Saturday, December 9, 2017

शतवर्ष स्मरण : रुसी क्रान्ति : सोभियत नारी

सन 1917 को नोभेम्बरमा जुन ‘दस दिनले संसारलाई हल्लाको थियो’, त्यसलाई सम्झिँदै रुसी क्रान्तिको सय वर्षगाँठ मनाउने आयोजना संसारभरि नै चलिरहेको छ। विगतको एक वर्षदेखि हामी पनि 'लालीगुराँस'को अङ्कहरूमा यस क्रान्ति सम्वन्धित विभिन्न विषयहरूमाथि निवन्धहरू प्रकाशित गरेकाछौं। यस नोभेम्बर 2017मा, रुसी क्रान्तिको शतवर्षको क्षणमा प्रकाशित यस अङ्कमा पनि हामी नारीसमाज र राष्ट्रियताको प्रश्नमाथि दुइवटा लेख पेश गर्दैछौं। 
त्यस ऐतिहासिक घटनाको पक्ष-विपक्षमा निकै नै चर्चा र बहसको माहौल संसारभरिनै चलिरहेको छ। तर किन? किन चाहिँ एकसय वर्ष पुरानो एउटा घटनाको सान्दर्भिकता अहिलेसम्म खतम भएको छैन? हामी पनि यस चर्चामा किन आफैलाई गास्न खोज्छौं? खासगरी जुन समयमा सोभियत रसिया नै छैन, चीनले पनि समाजवादको बाटो छोडेको छ? जब यहाँनिर पनि समाजवादको नाम ओड्नेहरूले सत्तामा बसेर जनताको अधिकार कुल्चने कामनै गरेका छन् भन्ने अनुभव जनतामा हाबी छ, त्यस्तो समयमा के छ सयवर्ष पछि रूसी क्रान्ति माथि छलफलको महत्व?
एकपछि एक सरकारको नीतिहरूले वाक्कदिक्क भएका हामी जब रंगी-विरंगी दलहरू हेरे पश्चात् जम्मै व्यवस्था नै सङ्कट हो भन्ने निष्कर्षमा पुग्छौं, तब वैकल्पिक समाज कस्तो, कुन प्रकारको हुनसक्छ, त्यसमाथि चर्चा त हुनै पर्छ। अब वर्तमान समाजको बदलाव र वैकल्पिक समाजको निर्माण माथि सोचविचार गर्नेहरूले कसरी शिक्षा लिन सक्छ रूसी क्रान्तिबाट?


मिता दत्त

नारीहरू मध्ये हलचल भएन भने समाजको कुनै ठुलो रूपान्तरण सम्भव हुनेछैन।” 
कार्ल मार्क्स
आजभन्दा सय वर्ष अघि संसारका प्रथम समाजवादी राज्य सोभियत रसियामा क्रान्तिपछि नारीहरूलाई उन्मुक्ति दिलाउन जुन प्रयासहरू भए, त्यसमाथि बहस नगरी नारीमुक्तिबारेको चर्चा वेअर्थको रहनेछ। साथै नारीमुक्ति बारे छलफल बिना सोभियत क्रान्तिमाथि चर्चा अधुरो नै रहनेछ। सामान्यतया, मार्क्सवादको चर्चामा के देखिन्छ भने नारीमुक्ति सम्बन्धित छलफललाई एक प्रकारले किनारीकृत गरिएको देखिन्छ। अर्कोतिर, गम्भीर नारीवादीहरू पनि पश्चिमी पुँजीवादी देशहरूको इतिहासभित्र मात्र  नारीमुक्तिको दिशा र उदाहरणहरू खोज्छन्। आज रुसी क्रान्तिको शतवार्षिकीको अवसरमा इतिहासको पन्नाबाट यस स्वर्णिम इतिहासको अध्ययन धेरै सान्दर्भिक र समयोचित हो भन्ने लाग्छ।

