सुमेन्द्र तामाङ
अहिले पृथ्वी नै घरको चार कुनामा अड्केको छ। कोही कारखानामा काम गरिरहेका होलान्, कोही आफ्ना ल्यापटपबाट नै काम गरिरहेका होलान्, तर यो संसार भने अहिले घरभित्र नै छ। मानव समाजलाई अहिले स्वास लिन पनि खतरनाक थोक भइरहेको छ। हामी अहिले एक अर्कासँग शारीरिक दूरी कायम गरेर बस्नु पर्ने परिस्थितिमा छौँ। मान्छेको आफ्नो अस्तित्त्व अनि परिचय दुवै खतरामा छ। यस्तो अवस्थामा मनमा अनेकौँ प्रश्नहरू उठ्न सक्छन्, जस्तो कि को सँग खतरा? कस्तो खतरा? कहाँ छ खतरा ?... लामो स्वास!!
यस चोटीको सङ्कट अदृष्य छ। घातक छ। सङ्कट र मानव सभ्यता निकै पुरानो दुई साथीहरू झैँ हुन् भन्दा फरक नपर्ला। मानव समाजको विकासको निरन्तर सङ्घर्षको क्रममा धेरैजसोवटा सङ्कटहरू आइसकेका छन्। मानव समाज प्रारम्भदेखि नै विविध सङ्कटहरू माझ हुर्किँदै आइरहेको हो। यस चोटीको कोरोना महामारी पनि धेरैजसो अघिको सङ्कटहरू झैँ थप एउटा सङ्कट हो! ज्यानमारा सङ्कट। मानव समाजको तत्काल व्यवस्थाको आधारभूत मूल्यहरूलाई गतिलो झापट हो कोरोना भाइरस। एक प्रकारले हेर्दा, कोरोनाले मान्छेलाई ऐना अघि नाङ्गोझार पारेर उसको प्रतिबिम्बको झलक देखाई रहेको छ। मानवीय जीवन शैली, रहन-सहन, सुन्दर आवास, शिक्षा, स्वास्थ्य जस्ता आवश्यकताहरूले मानिसलाई प्रगतिशील दिशातिर लगेर जान्छ, तर मानवीय मुल्यवोधको चेतना बाहेक कुनै पनि समाजको प्रगतिशील विकास हुन सक्दैन। एउटा मानवीय समाजले स्वास फेर्न सक्दैन।
मानवीय समाज र मानवीय मूल्यवोधको चर्चा गर्दै जाँदा विभिन्न प्रश्नहरू उठ्न थाल्छन्। गरिबले भन्न सक्छन् नै-- 'जीवनभर कुर्कुच्चा फुटाए। गोठालो झैँ खटेर समाजलाई श्रम दिए तर किन हामी आजसम्म गरिबको गरिब नै छौँ?' एउटी नारीले थपछिन् नै-- ‘आजसम्म महिला पुरूषमा यति अधिक भेदभाव किन?'। एकजना दलितले पनि भन्छन्-- 'जात पात र वर्णाश्रमको नाममा यस्तो घृणा किन?' एका एक गर्दै यस्ता हजारौ प्रश्नहरू उठ्न थाल्छन।
