कनाद खड्का छेत्री
राजनीति र धर्मलाई मिसाउने चलन त धेरै पुरानो नै हो। धार्मिक संस्थाहरूले मानिसहरूको दिमाग र कार्यकलापलाई कब्जा गरेकै हो। राजालाई भगवानको अर्को अवतार मान्ने चलन त सबैले सुनेकै कुरा हो तर यो सबै त इतिहासको कुरो हुनु पर्ने, एकाइसौं शताब्दीमा आएर पनि धर्मको नाममा राजनीति चली रहेकै छ। बहुसङ्ख्यक धर्मलाई हतियार बनाएर जब नेताहरू उत्रिन्छन्, त्यसले देशका अल्पसङ्ख्क धर्मावलम्बीहरूलाई खतरामा हालिदिन्छ। भारत जस्तो बहुधार्मिक देशमा झन् एउटा धर्मको प्रभुत्व डरलाग्दो चिज हो। यसले बहुसङ्ख्यकको मनमा अरू भन्दा श्रेष्ठताको भावना जन्माउछ, जसले समाजमा घृणा र हिंसाको जन्म दिन्छ। धर्मको कुनै पनि प्रतीकलाई लिएर सत्ताको राजनीतिमा माहिर आर.एस.एस-द्वारा निर्देशित भारतीय जनता पार्टीले अहिले ‘गाई’-लाई आफ्नो स्वार्थको हतियार बनाएको छ। भारतमा गाईको महत्त्व र बचाउको कुरा ऐतिहासिक भए तापनि यसलाई लिएर राजनीतिमा उत्रेको भाजपाले भोटको बजारमा धेरै नाफा गरेको छ। केन्द्रीय सरकारले ‘गाई माता’ भएर 18 वटा राज्यहरूमा गाईको बेच-बिखान बन्द गरिदिएको छ। बीजेपीको ‘गौरक्षा’को नीतिले पशु अर्थनीतिमा ठुलो धक्का पुऱ्याएको छ। किसानहरूले गाई-बस्तु बेच्नु न पाएर उनीहरूको आर्थिक स्थिति बिग्रेको छ भने धेरैवटा मालिक बिनाको गाई-बस्तुले किसानहरूको फसलहरू पनि नष्ट गरीदिदै छन्। जहाँबाट भए पनि गरिब किसानहरूलाई नै घाटा भई रहेको छ।
गौरक्षाले त झन् गाईको सङ्ख्या घटाई रहेको छ। राजस्थान जस्तो शुष्क ठाउँमा पशुपालनले अर्थनीतिको मुख्य हिस्सा लिएको छ। 2012 को पशुगणनामा राजस्थान दोस्रो अधिकतम सङ्ख्यामा पशु रहेको राज्य घोषित भयो भने वर्तमान अवस्थामा यहाँ पशुको सङ्ख्यामा भारी घटाई भएको छ। गौमांसलाई प्रतिबन्ध लगाएर हिन्दु जनताको सम्बेदना बटुलेर सरकारले केवल आफ्नो भोट ब्याङ्कको बढ्त र ठाउँ ठाउँमा हिंसा फैलाउने काम मात्रै गरिरहेको छ। हिन्दुत्ववादी बीजेपी 2014 मा सत्तामा आए पश्चात् गाईलाई केन्द्र गरेर हिंसाको घटनाहरू बढिरहेको छ। बीजेपी त भयो भयो अन्य मुख्य राजनैतिक दलहरूले आफू साचिलो हुनुको लागि यसको विरुद्धमा केही बोलेको छैन बरु धार्मिक कट्टरताबाट अलिक मुक्त बङ्गालमा पनि राज्य सरकारले धार्मिक मुद्दाहरूलाई महत्त्व दिइरहेको छ। हिन्दी-भाषी बीजेपी शासित 'काउ बेल्ट' भनाउदो ठाउँहरूमा कतिजना मुसलमान, दलित, क्रिस्चियनहरू गौ रक्षकको हातबाट लान्छित हुन पुगे तथा हिंसाको शिकार भए त्यसको हिसाब छैन। महमद इख्लख, पहलु खान, जुनैद जस्ता कतिपय मानिसहरू गाई राजनीतिको शिकार भएर आफ्नो ज्यान गुमाए। उनमा भएको दलित माथिको अत्याचार पनि सबैको स्मृतिमा ताजै छ। हिन्दु कट्टरवादले मानिसहरूको मनमा त्रासको भावना पैदा गरी दिएको छ जस्तो की एक समयमा जर्मनीमा भएको थियो।