श्रमविभाजन... अनि फलस्वरूप सम्पत्ति, सम्पत्तिको केन्द्रविन्दु देखिन्छ परिवारभित्र, जहाँ पत्नी र नानीहरू पतिको दास दासीहरू हुन्छन्।
मार्क्स, जर्मन इडिओलोजी
उत्पादन, वर्ग र वर्गबीचको द्वन्द्वनै मार्क्स-एञ्गेलसको चर्चाको केन्द्रविन्दु थियो। त्यस चर्चामा नारीले गरेको दुवै प्रकारको श्रमउत्पादक र पुनरउत्पादकले (productive and reproductive labour) निकै महत्त्व पाउँछ। समाजमा परिवारको स्थान, क्रमैसँग परिवारको रूप परिवर्तन, साथसाथै नारीको स्थितिको बदलावयी सबै नै समाजवादको चर्चा अन्तर्गत पाइन्छ।
सोभियत युनियन अस्तित्वमा आउन अघि नै लेनिन र उनको पार्टीले नारीहरूको समान अधिकार र विशेष सुविधाहरूको मागलाई उनीहरूको कार्यक्रममा महत्वकासाथ स्थान दिएको थियो। त्यसपछि क्रान्तिको बाटोमा बनियो संसारको प्रथम समाजवादी राज्य— ‘सोभियत सङ्घ। यस देश(सोभियत सङ्घ )ले जन्मकाल देखि नै नारी-सम्बन्धी विषयहरूलाई जति महत्त्व दिएको छ, संसारको अरू कुनै देश वा देशनायकहरूले दिएका छैनन्। यी शब्दहरू अन्धो प्रशंसा त होइन नै, बरू इतिहासको स्वर्णिम सच्चाई हो भन्ने कुरालाई स्थापित गराउनु नै यस निवन्धको उद्देश्य हो।
हामी फर्कियौँ 1917को रसियामा!
आज भन्दा 100 वर्ष अघिको संसारमा! त्यसबेला रसियामा नारीहरूको सामाजिक स्थिति कस्तो थियो त?
शिक्षित नारीहरूको सङ्ख्या खुबै कम थियो। सन् 1905मा नारीहरूको 13.7% (पुरुषहरूका 32.6%) शिक्षित थियो। धेरैजसो विवाहित नारीहरूनैगृहिणीहुन्। गरिब घरको छोरीहरू कोहीकोही बाहिरतिर काम गर्न जान्छन्। नराम्रा कामहरू। खेतीपाती, स्टोर वा कारखानाहरूमा काम, कि त अरू मान्छेको घरमा दासत्व। वेश्यावृत्ति पनि। अन्य उपयुक्त कामको अभावले गर्दा शहर आइपुगेपछि किसानको घरको केटीहरू हुलकाहुल वेश्यावृत्तिमा पसेका छन्। 14 लाख जनसङ्ख्याको सेन्ट पीटर्सबर्ग शहरमा वेश्याको सङ्ख्या 30 देखि 40 हजार थियो। युरोपको धेरै अन्य देशहरू जस्तै। स्वाभाविकरूपमा नै समाजमा धेरैअवैधबच्चा पनि जन्मिएको छ।
नारीहरूका कुनै अधिकार छैन। भोटको अधिकार छैन। थोरै मात्र सम्पत्तिको अधिकार। पतिको अनुमति बाहेक पत्नीलाई कतै जाने वा केही गर्ने अधिकार छैन। कुनै नारी शिक्षिका वा नर्स अथवा यस्ता कुनै पेशामा संलग्न छन् भने विवाह गर्नबित्तिकै त्यो काम खारेज हुन्छ। पतिले वासस्थान बदल गरे, ऐन अनुसार पत्नीलाई पनि पतिको पछि पछि जाने बाध्यता छ।पत्नीले सबै कुरामा पतिलाई आवश्यक रूपमा मान्नुपर्छ, उसको पतिको स्वामित्व अस्वीकार गर्नु हुँदैन” (जारको जमानाको ऐन)। विवाहित नारीहरूका अलग पासपोर्ट थिएन। पतिको पासपोर्टमै उनीहरूका नाम लेखिएको हुन्थ्यो। पुरुषको लागि विवाह-विच्छेदको केही अधिकार भए तापनि नारीहरूको लागि विवाह-विच्छेदको अधिकार एकदमै कम्ती थियो, त्यो पनि कागजको अधिकार मात्रै। यथार्थमा त्यसको प्रयोग हुँदैन थियो।
युरोपका अन्य देशहरूमा पनि नारीहरूका स्थिति धेरै फरक वा उन्नत थिएन। उत्तरी युरोपको केही देशहरूमा र बेलायतमा नारीहरू केहीहदसम्म आंशिक, सामान्यतया स्थानीय चुनावहरूमा, मतदानको अधिकार प्राप्त गरेका छन् (अस्ट्रेलिया र न्यूजील्याण्डमा यद्यपि पहिलै मतदानको अधिकार स्वीकृत भएको थियो)। सम्पत्तिको अधिकार, शिक्षा, चाकरी, छोडपत्रको खण्डमा पनि स्थिति त्यतिकै थियो। युरोपेली देशहरूमा, अमेरिकामा नारीहरूले त्यतिबेला सार्वजनिक मतदानको अधिकारको लागि सङ्घर्ष गर्दैछन्। पुँजीवादी संसारमा ब्रिटेनको नारीहरूलाई पुरुषहरू झै मतदानको अधिकार पाउन 1928 सम्म पर्खिनु पऱ्यो, अमेरिकामा सन् 1920 सम्म।
यस्तो स्थितिमा सोभियत राज्यको जन्म भएको थियो। औद्योगिक रूपले विकसित पुँजीवादी देशहरूमा क्रान्ति नभएर रसियामा यस्तो क्रान्ति शुरु हुनुको मतलब हो इतिहासलाई एक पाइला पछाडि देखि छर्लङ्गसाथ एक पाइला अगाडि ल्याउने कोसिस गर्नु। त्यस प्रयासको प्रथम अध्यायले कम्युनिष्टहरूलाई जीत ल्याइदिएको छ। नवजात सोभियत राज्य स्थापित गरिएको छ। मजदुरवर्गको पार्टीको हातमा देश शासनको दायित्व आएको छ। अहिलेसम्म यद्यपि देशशासनको कुनै अनुभव उनीहरू सङ्ग छैन। मार्क्सवादी सिद्धान्तमा, समाजवाद सम्बन्धित चर्चाहरूमा भविष्य समाजको एक अभिमुख छ, तर नयाँ समाज निर्माण गर्नलाई कुनै निर्दिष्ट योजना, कुनै रेडिमेड ब्लुप्रिन्ट तयार छैन। आफ्नो बाटो आफूलेनै बनाउन पर्छ। नयाँ अर्थव्यवस्था, नयाँ राजनीति, नयाँ समाजनीतिको जन्म दिनुपर्छ। च्यालेञ्जलाई सामना गऱ्यो क्रान्ति-उत्तर सोभियत सङ्घले।