काले-गोरे, चिम्से-चुच्चे, पुड्के-अल्गे, मोटे-पात्ले धेरैजसो प्रकारका मानिसहरू छन्। सबैका आ-आफ्नै कथाहरू छन्। प्रश्नहरू छन्। यस्ता प्रश्नको आवाजहरूले नै त मानवतालाई कायम राख्दछ। कोरोनाको कारण अहिले हामीलाई लाग्दै छ कि -- हामी निस्सासीरहेका छौँ। स्वास लिन सकिरहेका छैनौ’, तर यो रङ्गीन पृथ्वीमा अधिकाङ्श मानिसहरूलाई युगौदेखि नै स्वास लिन गाह्रो भइरहेका थिए। धेरैजसोलाई यस्ता कुराहरू झिनो लाग्न नै सक्छ, तर यो महत्त्वपूर्ण कुरा हो। संसार जताजतै असमानताले भरिएको छ। मानव समाजको आजको व्यवस्थालाई पुँजीवाद भनिन्छ, जहाँ ठूलो-सानो, गरिब-धनी, श्रमिक-मालिकको बीचको विभाजन सामान्य लाग्छ। निश्चित रूपले भन्नु पर्दा ‘वर्ग विभाजन’ बिना पुँजीवाद चल्न सक्दैन। पुँजीले श्रमको मूल्य तोक्ने व्यवस्था हो पुँजीवाद। पुँजी र श्रमको निरन्तर सङ्घर्ष जारी छ। सङ्कटग्रस्त पुँजीवाद पहिलेदेखि नै असन्तुलित स्थितिमा थियो। आर्थिक-सामाजिक व्यवस्थादेखि सिङ्गो परिवारसम्मै विभिन्न सङ्कटहरूमा पर्दै आइरहेको छ। यस्तै सङ्कटहरू माझ पनि निरन्तर अघि आइरहने अनि उथलपुथल ल्याइरहने एउटा मुद्दा हो 'जातिवाद' अर्थात ‘रेसिजम’। एउटा जाती (रेस) अर्को जाती भन्दा ठूलो हुन्छ भन्ने सोँच अनि यसै सोँचको आधारमा (एउटा जातीमाथि अर्को जातीले) गरिने अन्यायपूर्ण उत्पीडनलाई जातिवाद वा नस्लवाद भनिन्छ। एउटा व्यक्ति अथवा व्यक्तिहरूको गुण (कालो-गोरो, पुड्के-अल्गे, चिम्से इत्यादि) उसको निर्धारण जाती/जातीयताबाट हुन्छ भन्ने सोँचलाई पनि जातिवाद नै भनिन्छ, चाहे त्यो संसारको इतिहास होस् वा भारतको वर्तमान परिप्रेक्ष्य, जातिवाद एउटा शोषणको हतियार मात्र हो। केवल उत्पीडन गर्ने औजार। जातीय उच्चता अनि शक्तिको द्वन्द्वात्मक परिकल्पनामा तयार भएको एउटा सामाजिक विष हो जातिवाद।
जर्ज फ्लोयड अनि व्यवस्थित जातिवाद (Systematic Racism)
जर्ज फ्लोयड एकजना सामान्य मानिस थिए। 25 मई 2020 को कुरा हो। अमेरिकाको उत्तरी राज्य मिनिसोटाको मिनियापोलिस सहरमा पुलिसले अश्वेत व्यक्ति जर्ज फ्लोयडलाई सामान खरिदका लागि जाली नोट प्रयोग गरेको आशंकामा पक्राउ गर्ने प्रयास गरेका थियो। हतकडी लगाएर सडकमा लडाएपछि डेरेक चाउविन नामक एकजना पुलिसकर्मीले जर्ज फ्लोयडको घाँटीमा 8 मिनेट 46 सेकेन्डसम्म लगातार घोडा टेके। जनताको 'सुरक्षा' गर्छु भन्ने अमेरिकी पुलिस स्वयं कालो वर्णको मानिसको हत्यारा भयो। जर्जको घाँटीमा निरन्तर प्रेसर पऱ्यो। उनले स्वास फेर्न सकेनन्। उनको मृत्यु भयो। मर्न अघि जर्जले अन्तिम शब्द बोले-- 'I can’t breathe'.
