अम्बिका राई
अमेरिकाले आफ्नो सेना अफगानिस्तानको भूमिबाट हटाएपछि त्यहाँ तालिबानको दह्रिलो वर्चस्व स्थापन भएको छ। बितेका केही महिनाहरूभित्र अफगानिस्तानमा तालिबानले के कस्ता परिवर्तन ल्याएको छ? त्यो त हामी सबैलाई धेर-थोर थाहा भएकै कुरा हो। तालिबान र अफगान सरकार बिच शान्ति सम्झौताका निम्ति चर्चा चलिरहेको छ। भावी दिनहरूमा अफगानिस्तानको राजनीतिक माहौल के कस्तो हुनेछ? के कस्ता राजनीतिक ढाँचामा यो देश उभिने छ? ती सबै हामीले आउने समयमा देख्न पाउने छौँ।
तर यी सबै बिच ‘अफगानिस्तानका महिला अनि उनीहरूको अधिकार’ एउटा ठुलो चर्चाको विषय बनेको छ। सन् 2001 पछि सानो-तिनो जे जस्ता सुविधाहरू यहाँका महिलाहरूले प्राप्त गरेका थिए, तालिबानको राजमा ती सबै सुविधा अनि अधिकार यहाँका महिलाहरूले गुमाउने छन्।
2020-को सूरूमा नै अफगान सरकार अनि तालिबानको माझ बातचित चलिरहेको थियो। त्यस समय अफगान सरकारले 21 जना सदस्यको एउटा कमिटी गठन गरेको थियो। त्यो टोलीमा 5 जना महिला थिए। तर तालिबानको कमिटीमा भने एक जना पनि महिला सदस्य थिएन। तालिबानको पक्षबाट महिला सदस्य हुनुपर्छ भन्ने सुझाव आए तापनि महिला सदस्यको सङ्ख्या त्यहाँ शून्य नै रह्यो। अर्कोतिर, अफगान सरकारको टोलीमा रहेका महिला सदस्यहरूले तालिबानको पितृसत्तात्मक अनि रुढीवादी विचारधारा विरुद्ध तीव्र रूपमा आवाज उठाएका थिए। उनीहरूको भनाई अनुसार तालिबानको राज अफगानिस्तानमा फर्केर आयो भने अफगानी महिलाहरूले आफ्ना अधिकारहरू गुमाउने छन्।
सन् 1996 देखि 2001-सम्म जब अफगानिस्तानमा तालिबानको राज थियो, त्यस बेला त्यहाँका महिलाहरूले धेरै हिंसा अनि भेदभावको सामना गर्नु परेका थिए। तालिबानको भनाइमा त्यहाँका महिलाहरूले आफूलाई पर्दाभित्र राख्नु पर्दथ्यो र आफ्ना अनुहार अनि शरीरलाई सधैँ नै ढाकेर बस्नु पर्दथ्यो। यसो गरे मात्र तालिबानको राजमा महिलाहरू पवित्र बन्ने छन्। घरदेखि बाहिर जाँदा महिलाहरूले सधैँ बुर्का लगाउनु पर्थे ,किनभने एउटा महिलाको अनुहार उसको आफ्नो बाबा, दाजुभाइ, श्रीमान् र आफ्नो आफन्त बाहेक अन्य पुरुषले देखे, ती पुरुषहरूभित्र भ्रष्टाचारको नराम्रा किसिमका भावहरू उत्पन्न हुनछ भन्ने उनीहरूको मत थियो। त्यसै कारण महिलाहरूले आफ्ना अनुहार अनि शरीर ढाकछोप गर्नु नितान्तै अनिवार्य थियो। पर्दाको सिस्टम बाहेक कुनै पनि महिलाले घरदेखि बाहिर कुनै किसिमको काम गर्नु पाउँदैनन्। 8 वर्षको उमेरदेखि कुनै पनि केटी स्कुल जान पाउँदैन अनि त्यो उमेरसम्म पनि उनीहरूले केवल ‘कुरान’ मात्र पढ्नु पाउनेछन्। महिलाहरू कुनै पुरुष डाक्टरकोमा रोग जँचाउन जान परे परिवारका कुनै एक पुरुष सदस्यसँग जानु पर्ने तालिवानी फर्मान जारी छ। जसले गर्दा अधिकांश अफगानी महिलाहरू उचित उपचारदेखि वञ्चित छन्। कुनै महिलाले तालिबानको नियमहरूको पालना नगरे तीनलाई कठोर भन्दा कठोर सजाय दिइन्छ। यस साथै 16 वर्ष भन्दा कम उमेरमा नै केटीको बिहा हुनुपर्छ भन्ने तालिबानको मत छ।