जहिलेसम्म खटीखाने जनताको आधा अंश, मेहनती नारीहरू, पुरुष जस्तै समान अधिकार पाउदैनन्, गृहकार्य र परिवारको कृतदास भइरहेको अवस्थाबाट निस्किन पाउँदैनन्, त्यति बेला सम्म समाजवादको जीत असम्भव हुनेछ।
लेनिन
राज्यसत्ता हातमा लिएपछि सोभियत सरकारले शुरुमै जुन डीक्री (निर्देशन) जारी गरेको थियो त्यो नारी अधिकार सम्बन्धित थियो। एकपछि एक निर्देशनमा के भनिएको थियो भने नारीहरूले पुरुषको बराबरको आर्थिक र राजनीतिक अधिकार पाउनेछन्। बराबर कामको लागि बराबर ज्याला पाउनेछन्। पुरुष झै मतदानको अधिकार, साथै सरकारमा र विभिन्न प्रकारका संस्थाहरूमा प्रतिनिधि र अधिकारीको रूपमा निर्वाचित हुने अधिकार पनि पाउनेछन्।
ती डीक्रीहरूमा के भनिएको थियो भने विवाह अझपनि एक अर्थनैतिक सम्झौता भएर बस्नेछैन, बास-गाँस-कपासको लागि आश्वासन होइन, बरू विवाह समान र मुक्त दुइजना नारी र पुरुष मध्ये हुनेछ। त्यो सम्बन्ध, विश्वास तोडे भने त्यसमध्ये कुनै एकजनाले डिभोर्स माग्दा त्यो स्वीकार हुनेछ। पतिको अनुगमन गर्नु नारीको निम्ति आवश्यक रहेन। त्यससित आयो प्रत्येक बच्चानै समाजको आँखामा समान हो भन्ने विचार। अवैध सन्तान भन्ने कुनै बेग्लै वर्ग हुँदैन। विवाह होस् वा नहोस्, पितालाई बच्चाको जिम्मेवारी लिनुपर्छ। पछि गएर यससित अझै धेरै अधिनियमहरू जोडिएको थियो।
क्रान्तिको धक्काले हामी धेरै अगाडी बढिसकेको छौँ, अब अलिक फर्केर हेरौँ। प्रत्येक विषयलाई नै अलिक गहिरोसँग महसुस गरौँ। किनकि यी विषयहरूसित समाजको धेरै जटिल कुराहरू सम्बन्धित छ। समाजमा यसको प्रभाव कति धेरै दह्रिलो थियो, खासगरी 100 वर्ष अघिको संसारका रुढीवादी विचारलाई कल्पना गर्दा हामी त्यसलाई राम्रोसँग बुझ्न सक्छौँ।
यी डीक्रीहरू मध्ये के स्वीकृत थियो भने नारीहरू पुरुष भन्दा कुनै हिसाबले कमजोर होइनन्, समाजमा उसको दाबी पनि बराबर छ। यो निर्णयहरूबाट स्पष्ट पाइन्छ कि नारीहरूले समाजमा बराबर भूमिकामा अगाडि आउनलाई नारीहरूका आर्थिक स्वनिर्भरता, स्वतन्त्रता र आत्मनिर्भरता नै प्राथमिक आवश्यकता हो। आर्थिक कारणले पतिमाथि निर्भर भएर समानताको माग त उठाउन सकिन्छ, तर त्यो भेटिँदैन। पुरानो प्रकारका विवाहहरूमा पति-पत्नीको सम्बन्धको आधार मौलिकरूपमा आर्थिक सम्बन्ध नै हो। डिभोर्सको अधिकार बिनाको विवाहित जीवन नारीको निम्ति एक दासी झैँ जीवन हो भन्ने कुरा पनि चर्चामा आयो।
अझै क्रान्तिकारी निर्णय पाइन्छअवैधछोराछोरी बारे। आजपनि धेरै नारीहरूले 'अवैध' छोराछोरीलाई जन्म दिनको सट्टामा बलात्कारीलाई विवाह गर्ने मौका पाए भने आफूलाई भाग्यमानी मान्छन्। त्यसको तुलनामा 100 वर्ष अघिको यस्तो निर्णय निकैनै क्रान्तिकारी होकुनैपनि बच्चाको जन्म जुन दुइजना पुरुष र नारीको मिलनले भएको हो, उनीहरू विवाहित हो कि होइन, त्यसलाई लिएर समाजको मत-कानुन-विचार जे पनि होस्, तर निष्पाप नानी माथि कलङ्कको बोझ थप्नु, उसलाई जीवनको सुखसुविधाबाट बन्चित गर्नु समाजको लागि ठुलो कलंक हो। केवल त्यो बच्चा मात्रै होइन, यसले पुरुष माथि कुनै आक्षेप नआउँदा पनि जम्मै कलङ्कको बोझ नारीमाथि थपिन्छ। समाज, परिवारले यस्ता आक्षेपहरू लगाउछन् (कति खण्डमा त हत्या पनि गरिन्छ) कि त्यस बदनामीबाट मुक्तिको लागि त्यस्तो केटीलाई कि त आत्महत्या, कि लुकीछिपी भ्रुणहत्या वा शिशुहत्या अथवा त्यो बच्चालाई त्याग्ने बाटो पनि अपनाउनु पर्छ। कुनैबेला त बाँच्न त्यो केटीलाईस्वाभाबिकसमाजबाट निर्वासनको बाटो, वेश्यावृत्तिको बाटो पनि छान्नु पर्छ। सन् 1917को क्रान्तिपछि सोभियेत सङ्घ ले भन्योहोइन, यो अवस्था एकदमै मानवीय होइन, प्रत्येक बच्चानै समान आदरणीय हो अनि विवाह होस् वा नहोस्, प्रत्येक पितालाई नानीको जिम्मेवारी लिनुपर्छ। विवाहित होस् वा अविवाहितप्रत्येक गर्भवती आमालेनै समाजबाट सहायता भेट्ने अधिकार पाउनु पर्छ।
समान अधिकारको आधारमा सिभिल म्यारेज, नारीहरूलै डिभोर्सको अधिकार, विवाह-बाहिरको नानीहरूमाथिअवैधसंज्ञाको उन्मुलनयी कामहरूले एकैसाथ परिवार र विवाहमाथि धर्मको पकडलाई पनि शिथिल बनाइ दियो।

सामान्यतया राजनीतिक जीवनमा मात्रै होइन, दैनिक र सार्वजनिक समाज जीवनमा नारीहरूलाई ल्याउन सकिन्न भने समाजवाद त छोडीदिनुहोस्, पूर्ण र स्थितिशील लोकतन्त्रको कुरा गर्नुको पनि कुनै मतलब छैन।
लेनिन (1917)
नारीहरूको लागि नयाँ कानुन प्रवर्तन, उनीहरूलाई सामाजिक श्रममा ल्याउनुयी सबैमा समान अधिकारको सामान्य धारणा बाहेक अझै कतिवटा सोच पनि थियो। नारीहरूका गृहश्रमले श्रमिकको श्रमशक्ति पुनरुत्पादनमा मद्दत गर्छ, नारीहरूले नयाँ मानिसको जन्म दिएर नयाँ श्रमशक्ति तयार गर्छमार्क्सवादमा यी सबैको स्वीकृति रहे तापनि पुँजीवादी कारखानामा श्रमिकको श्रम र नारीको गृहश्रम बीच मार्क्सवादले धेरै फरक भने पाएको थियो। कारखानामा श्रमिकको श्रम सामाजिक श्रम हो भने आधुनिक समाजमा आधुनिक परिवार भित्रको गृहश्रम सामाजिक श्रम होइन, व्यक्तिगत सेवा हो। मार्क्सवाद अनुसार, त्यसलेगर्दा नारी-पुरुषको समानताको लागि नारीहरूलाई सामाजिक श्रमको प्रक्रियाभित्र ल्याउनु जरुरी छ।
सामाजिक श्रममा नारीहरूको भागीदारीले गर्दा उनीहरूका आर्थिक स्वतन्त्रता पाउनु बाहेक पनि अझै भूमिका देखिन्छ। यसलाई एक सामाजिक विप्लब नै भन्नु मिल्छ। यसको प्रभाव समाजको धेरै कुराहरूमा देखा पऱ्यो। एक, यसले गर्दा सामाजिक श्रमशक्ति धेरै बढ्यो, प्राय दुगुना भयो। दुई, सामाजिक श्रममा भागीदारी द्वारा नारीको सामाजिक जीवन विकसित भयो, समाजमा उसको सामाजिक र राजनैतिक उपस्थिति दह्रिलो भयो। तीन, पुरुषमाथि नारीको आर्थिक निर्भरताको अन्त भएर परिवार भित्रकोपति-पत्नीको सम्बन्धमा पनि बदलाव आयो। एकतर्फी निर्भरताको सम्बन्ध बदलियो। आफ्नो खुसीले जीवन छान्ने स्वत्रन्त्रता पायो नारीहरूले। किनकि आर्थिक स्वतन्त्रता नभएकोले डिभोर्सको कानुनी अधिकार पनि कागजमा मात्रै सीमित हुन्छ। आजपनि।