एकजना अञ्जान व्यक्तिले यो सम्पूर्ण घटनाको भिडियो रिकर्ड गरिरहेका थिए। गोरो अमेरिकी पुलिसले काले अफ्रेकी व्यक्तिको निर्ममतापूर्वक हत्या गरिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भयो। यस घटना अवधि मिनियापोलिस पुलिसका अधिकारीहरू टाउ थाउ, अलेक्जेन्डर क्विङ अनि थोमस लेन चारजना नै घटना स्थलमा थिए। यी अधिकारीहरू मध्ये डेरेक चाउभिनलाई सेकेन्ड डिग्री मर्डर अनि म्यान स्लाटरलगायत अन्य तीनजना अधिकारीहरूलाई हत्याकाण्डमा सहयोग गरेको मामिलामा मुद्दा दर्ता गरिएको छ। मिनियापोलिस् काउन्सिलले पुलिस विभागलाई नै खारिज गरिनु पर्ने सुझाव राखेको छ, तरै पनि प्रश्न उठ्छ- के जर्ज फ्लोयडले न्याय पाए त?
यस प्रकारका व्यवस्थित हत्याकाण्ड अमेरिकामा प्रथम चोटी भएको होइन। 1921-मा ब्लाक वाल स्ट्रिट हत्याकाण्ड, 1935-मा न्यू योर्क हर्लेम दङ्गा, 1943- मा जुट सुट दङ्गा , 1951- मा सिसेरो दङ्गा, 1963-मा ओले मिस दङ्गा, क्याम्ब्रिज दङ्गा 1963, 1964- मा रोचस्टर दङ्गा, फिलाडेल्फिया दङ्गा 1964 गरी धेरैजसोवटा जनहत्या अमेरिकामा भइसकेको छ। अफ्रेकी-अमेरिकनहरूमाथि हुने यस्ता पुलिसी हत्याकाण्डहरूको सूची निक्कै लामो छ। अमेरिकी गणतन्त्रको इतिहास नै पुलिस आतङ्क अनि जातिवादी शोषणको धरातलमा उभिएको छ। पहिले रैथाने ‘रेड इण्डियन’ अनि त्यसपछि ‘अफ्रेकी ब्ल्याक जातीसंहार’को रगतले रङ्गीएको छ आजको शक्तिशाली अमेरिका।
व्यवस्थित जातिवादको धरातलमा उभिएको अमेरिकी पुँजीवादले जातिवाद विरूद्धको आवाजहरूलाई जराबाट नै उखेल्न कहिले पनि सक्दैन, किनभने जातिवाद पुँजीवादी व्यवस्थाभित्र एउटा विभाजनको हतियार बनिसकेको छ। वर्ल्ड इकोनोमिक फोरम अनुसार कटन बगैचाहरूमा पहिलादेखि नै दास व्यवस्था बनाएर अनि बन्दी श्रमको (bonded।abour) यस आर्थिक व्यवस्थाले अहिलेसम्म पनि अफ्रेकी अमेरिकीहरूलाई सामाजिक-आर्थिक साथै राजनैतिक रूपले नकारात्मक प्रभाव पारिरहेको छ। घरेलु आम्दानीको कुरा होस् वा राज्य आतङ्क-- अमेरिकामा व्हाइट अमेरिकनलाई जति कठिन छ, त्यो भन्दा धेरैजसो कठिन एकजना ब्ल्याक अमेरिकनलाई छ। लोन, स्वास्थ्य, स्कूल, कलेज, सामाजिक अनि राजनीतिक सबै क्षेत्रमा एकजना नन-व्हाइट अमेरिकनले विविध प्रकारका भेदभाव झेल्नु पर्ने हुन्छ। अमेरिकामा नीजि आवास हुने अमेरिकी-अफ्रेकीहरूको सङ्ख्या केवल 51 प्रतिश्त मात्र छ। चिकित्सा अनि स्वास्थ विज्ञानको इतिहासमा ब्ल्याकहरूमाथि अमानवीय रूपले परीक्षणहरू भएको कारण स्वास्थ्य व्यवस्थामाथि एकजना सामान्य अफ्रेकी अमेरिकनले आँखा चिम्लेर विश्वास गर्न सक्दैनन् भन्ने कुरा धेरैजसोवटा सोधहरूमा उल्लेख भइसकेका छन्।
