लेखक सार्की
अप्रेल 14, 2021 को दिन भर्खरै राष्ट्रपतिको रूपमा चुनिएका जो बाईडेनले अफगानिस्तानबाट अमेरिकी सेनालाई हटाउने पूर्ण निर्णय लिए। 2001 देखि 2021 सम्म चली आएको “अमेरिकी नियम “ मा आधारित अनि व्यवस्थित रूपमा दखल नीतिको अन्त 30 अगस्त/2022 को दिन भयो। अफगानिस्तानको जमिनबाट अमेरिकाको अन्तिम हवाई जहाजले 30 तारिखको दिन अन्तिम उडान लियो। तर अफगानिस्तानको सत्ता भने तालिबानले 15 अगस्ट 2021 को दिन नै आफ्नू कब्जामा लिइसकेको थियो। तालिबानको 1996 देखि 2001 सम्मको "कालो शासन “ झझल्कोहरूमा अझै पनि आलो नै छ। तालिबानको शासनबाट भाग्नको निम्ति कान्दाहार एयरपोर्टमा रात दिनको भीड भएको भिडियोहरू पनि सामाजिक सञ्जालमा आइरहेका छन्। उड्दै गरेको हवाई जहाजबाट एक जना अफगानी झरेको भिडियो संसार भरी नै भाइरल भएर गयो। काँडेतारको अल्लो तर्फ आम अफगानीहरु रुँदै – कराउँदै ‘हेल्प अस्‘ भनिरहेका थिए। सारा संसार नै अचम्भित भएर हेरि रह्यो। दिनहरू बित्दै गइरहेको छ। अफगानिस्तान जली रहेको छ। अफगानीहरूलाई सम्पूर्ण संसारले एक्लै छोडीदिइसकेको स्थिति आज हामीले स्पष्ट देखिरहेका छौ। अब आगामी दिनहरूमा तालिबानले ‘शरिया कानुन‘मा देशलाई राज गर्ने प्रतिबद्धता गरी सकेको छ। नारीहरूमाथि भयानक उत्पीडनको परिवेश अफगानिस्तान भित्र सृजना भइरहेको छ। मुस्लिम इस्लामिक राज्यको धार्मिक कट्टरवादले अफगानिस्तानलाई कुन मार्ग तर्फ लाने हो ? अनि यो नयाँ राजनैतिक व्यवस्थाले अन्तर्राष्ट्रिय इक्वेसन मार्केटमा कतिको प्रभाव पार्ने हो ? यो कुरा त भविष्यले नै बताउने छ। तर, हिन्दु कट्टरवादले ग्रस्त वर्तमान भारतमा बसेर हामीले अनुमान भने निश्चय नै लाउन सक्छौ। धार्मिक झगडा अनि हत्याको परिवेशले कुनै पनि देशलाई प्रगतिशील दिशा तर्फ कहिले लान सक्दैन नै। भगवानको नाममा एक अर्कामा धार्मिक कट्टरवादीहरूले साम्प्रदायिक अनि धार्मिक झगडा लाउँछ नै लाउँछ। त्यसका साथै ‘गृहयुद्ध'को परिस्थिति पनि उत्पन्न हुनेछ।
इतिहासलाई पल्टाएर हेर्दा…
अफगानिस्तानलाई संसारभरि नै ‘साम्राज्यहरुको चिहान' भनेर चिनिन्छ। अफगानिस्तानको इतिहासलाई निर्दिष्ट रूपमा बुझ्दा अनि पढ्दा साँच्चै नै वर्तमान अफगानिस्तानको उत्पत्ति हजारौँ वर्षको युद्ध अनि सङ्घर्षमा लुकेको छ। हालैमा एसिया अनि युरोपेली देशहरूलाई ट्रेडको रूपमा जोडी दिने नै अफगानिस्तानको सिल्करुट हो। अफगानिस्तानले भारत, चीन अनि युरोपेली देशहरूलाई जोड्छ। अफगानिस्तानको इतिहासमा लेनदेनको सम्बन्धले निरन्तरता अनि अत्यधिक भूमिका निभाएको छ। खाइबर पासले अफगानिस्तानलाई विश्वकै भूगोल अनि विभिन्न साम्राज्यको पकडमा समेटेको छ। अफगानिस्तान 678 बि.सी देखि 549 बि.सी सम्म मिडियन साम्राज्यको अधीनमा थियो। त्यसपछि पर्सियन अर्कमेनिड साम्राज्य को हुकुमत चल्यो ( 550 बि.