नारीहरूलाई पूर्ण अधिकार दिँदा पनि उनीहरूका जीवन तल्लो स्तरकै हुन्छ, किनभने गृहकार्यको सम्पूर्ण भार उनीहरू माथि हुन्छ।
लेनिन (1919)
सामाजिक श्रममा भागीदारी लिँदा कतिवटा नयाँ समस्या देखा पऱ्यो। एक, गृहकार्य अब को-ले गर्छ त? सामाजिक श्रम र गृहकार्यदुवै गर्नुपरे भने नारीहरूमाथि दुगुणा चाप हुनेछ। दुई, गृहकार्यको सामान्य काम सँगसँगै नारीहरूले अझै एक विशेष काम पनि गर्छन्। नानीको जन्मदान र हेरचार। नारीले बाहिर काम गर्नु गए भने कसले गर्छ बच्चाको हेरचार? खासगरी जब नानी एकदमै सानो, दूध मात्रै खान्छ, अनि एकदमै निर्भरशील छ भने? सुत्केरी अवस्थामा नारीको लागि बाहिरको काम पनि साह्रै पर्छ।
सोभियत सङ्घमा समस्यालाई अर्कै दृष्टिकोणबाट हेरिन्थ्यो। नारीले बाहिरको काममा जान्छ भनेर नै गृहकार्यको बोझ घटाउनु असल होइन। त्यसै त गृहकार्य नारीहरूको लागिनिस्सासिने’, ‘भुत्ते’, ‘एकोहोरो’, ‘थकित गर्नेकाम हो। यसबाट मुक्ति पाएन भने नारी चाहिँ परिवारको दासीनै रहनेछन्। कम्युनिष्टहरूको विचारमा, केवल सामाजिक श्रममा मात्रै होइन, नारीको जुडाव समाजको अरू अरू क्षेत्रहरूमा पनि बढोस्, खासगरी राजनीतिमा। कारखानाबाट फर्केरै यदि गृहकार्यमा लाग्नु पऱ्यो भने सामाजिक श्रममा भागीदारी त भयो, तर ट्रेड युनियनको कामदेखि राजनैतिक काम, सांस्कृतिक कामदेखि टाढा बस्नु पर्छ। उसोभए राजनैतिक आन्दोलन केवल पुरुषहरूका कुरा भएरै रहनेछ! तरश्रमिकको मुक्ति जसरी श्रमिकले नै ल्याउनु पर्छ, त्यसरीनै श्रमजीवी नारीको मुक्ति पनि श्रमजीवी नारीहरूकै कुरा हो”— लेनिन,1919। साँचो नारीमुक्ति, साँचो स्वतन्त्रताको स्थापना गर्नलाई, त्यसले गर्दा, गृहकार्यको प्रश्नको राम्रोसँग समाधान चाहिन्छ।
खासगरी शहरहरूमा नारीहरूले धेरै सङ्ख्यामा सामाजिक श्रममा भागीदारी लिन थाल्यो। कारखानाहरूमा नारीहरूको सङ्ख्या बढ्न थाल्यो। अर्कोतिर उनीहरूका गृहकार्यको श्रमको समस्या समाधान गर्नलाई सोभियत सङ्घले गृहकार्यको सामाजिकीकरण गर्न थाल्यो। घर घरमा खाना पकाउनुको सट्टामा कारखानामा क्यान्टिन, कम्युनिटी किचेन(भान्छाघर) बन्यो। नानीहरूलाई हेरचारको लागि क्रेच, किन्डरगार्टेन, स्कुल, सामर स्कुल बन्यो। कारखानाहरूमा, कम्युनिटीमा, शहर, गाउँसबै ठाउँमा! आमालाई नानी हेरचाको कामबाट छुटकारा दिनु साथै यसमा नानीहरूको शिक्षा र सामाजिकीकरणको लक्ष्य थियो। लुगा धुनु वा घर मरम्मतको गृहकार्यको पनि सामाजिकीकरण गर्नुपर्छ, नारी-पुरुष दुवैजना मिलेर सामाजिक श्रमको हिसाबले गृहकार्य गर्नुपर्छ। क्यान्टिन, कम्युनिटी किचेन अनि नानी हेरचारको सामाजिकीकरण कार्यक्रम केही हदसम्म सफल भए तापनि अरू गृहकार्यहरूका (द वर्क द्याट ह्याज नो नेमजुन कामको नाम छैन) सामाजिकीकरण त्यति राम्रोसँग भएन। किनभने त्यो कामहरु निकै ठुलो पो रहेछ। देशको घर घरमा नारीहरूले प्रत्येक दिन केहि पनि नभनी जुन कामहरू गर्दै गर्छन् ती कामहरूका सामाजिकीकरणको लागि विपुल श्रमशक्ति, विशाल र जटिल प्रशासन अनि धेरै अर्थको आवश्यकता छ। आर्थिक समस्याले पीडित त्यसताका सोभियत सङ्घले त्यसकारण यी कुराहरूमा ज्यादा अगाडि बढ्न सकेन। यद्यपि ध्यान दिनुपर्ने कुरा के हो भने गृहश्रमको यस्तो स्वीकृति यता नै पहिलो पल्ट देख्न पाइन्छ। पहिलोपल्ट कुनै देशले यस्तो भनियो कि घर घरमा नारीहरूलाई दुख छ अनि त्यसको सामाजिक समाधान चाहिन्छ! यो कुरा ठिकै हो कि नारीहरूलाई गृहश्रमबाट मुक्त गर्नलाई सोभियत सङ्घको प्रयासको मुख्य अभिमुख भने गृहश्रमको सामाजिकीकरण थियो। जोर थियो सामाजिकीकरणमाथि। किनकि रुसी क्रान्तिको मुख्य अभिमुखनै थियोसामाजिकीकरण। उत्पादनको साधनहरूका सामाजिकीकरण, गृहश्रमको सामाजिकीकरण, शिशुहरूका दायित्व समाजमाथि सुम्पिनु आदि। गृहश्रमको कामहरूमा नारीलाई पुरुषले पनि सघाउनु पर्छ भन्ने सोच पनि थियो। पुरुषहरू, यहाँसम्म कि कम्युनिष्ट पार्टीको पुरुषहरू पनि यस काम राम्रो सँग गर्दैननभनेर लेनिनले उनीहरूलाई तिरस्कार गर्नु भएका थिए। अरू कुनै राष्ट्र नेताले यस्तो तिरस्कार गरेका छन् त?
जुन नारीले नानीको जन्म दिन्छ, उसले अन्ततः जुन मानिसले
देशको रक्षा गर्दैछन्, त्यसकै समान काम गर्नुहुन्छ।
बेबेल, वुमेन एण्ड सोसलिज्म (1879)
सोभियत सङ्घले भन्योनानीको जन्मदान व्यक्तिगत वा पारिवारिक कुरो होइन, एउटा सामाजिक काम हो! यो काम सामाजिक भएकोले यसको जिम्मेवारी पनि समाजकै हो। सुत्केरीकालिन अवस्थादेखि त्यसकारण आमाहरूको लागि विशेष व्यवस्थापन चाहिन्छ। सुत्केरीकालिन अवस्थामा के के विशेष अधिकार पाउनेछन् श्रमजीवी र अन्यान्य नारीहरूले?
1)    नानी जन्मिनु अघि 2 महिना र पछि 2 महिना ज्यालासित छुट्टी।
2)    सुत्केरीलाई कामबाट निकाल्नु पाउँदैन।
3)    सुत्केरीलाई उसको इच्छा विरुद्ध डिभोर्स गर्नु पाउँदैन, नानीको उमेर एक वर्ष पुगीन्जेल सम्म यस निषेध लागु रहनेछ।
4)    सुत्केरीकालिन स्थितिमा र नानी जन्मिनु समय प्रत्येक गर्भवती नारीलाई सेवाहरू पुऱ्याउनु र चिकित्साको जिम्मेवारी सरकारको हो।
5)    गर्भवती अवस्थामा नारीहरू ज्यादा खाद्यान्न-रसिन पाउनेछन्। ट्राम-बस र दोकानहरूमा अग्राधिकार पाउनेछन्।
6)    श्रमजीवी नारीहरूले नानी जन्मिनु बेलामा नानीको लागि ज्यादा अर्थ (ज्यालाको आधा) पाउनेछन्। त्यसपछि प्रथम वर्षमा प्रत्येक महिनामा केही ज्यादा अर्थ (ज्यालाको एक-चतुर्थ अंश) पाउनेछन्।