कलेज-विश्वविद्यालय, अस्पताल, कर्मथलो आदिमा चली रहेको असमानता अनि शोषणको परिणाम हो 'ब्ल्याक लाइभ्स म्याटर' अभियान। मार्टिन लुथर किङ, मालकोम एक्स जस्ता जातिवाद विरोधी व्यक्तित्वहरूलाई हत्या गरिएको कालो इतिहासमा आजको झुटो अमेरिकी गणतन्त्र खडा भएको छ। स्पष्ट भन्नु हो भने आजको पुँजीवादी व्यवस्था स्वयं नै जातिवादको सामाजिक रोगले ग्रस्त छ। यही सामाजिक धारणालाई नै व्यवस्थित जातिवाद भनेर भनिन्छ। अमेरिकी राजनीतिमा गैर-नागरिक, जातिवाद अनि आप्रवासी मुद्दाहरूलाई हावा दिएर नै डोनाल्ड ट्रम्पले राजनैतिक केरियर सुरू गरेका हुन्। भारतको मोदीजी झैँ।
अमेरिकामा जातिवाद विरूद्ध सङ्घर्षको सुनौलो इतिहास पनि छ। जातिवादको विरोध साथै पुलिस हिंसाको प्रतिवाद गर्दै क्यालिफोर्नियामा सन् 1966-मा ब्ल्याक प्यान्थर पार्टी गठन भएको थियो। कालान्तरमा जातिवादी शोषणलाई वर्ग अनि लिङ्गको आधारमा हुने शोषणसँग जोडेर जातिवाद विरूद्धको लडाई पुँजीवादी व्यवस्थासँगको निरन्तर लडाई हो भन्ने सोँचमा ब्ल्याक प्यान्थर पार्टी उभिएको थियो। हिप-हप, ऱ्याप म्युजिक, डान्स आदिलाई प्रतिवादको नवीन माध्यम बनाएर जातिवाद विरोधको आवाजहरू निरन्तर रूपमा उठान गरिएको थियो। त्यस बेला अमेरिकामा ‘टू प्याक’ जस्ता क्रान्तिकारी कलाकारको हत्या पनि गरियो। हजारौँ ब्ल्याक अमेरिकनहरूको शवमाथि उभिएको छ आजको अमेरिकी गणतन्त्र। ब्ल्याक प्यान्थर पार्टीभित्र समाजवादी विचारधारा व्यापक रूपमा प्रचलित थियो। सङ्कटको समय पुँजीवादभित्र जातिवादको पानी फोकाहरू निस्किने गर्दछन् अनि यसैको टर्निङ पोइन्ट हो जर्ज फ्लोयड हत्याकाण्ड। निस्सासिएर विस्फोट भएको हो-- ‘अमेरिकाको आजको सामाजिक स्थिति’।
हिंसा र सामाजिक आन्दोलन
कुनै पनि सामाजिक अनि राजनैतिक द्वन्द्व अवधि हिंसक प्रतिवाद भएको चर्चाहरू हामी समक्ष आउँछ नै र यो कुरा सामान्य पनि हो। प्राकृतिक रूपमा विकसित इतिहास अनि मानव समाजको प्रगतिशील परिवर्तनलाई हामीले निहालेर हेऱ्यौँ भने, जीवन अनि मानव विकासको यात्रामा निरन्तर द्वन्द्व भएको पाउँछौँ। आत्मरक्षाका निम्ति कुनै पनि प्राणी-- चाहे मानव होस् वा अन्य कुनै पनि प्रजातिले हिंसाको