विगतका दिनहरूमा तालिबानले महिलाहरूमाथि लगाएका केही प्रतिबन्धहरू यस्ता छन्:-
कुनै पनि महिला बुर्काबिना र आफ्नो घरको मान्छे वा पुरुष आफन्त बाहेक सडकमा एकलै हिँड्न पाउँदैनन्।
कुनै पनि महिलाले ‘हिल भएको जुत्ता’ लगाउन पाउँदैन, किनभने कुनै पुरुषले उसको जुत्ताको हिलको आवाज मात्र पनि सुने, त्यो पुरुषभित्र उत्तेजनाको भाव उत्पन्न हुँदछ।
कुनै पनि महिला सार्वजनिक स्थानमा ठुलो आवाजमा बोल्नु पाउने छैनन्, कारण कुनै अपरिचित व्यक्तिले उसको आवाज सुन्नु हुँदैन।
घरको तल्लो-तला अनि प्रथम तलाको खिड्कीहरूमा रङ्ग लगाइने छ, ताकि बाटो हिँड्ने पुरुषहरूले घरका महिलालाई देख्न नसकोस्।
कुनै महिलाले फोटो खिच्न वा भिडियो रिकर्ड गर्न पाउने छैनन् अनि कुनै खबर कागज, किताब, दोकान अनि घरमा महिलाको फोटो हुने छैन।
कुनै पनि ठाउँको नाममा ‘महिला’ शब्द जोड्नु पाउने छैन।
महिलाहरू आफ्नो घरको बार्दलीमा आउनु र बस्नु पाउने छैन।
महिलाहरूले रेडियो, टी.भीसँग जुडेका कुनै पनि प्रकारका कार्यक्रममा अनि सार्वजनिक कार्यक्रममा भाग लिन पाउने छैनन्।
यति मात्र होइन तर महिलालाई साइकल र मोटर-बाइक कुदाउने अधिकार समेत तालिबान राजमा छैन। महिलाहरू ट्याक्सीमा एक्लै कतै जान पाउँदैनन्। यदि तालिबानको राज अफगानिस्तानमा पुन: स्थापना हुन्छ भने महिलालाई आफ्ना घरदेखि बाहिर काम गर्ने कुनै प्रकारका अधिकार हुँदैन। सन् 1996 को कुरा गरौँ। जुन वर्षदेखि तालिबानले महिलाहरूलाई घर बाहिर काम गर्न नदिने घोषणा गऱ्यो। त्यसै बेला अफगानिस्तानमा सरकारी काम गर्ने महिलाहरूको सङ्ख्या 25% थियो र तालिबानको घोषणाले गर्दा ती 25% महिलाहरूले आफ्ना रोजगार गुमाउनु परेका थिए। काबुलमा एलिमेन्ट्री स्कुल बन्द गरियो। केटा-केटीहरू दुवैले स्कुल पढ्ने अधिकार गुमाउनु परे। यी सबै स्कुलमा पढाउने शिक्षिकाहरूले आफ्नो पेशा त्याग्नु परे। तालिबानको यस्ता क्रूर शासनबाट बाँच्न अफगानका धेरै वटा परिवार पाकिस्तानतिर लागेका छन्। यो त केवल केही उदाहरणहरू मात्र हुन्, तर यस्ता धेरै थरिका रुढीवादी विचारको पक्षमा उभिएको छ तालिबान।
