खोजौँ वैकल्पिक बाटो
कोरोना भाइरसको महामारीले व्यापक रूपमा सङ्कट उत्पन्न भएको छ। मानव स्वास्थ्यमा मात्र होइन, विकासशील मानव सभ्यताको हरेक पाटोहरूमा नै नकारात्मक प्रभाव परेको छ। कोरोनाको कारण वैश्विक रूपमै सामाजिक संरचना, अर्थ-व्यवस्था अनि मानवीय जीवन पद्धति समेतमा गम्भीर असर परिरहेको छ।
आजको 21औँ शताब्दीमा नयाँ नयाँ वैज्ञानिक आविष्कार अनि अनुसन्धानहरूले गर्दा वैज्ञानिक विकास तीव्र गतिमा बढी रहेको थियो, तर अचानक भूकम्प आए झैँ विश्वव्यापी रूपमा देखा परेको कोरोना भाइरसले आजको वैज्ञानिक विकास अनि अनुसन्धान समेतलाई ठूलो चुनौती दिइरहेको छ।
उक्त भाइरसले विश्वलाई नै कब्जा गरिसक्दा पनि आजसम्म भाइरसको रोकथाम अनि भाइरसले सङ्क्रमित व्यक्तिको उपचारका निम्ति औषधी-मुलो तयार हुन सकेको छैन। 'मेडिकल साइन्स'-ले कोरोनाको औषधीबारे खोजी गरिरहेको छ। दैनिक अनुसन्धान चलिरहेको नै छ, तर आजसम्म सन्तोषजनक परिणाम हात लाग्न सकेको छैन। यस्तो अवस्थामा 'लकडाउन' बाहेक अन्य उपाय विश्वको कुनै पनि देशहरूसँग छैन। लकडाउनले कोरोना भाइरस निर्मूल पार्न नसके तापनि भाइरसदेखि सङ्क्रमण हुनबाट जनसाधारणलाई सुरक्षित राख्न सकिन्छ भन्ने योजनाकै आधारमा प्रायजसो राष्ट्रले लकडाउनको रणनीति अपनाएका हुन्। केही मुट्ठीभर राष्ट्रहरू छन् जसले लकडाउनको सट्टा अधिक सङ्ख्यामा टेस्टिङ गर्नमा जोर दिइरहेका छन्।
कोरोना लकडाउनबाट केही राष्ट्रहरू मुक्त भएका छन्। यातायात, वाणिज्य, उद्योग-धन्दा सुचारू भएको छ तर स्थिति भने अझै पनि सामान्य भएको छैन। भाइरसको आतङ्कले प्रत्येक मानिसमा मानसिक तनाव विकसित भइरहेको छ, जुन तनावबाट मुक्त हुनका निम्ति मान्छेलाई दीर्घकालीन समय लाग्ने छ।
भाइरसको डर र लकडाउनको वातावरणले मान्छेमा नयाँ जीवनशैली पनि विकसित भइरहेको छ, जुन 'न्यू नर्माल' हो। शारीरिक दुरी पालना गर्नु पर्ने, स्वास्थ्य सम्बन्धी विषयमा सचेत रहनु पर्ने कुराहरूमा प्रत्येक मानिस सजग बनिरहेका छन्।
लकडाउनको कारण लाली गुराँस पत्रिका पनि प्रकाशित हुन सकेन। सदा झैँ हामीले पाठकहरूका हात-हातमा लाली गुराँस पत्रिका पुऱ्याउन सकेनौँ। यसका निम्ति हामी पाठक समक्ष खेद प्रकट गर्दछौँ, तर यस्तो परिस्थितिमा पनि हामी पाठकहरूलाई लाली गुराँसले पुऱ्याउँदै आइरहेको वैचारिक लेखहरूको खुराकहरूदेखि वञ्चित राख्न चाहँदैनौँ। प्रत्येक सङ्कट/समस्याले नयाँ नयाँ वैकल्पिक बाटो तयार गरेकै हुन्छ। यसर्थ, यसचोटी कोरोना महामारीको सामना गर्दा-गर्दै पनि हामीले लाली गुराँसका पाठकहरूका निम्ति अनलाइन पत्रिका तयार गर्ने योजना बनाएका छौँ। उसो त हामी पत्रिका लिएर प्रत्येक पाठक वर्गको घर दैलोमा पुग्न चाहन्छौँ नै तर यसचोटी स्थिति सामान्य छैन। यद्यपि, यस्ता सङ्कटकालमा पनि हामीले पठन संस्कार जारी राख्नु छ। विभिन्न घटनाहरूको अध्ययन अनि ती घटनाहरूको वैचारिक आधारमा विश्लेषण गर्ने हाम्रो बौद्धिक अभ्यासलाई निरन्तरता दिनु नै पर्छ। कोरोना महामारी हाम्रो वैचारिक कमजोरपनको बहाना हुनुहुँदैन भन्ने विश्वासको साथ आजको जोखिमपूर्ण समयमा हामीले अनलाइनको सहयोग लिएका छौँ। भविष्यमा स्थिति सामान्य रहला, तब पुनः हामी लाली गुराँस पत्रिका लिएर प्रत्येक पाठकका घर दैलोमा पुग्ने नै छौँ।