रूप लिएकै हुन्छ। मानव व्यवहारमा हिंसाको ठूलो भागीदारी अनि महत्त्व छ। हिंसाको एतिहासिक अनि समकालीन विश्लेषणलाई गहन अध्ययन नगरि हिंसात्मक प्रतिरोधलाई बुझ्न सक्दैनौँ। अहिंसामा पनि हिंसाको तत्त्व हुन्छ। महात्मा गाँधीले भोक हडताल गर्दा आफ्नै शरीरमाथि हिंसात्मक व्यवहार गरेको लजिकलाई पनि एकचोटी बुझ्ने प्रयास गरौँ। अहिंसाको विगुलमा मात्र सामाजिक आन्दोलन हुनुपर्छ भन्ने विचार एक प्रकारको मूर्खता नै हो। बम-गोला-बारूदहरूलाई हातले नै रोक्नु केवल फिक्सनल सुपरम्यान अनि सुपरहिरोहरूले मात्र सक्छन्। हामी त सामान्य मान्छे हौँ। पुँजीवादको आफ्नै सत्ता छ। मीडिया छ। प्रशासनिक तन्त्रहरू छन्। त्यसैले कुनै पनि सत्ता विरोधी आन्दोलन विकसित हुँदैछ भने हिंसा अनि अहिंसा दुवै प्रकारका जनआन्दोलन गर्न जरूरी हुन्छ। नृत्य, सङ्गीत आदिको प्रतिरोधी माध्यमदेखि औजार, हात-हतियार सबै प्रकारका शक्तिहरू प्रयोगमा आउन सक्छन्। कुट-पिट, लाठी चार्ज, हिंसक प्रदर्शन सबै सबैको प्रयोग हुन जान्छ। सामाजिक परिवर्तनका निम्ति गरिएको कुनै पनि आन्दोलनको इतिहास पढ्नुहोस-- त्यहाँ शान्तिपूर्ण अभियान पाइन्न। कसै-कसैले आत्मसमर्पण गर्छन तर धेरैजसोले सङ्घर्षको बाटो नै रोज्छन्। सङ्घर्षको बाटोमा हिंसा अनि अहिंसा फरक-फरक कुरा होइन। यी दुवै एक-अर्कालाई ऊर्जा दिने तत्त्व हो। प्रेमले प्रेमीको दिल त जित्नु सक्दैन भने आन्दोलन जित्नु त टाढाको कुरा हो।
पुलिसी दमन अनि राज्य आतङ्कले जब सीमा नाँघ्न थाल्छ, तब विद्रोहको आवाज केवल अहिंसक हुनपर्छ भन्ने तर्क वे-अर्थको हुन जान्छ। शताब्दी पुरानो शोषण विरूद्धको सङ्घर्ष केवल अहिंसक हुनपर्छ भन्ने कुनै निर्दिष्ट नियम छैन। पानी उम्लिए पोखिन थाल्छ। हात पोलेर पानी फोका निस्किने प्रबल सम्भावना रहन्छ। आन्दोलनकारीहरूको अनावश्यक पक्राउ, पुलिस हिरासतमा मृत्यु/हत्या, झुटो एन्काउन्टर, पुलिस क्रूरता आदिले गर्दा हजारौँ-लाखौँ जातिवादी आक्रमण अनि हत्याहरू भइसकेका छन्। यस्ता घटनाहरूबारे हामीसम्म आइपुग्ने सङ्ख्या त केवल 'टिप अफ दी आइसवर्ग' मात्र हो।
पुँजीवादी राजनीतिक व्यवस्थाले जातिवाद जस्ता सामाजिक सङ्कटलाई पालेर राखेको छ। यसैले जातिवाद अनि पुँजीवाद विरोधी सङ्घर्ष सामूहिक एकबद्धता बाहेक सम्भव छैन।
आन्दोलन तर्फ