सी – 330 बि.सी )। अलेक्जेन्डरको शासनकालमा पनि अफगानिस्तान शासित भएको इतिहासमा लेखिएको छ । त्यस समय व्यक्ट्रियाका मानिसहरूले अलेक्जेन्डरलाई तीव्र सङ्घर्षको टक्कर दिएको कुरा पनि हामी माझ इतिहासमा स्पष्ट रूपले उल्लेख गरिएको छ। त्यस पछि अरू धेरै साम्राज्यहरु आए अनि गए, जस्तै- सेलुसिड साम्राज्य ( 312 बि.सी – 63 बि. सी ), मौरियन साम्राज्य , पर्थियन साम्राज्य ( 247 बि. सी – 224 ए डी ), कुसन साम्राज्य , ससानिद पेर्जियन साम्राज्य ( 225 ए डी – 651 ए डी ) , सफारिद साम्राज्य ( 861- 1003 ए डी ), समानिड साम्राज्य ( 719 – 999 ए डी ) , गज्नाभिड साम्राज्य ( 977- 1186 ए डी ), घुरिद सुल्तानेट ( 879 – 1215 ए डी ), ख्वाजमियण साम्राज्य ( 1077 – 1231 ए डी ) , तिमुरिड साम्राज्य ( 1330 -1507 ए डी ) , मुगल साम्राज्य इत्यादि। यी सम्पूर्ण साम्राज्यहरूले अफगानिस्तानलाई कुनै न कुनै समयमा राज गरेका थिए। 1700 सम्मको इतिहासमा अफगानिस्तानको व्यापारी महत्त्व एकदमै सान्दर्भिक अनि महत्त्वपूर्ण भएको कारणले अफगानिस्तानलाई जहिले पनि शोषण अनि उत्पीडन गरेर अरूको अधीनमा राखिएको थियो। साम्राज्यहरू आए, साम्राज्यहरू गए। एकले अर्कामाथि आक्रमण गरेर अधीनको युद्धहरूको बिगुल फुकाए। दखलको इतिहासले नै अफगानिस्तानको भूतकाल निर्माण भएको छ। सरल भाषामा भन्नु पर्दा, अफगानिस्तानको इतिहासमा विभिन्न साम्राज्यहरूको उत्थान अनि पतन, जीत अनि हार, शासन अनि शोषणको हजारौँ कथाहरू लुकेका छन्।हरेक समयका विविध साम्राज्यहरूका शासनकालमा अफगानिस्तानका रैथाने जनजाति, किसान, मजदुर, व्यापारी इत्यादिहरू झनै पछाडिएको यथार्थ फेला पर्दछन्।
1700 पछिको इतिहासलाई राम्ररी बुझ्नको निम्ति अफगानिस्तानका रैथाने जनसाधारण बारे बुझ्न अति अनिवार्य भएर जान्छ। अफगानिस्तानको मुख्य रैथाने जनजातिको हिसाबमा पास्तुन, ताजिक, उजबेक, तर्कमन् अनि हजारौँ जातिहरू आउँछन्। सबै भन्दा बहुसङ्ख्यक रूपमा पाइने जनजाति पास्तुन हुन् अर्थात् संसारको सबै भन्दा अधिक जनजाती हुन पास्तुन। अफगानिस्तानको इतिहासको संरचना अनि सङ्घर्षमा पास्तुनहरुको मुख्य भूमिका रहेको छ। पास्तुन बहुसङ्ख्यक रूपमा सुन्नी मुस्लिमहरू छन्। त्यस पछि आउँछन् ताजिक जनजाति। पर्सियन भाषामा बोलचाल गर्ने अनि अफगानी सत्तामा पनि राम्रो भूमिका भएका व्यापारी समूह। उज्बेक अनि तर्कमन जनजाति तुर्कीभाषी हुन् अनि अफगानी इतिहासमा अल्पसङ्ख्यक को रूपमा चिनिन्छन्। यी सबै जनजातिहरूको मुल धर्म इस्लाम ( सुन्नी ) हो। तर हजारा नामक एउटा जाति पनि अफगानिस्तानमा पाइन्छ जसको धर्म सिया मुस्लिम हो अनि अफगानी इतिहासमा हजारा सबैभन्दा उत्पीडित अनि शोषित जाती हो। समय समयमा अफगानिस्थानभित्र बौद्ध धर्म पनि प्रचलित भएको थियो। 