सुमेन्द्र तामाङ
एक दिन उनी खरसाङ बजारबाट घर फर्कँदै थिए। उनीसँग नोकिया 1100 मोडलको सानो फोन थियो। फोन सानो भए तापनि दाजुको रवाफ ठुलो थियो। त्यस बोला फोन हुनु भनेको व्यापक कुरा जो थियो। अँ उनी घर फर्कँदै गर्दा फोनमा गफ गरिरहेका थिए। हामी विद्यार्थीहरू उनको पछि पछि थियौँ। उनी फोनमा त कुरा गरिरहेकै थिए, तर अचानक उनको कानमा टाँसिएको सानो फोनमा चहकिलो रिङ बज्यो। तब हामीले बुझ्यौँ, हामीलाई देखाउन उनी बेतुकमा फोनिङ गफको नकल गरिरहेका रहेछन्। यस्तै हुने गर्दथ्यो उनको ठट्टा।
उनी रोचक व्यक्ति थिए। सधैँ अफबिट कुरा गर्ने। 'बब मार्ले, कर्ट कोबेन्, माइकल ज्याकसन आदिले ट्रिपमा नै गीत लेख्छन् अनि गाउँछन्' उनी यसो पनि भन्थे। हामी उनलाई सुनेर प्रतिक्रिया गर्थ्यौँ ‘आम्बो!!!!!’
उनी ट्याब्लेटको गफ गर्थै। कालो, निलो, हरियो सप्पैको रङ्ग र गुणको कुरा गर्थे। नयाँ नयाँ शैलीका गीतहरू सुनाउँथे। गोजीमा वाकमैन, कानमा हेडफोन, अनौठो पहिरन उनको जीवन शैली थियो। उनलाई देखेर र सुनेर हामी कुरा गर्थ्यौँ - 'कस्तो फिल हुन्छ होला है!'
तर अनौठो जीवन शैलीका त्यो रोचक दाजु साने उमेरमा मरे। ड्रगले उनको जीवन समाप्त भयो।
सबैले बुझ्छन्। कुनै पनि चिजको लत लाग्नु भनेको नराम्रो कुरा हो। तर सङ्गत, समाज र आजको परिस्थितिले गर्दा जान-अञ्जानमा अधिकांश युवाहरू आज कुलतमा फसिँदै गइरहेका छन्।
समय, वर्ग अनि परिस्थिति अनुसार लतका साधनहरू भिन्नै हुन्छन्। तर धेरैको शुरुआत भने कथा अनि जिज्ञासाबाट नै शुरू हुने गर्छ। समाजको आर्थिक, राजनैतिक अनि मनोवैज्ञानिक विकाशलाई नबुझी कुनै पनि लतलाई हामी मिनिमम रूपमा पनि बुझ्न असक्षम हुन्छौ जस्तो लाग्छ। यसैले कुलतको बजारको वर्तमान बारे बुझ्न अनि यसको संक्षिप्त इतिहासलाई हेर्न जरुरी छ।
90-को दशक र ड्रग फ्यान्टेसि:
सन् 1990 को दशक। देशभरि नै नयाँ-नयाँ थरिका नीति, व्यापार अनि चिज-बिजहरू देखा परिरहेको थियो। नवउदारवादी आर्थिक नीतिले गर्दा प्रथम चोटी ग्लोबल मार्केटको निम्ति भारत खुला हुन गइरहेको थियो। बजारमा पाइने सबै वस्तु राम्रो हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन अनि ग्लोबल बजारको दौडमा भारत आफैमा बदलिन्छ भन्ने कुरा निश्चित नै थियो।