7)    नानी जन्मेपछि (दुई महिनाको छुट्टी पछि) नारी श्रमिकहरूलाई हल्का काम दिनुपर्छ। केही घन्टाको अन्तरालमा नानीलाई दूध दिने (कारखानाको क्रेचमा गएर) अवकाश पाउनुपर्छ।
8)    गर्भपतनको आवश्यकता परे भने (त्यतिबेला गर्भपतन बाहेक राम्रो गर्भनिरोधक व्यवस्थाको कमी थियो) डाक्टरको उपदेश, डाक्टरको परिसेवा अनि छुट्टी पाउनेछन्।
9)    गर्भाधान रोक्नलाई (राष्ट्रिय निर्देशनमा परिवार परिकल्पनाको लागि होइन, नारीको आफ्नो सुविधाको लागि, उसले नानी लिन स्थगित वा बन्द गर्नलाई) डाक्टरको उपदेश पाउनेछन्।
10)  आवश्यकता परे भने गर्भवती नारी आफ्नो घरमै चिकित्सा परिसेवा पाउनेछन्।  
यस्ता सुविधाहरू त्यस समयको हिसाबले निकै उन्नत थियो, तर अझै महत्त्वपूर्ण कुरा के थियो भने यी कुराहरूसुविधाको हिसाबले दिइएको थिएन, बरुअधिकारको हिसाबले नै दिनु पऱ्यो। नानी जन्माउनु एक सामाजिक काम भएकोले त्यसको दायित्व किन केवल नारीमाथि, परिवारमाथि हुन्छ? समाजलाई नै त्यसको दायित्व लिनुपर्छ। त्यसले गर्दा यस्ता जिम्मेवारीहरू सोभियत सङ्घ राज्यले नै निभाउनेछन भन्ने सूचना आयो।
गर्भाधान रोक्नु वा गर्भपतन लिएर बनिएको राष्ट्रिय व्यवस्थापन पनि हाम्रो देश झैँ राष्ट्रिय योजना/निर्देशनमा परिवार परिकल्पना जस्तो थिएन। बरु नारीवादीहरूले जुन कारणले गर्दा गर्भपतनलाई कानुनी गर्ने माग गर्छन्, त्यस्तो नै थियो। आफ्नो शरीर, आफ्नो जीवन माथि नारीको अधिकारको स्थापनाको दृष्टिकोणबाट थियो।
 सन् 1920मा जब गर्भपतन कानुनी रूपमा पारित भयो, त्यसबेला संसारको प्राय कुनै देशमा यस्तो कानुन पारित भएको थिएन। अर्कोतिर गर्भाधान रोक्ने व्यवस्था पनि त्यतिबेला राम्रो थिएन। त्यसको फलस्वरूप विवाहित र अविवाहित, दुवै प्रकारको नारीहरूले गैरकानुनी उपायले गर्भपतन गराउथ्योआफैले वा अप्रशिक्षित सुडेनीको सहायता लिएर। यसले गर्दा थुप्रैजना मर्थ्योकेवल रसियामा होइन, युरोप र संसारको धेरै देशहरूमा।
गर्भपतन कानुनअनुसार गर्भपतनको लागि सोभियत सङ्घमा निम्नलिखित नियमहरू पालन गर्नु पर्थ्यो
केवल प्रशिक्षित सर्जनले नै गर्भपतन गराउन सक्छ, सुडेनीहरू होइन। गर्भपतन गराउन उपचार गर्नुपर्छ, अभरपर्दो औषधि, विषालु पदार्थ वा जडीबुटीले हुँदैन। उपचारपछि रोगीलाई तीन दिन अस्पतालमा बस्नुपर्छ। दुई हप्ता विश्राम लिनुपर्छ।
प्रथमपल्ट गर्भवती भएको आमाहरूको लागि गर्भपतन सम्पूर्ण निषेध नभए तापनि आमाको जीवन निकै जोखिममा परेन भने आमतौरमा त्यस्तो खण्डमा गर्भपतन गर्ने मान्यता थिएन। गर्भाधान साढे दुई महिनाभन्दा ज्यादा भइसकेको खण्डमा गर्भपतन निषेधित थियो। यी दुईवटा शर्त छोडेर चिकित्सकहरूले अरू कुनै कारण देखाएर गर्भपतन गराउन अस्वीकार गर्न सक्दैन थियो। कुनै गर्भपतनको शारीरिक, आर्थिक र सामाजिक अनावश्यकता छ भने आमालाई सम्झाउन सकिन्छ, तर त्यस नारीको निर्णयनै अन्तिम हुनुपर्थ्यो।
कुनै गैरसरकारी चिकित्सक वा अरू कसैले गर्भपतन गराउदा आमाको मृत्यु भएको खण्डमा कठिन सजायको अधिनियम थियो। तर कुनै नारी आफै गर्भपतनको कोसिस गरे भने सजाय थिएन। गर्भपतनको लागि त्यो नारी विवाहित कि अविवाहित त्यो देखिँदैन थियो।
मान्नुपर्छ, आजको सन्दर्भमा पनि यी कानुनहरू धेरै नै अधुनिक र नारी पक्षधर हो। सय वर्ष पहिला त त्यसलाईक्रान्तिकारीभन्नु कम्ती प्रशस्ति नै हो जस्तो लाग्छ।
आर्थिक निर्भरता अब विवाहको केन्द्रीय विषय रहेन, त्यसलेगर्दा विवाह अब दुइजना इच्छुक नारी-पुरुष मिलेर समानताको आधारमा परिवार पाल्ने सम्झौता जस्तो भयो। पहिलै भनिसकेको छु, 1917मा गरिएको डीक्रीमा नै नारी पुरुष सबैको लागि विवाह बिच्छेद सजिलो बनाइएको थियो। पति वा पत्नी कुनै एकजनाले चाहे भने विवाह विच्छेद मन्जुर हुन्थ्यो। व्यभिचार, निष्ठुरता वा अन्य कुनै कारण देखाउन पर्दैन थियो, सम्बन्ध नष्ट भइसकेको छयति नै यथेष्ट थियो।
आजपनि यो कानुन निकै आधुनिकनै हो जस्तो लाग्छ। यो कानुन र समाजको यथार्थको बिचमा द्वन्द्वले गर्दा केही वास्तव समस्या देखापर्छ। यस कानुनले धेरै नारीलाई बन्दी अवस्थादेखि मुक्त गरियो भने धेरैलाई समस्यामा पनि हाल्यो। ऐनले भने तापनि सबै नारीले त आत्मनिर्भर भैसकेको थिएनन्। धेरैजसो नारीले शिक्षा, प्रशिक्षण र अनुभवको कमीले गर्दा काम गरे तापनि त्यो चाहिँ उसको पतिको तुलनामा निकै कम्तीनै थियो। फलस्वरूप पतिले एकतर्फीरूपमा विवाह विच्छेद गरे भने पत्नी समस्यामा पर्थ्यो। यस विवाह विच्छेद ऐनमागुजारा भत्ताको प्रावधान नभएकोले धेरैजना नारीलाई असुविधा भयो। त्यसकारण, पछि गएर यो कानुनलाई अलिक कडा गर्नु परेको थियो।
सन 1926मा अ-पञ्जीकृत विवाह पनि विवाह नै हो भनेर स्वीकृति पायो। समलैङ्गिकता त पहिलानै अपराधिक कामको तालिकाबाट निस्किसकेको थियो।
पुरुष र नारीको प्रेम, प्रेमहीनता अनि परिवारयससित धेरै कुराहरू जोडिएको छ। मानसिक चिन्ता र चिन्तन पद्धति, रुढीवादी धारणा, धर्म, नैतिकता, परिवारमाथि मानसिक निर्भरता, खासगरी नानीहरूमाथि यी परिवर्तनहरूका प्रभाव लिएर स्वाभाविकरूपमानै विभिन्न दृष्टिकोण देखा पऱ्यो, नानाथरीका बहस आउन थाल्यो। नानाथरीका निन्दा पनि फैलिनु थाल्यो। त्यससित देखापऱ्यो सामाजिक यथार्थसित नारीमुक्ति र नारी स्वत्रन्त्रताको द्वन्द्व। नयाँ समाज, नयाँ मानिस निर्माण गर्नु अघि, निर्भरताको नयाँ क्षेत्र बनाउनु अघिनै निर्भरताको पुरानो क्षेत्र अर्थात् परिवारलाई दुर्वल पार्नु कतिको विवेचक काम होत्यसलाई लिएर पनि प्रश्न उठ्न थाल्यो।
यी सबैको बाटोबाटनै 1917 पछिको प्रथम ज्वारमा भटा आयो।