यी त हुन् इतिहासका केही 'फ्लासब्याकहरू'। अब कुरा गरौँ वर्तमान अफगानिस्तानमा महिलाहरूको अधिकारको स्थितिले के कस्तो रूप लिइरहेको छ। सन् 1996 मा जुन स्थिति अफगान महिलाहरू थिए। सोही परिस्थितिमा आजका अफगान महिलाहरू बाँच्नु पर्ने अवस्था देखा परिरहेको छ। अगस्ट महिनामा भएको घटनापछि अफगानिस्तानमा कमसेकम 1 मिलियन नानीहरूले शिक्षा अर्जन गर्न पाउने छैन। तालिबानले काबुललाई कब्जा गरेपछि धेरै स्कुलहरू बन्द भएका छन्। साथै नारीमाथिको घरेलु हिंसाको दर पनि बढेको छ। विश्व स्वास्थ्य संस्था (World Health Organization WHO) अनुसार अफगानिस्तानमा 90% भन्दा धेर महिलाहरू कुनै न कुनै प्रकारको घरेलु हिंसाको शिकार बनेका छन् भने 17% महिलाहरू यौन हिंसाको शिकार बनेका छन्। महिलाहरूका निम्ति सुरक्षित स्पेसको कमी पनि देखा परिरहेको छ। यदि कुनै महिलाले आट जुटाएर यी सबै महिला विरोधी दमन नीतिहरू विरुद्ध आवाज उठाउँछ भने उनकी लोग्ने, घर-परिवार, पुलिस, वकिल सबैले उसको आवाज दबाउने प्रयत्न गर्दछ।
आज अफगानिस्तानका प्रत्येक चोक-गल्लीहरूमा दैनिक रूपमा स-साना नानीहरू हातमा प्लेकार्ड लिएर उनीहरूको स्कुल खोल्ने माग गरिरहेका छन्। यो माग केवल केटी विद्यार्थीबाट नभएर उनका दाजु-भाईहरूले पनि उठाइ रहेका छन्। उनीहरूको हातमा रहेको प्लेकार्डे भन्छ – 'We will not go school without our sisters'/ ('हामी हाम्रो दिदी-बहिनी बिना स्कुल जाँदैनौ')। नानीहरूका निम्ति प्राथमिक पाठशाला खुले तापनि महिला विद्यार्थीहरूले माध्यमिक तहसम्म पढ्न पाउँछ वा पाउँदैन? भन्ने विषयमा तालिबानले कुनै जानकारी दिएको छैन। धेरै महिलाहरूले मौन जुलुस गरेर राजनीति अनि शिक्षाको क्षेत्रमा महिलाहरूको भागीदारीको माग उठाइरहेका छन्।
तालिबानको यी सबै कट्टरवादी, पितृसत्तात्मक विचारलाई कडा जवाफ दिनका निम्ति धेरै महिलाहरू सडकमा उत्रेका छन् र डटेर यो निरङ्कुश सत्तासँग सङ्घर्ष गरिरहेका छन्। अफगानिस्तानका विभिन्न सहरहरूमा प्रदर्शन तीव्र रूपमा चलिरहेको छ। यो सङ्घर्ष सडकमा मात्र सीमित नभएर सोसिअल मिडियामा पनि चलिरहेको छ। स्कुल जाँदा महिला छात्राहरूले कस्तो लुगा लगाउने? भन्ने विषयमा तालिबानले चर्चा उठाएको छ। तालिबानको भनाई अनुसार एउटी छात्रा स्कुल वा कलेज जाँदा कालो कपडाले आफ्नो शरीर अनि अनुहार छोपेको हुनुपर्छ। यस्तो ड्रेस-कोड उनीहरूले महिला छात्राका निम्ति पारित गरेका छन्। तालिबानको यस निर्णयलाई समर्थन गर्दै लगभग एक सय जना महिलाहरू कालो लुगाले आफ्ना अनुहार अनि शरीर डाकेर कबुलको सडकमा देखा परे। अर्कोतिर तालिबानी निर्णयको विरोध गर्दै एउटा अनलाइन क्याम्पेनमा अफगानिस्तानका महिलाहरूले रङ्ग विरङ्गी लुगा लगाएर आफ्ना फोटोहरू #DoNotTouchMyClothes लेखेर सामाजिक सञ्जालमा राखेका