सन् 1986। पहाडको मुटुमा आन्दोलनको चोट अनि सङ्घर्ष आलै थियो। ब्रिटिस कालदेखि नै दार्जिलिङको समाजमा पश्चिमी संस्कारको फ्यान्टेसी छाएकै थियो। त्यही समय फार्मा दवाई कम्पनीहरूको लागि भारत ठुलो बजार बन्न पुग्छ। स्पास, एन-10 जस्ता दबाइहरूको दुरुपयोग हुन थाल्यो। यी दबाइहरूको कालो बजार अघिदेखि नै सुरू भए तापनि अब यसले अझै तीव्र गति लिइरहेको थियो। कम विकसित साथै अधिक जनसङ्ख्या भएका देशहरू कालोबजारीको लागि परफेक्ट ग्राउन्ड हो। कुनै समय शक्तिशाली देशको कोलोनी रहिआएका देशहरूलाई पनि भर्जिन मार्केट मान्न सकिन्छ। हो ग्लोबलाइजेसनको हात पक्रेर नयाँ उदारवादी नीति यस्तै मार्केटहरूको खोजीमा थियो। नयाँ उदारवादलाई फार्मा दबाई इन्डस्ट्री अनि स्वास्थ्य व्यवस्थामाथि नियन्त्रण गर्न अनिवार्य थियो। जसमा नवउदारवादले विजय हासिल गऱ्यो अनि सुरू भयो नशालु औषधिको खुल्ला बजार।
लतको व्यापारमा सप्लाई चेनको भागिदारी स्वयं लतमा फसेकाहरू नै हुन्छन्। बिस्तारै दबाई दोकानमा काम गर्दै जाँदा स्पास, एन 10 , कोरेक्स जस्ता दबाईको दुरुपयोग साथै यसको कालो बजारी पनि शुरू हुन थाल्यो। दबाई दोकानमा काम गर्ने एकदमै कम बेतन भएकाहरू आफै पनि यसको लतमा फसिँदै गए (सबै जना होइन तर ज्यादातर) अनि यसलाई बिग्री गर्न थाले। पैसा छ भने सजिलैसँग ड्रग पाइन्छ।
गाउँ बस्तीका युवा युवतीलाई कुलतको क्याम्पेन बेसी जसो पप कलाकारको जीवनबाट नै शुरू हुने गर्छ। ड्रग सेवन गर्नलाई नयाँ संस्कार जस्तै ठान्छन्। युवाहरूको ध्यान यसरी नै आकर्षण गरिन्छ। जसको हातमा पैसा थियो उसले सेवन गर्न सक्थ्यो अनि पैसा फेरि ड्रग बिक्री गरेर नै हुन्थ्यो। त्यस समय इन्टरनेट अनि फोनको सुविधा धेरै कम थियो। त्यसैले कान कानमा कुरा पुग्न जरुरी थियो, दार्जिलिङको गरिबीलाई यसरी युज गरेर लतको बजार बनाइयो। अर्को तर्फ, यसको मतलब यो होइन कि दबाई दोकानमा काम गर्ने सबै ड्रग बिग्री गर्दछन्, तर यो चाहिँ पक्कै हो कि दार्जिलिङमा बृहत् रूपमा ड्रग मार्केट यही सेक्सनबाट शुरू भएको हो। त्यसैले यसलाई केवल सामाजिक मुद्दाको रूपमा मात्र नहेरेर यसको जरा यहाँ भइरहेको राजनीतिक उत्पीडन अनि अर्थनैतिक शोषणमा पनि गाडिएको छ।
2000 देखि 2017 सम्म
गरिब देशहरूमा महँगो ड्रग काम लाग्दैन भन्छन्। यसैले सजिलै सँग पाइने पदार्थ नै धेर बिक्री हुन्छ। 