हामी बाँचेका पृथ्वीले आजभन्दा अघि पनि धेरैजसोवटा सङ्कटहरूको सामना गरिसकेको छ। महामारी होस्, प्राकृतिक आपदा वा विश्वयुद्ध जस्ता आतङ्ककारी सङ्कट, हामी भन्दा अघिका पूर्वजहरूले झेलेका थिए। पटक-पटक आइ पर्ने वैश्विक आर्थिक सङ्कटहरूले पनि हाम्रो जीवनमा व्यापक प्रभाव पारेकै थियो। यस्ता सङ्कट अनि महामारीको इतिहासहरूको अध्ययन गर्दा हामीले बुझ्न सक्छौँ कि सङ्कटको भुवँरीमा अधिक मात्रामा सर्वहारा वर्ग नै फसेका हुन्छन्। कोरोना प्रकोपले पनि सर्वहारा सङ्कटको पुरानै इतिहास दोहोऱ्याएको छ। उल्लेखनीय छ, आज भन्दा 102 वर्षअघि स्प्यानिश फ्लु-को समय नीजि-स्वास्थ्य व्यवस्थाको जुन फ्यातुलोपन देखिएको थियो, आज पनि अधिकजसो देशहरूमा सरकारको त्यस्तै फ्यातुलो नीति देखिँदैछ। मुनाफाखोरी पुँजीवादी व्यवस्थाले महामारीको समय पनि खटीखाने मानिसहरू तथा आमजनतालाई शोषण गर्दो रहेछ भन्ने प्रत्यक्ष उदाहरण हामीले देखिरहेका छौँ। स्प्यानिश फ्लुको अनुभवबाट विश्वले सार्वजनिक स्वास्थ्य व्यवस्थाको महत्त्व बुझेको थियो, अनि त्यसताका सोभियत सङ्घले संसारकै प्रथम देशको रूपमा सार्वजनिक स्वास्थ्य नीति अपनाएको थियो। यस इतिहासबाट आजको सङ्कटग्रस्त स्थितिमा पनि शिक्षा नलिनु नितान्तै दुखद कुरा हो।
आर्थिक रूपले सम्पन्न वर्गको पक्षमा उभिने राष्ट्र/सत्ताले जनपक्षीय निर्णयहरू ग्रहण गर्दैन भन्ने प्रमाण कोरोना प्रकरणले पनि स्पष्ट पारेको छ। हाम्रै देशको कुरा गर्दा केन्द्र सरकारले पुँजीपतिहरूलाई लोन माफ गर्ने अनि मजदुरहरूलाई 12 घन्टा काम लगाउने नीतिले सरकारको कुनीति स्पष्ट भएको छ। लाली गुराँसले यस अनलाइन अङ्कमा कोरोना महामारीको समय सत्ताले जनसाधारणमाथि गरेको अन्याय, अत्याचार र आर्थिक शोषणको घटनाहरूलाई स्थान दिएको छ। भारत, चीन, अमेरिका लगायत सबै देशहरूले नै कोरोना सङ्कटको समय आममानिसमाथि अझ शोषणको भारी थोप्ने काम गरेका छन्। सधैँ उत्पीडितहरूको पक्षमा कलम चलाउँदै आइरहेको लाली गुराँस पत्रिकाले यस चोटीको अङ्कमा पनि सत्ताको कुनीति/जनविरोधी षड्यन्त्र, पुँजीवादको दलाल चरित्रको विश्लेषण गर्ने प्रयास गरेको छ।
अहिले पनि कोरोनासँगको युद्ध जारी छ। कोरोना सङ्क्रमितहरूको सङ्ख्या बढ्दो छ। रोगीहरूको मृत्यु दर दैनिक रूपमा बढिरहेको छ। देशको वाणिज्य, यातायात, उद्योग-धन्दा लाचार अवस्थामा छ। अर्थ-व्यवस्थाको अवस्था नाजुक छ, तर सत्ताले विभिन्न प्रकारका नीतिहरू तयार गरेर देशको स्थितिमा परिवर्तन ल्याउने प्रयास गर्दै छ। सत्ताले तयार गरिरहेको अधिकाङ्श नीतिहरूको षड्यन्त्रकारी जालमा फेरि पनि सर्वहारा वर्ग नै फस्नेछ। कोरोना कालपछि मजदुरहरूले श्रमकानुनको ह्रासोन्मुख सुरक्षाबीच काम गर्नु पर्नेछन्। किसानहरूले आजको भन्दा झन् जटिल परिस्थितिको सामना गर्नुपर्ने हुन्छ। बेरोजगार समस्याले आकाश छुनेछ। मूल्य वृद्धिले त अहिले नै तीव्र गति पक्रिसकेको छ। अबको सङ्कटग्रस्त स्थितिले पुँजीवादी व्यवस्थाको कमजोरीहरूलाई बेनकाब गरिदिएको छ भने अर्कोतिर, वैकल्पिक समाज निर्माणको आवश्यकता पनि बढ्दै गइरहेको छ। जीवन परिवर्तनशील छ अनि प्रगतिशील छ। त्यसैले, प्रत्येकवटा सङ्कटहरूबारे बुझौँ, अनि वैकल्पिक बाटो तयार गरौँ।
***
No comments:
Post a Comment