार्काबारे एक शब्द पनि नबोल्ने? राजनीति कर्मी र दलहरूको यस्ता लापरवाही चरित्र कहिलेसम्म सहन गर्ने हो? यस्ता तमाम प्रश्नहरू खडा हुँदा हुँदै पनि नेताका अनुयायी र पार्टी समर्थरहरूले आफू हिँड्ने बाटो नै भत्काई रहेका छन्। एडवर्ड ग्रुप होस् वा नयाँ समीकरण यी दुवै तपकाबाट राजनीतिक निकासको अपेक्षा कुनै पनि अवस्थामा गर्न सकिन्नँ। रहल पुराना दलहरूका कुकर्मसूचीबारे त  हाम्रा आँखे-आबेनहरूको काँचो रगतले लेखिसकेको छ।

कोरोना प्रकोपले सम्पूर्ण विश्वलाई नै आर्थिक सङ्कटमा पुऱ्याएको छ। यस सङ्कटबाट निस्कन विश्वका तमाम देशहरूले नयाँ नयाँ राष्ट्रिय नीतिहरू पारित गर्नेछन्। र निश्चय नै विश्वका अधिकांश देशका नीतिहरू पुँजीवादलाई पक्ष-पोषण गर्ने थरिका हुनेछन्। आज भारतले जुन रफ्तारमा नयाँ नयाँ नीतिहरू पारित गरिरहेको छ, त्यसले भविष्यमा खटीखाने जनतामाथि व्यापक रूपमा आर्थिक शोषण बढ्नेछ। बेरोजगार र भोकमरी बढ्ने छ। तब पहाडको अवस्था कस्तो होला? आज समाचारको हेडलाइन बन्ने नेता र दलहरूसँग भविष्यको सङ्कटकालसँग लड्ने रोड म्याप छ? निश्चित रूपले भन्न सकिन्छ, आजका यी जम्मै नेता र दलहरूसँग कुनै प्रकारका राजनीतिक दुरदर्शिता छैनन्। दर्जनभर समर्थक जुटाएर राजनीति हाँक्नेहरूसँग न त दर्शन छ, न त भविष्यको चिन्ता। 

तर राजनीतिमा बेतुकका यस्ता गतिविधि भइरहँदा पनि पहाडमा एउटा 'भ्याक्युम' छ। जहाँ सर्वहाराले आफ्नो शिर उठाउने प्रयास गर्नेछ। प्रगतिशील युवा जमातले हरेक जाति, वर्ग, लिङ्ग र उत्पीडित समुदायको रक्षार्थ मुठ्ठी उचाल्नेछ। राजनीतिक हिरो कल्चरदेखि कता हो कता टाढा, चाप्लुसे-अनुयायी र समर्थकवाजदेखि मुक्त, अन्धो-राष्ट्रवाद विहीन एउटा जमातले त्यो भ्याक्युममा खुट्टा टेक्नेछ।


No comments:

Post a Comment

Darjeeling Hills in Chorus / Twenty Percent Bonus

(The Tea Workers’ Struggle for Bonus in the  Darjeeling  &  Kalimpong  Hills,  2024  )    Samik Chakraborty    Darjeeling's Singtam ...