Saturday, December 9, 2017

राम रहिम 'स्ल्याक्स्' बाबा !

कपिल तामाङ

डेरा सच्चा सौदाको प्रमुख गुर्मित राम रहिम सिंह 15 वर्ष अघिको बलात्कार काण्डमा दोषी प्रमाणित भएर 20 वर्षको कारावासको खबरले देशभरि हल्ला मचायो। गुर्मितका भक्तहरूले पञ्जाब अनि हरियाणामा व्यापक रूपमा आतङ्कीपूर्ण विरोध प्रदर्शन गरे। जसले यी राज्यहरूमा धेरै क्षति पनि भयो। यस घटनापछि डेराको एकपछि अर्को कुकर्महरूको खुलासा भइरहेको छ। डेराभित्र रहेका लाचार महिला अनि नानीहरूलाई आर्मीको सहयोगले उद्धार गर्नु परेको थियो। तर यो कुनै नयाँ घटना भने होइन। आशाराम बापू, रामपाल बाबाहरू पनि यही क्षेत्रमा आफ्ना जग गाडेर बसेका थिए अनि आज भन्दा केही वर्षअघि यिनीहरूको कुकर्म पनि सर्वजनिक भइसकेको छ। यसैले प्रश्न उठ्छ! किन यस्ता घटना हाम्रा सामु दोहोरी रहेकोछ? बाबा भक्ति अनि यस्तो धर्म प्रथालाई बुझ्न जरुरी छ।
पञ्जाब, हरियाणा अनि हिमाचल प्रदेश इतिहासदेखि नै धार्मिक रूपले बहुसांस्कृतिक क्षेत्र हो। यहाँ पहिलेदेखि नै धेरै धर्महरूको उपस्थिति देख्न पाइन्छ। जस्तै ‘शिख धर्म’ जसलाई गुरु नानकले स्थापना गरेका थिए। उनका छोरा चन्द महाराजले उदासी डेरा भनेर अलग्गै धार्मिक संस्कार शुरु गरे।
 यस क्षेत्रमा बर्णभेद अनि डेराको एतिहासिक सम्बन्ध छ। विशेष गरेर हिन्दु बर्णभेदलाई वैकल्पिक धर्म निर्माणको जड भन्न सकिन्छ। परम आत्मा अनि सबै मानिस समान हुन् भन्ने विचार अनि यसको प्रचार-प्रसार नै यस्ता वैकल्पिक जगहरूको मूल आकर्षण हो। मध्यवर्गीय जाठ अनि तल्लो वर्णका मानिसहरूका निम्ति शिख धर्म आश्रयको प्रतीक बनेको थियो। तर समयको अन्तरालमा शिख धर्ममा बर्णभेद हराउनुको सट्टा अझ तीव्र भएर गयो। यसैले यस्ता डेराहरू सानो जातका सुरक्षाका निम्ति आश्रयको ठाउँ बन्न पुग्यो। पञ्जाबमा अनुसूचित जनजातिको सङ्ख्या सबै भन्दा धेर छ। देशको 32% अनुसूचित जनजाति केवल यस राज्यमा छ। पञ्जाबको जलन्धर क्षेत्रमा अनुसूचित जनजाति धेर सङ्ख्यामा रहेका कारण यहाँ डेराको प्रथा प्रचलित छ। 
डेरा सच्चा सौदाको स्थापना 1948मा बलुचिस्तानका एक सुफी बाबा बेपर्वाह मस्तानाले एउटा सामाजिक अनि आध्यात्मिक संस्थाको रूपमा गरेका थिए। 60 वर्षको अन्तरालमा डेरा तीन गुरुहरूको हातमा थियो। बाबा मस्ताना त्यसपछि बाबा सत्नम सिंह अनि बाबा गुर्मीत सिंह। गुर्मीत सिंहले 23 वर्षको उमेरमै डेराको राजगद्दी सम्हाले। बाबा गुर्मीतका परिवार राजस्थानको गंगानगर जिल्लाका बासिन्दा थियो। सपरिवार नै डेराका सच्चा भक्त थियो। त्यस बेलासम्म डेराको उपस्तिथि त्यस क्षेत्रमा प्रभावशाली थिएन। डेराको संस्कारमा गुरु नानकको जीवनीको ठुलो प्रभाव थियो। सबै धर्मका मानिसहरूलाई आश्रय दिनु डेराको प्रमुख प्रथा थियो। गुर्मीतले आफ्ना नामसँग ‘राम’ अनि ‘रहिम’ पनि जोडे। यसो गर्नाले अन्य धर्मका मानिसहरू पनि डेरा प्रति आकर्षित बन्न पुगे।