आधुनिक परिवार अर्थात् बुर्जुवा परिवारको स्थापना कुन आधारमा
भएको छ? त्यो आधार हो पुँजी, व्यक्तिगत लाभ। ...
यस व्यवस्थाको पुरक देखिन्छ ... खुल्ला वेश्यावृत्तिमा।
मार्क्स-एंगेल्स, कम्युनिष्ट घोषणापत्र (1848)
अब वेश्यावृत्ति बारे कुरा गरौँ। सन् 1917मा क्रान्तिको विजयबेलामा युरोपका अरू देशहरू झैँ रसियामा पनि थुप्रैले वेश्यावृत्ति गर्थ्यो। गाउँको केटीहरू कामको खोजीमा शहरतिर आएर कतिजना वेश्यावृत्ति अपनाउन बाध्य हुन्थ्यो। क्रान्तिपछि वेश्यावृत्तिलाई गैरकानुनि घोषणा गरिएको थियो, वेश्यालयहरू बन्द गरिएको थियो र वेश्याहरूलाई अनि खासगरी दलालहरूलाई गिरफ्तार गरियो। तर सन् 1920 पछि न्यू इकोनोमिक पलिसी (नेपसाम्राज्यवादी बाहिरी दुनियाँका आक्रमणको सामु नवजात सोभियत सङ्घको आर्थिक योजनालाई कार्यन्वयन गर्नु)-को बेलामा बेरोजगारी फेरि बढ्नु थाल्यो, वेश्यावृत्ति पनि। त्यतिबेला कानुनमा बदलाव ल्याइयो। दलालहरूलाई पक्रेर जेल पठाउन त चल्दै गऱ्यो, तर वेश्याहरूलाई जेलको सट्टामा चिकित्साकेन्द्रमा पठाइन्थ्यो। त्यहाँबाट पुनर्वास केन्द्रमा पठाइन्थ्यो। त्यहाँ आश्रय भेट्थ्यो, चिकित्सा र शिक्षा पाउँथ्यो, कामको प्रशिक्षण पनि पाउँथ्यो। सन् 1927मा मस्को शहरमा यस्ता 8 वटा पुनर्वास केन्द्र थियो। यता उनीहरूलाई 6-18 महिना बस्नु पर्थ्यो। यी पुनर्वास केन्द्रहरूमा मस्कोको आधा सङ्ख्यक वेश्याहरूका पुनर्वास गरिएको थियो भन्ने पाइन्छ।
यी प्रयासहरू अनि सोभियत सङ्घको उथलपुथलको उल्लेखनीय फल देखिन्छ। सोभियत रसियामा देहव्यापार प्राय सम्पूर्णरूपमा लुप्त भएको थियो भन्ने कुरा पश्चिमी समालोचकहरूले पनि स्वीकार्छन्। सोभियत-उत्तर कालमा रसिया र भूतपूर्व सोभियतको अरू देशहरूमा पनि देहव्यापार फेरी हाबी भएको छ। अहिले यी देशहरूका नारीहरूले युरोपको विभिन्न देशहरूका देहव्यापार केन्द्रहरूमा फैलिएको छ, सँगसँगै एइड्सको बिमारी पनि बढेको छ।
 वेश्याहरूका पुनर्वासको यस प्रक्रियामा मुख्य अभिमुख थियो उनीहरूलाई सामाजिक श्रमको भागीदार बनाउनु। वेश्यावृत्ति लिएर बोल्सेभिकहरूका मुख्य आक्षेप के थियो भने उनीहरूले परजीवीको जीवन बिताउछन्। यसको अन्त हुनुपर्छ!
“...देहव्यापारलाई एक विशेष वर्गको हिसाबले देखेर हामी त्यस विरुद्ध लड्दैनौँ, बरु लड्छौँ। श्रम परित्यागको एक अंशको हिसाबले” — अलेक्सान्द्रा कोलोन्ताई (1921)। लेनिनले पनि भन्नु भएका छन्— “आमतौरमा हाम्रो देशमा पनि वेश्यावृत्ति विरुद्ध अझपनि धेरै कठिन कामहरू गर्नुपर्ने रहेछ। उत्पादनको काममा वेश्याहरूलाई फर्काएर ल्याउनु, सामाजिक अर्थनीतिमा उनीहरूलाई स्थान दिनुखास कुरा यस्तै हो। तर हाम्रो अर्थनीतिको वर्तमान अवस्थामा यो गर्नु निकै कठिन र जटिल हो।” [क्लारा जेटकिन सित वार्तालाप (1920)]

