अम्बिका राई
"केटाहरू त केटा नै हुन्, उनीहरूले त यस्ता गल्ती गर्छन् नै। केटीहरू नै केटाहरूसँग धेर मित्रता देखाउँछन्। अनि उनीहरूबिच झगडा हुँदा केटीहरू त्यसलाई ‘बलात्कार’को नाम दिन्छन्।"— अप्रिल 2014-मा यस्तो बयान दिएका थिए समाजवादी पार्टीका प्रमुख मुलायम सिंह यादवले, जब देशमा बलात्कारको घटना घटेको थियो।
यस्तै विषयमा बङ्गालका मुख्यमन्त्री ममता ब्यानेर्जीले पनि भनेकी थिइन्— “देशमा बलात्कारको सङ्ख्या दिनप्रति दिन बढिरहेको छ किन भने केटा अनि केटीहरू खुल्ला रूपमा मित्रता गर्दै छन्।”
2013मा आरएसएस प्रमुख मोहन भागवतले भनेका थिए— “बलात्कार जस्तो घटना त केवल ठुलो ठुलो शहरहरूमा मात्र हुन्छ, तर ग्रामीण भारतमा भने यस्तो घटना घट्दैन।”
अझै यस्ता कति बयान दिएका छन् हाम्रो ‘देश’को राजनेता अनि राजनीतिज्ञहरूले जसलाई सुनेर अचम्म लाग्छ अनि रिस पनि उठ्छ। बलात्कारको कारण केटीको चरित्र, उसको फेसन, उसको रहन सहनलाई दोष दिने चलन त उहिलेदेखि नै चलिरहेको छ र अझसम्म पनि यही प्रथा कायम छ। हरेक दिन खबर कागज होस् वा टेलिभिजनमा संसारको कुनै न कुनै ठाउँमा बलात्कारको घटना घटेको सुन्न पाउँछौँ। बलात्कार हुनेहरूमा सानो नाबालिकादेखि वृद्ध महिलासम्म हुन्छन्। अनि बलात्कार गर्ने कारण अनेकौँ।
संसारभरिका कुनै पनि युद्धको समयमा महिलाहरूलाई शिकार बनाउने चलन त पहिलेदेखिकै हो। त्यो युद्ध चाहे दुई देशमाझ होस्, दुई राज्य माझ होस्, वा दुई जातमाझ होस्। एउटा गुटको अर्को गुटसँग युद्ध हुन्छ नै। र शत्रुमाथि विजय प्राप्त गर्न शत्रु गुटको महिलाहरूलाई पक्राउ गरी बलात्कार गरिन्थ्यो वा भनौँ महिलाहरूको हत्या गरिन्थ्यो। यो हिन्दु, मङ्गोल, मुगल, ब्रिटिस सबैको शासनकालमा भएको घटना हो। यसैले आजसम्म पनि 'स्वाधीन भारत'ले यो कुरूप हिंसक परम्परालाई अन्त गर्न सकेको छैन।
भारतीय इतिहासको पन्ना पल्टाएर हेर्दा यस्ता धेरै प्रकारका घटनाहरूको उल्लेख पाइन्छ। त्यो 1947 को भारत स्वतन्त्र सङ्ग्रामको समय होस् वा 2002 को गुजरात दङ्गाको समय वा 2013 सालको मुजफ्फरपुर काण्ड। हालको राजनीति अभियानको प्रमुख हतियार बनेको छ 'बलात्कार'।
भारत र पाकिस्तान छुट्टिने समय लगभग 1 लाख महिलाहरूको अपहरण भएको थियो। ती मध्य केवल 10% महिलाहरू आफ्ना घर फर्किए। रहल महिलाहरूसँग शत्रु गुटले बलात्कार गऱ्यो वा उनीहरूमाथि अन्य थरीका शारीरिक उत्पीडन गरियो। त्यस समय मुसलमान पुरुषहरूले हिन्दु अनि सिख महिलाहरूलाई आफ्ना शिकार बनाए भने अर्कोतिर हिन्दु अनि सिख पुरुषहरूले मुसलमान महिलाहरूमाथि शारीरिक शोषण गरे। साधारण भाषामा भन्नु हो भने शत्रु गुटको महिलाहरूसँग यस्तो अभद्र व्यवहार गरेर उनीहरूले आफ्नो शत्रुलाई 'सबक' सिकाएका थिए! राजनैतिक बदला लिनका निम्ति यसरी महिलाहरूको बलात्कार गर्नु सही हो त?