संयुक्त राष्ट्र अमेरिकामा मात्र जातिवाद कायम छ भन्ने होइन। जातिवादको मूल गढ त इङ्ग्ल्याण्ड हो भनेर धेरैजसो इतिहासकारहरूको मत पाइन्छ। ब्रिटिस उपनिवेशवादको क्रूरता अनि लुटको इतिहासबारे हामी सबै सचेत नै छौँ। वर्तमान समयमा सम्पूर्ण विश्वमा नै जातिवादको वर्चस्व कायम छ। अहिले जातिवाद एउटा वैश्विक मुद्दा भइसकेको छ। कालेको देशमा गोरेलाई भेदभाव, गोरेको देशमा कलेलाई भेदभाव, चिम्सेको देशमा आँख्लेलाई भेदभाव, अग्लेको देशमा पुड्केलाई भेदभाव। पहाडमा मधेसीलाई भेदभाव, मधेसमा पहाडेलाई भेदभाव।
उपनिवेशवादी विकासको क्रममा जनहत्या, उत्पीडन आदि गरेर धेरैजसो ठूल ठूला व्यक्तित्वहरूलाई हिरोको दर्जा दिइएको कालो इतिहास हामी समक्ष छँदैछ। क्रिस्टोफर कोलम्बस्, रोबर्ट पील, एडवर्ड कलमारक जस्ता उग्रजातिवादी व्यक्तित्वहरूलाई उपनिवेशवादले समाजको हिरो बनाएको थियो, तर अमेरिकामा चलिरहेको 'ब्ल्याक लाईभस् म्याटर'ले ती उग्रजातिवादी व्यक्तित्वहरूको मुर्तीहरू तोड्ने काम भइरहेको छ। अचम्मको कुरा हो मूर्ती तोड्ने अभियानमा लेनिनको मुर्तीले छुटकारा पायो र चर्चिलको मुर्तीमा सेतो दाह्री-जुङ्गा लगाएर कार्ल मार्क्स जस्तो देखाएर मुर्तीलाई बचाउने कोसिस पनि देखियो। यो 'ब्ल्याक लाईभस् म्याटर' अभियान त्यसपछि विश्वव्यापी रूपमा नै चलिरहेको देखियो। यो पनि विरोधको एउटा प्रतीकात्मक रूप हो भनेर ठान्नु पर्दछ। उपनिवेश अनूकुल दृष्टिकोणमा लेखिएको इतिहासलाई नाश गरेर आज नयाँ इतिहासको रचना हुँदैछ। शोषितवर्गको हातबाट लेखिएको इतिहास छुट्टै हुन्छ र त्यही इतिहास रच्ने सङ्घर्ष अमेरिकी जनताले गरिरहेको छ।
मेक्सीको, जर्मनी, इटली, स्पेन, डेनमार्क, हङ्गेरी, फ्रान्स, नेदरल्याण्ड, न्यु-जील्याण्ड, अष्ट्रेलिया, इराक, प्यालेस्टाइन, इङ्ग्ल्याण्ड सबै देशहरूमा जातिवादी शोषण विरोधी आन्दोलन तीब्र भइरहेको छ। अष्ट्रेलियाको विराट जुलुसमा एउटा नारा यस प्रकारको थियो-- 'पुँजीवाद भनेको हामीले स्वास लिन नसक्ने व्यवस्था हो'।
अमेरिकी जातिवाद विरूद्धको सङ्घर्षमा महिला आवाज पनि तीव्र रूपमा अघि आइरहेको छ। अमानवीय बलात्कार, नारी शोषण जस्ता मुद्दाहरू प्रकाशमा आइरहेका छन्। अमेरिकी नर्सहरूले पनि आन्दोलनलाई एकबद्धता जनाइरहेका छन्। नारी मुद्दा, श्रमिक मुद्दा, जातिवादी मुद्दा सबै एकै ठाउँमा आउँदा अमेरिकी सत्तामा विराजमान पुँजीवादी व्यवस्थाको धरातल ढगमगाउन थालेको छ। पुलिस व्यवस्था नै हटाउने कुरा आयो सियाटलबाट, अनि अरू धेरैजसो ठाउँहरूमा कैयौँ अभूतपूर्व आन्दोलनको रूप पनि देखिँदैछ। त्यसैले त अहिले अमेरिकी सत्ताले पुँजीवादी व्यवस्थाभित्र नै संशोधनको मार्ग खोजिरहेको छ। आजको अमेरिकी सङ्घर्ष कुन बाटो जाने हो त्यो अहिले नै स्पष्ट भएको छैन। यसको निचोड सङ्घर्ष माथि नै निर्भर रहनेछ।
