शमीक
मेला भनेको मानिसको भिड हो। यसचोटी लकडाउनमा त्यही भिड जोगाउन नै यति बेला वषैपिछे हुने मेलाहरू जम्मै रोकिएका छन्। यद्यपि केही दिनदेखि एक थरीको मेला चाहिँ लाग्न थालेको छ। चिया मजदुरहरूले बिहान बगानमा कामका निम्ति जुन भेला पार्छन् त्यसलाई पनि मेलो वा मेला नै भनिन्छ। पत्ती टिपाइको काम चल्छ दिउँसो लञ्च ब्रेकसम्म। पत्ती तौलिएर जमा गरिसकेपछि एकैसाथ बसेर खान्छन् दिउँसोको लञ्च। चियाबारीकै ठूल्ठूला रूखहरूको छहारीमा वा चौताराको शीतलतामा बसेर दुखसुखको गफ गर्दै निल्नुपर्छ बाह्र बजेको खाना, एका बिहान पकाएर पोकोमा बाँअधिक ल्याइएको दुई छाक सब्जी-भात र प्लास्टिक बोतलमा नुनिलो फिक्का चिया। चिया चिसो भए पनि के हुन्छ र? नुनको चिसै चियाबाट ऊर्जा प्राप्त हुन्छ भन्ने विश्वासमा पुनः लाग्नुपर्छ उल्टि बेला अर्थात ब्रेकपछिको मेलोमा। टिपाइका निम्ति आ-आफ्ना सेक्सनमा दगुर्नु छ। दिन ढल्नै लाग्दा डोको वा झोलाभरि पत्ती भरेर फेरि हिँड्नुपर्छ तौलाइमा, पत्ती नाप्नलाई। तौलाइमा सबैलाई हतार छ, घर पुगेर घरेलु काम पनि निप्टाउनु पर्छ। बिहानको तौलाइमा भोक लागेकोले सबैजना हतार गर्छन्, अबको चाहिँ घर फर्किने हतार। जहिल्यै भिड र हतारनै हुन्छ तौलाइमा।
दिनभरि थुप्रिएको पत्तीको हिसाब टिप्छन् बैदारहरू। पन्द्रह (कताकता हप्ता) दिनको अन्तरालमा त्यही हिसाब हेरेर बाँडिनेछ ज्याला राशि। ओजन गर्दा एकाध केजी कम्ती नै लेखिएला, तर हतारमा कसले हेर्ने त तौलाइको काँटा! दिनभरि टिपेको पत्तीले ठीका पुग्छ कि पुग्दैन त्यति मात्र चिन्ता, अरू हरहिसाब मालिकको जिम्मामा। व्यापारको जादुले ती पत्तीहरू बगानकै प्राइभेट सेल वा अक्सन सेण्टर हुँदै मालिकको खातामा फर्कन्छन्, कुइण्टलको हिसाबले, टल्किने मुद्राको आकारमा। सरकारको खातामा फरेन करेन्सीको आयात लेखिन्छ, र दिनको अन्तमा, मजदुरको ज्यालामा लेखिन्छ एक सय छ्यात्तर रूपियाँ। काटकुट गरेर हातमा आउँछ थोरै रूपियाँ। दिन ढल्किँदा टाउको अडिएको नाम्लोमा झुण्डिंदै गरेको खाली डोकोमा खाना बाँध्ने झुम्रो थाङ्ना र छाता हालेर घरतर्फ लाग्छन् मनमाया कार्की र एतोयारी उराउँहरू।
कोरोनाको महामारीमा सामाजिक दुरीको होहल्ला छ। जसको अर्थ अरूको स्पर्शबाट आफूलाई जोगाउनु हो साथै अरूको नजिक जानुदेखि आफूलाई रोक्नु पनि हो। यसलाई शारीरिक दुरी भनिनु पर्ने हो। जे होस, त्यो शारीरिक दुरी चाहिँ चिया मजदुरको जीवनमा दिनको यही क्षणमा शुरु हुन सक्थ्यो, तर त्यो पनि हुन्छ के त? घरमा पालेको गाई-सुँगुर-बाख्राका लागि अलिकति भए पनि घाँस काट्न जङ्गल र बारीतिर जानैपर्छ। त्यही बेर छिमेकी सुष्मा वा पल्लो गाउँको विवेकसँग भेट हुनै सक्छ, जो कोरोनाको डरले केरला वा मुम्बईको काम छोडेर जनता कर्फ्युको समय गाउँघर फर्केका छन्। छिमेकी हो, दुई शब्द बोल्नै पर्छ, महामारीको गफ गर्नैपर्छ। र शुरु हुन्छ, परदेशमा फँसेका गाउँकै पलायन श्रमिकहरूको फोनले बगाई ल्याएका कथाहरू।