अब दुई देशमाझको विवादलाई छेउ राखेर आफ्नै देशभित्रका विसङ्गतिहरूको पनि चर्चा गरौँ। महिलाहरू केवल शत्रु राज्यको शिकार मात्र भएको छैन तर आफ्नै देशभित्र राजनीतिक कारणले पनि बलात्कृत भइरहेका छन्। उतर-पूर्वीय राज्यहरूमा AFSPA (Armed Forces Special Power Act) 1958-मा लागु भएदेखि हजारौँ महिलाहरूसँग बलात्कार जस्ता अप्रिय घटना घटिसकेको छ। र अझ यस्ता घटनाहरू घटिरहेको छ। आफ्नै देशका सेनाहरूका शिकार बनिरहेछन् महिलाहरू। ती सिपाहीहरू हुन् जसले 'भारत-माता'को रक्षा गर्छन् हरे, अनि त्यही 'भारत'का महिलाहरूलाई आफ्नो हवसको शिकार बनाउँछन्। यस्तो स्थितिमा जहिले पनि सरकार मौन रहेको छ। किन कि यहाँ दुश्मन कसलाई ठान्ने सायद सरकारलाई पनि थाहा छैन।
यही सन्दर्भमा सन् 1992-मा राजस्थानमा भएको घटनाको पनि उल्लेख गरौँ। बन्वारी देवी कुम्हाले (माटोको भाडा बनाउने) दलित महिला थिइन्। तिनले गाउँको एउटा बाल विवाह रोक्ने प्रयास गरेकी थिइन्। जसको फलस्वरूप तिनलाई गाउँको ‘गुज्जर’ समुदायका पुरुषहरूले सामूहिक बलात्कार गरे। यो किन गरियो भन्ने प्रश्नलाई हेर्दा दुईवटा मुख्य कुरा अघि आउँछ। एक, बन्वारी देवी महिला हुन् अनि दोस्रो तिनी दलित समुदायकी हुन्। दलित महिला भएर बन्वरी देवीले ठुलो जातले गरिरहेको कामको निधिखोजि गर्ने भुल गरेकी थिइन्। तर भुल उसको हो? दलित महिला बन्वरी देवीको हो कि यो खोक्रो समाज अनि देखावटी भारतीय संस्कृतिको हो?!
हालैमा जम्मु कश्मिरको कठुवामा यस्तै घटना घट्यो। 8 वर्षकी नाबालिका अशिफासँग बलात्कारको घटना घटेपछि फेरि देशभरि नै कोलाहल मच्चियो। हिन्दु-मुसलमान विवादको माझमा परिन् अशिफा। कठुवाका बकेरवाल (मुसलमान) जातिका मानिसहरू आफ्ना भेडा-बाख्रा चराउनका निम्ति त्यहाँका हिन्दु परिवारका जमिनमा जान्थे। आजसम्म यसमा कसैलाई कुनै प्रकारका आपत्ति थिएन। तर वर्षौँपछि अचानक यही कुरा लिएर उनीहरूबिच तनावको स्थिति उत्पन्न भएको थियो। त्यहाँका हिन्दुहरूले मुसलमानहरूलाई आफ्ना जमिनमा गाई-बाख्रा चराउनमा प्रतिबन्ध लगाउने निर्णय लिए। मुसलमानहरू यो कुरामा राजी भएनन्। र मुसलमानहरूलाई ‘सबक’ सिकाउनका निम्ति 2018-को जनवरी महिनामा हिन्दु पुरुषहरूले मन्दिरभित्र नाबालिका अशिफाको सामूहिक बलात्कार गरे अनि तिनको हत्या गरियो। यसरी दुई जाति बिचको झगडामा बदलाको माध्यम बनिरहेका छन् महिलाहरू। अझ अचम्म लाग्ने कुरा के भने भारतीय जनता पार्टीका दुई मन्त्रीहरू लाल सिंह चौधुरी (बन मन्त्री) अनि चन्देर प्रकाश (उद्योग मन्त्री) बलात्कारी आरोपीहरूको पक्षमा उभिए। दुवै भाजपा मन्त्रीहरू दोषीहरूलाई जेलबाट निकाल्नु पर्छ भन्ने पक्षमा सडकमा निस्के। 9 अप्रिलको दिन जब क्राइम ब्राञ्चका पुलिसहरू चार्जसिट दर्ता गर्न चिफ जुडिसियल म्याजिस्ट्रेटको कार्यालय पुग्दा त्यहाँ एकहुल वकिलहरू बलात्कारीहरूको पक्ष लिँदै धरनामा बसेका थिए। नौजवान वकिलहरू 8 वर्षीय अशिफालाई न्याय दिलाउन होइन तर आफ्ना 'हिन्दु भाइहरू' जसले अशिफाको बलात्कार गरी हत्या गरेका थिए तिनीहरूको बचाउमा उभिएका थिए!
यस्ता घटनाहरू दिनप्रति दिन घटिरहेको छ। कति घटनाहरूबारे त हामीलाई जानकारी पनि हुँदैन। न्याय व्यवस्थाको ढिलाइको कारण वर्षौँसम्म पनि पीडितहरूले न्याय पाउन सकेका छैन। यता दोषीहरू भने खुलेआम सडकमा घुमिरहेका हुन्छन्। आज पनि महिलाहरू पितृसत्तात्मक समाजको विभत्स रूपको शिकार भई नै रहेका छन्। महिलाहरूलाई राजनीतिक युद्ध र प्रतिस्पर्धाको माध्यम हुनबाट मुक्त गर्न अत्यन्त आवश्यक छ।
Subscribe to:
Post Comments (Atom)
-
Sangeeta Khewa The understanding about the nationality named Gorkha has evolved over numerous generations, finally crystallizing in the m...
-
Sumendra Tamang On June 25th 1955, 77 years ago, a terrible and violent shoot out had taken place at Margaret’s Hope, Control Dara where ...
No comments:
Post a Comment