Saturday, December 9, 2017

…तर कुनै दिन बङ्गाल यति संवेदनशील निश्चयै बन्ला...

शमीक

व्हाट्सएपमा एउटा मेसेज आयो—
‘एस. आई. अमिताभ मलिकलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न यसलाई आज रातिसम्म तिम्रो प्रोफाइल पिक्चर बनाऊ; साथै यसलाई यति धेरै परिमाणमा शेयर गर ताकि पुरै बङ्गालको प्रोफाइल पिक्चर बनियोस् यो मोमबत्ती’।
त्यही मेसेज अभिजीत दाले पनि पाए। अभिजीत दा, अर्थात् अभिजीत राय, चिया मजदुर आन्दोलनसँग संलग्न छन् उनी। म पनि। जुन सरकारी अफिसरबाट यो मेसेज मेरोमा आइपुगेको थियो, अभिजीत दाले पनि उनैबाट पाएका हुन्। जुन हजारौँ मेसेजहरू, एकैसाथ हुलका हुल मानिससम्म पुग्छन्, यो मेसेज पनि त्यसरी नै पुग्यो होला। हात हातमा; घुम्दै- घुम्दै।
अभिजीत दाले हिज-अस्तिदेखि मात्र व्हाट्सएप चलाउन थालेका छन्। नयाँ हो, त्यसैले गर्दा सबै इगनोर गर्न सक्दैनन्! एउटा रिप्लाई पठाइहाले प्रेषकलाई—
‘हरेक दिन यस्तो दुखद मृत्यु चलिरहेको छ। हजारौँ सङ्ख्यामा। खाना नपाएर, उपचारबिना, दुर्घटनाहरूमा, लठ्ठी-गोली-बमको आघातले। कहिलेकाहीँ आततायीहरूले कालो कपडाले मुख छोपेर आउँछन्, त कहिले वर्दीमा, मानिस मार्ने सरकारी लाइसेन्स बोकेर। उनीहरू कहिले आउँछन् नम्बर प्लेटविहीन मोटर बाइकमा, कहिले मिलिट्री ट्याङ्कमा, कहिले त बोम्बर एरोप्लेनमा। अर्कातर्फ, जनताको हुलबाट धुलाइले पनि मानिस मर्छन्, जनविद्रोहको उभारले पनि मर्छन्। कहिलेकाहीँ ती विरोधाभासहरू अनियन्त्रित हुन्छन्, कहिले स्वतस्फूर्त, त कहिले सङ्गठित हुन्छ। कोही बेला त्यस विरोधको नतिजा हुन्छ जनक्रान्ति, त कहिले बेलगाम आतङ्कवाद। जुनसुकै होस्, विरोधमा-विद्रोहमा उहिल्यैदेखि मानिसहरू बलि चढ़िरहेका छन्! जो सामेल भएका छन्, मर्नेहरू उनीहरूमध्ये थिए। दमनकालागि जस-जसलाई पठाइएको थियो, जसलाई वाध्य गराइएको थियो भाइको छात्तीमा गोली ठोक्न, उनीहरूमध्ये पनि मर्नेहरू हुन्छन्। पुलिसको क्रूर मृत्यु भएको छ उलगुलानमा, चौरीचौरामा, नक्सलबारीमा, नन्दीग्राममा...। निस्सन्देह दुखद, अवाञ्छित मृत्यु। तर शायद अपरिहार्य पनि।
अमिताभ मलिककी श्रीमतीको विलाप देखेर म झन्डै रोएँ। आफूलाई नै दोषी अनुभव भइरहेको थियो। ठिक यस्तै लाग्छ जब रामझोड़ा, ढेक्लापाड़ा, भार्नोबारी चिया बगानमा केवल खाना नपाएर मर्नेहरूका परिवारसँग भेट हुन्छ। म उनीहरूको आँखामा हेर्न सक्तिनँ। त्यसै गरी, यदि पहाड़मा जाँदा टासी भोटीयाको आमासँग भेट भयो भने, कहाँ भाग्नु?
टासी भोटीयाका लागि एउटा मोमबत्ती बलेको छैन।'
***
अभिजीत दाबाट यो मेसेज पाएपछि अलिकति थपेँ—
सोनादाको टासी भोटीया आफ्ना दाजुका लागि 7 जुलाई राति 11 बजी न्यु गणेश मेडिकल स्टोर्सबाट दबाई ल्याउन जाँदा सीआरपीएफको जवानहरूले उनको टाउको ताकेर गोली ठोक्दा उनको मृत्यु भयो। भोलिपल्ट, 8 जुलाई, टासी भोटीयाको मृत शरीर लिएर जुलूसमा हिँड्दा चौक बजारको गोलघरमा पुलिसको गोलीले सूरज भुजेलको मृत्यु भयो। उनकी श्रीमती मानसिक रूपले असन्तुलित बनेकी छन्। सूरज दुईजना नानीका बाबु हुन्। छिमेकीहरूले उनको परिवारलाई हेरचार गर्ने जिम्मेवारी लिएका छन्। 8 जुलाई पुलिसको गोलीले सिङमारी घिर्लिङ क्षेत्रका वासिन्दा समीर गुरुङको मृत्यु भयो। उनी एउटा होटलको कर्मचारी थिए। घाइते भएपछि उनलाई एम्बुलेन्समा लैजाँदा एसपी-ले एम्बुलेन्स चालकलाई कुट्न थाले र एम्बुलेन्सलाई रोकी राखे। त्यसै समय समीरको मृत्यु भयो। लुइस जुब्ली कम्प्लेक्सका अशोक तामाङ 8 जुलाईमा दार्जीलिङ गोएन्का पेट्रोल पम्पछेउ पुलिस फायरिङमा घाइते भएका थिए। सिक्किमको अस्पतालमा 11 जुलाईको दिन उनको पनि मृत्यु भयो।
यसचोटिको आन्दोलनको आरम्भमा 17 जुन सिङमारीको गोलीकाण्डमा महेश गुरुङ, सुनील राई र बिमल शाशंकरको मृत्यु भएको थियो। सुनील एकजना काठमिस्त्री थिए। र बिमल थिए एक गरीब किसान। बिरानो पहाड़, सानो गाँउ कामजोरबाट गाडीमा एक घण्टाको बाटो पार गरेपछि आउँछ बिजनबारी पुलबजार। त्यहाँदेखि अझै एक घण्टाको बाटो पार गरेर बिमल त्यो दिन दार्जीलिङ आइपुगेका थिए। छिटै घर फर्किने वाचा गरेर उनी आएका थिए। तर उनी फर्केनन्। बिमलको मृत शरीरछेउ फेला परेको  झोलाभित्रको टिफिन बक्सामा चारवटा सुक्खा रोटी र तरकारी भेटिएको थियो। उनको ब्यागमा विस्फोटक, बन्दुक, AK-47 केही थिएन।
यी कुराहरू बताइदिने कुनै मिडिया छैन। प्रोफाइल पिक्चर, मोमबत्ती पनि छैन।
मोमबत्ती रहिरहोस्। पुलिसको मृत्यु दुखद हो। तर कुनै दिन बङ्गाल यति संवेदनशील निश्चयै बन्ला र अर्को फोटोले पनि त्यो स्थान बनाउन सक्ला बङ्गालको मनमा?

No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...