यस लकडाउनले जम्मै देशलाई ठप्प बनाइदिएको छ। यस राज्यमा 23 मार्च साँझदेखि नै लकडाउन शुरु भए तापनि अन्य ऐनकानून र सुविधाहरू झैँ लकडाउन पनि ढिलै आइपुग्यो चिया बगानहरूमा। मालिकहरूले कता कता 25 तारिखसम्म पनि बगान खुल्ला राखेका थिए। भयभीत मजदुरहरूले काम जान बन्द गरेपछि लाचार मालिकहरूले काम बन्द राख्ने नोटिस टाँस्नु नै सही ठहऱ्याए। भोलिपल्ट घाम झुल्केकै थिएन, मालिकहरूले अर्को हिसाब कोर्न थाले। फर्स्ट फ्लशको चिया पत्तीहरू रात बित्दा जति उम्रिन्छ, त्यसभन्दा उच्च दरमा बढ्दछ नोक्सानको गफ। टी बोर्डको आँकडामा प्रति वर्ष चिया उद्योगको सङ्कटबारे जुन कथालाई धमिलो लाग्छ, धारावाहिकको एपिसोड जस्तै जुन आइबसेको हुन्छ न्यूनतम ज्यालाको मागको उत्तरमा, त्यही गफले कुन्नि कसरी सरकारलाई प्रस्तुत गरिएको मालिकी मागको लेखाजोखामा सङ्ख्याको आकार लिइहाल्यो।
बगैंचा उद्योग मालिकहरूका सल्लाहकार समितिले केन्द्र सरकारलाई 29 मार्चसम्म 1455 करोड क्षतिपूर्तिको माग पेस गर्यो। यसैबीच, बगान बिग्रिन्छ भन्ने आशङ्का मालिकहरूले व्यक्त गर्न बित्तिकै राज्य सरकारले पनि पाँच-पाँचजनाको सानो टोली लगाएर दबाई छर्कने वा सिँचाइको काम गराउने अनुमति दियो। आशङ्का त छ नै उद्योग बाँच्नुपर्छ, तर मजदुरहरूलाई पनि बचाउनु परेन त? चिया मजदुरको ज्यालासँगै पाउने अन्य सहुलियतहरू अर्थात् उपचारको बन्दोबस्त, घर मरम्मती, छाता, जुत्ता, इन्धन, तिरपल आदि थोकहरू राम्ररी नपाउने मजदुरहरू यहाँ बगानमा बाध्यतापूर्ण बाँचिरहेका छन्।
चिया श्रमिकहरूको मिनिमम वेज लागु गराउने माग लिएर लगातार सङ्घर्ष चलिरहेको छ, तर त्यो लागु हुनुको सट्टामा नाना थरीका कमिटी, छलफल, प्रस्तावको गाँठोमा अल्झेर केही अन्तरिम ज्याला वृद्धि गरेर मजदुरहरूलाई शान्त पार्ने कोशिश गर्यो सरकारले। यसकै जटिल गणितले गर्दा श्रमिकहरूको 9 महिनाको पाउनुपर्ने एरियर बाँकी छ। अर्कातिर, त्यही समयमा राशन व्यवस्था मालिकको हातबाट खाद्य सुरक्षा ऐनअन्तर्गत हस्तान्तरण भयो। तब मालिकहरूबाट पाउनुपर्ने राशनको अधिक राशि पनि कता हरायो कता! अझसम्म त्यसको कुनै ठेगान छैन। बगानको जीवन त्यसैले केवल मजदुरीको पैसाले पुग्दैन। आश गरेर बस्नुपर्छ बाहिर राज्य, देशमा पलायन भएका वा वरिपरि बगानतिर काम गर्न गएका परिवार सदस्यहरूमाथि। कोरोनाले ती सबै आयस्रोतको बाटो पनि बन्द गरिदिएको छ। श्रमिक परिवारहरूमा त्यसैले हाहाकार शुरु भयो। एकातिर, केही दिनपछि परिवार कसरी चल्छ ? त्यसको सुर्ता र अर्कातिर, यस्तो भताभुङ्ग स्वास्थ्य र कमजोर चिकित्साको पूर्वाधार लिएर कसरी लडाइँ गर्ने कोरोनासित! यो प्रश्न सम्पूर्ण चिया क्षेत्रभरि नै छ। पहाड-तराई-डुवर्समा छरिएका तीन सय जस्तो सेट बगान अनि एघाह्र लाख वासिन्दा। यसबाहेक साना ठूला नयाँ बगानहरू पनि छंदैछन्। मजदुरहरूको मनमा यी विषयहरू लिएर भय हुँदाहुँदै मालिकहरू सोँच्छन् (सायद सरकार पनि) यति बिघ्न नपाएर पनि बाँचिरहेका चिया मजदुरहरूले कुपोषण बोकेर घामपानी झेले झैं कोरोनालाई पनि पक्कै सम्हाल्ने छन्। त्यसैले होला, केन्द्र सरकारले बगान चलाउने ग्रीन सिग्नल दियो- 50 प्रतिशत मजदुर लगाएर। 