“...अनि नारीहरूलाई राजनीतिमा नल्याएर जनतालाई राजनीतिमा ल्याउनु
सम्भव छैन। किनकि मानवजातिको नारी भन्ने आधा अंश चाहिँ
पुँजीवादको जमानामा दुगुणा शोषणले पीडित छन्।
लेनिन (1921)
अब नारी आन्दोलनको कुरा गरौँ। नारी मुक्तिको एक ठुलो पक्ष हो सामाजिक आन्दोलन र राजनैतिक आन्दोलनमा नारीहरूका भागीदारी। सन् 1917को अघिदेखिनै नारीहरूले राजनैतिक आन्दोलनमा भागीदारी लिन थालेको थियो। विभिन्न राजनैतिक दल छोडेर पनि साफ्रागेटहरू थियो, जसले नारीको भोटदानको अधिकार लिएर सङ्घर्ष गर्दै थियो। बोल्सेभिक पार्टीको विभिन्न स्तरमा पनि नारी कार्यकर्ताहरू थियो। उनीहरू मध्ये अलेक्सान्द्रा कोलोन्ताई, क्रुप्स्काया, इनेसा आर्मान्दको नाम उल्लेखनीय छ।
राजनैतिक क्षेत्रमा नारीहरू त थियो, तर उनीहरूको सङ्ख्या निकैनै कम्ती थियो। सन् 1922मा बोल्सेभिक पार्टीको सदस्यहरू मध्ये 8% नारीहरू थिए। नेतृत्वको विभिन स्तरहरूमा नारीको सङ्ख्या 10-16% थियो।रोबोनित्साभन्ने एक पत्रिका प्रकाशित हुन्थ्यो, श्रमजीवी नारीहरूको लागि। यो पत्रिका बन्द भएपछि आयो क्रुप्स्काया द्वारा सम्पादित पत्रिकाकम्युनित्स्का। सन् 1927मा पत्रिकाको सङ्ख्या बढेर 18 भयो। पाठक 3 लाख 86 हजार।
सन् 1917मा अक्टोबर क्रान्तिको बेलामा पेत्रोग्रादको श्रमजीवी नारीहरूका प्रथम सम्मेलन चलिरहेको थियो। डेलिगेटको सङ्ख्या 500 80 हजार श्रमजीवी नारीहरूले उनीहरूलाई निर्वाचित गरिएको थियो। तर नारीहरू बीच राजनैतिक कामलाई यथोचित महत्त्व नदिने आरोप त्यतिबेला थियो। लेनिनले भन्नुभयो— “नारीसमाज भित्र आन्दोलन र प्रचार-प्रसारको काम अनि उनीहरूलाई जागरुक गराउनु र क्रान्तिकारी विचारको जागरण गराउनु कामलाई उनीहरूले (बोल्सेभिक पुरुषहरू) नजर अन्दाज गर्छन्, सोच्छन कि त्यो केवल कम्युनिष्ट नारीहरूले सोच्नुपर्ने कुरा हो।” [क्लारा जेटकिन सँग वार्तालाप (1920)]
नारीहरूबीच काम गर्नलाई बेग्लै सङ्गठनको जरुरत छ कि छैनत्यसलाई लिएर बहस थियो। अन्तमा कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटिको अधीनमा एक बेग्लै श्रमजीवी नारी विभाग बन्यो— ‘जेनोत्देल। नारीहरूबीच बोल्शेविक विचारलाई प्रसारको काममाजेनोत्देलले राम्रो फल पायो।जेनोत्देलमा विशाल सङ्ख्यमा नारीहरूले राजनैतिक काम गर्ने मौका पनि पायो। उनीहरूले पत्रिका, पुस्तिका, बुलेटिन इत्यादि प्रकाश र प्रचार, नारीहरूबीच साक्षरता प्रसारको काम गर्थ्यो। 125000 वटा साक्षरता स्कुल पनि खोलिएको थियो। नारीहरूलाई लिएर कोअपरेटिभ पनि बनिएको थियो त्यतिबेला।
खासगरी सोभियत सङ्घको मध्य-एसियाई भूभागमा नारीमुक्तिको लागिजेनोत्देलको काम श्रद्धासित सम्झिनुपर्ने रहेछ। सोभियतको मध्य-एसियाई (कजाकिस्तान, किर्गिस्तान, उजबेकिस्तान, तुर्कमेनिस्तान, ताजिकिस्तान, अजरबैजान आदि) क्षेत्रहरूमा सोभियत शासनको स्थापना भए तापनि त्यहाँका मुस्लिमहरूको जीवन परिचालित हुन्थ्यो कोरान, शरिया र स्थानीय रुढीवादी नियमकानुन द्वारा। त्यहाँका नारीहरूको स्थिति निकैनै खराब थियो। बोल्सेभिकहरूको विचार थियो कि यस समाजमा सबभन्दा हेपिएका हुन्छन् नारीहरू। उनीहरूबीच सङ्गठन बनाउनु पर्छ। लेनिनले सावधानी सुनाउनु भयो— “रुढीवादी समाज भित्र पुरानो संस्कारहरू तोड्न काम गर्नलाई होसियारी सित काम गर्नु पर्छ
जेनोत्देलले यस काममा हाम फाल्यो। बोल्सेभिक नारीहरूले बुर्का लगाएर स्थानीय नारीहरूसित अन्तरक्रिया गर्न थाल्यो। उनीहरूलाई सचेत बनाउने काम, पर्दा प्रथा विरुद्ध सङ्गठित गर्नु थाल्यो। साक्षरता विस्तार, नाटक-सिनेमा प्रदर्शन आदि नानाथरीका कामद्वारा उनीहरूले प्रचार-प्रसारको काम गर्दै अगाडि बढेको थियो।
यो बुझ्न गाह्रो छैन कि कस्तो कठिन थियो त्यो काम! नारी कार्यकर्ताहरूलाई भयङ्कर विरोधको सामना गर्नु पऱ्यो। धेरै जनाको हत्या भयो। तर पुरानो रुढिवादी शासनको जगलाई हल्लाई दियो उनीहरू। सन् 1924मा सोभियतको मध्य-एसियाई भूभागको नारीहरूले पहिलोचोटि उनीहरूका मतदानको अधिकार उपयोग गरियो। उनीहरूले सामाजिक श्रममा भागीदारी लिन थाल्यो। नयाँ जीवनको यस बाटोमा उनीहरूका हिडाईको पछाडि थियोजेनोत्देलको नारीहरूको रगत-पसिना र क्रान्तिकारी उर्जा!