संसारभरि मासु, पोल्ट्री, माछाले मानिसहरूको प्रोटिनको आवश्यकतालाई मेटाई रहेको छ र यो हाम्रो खाद्य-शृंखलाको अभिन्न भाग हो। भारतको गौ-राजनीतिले उक्त शृंखलालाई हानी पुऱ्याईरहेको त छदै छ बरु अन्य व्यापार जस्तै होटेल, चमडाको व्यापार, मासु प्रोसेसिंग इत्यादि लाखौँ व्यापारलाई खतरामा पारि दिएको छ। भारतले विश्व बजारको एक चौथाई भाग ‘बीफ’ निर्यात गर्छ जसको नाफा प्राय 4 बिलियन अमेरिकी डलर रहेको छ। सुप्रिम कोर्टले गाईको बेच-बिखानमा चलिरहेको प्रतिबन्धलाई नकारे पनि साधारण जनताको मनमा गहिरो डर बसेको छ। किसानहरू गाईबस्तु बेच्नु सकेका छैनन्। राज्यको अधिकारलाई हस्तक्षेप गर्दै केन्द्र सरकारले 1960 को “प्रेभेन्शन अफ क्रुएल्टी टु एनिमल्स एक्ट” माथि नयाँ नयाँ नियमहरू थप्दै छ। गाई मार्नु अरू पशुहरूको भक्षण जस्तै संविधानको वैधानिक शक्ति भित्र पर्दैन तर संविधानको सातौँ सेड्युलभित्र पर्छ। यहाँसम्मकी पीसीए एक्ट, 1960 ले पनि सेक्शन 11(3) इ- को तहत मानिसहरूको खाद्य आवश्यक्ता पुऱ्याउनको निम्ति पशु भक्षणलाई अनुमति दिएको छ। यसैले जुन शक्ति गणतन्त्रले राज्यहरूलाई दिएको छ त्यसलाई खोस्ने काम बाहेक केही गरेको छैन यो केन्द्र सरकारले। एकापट्टी गौ-रक्षाको उत्ताउलो बीजेपीलाई सच्चिनै गाईलाई सम्मान गर्छ त भन्ने प्रश्नको उत्तर छत्तीसगढको दुर्ग जिल्लाको राजपुर भन्ने गाउँमा पाउन सकिन्छ। स्थानीय बीजेपी नेता हरिश बर्माले चलाउने एउटा पशु आश्रयमा नभनेको पनि 200 वटा जस्तो गाई भोकले मरेकोले उक्त नेतालाई गिरफ्तार गरियो। यसैबाट बुझ्न सकिन्छ गाई माताको रक्षक भनाउदाहरूको लागि गाई केवल शोषण गर्ने हतियार मात्रै हो। मानिसहरूको ध्यान साँचो समस्याबाट जस्तै बढ्दो बेरोजगारी, 36000 भन्दा बेसी किसानहरूको आत्महत्या, डीमनिटाईजेशनको गहिरो असर, आईटी सेक्टरमा आएको भयङ्कर छटनी, श्रमिकहरूको शोषण इत्यादिबाट हटाएर यस्तो साम्प्रदायिक कुरोहरूमा फसाएर आफ्नो स्वार्थ पूर्ति गर्नु बाहेक बीजेपीको अरू उद्देश्य छैन। भारतमा जहाँ पशुहरूमाथि हेलचेक्र्याइँ सबैभन्दा बेसी छ, जहाँ बाटो बाटोमा कुपोषित गाईबस्तु देख्न पाइन्छ, जहाँ यी अबोला पशुहरू खाना नपाएर फोहोर-मैला, प्लास्टिक खान बाध्य छन् त्यहाँ यो बित्थाको ‘गाई माता’–को रक्षा खुबै नाटकीय देखिन्छ।
No comments:
Post a Comment