3 अप्रेल तारिखको एडेण्डाम नोटिसमा। त्यसभन्दा अघिदेखि नै यस्ता सरकारी अनुमतिको सङ्केत आइरहेको थियो। चिया-मालिकहरू अधिक बलियो छन् भन्ने कुरा छर्लङ्गै देखियो जब एकपछि एक तमिलनाडुको नीलगिरि, बिहार, आसाम र केरलामा चिया बगान खोल्ने निर्देश सम्बन्धित राज्य सरकारहरूको तर्फबाट जारी हुँदै गयो। कोरोनाको त्रास अनि स्टे होम स्टे सेफ नाराबीच चिया मजदुरहरूले काम गर्नुपर्छ। विभिन्न ठाउँमा काम शुरु भयो।
आसामका चिया मजदुरहरू मुख्यमन्त्रीको घोषणा हुँदाहुँदै पनि 1 अप्रेलदेखि काममा गएनन्। पहिलो चरणको सरकारी घोषणा असफल भयो, तर बगानहरूमा हरियो फर्स्ट फ्लशको सुनौलो अवसरले मालिकहरूलाई दृढ़ तुल्यायो। 10 तारिखदेखि आसाममा काम शुरु भयो। यस राज्यमा 6 अप्रेलको दिन मुख्यमन्त्रीले घोषणा गरिन् कि परिस्थिति अझै केही दिन नियालेर मात्र चिया बगानको काम शुरु गर्ने। 9 तारिख फेरि 15 प्रतिशत मजदुर लिएर बगानमा स्किफिङ्ग अर्थात फँडाईको काम शुरु हुने नवान्नबाट घोषणा आयो। 11 तारिख फेरि अर्को नोटिसमा 25 प्रतिशत वर्कफोर्स लिएर पत्ती टिप्नु लगायत बगानको सबै काम नै गर्न सकिने घोषणा आयो। साथै औपचारिकताको हिसाबले सुरक्षा र सामाजिक दुरीको फुस्रो गफ पनि थियो! त्यो आदेश जब बगानमा आइपुग्यो तब मजदुर नियुक्तिको प्रतिशतको माथिल्लो सीमा भन्ने कुरो अर्थहीन बन्न पुग्यो। एकातिर मालिकहरूको अथाह लोभ अनि अर्कातिर श्रमिकहरूलाई कोरोना र भोकको पीडामध्ये कुनै एक चुनाउ गर्नु भनियो। यस्तो स्थितिमा कुन 25 प्रतिशत मजदुरहरूले काम गर्ने, कसरी गर्ने ? 25 प्रतिशत दैनिक रोटेसनमा काम गराइने वा अन्य तरिकाले? केवल पर्मानेण्टलाई काम दिइने कि बिघाहरूलाई पनि? यी कुराहरूमाथि छलफल गरेर सुचारू योजना बनाएर काम थाल्नुको सट्टा बगानहरूमा म्यानेजमेण्ट वा मालिकहरू फर्स्ट फ्लशको सुनौलो फसल टिप्न अत्तालिनु थाले।
मजदुरहरूको पेटको भोक, परिवार धान्ने दायित्व यस 25 प्रतिशतमा पस्न नपाउँदा ज्याला, रोजगार गुमाउने आशङ्का, यी सबैको गणितमा कसरी लाग्ने त कोरोनाको डर! देशभरि खटीखाने मानिसहरूका निम्ति कोरोना वनाम भोकको विरोधाभासपूर्ण यो दृश्य लगभग एउटै छ, तर चिया बगानमा भने केही सीमासम्म अर्को विशेषता पनि छ। नयाँ हरियो पत्ती उम्रिन्दा पीडा बोकेका चिया मजदुरहरूका मुटुबाट एक अकथनीय आश्चर्य अस्थिरता पनि जन्मिन्छ। काम गर्न आतुर हुन्छन् हातहरू। बाबु-बाजे, आमा-बोजूले रोपेका चिया बारीप्रति अदमित माया पनि छ। जस्तो कि उम्रिएका फसलसामु उभिरहेका छन् आज देशका किसानहरू।