2000 को दशकमा डेनड्राइट (dendrite) अनि इरेजिक्स (erazex) धेरै चर्चित थियो। सस्तो अनि सजिलैसँग प्राप्त हुन सक्ने गरिब ठाउँको निम्ति परफेक्ट। यी दुई पदार्थ स्कुलको क्लासरूम देखि पब्लिक ट्वाइलेट सबै ठाउँमा छाइसकेको थियो 0। कसैले त जुत्ताको पालिस पनि खाने गर्थे। यसलाई छोडेर गाँजा, रक्सी अनि धतुरो त उहिलेदेखि चल्दै आएको कुरो थियो भारतीय अनि दार्जिलिङ समाजले !! गाँजा अनि रक्सीको लतले धेरै अघिदेखि नै हाम्रो समाजलाई खोक्रो पारिरहेको थियो भने अब अझै सस्तो अनि सजिलैसँग पाइने डेनड्राइट युवाहरूको आकर्षण बन्न थाल्यो। युवाहरू बिस्तारै बिस्तारै ट्याब्लेटतिर लाग्न थाले। सिगरेटदेखि शुरू भएर गाँजा , ट्याब्लेट , डेड्राइट, कोरेक्स हुँदै ग्राफ उकालो तर्फ नै जान्छ। आर्थिक अवस्था अथवा स्थिति हेरेर पनि कुन पदार्थको डिमान्ड सप्लाई घट्छ अथवा बढ्छ त्यो पनि मार्केटले नै तय गर्छ। मार्केट जब बढ्छ तब अझै धेरै उपभोग गर्ने ग्राहक बढ्छन्। अर्थात्, कुलतको कारण केवल ड्रग लिने व्यक्ति मात्र हुँदैन, यो एउटा सामूहिक समस्या हो अनि यसको स्यार-सुसार बजार अनि यसको व्यवस्थाले गर्छ। यसले उपभोक्ताहरू जन्माउँछ अनि उपभोक्तावादले पुँजीवादलाई ऊर्जा दिन्छ। त्यसैले लतमा फसिएको व्यक्तिलाई मारपिट गरेर सुधार्छु भन्ने मानसिकतालाई हामीले प्रथम सुधार्न पर्छ। लकडाउनको समयमा धेरै यस्ता मारपिट मामिलाहरू देखियो अनि त्यसलाई भाइरल पनि बनाइयो तर यस प्रकारको व्यवहारले हामीलाई कुन दिशा तर्फ लादै छ? यस बारे अर्कै दिन लेखौला। अहिलेको लागि उदाहरणको निम्ति मब लिन्चिङको घटनाहरूबाट सिख लिँदा हुन्छ नै।
21 औँ शताब्दीको दोस्रो दशकमा अर्को नयाँ कुरा हामी अघि आयो 4G नेटवर्क !! अम्बानीले लगभग 2 वर्षको लागि भारतलाई फ्री सर्भिस दिएर हाम्रो दैनिक जीवन नै नष्ट गरिदिएपछि हामी एकै चोटि खुला साँढ झैँ कुद्न थाल्यौँ। चल्दै नचल्ने 2G को स्थितिबाट सिधै 4G फ्री सर्भिस पाउँदा त्यसले हाम्रो मानसिकता नै उलटपुलट गरिदियो। हामी इन्टरनेट अनि त्यसको रमझम भित्र रमाउन थाल्यौँ। हामी बिस्तारै इन्टरनेटको दुरुपयोग अनि लततिर लाग्न थाल्यौँ। त्यसमाथि एन्ड्रोइड फोन अनि विभिन्न एपले सुनमा सुगन्ध थपिदियो। नानीदेखि लिएर ठुलासम्मले अहिले गुड नाइट मेसेन्जर अथवा इन्स्टाग्राम अथवा वाटस्आप मार्फत नै भन्छन्। हामी सबै जना बिस्तारै इन्टरनेटको कुलतमा फसीरहेका छौँ। युवाहरू अनलाइन गेमिङमा मस्त छन्। टेक्नोलोजीले हाम्रो एक प्रकारले सशक्तीकरण गरिरहेको छ भने यसले हामीमाथि धेरै प्रकारको नाकाबन्दी पनि गरेको छ। विशेष गरी हाम्रो व्यवहारमा गहिरो प्रभाव पारेको छ इन्टरनेटले। फोन अनि अनलाइन कार्य