भारतमा पनि जातिवादी शोषण अनि उत्पीडनको विरासत कुनै नयाँ कुरा होइन। अरुणाचल प्रदेशबाट दिल्लीमा पढ्नु गएको निदो तानियामले जातिवादी शोषणको शिकार भएर आफ्नो ज्यान गुमाउनु पऱ्यो। 2014-को कुरा हो। पूर्वोत्तर साथै मङ्गोलोएड अनुहार भएका भारतीय नागरिकहरूलाई यस देशमा चीनी, नेपाली, चिन्की जस्ता नामहरू दिइन्छ। यसले गर्दा यी क्षेत्रका बासिन्दाहरूले वर्षौदेखि उत्पीडन झेल्नु परिरहेका छन्। मोमो, चाउमिन, कोरोना, जस्ता नामहरू दिएर देशको मुलधारमा बस्ने मानिसहरूले हालमा पनि पूर्वोत्तर क्षेत्रका वासिन्दाहरूलाई हियाउने काम गरेका थिए। दलितहरू माथि भईरहने जातिवादी शोषण त सर्वबिदितै छ।
दिल्लीको राइट्स एण्ड एनालाइसिस ग्रूपको रिपोर्ट अनुसार फरवरी 27 देखि मार्च 25-सम्म मङ्गोल रूप भएकाहरू विरूद्ध 22 वटा जातिवादी घटनाहरू प्रकाशमा आएका थिए, तर वास्तविक आँकडा यो भन्दा अधिक रहेको हुन्छ। लैङ्गिक स्टिरीयोटाइप अनि व्यवस्थित जातिवाद विरूद्ध भारतमा सामाजिक सञ्जालतिर आवाजहरू उठिरहेका छन्। यस सँगैसँगै एउटा भयङ्कर किसिमको रूढिवादी विचारधाराको पनि जन्म भइरहेको छ। देश अनि संसारभरि भइरहेको जातिवादको विरोध गर्ने तर आफ्नै वरिपरि भइरहेको जातिवादी परम्पराहरू नकार्ने रूढिवादी मानसिकता पनि हामीले देखिरहेका छौँ। भारत देशमा जातिवादको विरूद्ध लडाई केवल फेसबुक अथवा न्यायलयमा मात्र सीमित नगरेर सङ्गठित व्यवस्था विरूद्ध निरन्तर सङ्घर्ष गर्नु पर्ने आजको आवश्यक्ता हो।
अहिले चल्दैगरेको महामारी नयाँ समाज तर्फ लैजाने एउटा पोर्टल झैँ पनि हो। पहिले झैँ सामान्य समाज बनिन निक्कै समय लाग्नेछ। यो महामारीको समय पनि विश्वको विभिन्न देशहरूमा जनसङ्घर्षहरू भइरहेका छन्। यस्तो सङ्घर्ष अनि अभियानहरूबाट शिक्षा लिनु आवश्यक छ। यस्तो जटिल परिस्थितिबाट समाजलाई वैकल्पिक दिशामा लैजानलाई प्रत्येकले आजको पुँजीवादी व्यवस्थाको जडपर्खालहरू भत्काउन अनिवार्य छ। पुरानो शोषणपूर्ण व्यवस्थामा नै बस्ने हो वा सबैका निम्ति समान अधिकारको समाज निर्माण गर्ने?-- यो प्रश्न एकचोटी प्रत्येकले स्वयंलाई गर्ने समय आइसकेको छ।
No comments:
Post a Comment