चिया बगानहरूमा अप्रेल 13 तारिखदेखि पुनः काम शुरु भयो भन्न सकिन्छ। केही अपवादहरू थियो। कोरोनाको डरले केही विरोध पनि, तर प्रायजस्तो ठाउँहरूमा 25 प्रतिशत त छोडिदिनुहोस् अधिकाङ्श श्रमिकलाई सकेसम्म बगानमा उपलब्ध सबै मजदुरहरूलाई नै काममा लगाइयो। एकदमै कम्ती ठाउँमा भने निर्देशअनुसार रोटेसनमा कार्य चल्यो। कतै केवल पर्मानेण्टहरूलाई काम दिइएको थियो त कतै धेरैजसो सङ्ख्यामा बिघाहरूलाई। कता फेरि दिनको आधा पर्मानेण्टलाई त आधा बिघालाई। कतै व्यापक ओभर टाइम लगाईयो। ठाउँ-ठाउँमा किसिम फरक थियो, तर एउटा कुरो सबै बगानमा भने एकै थियो-- मालिकहरूले फर्स्ट फ्लशको सिजनमा सर्वोच्च परिमाणमा पत्ती टिपाएरै आफ्नो हिसाब बुझ्यो। दिनको आधा भागमै टास्क पुरा गर्नु, ओभर टाइम, डबली (अतिरिक्त पत्तीको उच्च दर) सबै तरिकाको निर्वाध प्रयोग भयो। ठीका अर्थात् निर्धारित परिमाणको पत्तीभन्दा बढ़ी पत्ती टिप्न बाध्य भए अधिकाङ्श मजदुरहरू। फर्स्ट फ्लशको कच्चा सुन जम्मा भयो मालिकको घरमा।
सबै प्रकारका सुरक्षा व्यवस्था- मास्क, ह्याण्ड स्यानिटाइजर, साबुन, तातो पानी, अदुवा पानी, ढाक पिटाइको विभिन्न संस्करण भनिएको थियो, तर अधिकाङ्श ठाउँमा त्यसको नामोनिशान थिएन। केही अपवाद छोडेर अधिकाङ्श ठाउँमै बगानको मेलो, पत्ती तौलाइ, फ्याक्ट्री प्रोसेसिङमा भिड गरी भेला भए मजदुरहरू। सामाजिक उत्पादनको लाभांश यसरी नै पुगिहाल्यो कोरोनाको डरदेखि सुरक्षित दुरीमा बसिरहेको मालिकहरूको हातमा।
यदि चिया बगानमा कहीँ कतै सामाजिक दुरीको पालना छ भने त्यो यी कुराहरूमा नै छ। सङ्कटग्रस्त मजदुर र सुरक्षित मालिकको दुरी। भोकको बाध्यता र लाभको विलासिताको दुरी। 176 रूपियाँको तल्लो जीवन र पहाडझै मुनाफाको दुरी। बेहाल सरकारी वा बगानको स्वास्थ्य व्यवस्थाको लाचारी र महँगो प्राइभेट हेल्थकेयरको सुरक्षाको दुरी। कोरोनाको जोखिमबारे बेवास्ता-उदासीनता र सेफ स्टे-मा बसेर लाभ उठाउने चलाकीको दुरी।
काम शुरु हुन्छ भन्नु बित्तिकै मजदुरहरूको भिड लागेको थियो काममा। हरेक दिन नै हुन्छ भोलिपल्टको सुर्ता। ज्याला चाहिन्छ, नभए भोलि-पर्सिको जीवन चल्दैन, तर लकडाउनका दिनहरूको हिसाब हुन्छ र? के हुन्छ ? केन्द्र सरकारले धाक पिट्दै लकडाउनको दिनहरूका ज्याला कटौती नगर्ने प्रस्ताव दिएर नोटिस जारी गरेको थियो। अझ भनिएको थियो अस्थायी मजदुरहरूलाई कामबाट निकाल्न पाइने छैन, तर यथार्थमा के त्यसो भयो ? लकडाउनको 5 दिनहरूको ज्याला श्रमिकहरूले पाएनन्। कति वटा ठाउँमा लकडाउनको दिनहरूका पैसा काटेर स्टाफ, सब-स्टाफहरूलाई वेतन भुक्तान गर्दा उनीहरूले अस्वीकार गरे। कम पैसा लिएनन् उनीहरू! केही ठाउँमा एडभान्स दिइयो, पछिबाट हिसाब भएपछि ज्यालासित एडजस्ट गरिने बताइएको थियो। कतै यो रकम दिएर भनिएको थियो कि मजदुरहरूले पछि काम गरिदिनुपर्छ छुट्टीको दिनहरूमा। दिनभरि वा आधा दिन। कुनै आश्वासनकै पालन भएन। पछिबाट केन्द्र सरकारकै खुलासा आयो-- उनीहरूले दिएको नोटिस चाहिँ सुझावमात्रै पो थियो अरे, निर्देशन पटक्कै होइन!