2001 मा 1500 साल पुरानो बुद्धको मूर्तिहरू तालिबानले ध्वस्त पारे पश्चात् अमेरिकाले अफगानिस्तानमा हमला गरेको थियो। आतङ्की हमलाको उत्तरमा अमेरिकाले पनि आतङ्कको माहौल सहित शक्ति प्रदर्शन गर्न खोज्यो। यस बारे पछि कुरा आउने छ। 1709 देखि 1738 सम्म होतक साम्राज्यको शासन पश्चात् पास्तुन् जातिका योद्धाहरूले जनाक्रोश जनाउन थाले।हुन त अफगान शब्द सशनिड पेर्जियन देखि प्रयोगमा आएको थियो भने अब आएर आत्मनिर्णय अधिकार अनि स्वशासन विषयमा धेरै सङ्घर्षहरु प्रकाशमा आउन थाले। पछि आएर 1748 मा अहमद शाह दुरानी नाममा एक जना पास्तुनको नेतृत्वमा दुरानि – पास्तुन साम्राज्यको प्रारम्भ भयो। त्यसै गरी, 1848 देखि 1826 सम्म अफगानका रैथाने पास्तुनहरुको शासन चल्यो अनि यसले अफगानी आधुनिक राज्यको दह्रिलो स्तम्भ स्थापन गरी दियो। पास्तुन जातिको सङ्घर्षशील ऊर्जा अनि सङ्कल्पका कथाहरू अफगानी संस्कृतिमा धेरै पाइन्छन्। तर पछि गएर इस्लामी कट्टरवाद अनि अमेरिकी साम्राज्यवादको प्रकोपले गर्दा पास्तुन जाति धेरै चेप्टिएका छन्।
13 जनवरी 1842 को दिन एक जना ब्रिटिस डाक्टर --- जो 16000 जना ब्रिटिस आर्मी मध्ये एक जना मात्र बाँचेर फर्किएँका थिए। ब्रिटिस सेनालाई खाइबार पासमा हमला गरेर ध्वस्त पारेका थिए पास्तुन योद्धाहरूले। त्यो प्रथम एङलो–अफगान युद्ध थियो। 1839 – 1842 सम्मको यो युद्धले अमीर दोस्त मोहम्मदलाई सत्तामा ल्यायो। पुत्ला शासकको प्रक्रिया अब शुरू हुन लागि रहेको थियो। त्यस पछि दोस्रो एङलो – अफगान युद्ध ( 1878 – 1880 ) पश्चात् अमीर अब्दुल रहमानलाई सत्तामा स्थान दिए पछि अफगानिस्तानको विदेशी नीतिहरूको नियन्त्रण ब्रिटिसको हातमा जान पुग्यो। यस माझ सिख साम्राज्यका महाराजा रनजीत सिंहले पनि अफगानिस्तानको थुप्रै इलाकामा शासन गर्न पुगेका थिए। 1919 सालमा तेस्रो एङलो – अफगान युद्ध पछि 1926 मा अफगानिस्तान स्वायत्त एउटा राजतन्त्र बनियो। 1929 को 9 महिने गृह युद्धले त्यस बेलाको शासक अमानुल्लालाई सत्ताबाट निकाल्यो। समय – समयमा यस्ता द्वन्द्वहरू थुप्रै भएका छन्।
1917 को रूसी क्रान्तिले गर्दा अफगानिस्तानमा पनि कृषक अनि मजदुरहरू सङ्गठित हुन थाले। छिमेकी रुसले पनि समाजवादको कल्पना गरेको थियो यहाँ। 1964 मा अफगानिस्तान राजतन्त्र व्यवस्थाबाट संविधान राजतन्त्र ( constitutional republic ) मा परिणत भयो। 1973 मा मोहम्मद दाउद नामका एक जना राज घरानाका सदस्यले आफ्नै आफन्त विरुद्ध षड्यन्त्र रचेर राजतन्त्रको विनाश गरे। People’s democratic party of Afghanistan ( PDPA ) को जन्म 1965 मा भएको थियो भने मोहम्मद दाऊदको अराजकता दिन दिनै बढ्दै गयो। PDPA लाई 1976 मा ब्यान्ड गरे पछि दिनदहाडे हत्याकाण्ड हुन थाल्यो। PDPA को नेतृतव मा 1978 मा सत्ता परिवर्तन भयो। नुर मोहम्मद तारकी अफगनिस्तानका राष्ट्रपति हुन पुगे। PDPA का सदस्यहरू सोभियत रसियासँग प्रेरित थिए। मार्क्सवादी विचारधाराको प्रभावले गर्दा सारा युरोपको शासकहरू भयमा थिए। 