बिना हाम्रो समाज नै चल्दैन अहिले। कोही फेसबुकमा ब्वस्त छन् त कोही इन्स्टाग्राम। लगातार लाइक अनि भ्यू-को पछि भागी रहेका छन् अहिलेको जमात। रियललाई फेक अनि फेकलाई रियल भन्नमा मस्त छन् सबै जना। धेर लाइक अनि भ्यु माने धेर पोपुलारिटी मानिने मानसिकताले अहिले समस्त समाजलाई अनलाइन कुलत तर्फ लगिरहेको छ। युवाहरू डिप्रेसन अनि मानसिक तनावबाट गुज्री रहेका छन्। सुसाइडको दर बढी रहेको हामीले आफ्नै आँखाले देखी रहेका छौँ। तर हाम्रो समाज अनि व्यवस्थाले ड्रग सेवनलाई समस्या भनेर बुझे तापनि अनलाइन नेट एडिक्सनलाई आधुनिकतावादको बाटो भनी साइड गरिरहेको देखिन्छ।
2010 को दशकमा नै हो हाम्रो भेगमा ब्राउन सुगरको कालो बजार बढेको। ज्यादातर युवाहरूको हातमा यो आइसकेको छ। ‘कालो‘ भनेर यसलाई भनिन्छ भने यसको पकड दार्जिलिङ्-तराई अनि डुवर्स समस्त क्षेत्रमा जम्मी सकेको छ। ब्राउन सुगरको डिमान्ड ज्यादा भएको कारणले यसको सप्लाई पनि राम्रो रूपमा बढ्दै गएको छ। सप्लाई बढाउनुको निम्ति पदार्थहरूको मिश्रणलाई नै बजारमा लोकप्रिय बनाइँदै छ। 'स्पाइक्ड माल‘ भनेर चिनिन्छ यसलाई अनि यसको कारणले युवा युवतीहरूलाई नजाने के के पदार्थसँग कुलतमा परिसकेका छन्।
2017 देखि अहिले सम्म
2017- को अलग राज्यको आन्दोलनपछि पहाड पहिलेको जस्तो रहेन। राजनैतिक अनि मनोवैज्ञानिक रूपमा पहाड अहिले शारीरिक कमजोरी जस्तो भएको छ। सबैलाई थाहा छ जे हुँदै छ राम्रो भएको छैन तर पनि कोही बोल्न सक्दैन। फेसबुकमा कमेन्ट हान्न सक्छ तर बोल्न सक्दैन। ठिक त्यस समय नै ब्राउन सुगर चल्तीमा छ, सस्तो छ। धेर जस्तो युवा युवती कालो कुलतमा फसिसकेका छन्। वेश्यावृत्तिको सिकञ्जमा पनि धेरै युवा परेका कुराहरू सुन्नमा आइरहन्छ। रोजगार छैन अनि लतमा परेको युवाले चोरी, लुट , बजारी प्रथा नगरेर अरू कसरी आफ्नू भोग मेटाउनु होला ? लतमा फसिएपछि आफ्नै आमालाई पनि चिन्न छोड्छ। समाजमा यस कारण मारपिट अझै बढेर जान्छ अनि यी कुलतमा फसिएका युवाहरूलाई नै राजनैतिक मिसयुज गरिन्छ।
केही दिन अघि मिरिकको कुरा हो। एउटा केटालाई उसको डिलरले मिरिक स्थित निगाले गाउँमा ब्राउन सुगर किन्नको निम्ति बोलाएपछि उसलाई पुलिसले अरेस्ट गऱ्यो। तर त्यसपछि भने त्यो केटाले फेसबुकमा गएर लाइभ भिडियोमा उसलाई पक्रेको अनि त्यो डिलरलाई छोडी दिएको कुरा सार्वजनिक गरे। यो देखेर सुनेर मिरिकको जनता थाना घेराउ गर्न पुगे। पछि एक दुई