जसरी 25 वा 50 प्रतिशत मजदुरहरूलाई लगाएर काम गर्नु भनिदिएको थियो सरकारले, त्यसबाट खासमा कम्ती मजदुरहरू लिएर चिया बगानको पिक सिजनमा पनि काम गराउने सरकारी प्रोत्साहन पाए मालिकहरूले। के यसले भविष्यमा ठूलो सङ्ख्यामा मजदुर छंटाइ वा व्यापक अस्थायी नियुक्तिको बाटो खोलिँदैन? अधिक उत्पादन, अत्यधिक मुनाफाको हिसाब गर्दै मालिकहरूले अहिले जति श्रमिक छेउछाउ भेटे ती सबैलाई काम लगाए अनि त्यसैले त बनिएको थियो यस्तो अराजक स्थिति।
15 अथवा 25 प्रतिशत लिएर यस्तो अराजकता बनिने थिएन यदि लकडाउन चरणको मजदुरी निश्चित गरिन्थ्यो भने। मालिकहरूको शोषण र सीमाहीन दबाउ दिने यस व्यवस्थामा कोरोना त्रास हुँदाहुँदै चिया (वा अन्य उद्योग) श्रमिकहरूलाई काम गराउने यस हठीलाई पर सारेर पनि श्रमिकहरूका मूल समस्या मजदुरी लिएरै रहिरह्यो। कोरोनाको यस चरणमा पलायन, प्रवासी मजदुरहरूका भयावह सङ्कट असहज स्पष्टताको साथ आएको थियो। किसानहरूले फसल बिक्री नभइरहेको समस्या पनि देखियो। समग्र परिप्रेक्ष्यमा खटीखाने मानिसहरूका लागि स्थिति कति भयावह हुनेछ, त्यसको सङ्केत नै लकडाउनपछि सर्वप्रथम खोल्ने चिया उद्योगको यही घटनाहरूबाट देखिएको थियो।
श्रमिकहरूको जीवन मूल्यवान हो र त्यसबारे खेलाँची गर्न बन्द गर्नुपर्छ। कोरोना प्रकरणपछिको आउने दिनहरू भयानक हुन्छ भन्ने संकेत चिया बगान खोल्ने यस हठकारि निर्णयबाट देखिएको थियो भने त्यसको पछिबाट देशको नानाथरीका मजदुरहरूमाथि एकाएक हमला देखिरहेको छ। संसारको अरू ठाउँ पनि कमोवेश त्यस्तै छ।
तर चाखलाग्दो कुरा के हो लकडाउनको सुरूदेखि भइरहेको मजदुरवर्ग सम्बन्धित सङ्कट, र खासगरी प्रवासी मजदुर प्रकरण जुन प्रकारले देशभरि खबरको हेडलाईनमा आयो, त्यो स्पष्टसँगै समाजमा मजदुर वर्गको महत्व र देशको जनताको मनमा त्यसबारे सहानुभूतिलाई देखाइदियो। सत्तारुढ वर्गले जति नै षडयन्त्र रचोस्, कोरोना-उत्तरकालमा मजदुर अधिकारको यात्रा नै संवेदनशील समाज बनाउने सङ्घर्षमा अन्यतम मुख्य भुमिका लिनेछ भन्ने कुरा किटान गरेर भन्न सकिन्छ।
***
No comments:
Post a Comment