छन्। अफगान बाहिर बसेका अफगानी महिलाहरूले तालिबानको फर्मान विरुद्ध यस थरिका प्रदर्शनी चलाइरहेका छन्। उनीहरू भन्छन् - 'रङ्ग-विरङ्गी लुगा नै अफगानी महिलाहरूको संस्कृति हो'। यो प्रदर्शनी तालिबानको लागि कडा चुनौती साबित भइरहेको छ। महिलाको पहिरनमाथि नियन्त्रण गर्ने तालिबानलाई अफगानी महिलाहरूले आफ्नो व्यक्ति स्वतन्त्रताको जवाफ यसरी दिइरहेका छन्।
धेरै अफगानी महिलाहरू मुख्य गरेर सहरमा बस्ने महिलाहरू आफ्ना स्वतन्त्रता गुमाउने डरमा छन्, त्यो स्वतन्त्रता जुन उनीहरूले आफूभन्दा अघिका महिलाहरूका सङ्घर्षद्वारा प्राप्त गरेका हुन्। तर यसको अर्थ यो होइन कि गाउँमा बस्ने महिलाहरू तालिबानको आतङ्कसँग भयभीत् छैनन्। सहरमा बस्ने महिला होस् वा गाउँमा बस्ने, धनी होस् वा गरिब सबै तप्काका महिलाहरू तालिबानको रुढिवादी विचारधाराको शिकार बनेका छन्। तालिबानद्वारा काबुलमा भइरहेका प्रदर्शनीहरूलाई रोक्ने चेष्टा भइरहेको छ। तर त्यहाँका महिलाहरू भने यो स्थितिमा पनि डटेर लडिरहेका छन्।
स्कुल जान पाउनु, घरदेखि बाहिर गएर काम गर्न पाउनु, स्वतन्त्र रूपमा जीवन जिउनु पाउनु, बुर्का लगाउनु वा नलगाउनु, विवाह गर्नु वा नगर्नु, कुन उमेरमा बिहे गर्नु? यी सब त एक जना व्यक्तिले आफ्नै निम्ति निर्णय गर्ने विषयहरू हुन्। यस्ता व्यक्तिगत मामिलामा घर, समाज, सरकारको टाउको दुखाउने के काम? यो त व्यक्ति इच्छा र व्यक्तिगत अधिकारको विषय हो। आजको युगमा यस्ता स- साना तर नितान्तै महत्त्वपूर्ण विषयको लडाई लडिरहेका छन् संसारका हरेक कुनामा बस्ने अफगानी महिलाहरू। एउटा मान्छेको दर्जा पाउनका निम्ति हरेक दिन सङ्घर्ष गरिरहेका छन् यी अफगानी महिलाहरू। एउटा समाजको विकास तब हुन्छ , जब त्यहाँ बस्ने हरेक व्यक्ति स्वतन्त्र रूपले कसैको डर बिना बाँच्न सक्छन्। र यस्तै समाजको कल्पनामा डटेर उभिएका छन् अफगानी महिलाहरू।
काबुल विश्वविद्यालयको एउटी छात्रा भन्छिन् – ‘तालिबानले महिलाहरूको स्वतन्त्रतामाथि रोक लगाउन सूरू गरिसकेका छन्। मैले गुमाउनु केही छैन। कि त मलाई घरभित्र थुनेर राख्ने छ अनि मैले मेरो पढाई त्याग्नु पर्नुपर्छ, या त मैले लडाई गर्नु पर्नेछ। यसो गरे मेरो ज्यानलाई खतरा हुनेछ, वा मलाई मार्ने छ। तर मौन बस्नु भन्दा मृत्यु नै ठिक हो।’
आफू भन्दा अघिका महिलाहरूले गरेका त्याग अनि सङ्घर्षलाई सम्झेर आजका अफगानी महिलाहरू आफ्ना अधिकारका निम्ति लडिरहेका छन् । उनीहरू लडिरहेका छन् आफ्नो स्वन्तन्त्रताका निम्ति। उनीहरू लडिरहेका छन् भविष्यमा आउने आफ्ना सन्तान अनि आउँदो पुस्ताका महिलाहरूका निम्ति।
No comments:
Post a Comment