सोभियत सङ्घको प्रयास एक अवधिपछि व्यर्थ भएको छ। तर त्यसको अनुभव हाम्रो लागि सम्पदा हो। त्यस इतिहासलाई हामी बिर्सियौँ भने त्यो अझै एक व्यर्थता हुन्छ। अरू धेरै प्रश्नझैँ नारी प्रश्नमा पनि सोभियत सङ्घले अन्य एक संसारको सपना देखाइएको थियो, अन्य एक समाज बनाउन पटी लागेको थियो, नारी-पुरुषको समानता र त्यसको समस्याहरू लिएर मौलिकरूपमा नयाँ नयाँ चिन्तनको शुरुवात गरेको थियो। एकसय वर्षमा त्यसको धेरै उपयोगको चिह्न आजको पुँजीवादले भरिएको संसारमा पनि छ। त्यस सुनौलो अनुभवबाट हामीले सिक्नु पर्छ, भविष्यको नयाँ पृथ्वी निर्माणको नयाँ नयाँ प्रयासमा यस स्वर्णिम इतिहास र नयाँ सृजनाको प्रयासले हामीलाई बाटो देखाउन सक्छ।

No comments:

Post a Comment

Darjeeling Hills in Chorus / Twenty Percent Bonus

(The Tea Workers’ Struggle for Bonus in the  Darjeeling  &  Kalimpong  Hills,  2024  )    Samik Chakraborty    Darjeeling's Singtam ...