मेनस्ट्रीम धर्महरूले बर्णभेदलाई यथावतै राख्यो। यी धर्महरूले वर्णभेदलाई अझ सशक्त रूपमा तीव्रता प्रदान गर्दैछ। यसैले वर्णभेदका शिकार बनेकाहरूले डेरामा समानता अनि सम्मानको जीवन पाउन थाले। यता बिस्तारै डेरा प्रथा जनमानसमा प्रचलित हुँदै गयो। फलस्वरूप, गुर्मीत सिंह अनि रामपाल जस्ता गुरुहरूले आफूलाई प्रचलित बनाउने अवसर प्राप्त गरे। विशेष गरी बाबा गुर्मीतका झलकदार पहिरनसाथै रक्षाकर्ता र नार्सिसिस्ट  पहिचानले गुरुपुजाको प्रथालाई थप तीव्र बनायो। गुर्मीतलाई डेरा भक्तहरूले ‘पिताजी’को दर्जा दिन थाले। डेरामा बेग्लै खाले धार्मिक संस्कार शुरू भएको थियो। यो संस्कार सामाजिक जीवन अनि कुनै धर्महरूसँग मेल खाँदैन थियो। डेराको 700 एकर जमिनमा आफ्नै घरहरू, स्कुल, अस्पताल, सुइमिंग पुल यहाँसम्म कि आफ्नै पैसा चलाउने प्रथा थियो। डेराका गुर्मीत सेवकहरूले निःशुल्क रूपमा खाना, बास अनि शिक्षा आर्जन गर्न पाउँथे। यसैले सेवकहरूका निम्ति बाबा गुर्मीत मसिहा बनिसकेका थिए।
सन् 1990 देखि डेरा गुर्मीतको हातबाट सञ्चालन हुनथाल्यो। डेराले सरकारी सहयोग अनि भागीदारीलाई घटाउदै निजीकरणको दिशामा काम गर्न थाल्यो। गुर्मीतले हरितक्रान्तिको असफलतापछि गरिब किसानहरूलाई सहयोग गर्नथाले। नशालु पदार्थको लतमा फसेका अनि कन्या भ्रुणहत्याका शिकार भएकाहरूको लागि परोपकारी काम गरेर गुर्मीतले धरै मानिसहरूलाई आफ्ना पक्षमा पारे। 
तर उनको यी कर्महरू हातीको देखाउने दाँत जस्तो मात्र थियो। बाबा गुर्मीतको साचो अनुहार अर्थात् चपाउने दाँत अर्कै थियो। सत्य कहिले मर्दैन भने झैँ 2017 मा बाबा गुर्मीतको असली अनुहार हामीले देख्यौं। उनको सम्पूर्ण कुकार्यको सूचि उजागर भयो। यसमा कुनै शङ्का छैन कि डेराको व्यापारको कौशल धेरै प्रभावशाली अनि सफल थियो। यसै सन्दर्भमा भन्नु पर्दा गुर्मीत सिंह दार्जीलिङमा पनि आफ्ना डेरा बनाउने योजनामा थिए। केही वर्षअघि उनी दार्जीलिङमा ‘स्ल्याक्स बाबा’ले प्रचलित थिए। तर दार्जीलिङमा डेरा बनाउने उनको सपना पुरा भएन। दार्जीलिङका आम मानिसहरूले स्ल्याक्स बाबाको विरोध गरे अनि डेरा बनाउन दिएनन्। दार्जीलिङवासीले स्ल्याक्स बाबालाई अस्वीकार गरे। तर गुर्मीत बाहेकका अन्य वैकल्पिक धर्महरू दार्जीलिङमा चलाइमान नै छ। धेरै यस्ता बाबाहरूका समर्थक अनि भक्तहरू पनि दार्जीलिङको व्यापक छन्। 
धार्मिक विवाद अनि सामाजिक विसङ्गतीहरूबाट नै डेरा जस्ता वैकल्पिक प्रथाहरूले जन्म लिनेगर्छ। धार्मिक अनि सामाजिक विवादमा परेका पीडितहरूलाई राहत दिँदै यस्ता डेरा प्रथाले आफ्नो धार्मिक व्यवसाय बढ़ाई रहेको छ। यस्ता बाबाहरूलाई सुरक्षा दिँदै सत्तासमेतले डेराबाट राजनीतिक फाइदा लिने गरेको यथार्थहरूलाई नकार्न सकिन्न। 

No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...