1979 मा तारिकीको मृत्यु पश्चताको राष्ट्रपति हाफिजुल्ला अमिनको 4 महिना बाद नै हत्या भएपछि PDPA लाई सोभियत युनियनबाट सेना अनि आर्थिक सहयोग आयो। डिसेम्बर 1979 मा सोभियतले आफ्नू सेना अफगानिस्तान भित्र हुल्यो। त्यस समयको सोभियत युनियनको सुधारवादी चरित्र बारे कुनै दिन छुट्टै कुरा गरौँला। अन्तर्राष्ट्रिय मिडियाले सोभियत युनियनको शासनमा हत्या, हिंसा, काटमार आदिका कुरा मात्र ज्यादा देखाउँछ। हो पक्का हो हिंसात्मक घटनाहरू धेरै घटे, धेरै ज्यान गए। यसको इतिहास अनि वैचारिक सङ्घर्षको फलस्वरूप कोल्ड वार भइरहेको थियो। अर्को तर्फ हेर्दा इस्लामी कट्टरवादका सबै भन्दा मुख्य उत्पीडित खटिखाने नारीहरूको सशक्तीकरणको निम्ति पनि सोभियत युनियनको महत्त्वपूर्ण भूमिका छ। लैङ्गिक समानता, बिहे गर्ने उमेर बढोत्तरी, दहेज प्रथाको रोकथाम लगायत नारी शिक्षा अनि चेतना बारे धेरै नीतिहरू पनि अफगानिस्तानमा लागू भयो। यो एक डाइरेक्ट प्रहार थियो रूढिवादी साम्राज्यवाद अनि मुस्लिम कट्टरवाद विरुद्ध। 1980 को दशकमा अमेरिकी “अपरेसन साईक्लोन” अनुसार पाकिस्तानको तानशाही मोहम्मद जिया उल हकको सहयोगमा अमेरिकाले मुजाहिदिनलाई गोली बारुदको सहयोग हुन थाल्यो। अमेरिकाले सोभियत युनियनलाई हराउनु थियो। त्यही समय ओसामा बिन लादेन पनि अफगानिस्थान आएका थिए। भनिन्छ लादेनलाई तालिम पनि अमेरिकाले नै दिएको थियो। पछि गएर 2001 मा अमेरिकाको ट्विन टावरको हमलामा ओसामा अनि अलकाइदाको मुख्य भूमिका थियो। 1983 मा अमेरिकी रोनाल्ड रेगनले मुजाहिदिनलाई अमेरिकामा निमन्त्रण दियो अनि मुजाहिदिनको पक्षबाट 1987 मा युनिस खालीस् अमेरिकाको भ्रमणमा गए। त्यस दिन रोनाल्ड रेगनले मुजाहिदिनलाई फ्रीडम फाइटर को उपाधि दिए। 1986 मा मिसाइलहरु सप्लाई गरेको कुरा खुलस्त भए पछि 14 अप्रेल 1988 मा जेनोवामा शान्ति सन्धिको जुक्ति भयो। त्यस सन्धिका हस्ताक्षरहरु अमेरिका, सोभियत युनियन अनि अफगानिस्तान थिए। यस सन्धि अनुसार 9 महिना भित्रमा सोभियत युनियनले अफगानिस्थान छोड्ने भयो अनि कुनै पनि अफगानी द्वन्द्वमा नपर्ने भयो । 15 फेब्रुअरी 1989 मा सोभियत युनियनले पूर्ण रूपमा अफगानिस्तान छोड्यो। त्यसै अनुसार 1992 मा सोभियत युनियनको अन्त भयो। एक प्रकारले भन्न सकिन्छ कि कोल्ड वारको अफगानी द्वन्द्वले सोभियत युनियनलाई अन्तिम धक्का दियो। त्यस पश्चात अफगानिस्तान पूर्णरूपले अमेरिका अनि मुजाहिदिनको अधीनमा पुग्यो। मुजाहिदीन अनि अमेरिकाको बढ्दो सम्बन्ध नमनपराउने सङ्ख्या बढ्दै थियो। त्यही समय 1990 को दशकको शुरुवातमा तालिबानको उत्पन्न भयो। 