जनालाई पक्राउ गरियो मिरिक पुलिसले। तर तपाईँ हामीलाई थाहा भएको कुरा हो यसको जरा धेरै माथिसम्म छ अनि यसमा केवल ब्रोकर बिचका दुई ती नजना डिलरहरूलाई पक्रा गरेर मामिलालाई रफा गरिन्छ। कारबाही गर्ने सत्ता अनि प्रशासन नै भ्रष्ट छन् भने हामी न्याय कहाँ पाउँछौ र ? होइन ? अहिले सङ्क्रमणको कारण स्कुल बन्द छ, अनलाइन क्लास त भएको र नभएको एउटै जस्तो छ अनि यस्तो समयमा ससाना स्कूलका नानीहरूले आफै सेवन पनि गर्छन् अनि बिग्री पनि गर्छन्। सजिलो पैसा अनि सेवन पनि गर्न पाइने यो ब्राउन सुगर बिजनेस अहिले हाम्रो घर-घरभित्र पसी सकेको छ। पैसा छ भने अहिले घरघरमै डेलिभरी हुन्छ ब्राउन सुगर। यस्तो स्थिति तपाईँको नानी अथवा भाइ बहिनी नाति-नातिनीलाई यसको सेवन गर्दैन भनेर तपाईँलाई कसरी थाहा हुन्छ ? अवस्था यतिको गम्भीर भइसकेको छ।
हाम्रो समाजमा फेरि यस्ता कुलतमा परेका युवा युवतीहरूलाई छि छि दूर दूर गर्ने परम्परा छ। 6 महिनाको निम्ति रिह्याबमा भर्ना गरेपछि हाम्रो सामाजिक दायित्व त्यहाँ नै सकिएको बोध हुन्छ। हामी यो बुझ्न सक्षम छैनौँ की यो त केवल शुरूवात मात्र हो। हाम्रो सामाजिक उपस्थिति अनि सम्बन्ध बढाउन जरुरी छ। हामी एक अर्कामा बात गर्न, सम्पर्क बनाउन अनि समस्या सुनिदिने मात्र भए पनि सक्षम हुनपर्छ। कुनै पनि ठाउँको समाजको मूल आकाङ्क्षा अनि जन-अधिकारहरूलाई जरैदेखि मार्न हो भने त्यस समाज अथवा समुदायको युवा पीढी अनि त्यसको सपनालाई मार्न सके त्यो समाजको भविष्य कालो हुन्छ। अनि हामी ठिक यही मोडमा छौँ अहिले। कुनै पनि पीढीले आफू भन्दा अघिल्लो पीढीलाई बुझ्न सकेन अनि एउटा सजिलो सम्बन्ध गाँस्न सकेन भने त्यो समाजमा जन आकाङ्क्षा अनि ऐक्यबद्धता निर्माण गर्न एकदमै गाह्रो हुन्छ।
हामीले यसैले यो लत कुलतको मुद्दालाई बृहत् अनि समाजको प्रगति अनि भविष्य, भोलिको कल्पना अनि समस्या साथै अर्थनीति , राजनीति अनि मनोविज्ञानसँग जोडेर हेर्न अनि बुझ्ने प्रयास गरेनौँ, भने हामी गहिरो सङ्कटतर्फ धकेलिने छौँ। प्रथम हामीले कुलतलाई समाजको अरू सङ्कट अनि समस्यासँग जोडेर हेर्ने अभ्यास गर्नुपर्छ। कोही पनि अडिकट् जन्मिँदै लत लिएर जन्मेको हुँदैन। कुलत एउटा समाजभित्र भइरहेको मुद्दा हो। अनि मात्र हामी यसको समाधान तर्फ लाग्न सक्छौँ अनि साँच्चै नै युवाको भविष्य सँगसँगै यो खोक्रो समाजको भविष्य पनि निर्माण गर्न सक्षम हुनेछौँ।
No comments:
Post a Comment