1994 मा तालिबानले अफगानिस्तानको कान्दाहार इलाकालाई आफ्नू अधीनमा ल्याउन सफल भयो। 26 सेप्टेम्बर 1996 मा तालिबानले काबुल पनि आफ्नू अधीनमा ल्यायो। यही हो प्रथम पल्ट जब तालिबानले अफगानिस्तानलाई राज गर्न पुग्यो। नारी उत्पीडन फेरि तीव्र रूपमा बढ्यो। मुस्लिम कट्टरवादी शरिया नियम फेरि लागू भयो। नारी घरबाट एक्लै निस्कन नपाउने भए, शिक्षा अर्जन गर्न नपाउने भए। भने पछि अफगानिस्तान अब फेरि कालो भविष्य तर्फ गइरहेको थियो। धार्मिक आतंककारीहरुको राज थियो यो। बिस्तारै बिस्तारै आगोसँग खेल्दा अमेरिका को हात पनि जल्न पुग्यो। 9 सेप्टेम्बर 2001 मा अमेरिकामा ट्विन टावर हमला भयो। अमेरिकाले आतङ्कवाद, अलकाइदा अनि लादेन विरुद्ध युद्धको घोषणा गऱ्यो। तालिबानले ओसामा बिन लादेनको खबर लुकाउँदा अब अफगानिस्तान युद्धको केन्द्र बिन्दु हुन पुग्यो। डिसेम्बर 2001 मा संयुक्त राष्ट्रको निर्देश अनुसार NATO को नेतृत्वमा International Security Assistance force को नाममा अफगानिस्तानलाई अमेरिकाले आफ्नू दखलमा ल्यायो। अफगानिस्तानको अन्तर्राष्ट्रिय बजारमा धेरै मूल्य छ। त्यहाँ बस्ने मान्छेहरूको ज्यान भन्दा बजारमा तेल, हेरोइन, पदार्थको को धेरै मोल छ। हामिद करजाई अब राष्ट्रपति बन्न पुगे। 2006 मा फेरि तालिबान शक्तिशाली बन्न पुग्यो। कतिवटा दक्षिण इलाकामा तालिबानले कब्जा लिन थाल्यो। रोड, खनिज पदार्थ, सबै सबै श्रोतलाई कब्जा गर्न थाल्यो तालिबानले। फेरि 2014 मा अशरफ घानी राष्ट्रपति बन्न पुगे। 2015 मा अफगान सेनालाई अझ सहयोगको निम्ति NATO ले अझै सेना अफगनिस्थानमा भित्राउन थाल्यो। त्यस पछि 19 फेब्रुअरी 2020 मा कतारको दोहामा एउटा शान्ति सम्झौता भयो। अब अमेरिकाको पालो थियो अफगानिस्तान छोड्ने। 15 अगस्ट 2021 मा अफगानिस्तानमा फेरि तालिबानले सत्ता कायम गऱ्यो।
अब फेरि त्यही तालिबानी रूढिवादी सत्ताको नीतिहरू बनिन्दै छ। तालिबानको यो सत्ता विरुद्ध ससाना विरोधहरू बारे खबर आई रहेको छ। मानव अधिकारको भयङ्कर हनन भएको कुरा निश्चित छ। धार्मिक कट्टरवादमा उभिएको मुस्लिम शरीया देश हुन पुगेको छ अफगानिस्तान। संसार कराउँदै छ तर सबै मौन छन्। हाहाकारका खबरका दृश्यहरू हामी माझ आइरहेका छन्। पत्रकारहरूको हत्याको आँकडा बढी रहेको छ। तर पनि, इतिहासबाट हामीले बुझ्न सक्छौ कि जुझारु जनजातिको देश हो अफगानिस्तान। अग्रज नारीवादी आवाजको देश हो अफगानिस्तान। यसैले आशा अनि भरोसा छ कि यस धार्मिक कट्टरवादी अनि अराजकतावादी प्रकोपको विरुद्ध जन सङ्घर्षबाट नै अफगानिस्तानले शोषणको परिवेशलाई अन्त गर्ने छ।
No comments:
Post a Comment