अम्बिका राई
हिन्दुहरूको हजारौँ चाड़ मध्ये मनाइने एउटा प्रमुख चाड़ हो ‘होली’। सानो हुँदा देखि नै केवल टि.भि-मा मात्र देखेकी थिए होली खेलेको। आफैले भने कहिले नि नखेलेको होली। गाउँमा बाह्रै मासे चिसो भएको कारण होला कसैकोमा होली खेल्ने आँट नभएको। तर होली किन मनाइन्छ भन्ने कुरा पनि त्यति बेला थाहा थिएन। पछि गएर सुन्नमा के आयो भने ‘असत्य’माथि ‘सत्य’को जितको प्रतीक अरे होली! कस्तो ‘असत्य’माथि कुन सत्यको जीत हो यो रङ्गको त्योहार? आजसम्म मलाई थाहा छैन!
ठण्डा महिनाको अन्तमा वसन्त ऋतुको आगमन र रङ्गीचङ्गी फुलहरू फुल्ने बेलामा यस्तो रङ्गीन चाँड़ त आनन्दकै होला। एकअर्कालाई खुशीसँग रङ्गले स्वागत जनाउँदै यो रङ्गीन चाँड़ मनाउन रमाईलै हो भनेर मनमा एउटा धारणा अहिलेसम्म बोकिरहेको थिएँ। तर केही प्रश्न आएर उभियो जब यसको इतिहास थाहा भयो मलाई। समाजमा धेरै यस्ता चाँड़हरू त्यसको इतिहासबाट छुट्टिएर एउटा मामुली चाँड़को रूपमा सामाजिक-सांस्कृतिक परम्पराको रूपमा देखापर्छ, र जनताले त्यसलाई मनाउँछ पनि। मुख्यतः बहुमतको वा आधिपत्यकारी समुदायका परम्पराहरूले एक प्रकारका सहमति जम्मै समाजमा क्रमैसँग तयार गरेको छ। त्यसलाई मनाउनु वा नमनाउनु त आ-आफ्नो पसन्दको कुरा हो, तर सचेत, शिक्षित मानिसको हिसाबले त्यसको इतिहासलाई एक पल्ट फर्केर हेर्नु चाखलाग्दो कुरा नै हो। त्यसरी नै होलीको इतिहासलाई हेरौँ यस लेखमा।
‘होली’को नाम यसपालि पहिलोपल्ट ‘होलीका दहन’ भनेर सुन्नमा आयो। सबै कुराजस्तै देशको केन्द्र सरकारमा आसीन उग्र हिन्दु साम्प्रदायिक सत्ताको प्रभाव छुट्टीको क्यालेन्डरमा पनि आइपर्दा यसपालि ‘होली’को सट्टामा‘होलीका दहन’ आयो। तर के हो यो चाहिँ?
‘होली— ए फेस्टिवल टु कोम्मेमोरेट बहुजन बर्निंग’ भन्ने किताबमा के. जमनादास भन्नुहुन्छ कि एक जना बहुजनलाई जलाएको खुशीमा छुट्टी मनाईने दिन हो होली! उनी भन्नु हुन्छ कि यी सबै कथाहरू हिरण्यकश्यप सँग कुनै न कुनै प्रकारले जोड़िएको छ। यी धेरै कथाहरू मध्ये नरशिमाले प्रह्लादको ज्यान बचाएको कथा भने सबैभन्दा बहूप्रचलित छ। नरशिमालाई विष्णुको अवतर पनि मानिन्छ। हिरण्यकश्यपको छोरा प्रह्लाद भने नरशिमाको सबै भन्दा ठुलो भक्त थियो। हिरण्यकश्यपलाई आफ्नो छोरा नरशिमाको भक्त भएको मनपरेन। उसले आफ्नै छोरालाई मार्ने प्रयास गरे। हिरण्यकश्यपले आफ्नो बहिनी होलिकालाई यो कामको निम्ति बोलाई पठाए। उसले प्रह्लादलाई एउटा लुगाले छोपेर आफ्नो काखमा राखे अनि आगोको बिचमा बसे। प्रह्लादलाई नरशिमाले बचायो तर होलीका भने त्येही आगोमा जलेर मरी। यही होलीका मरेको दिनलाई होलीका दहन नाम दिएर रमाउने गर्छन्। एउटी बहुजन महिलाको मृत्युको खुशी!
कस्तो अचम्मको इतिहास! दुर्गापूजा, दसेराहरू लिएर पनि यस्ता कथाहरू छन् जसमा अनार्यहरूमाथि आर्यहरूको विजययात्राको कहानी निहित छन् अरे! रावण अनार्यहरूको प्रतीक, असुर आदिवासीहरूका राजा थियो भन्ने चर्चाहरू अचेल निकै आउँदैछ। हामीलाई थाहा छ कि विभिन्न जाति-धर्म-भाषाको विचित्रताले भरिएको यस देशमा बहुमत र आधिपत्यवादी विचारले सधैँ आफूलाई सर्वश्रेष्ठ देखाउन खोज्छन्। यो परम्परा उहिलेदेखि आजसम्म जारी नै छ। दुर्गापूजा, दसेरादेखि होली— सबै नै त्यसको एकएकवटा प्रतिबिम्ब हो, जसको स्रोत थियो इतिहासमा भएको उत्पीड़ितहरूमाथि दमनको कथा। विजयीहरूको तर्फबाट सामाजिक-सांस्कृतिक परम्परा अथवा चाँड़को रूपमा त्यसलाई मानिनुपर्छ भन्ने माहौलले विस्तारविस्तारै छोपियो पराजितको इतिहासलाई र समाजभरी नै सर्वजनिक मान्यता दिइयो विजयीको, शासकको, बहुमतको, आधिपत्यकारीको विचारलाई। होलीका दहन पनि त्यसकै उदाहरण हो।
होलीको अतीतदेखि आएर अब वर्तमानमाथि बरु चर्चा गरौँ।
होलीको कुरा गर्दा वृन्दावनको बहु प्रचलित ‘लाठ मार’ होलीको बारेमा त चर्चा हुनैपर्छ। ‘लाठ मार’को मतलब हो‘लौरोले हिर्काउनु’। यो प्रथा केवल वृन्दावनमा मात्र देख्न सकिन्छ जहाँ होलीको दिन लौरो लिएर पुरुषहरूलाई हिर्काउनु सक्छ। तर केवल मनोरञ्जनको रूपमा। यो ‘लाठ मार’ होली हेर्नको निम्ति देश विदेशका मानिसहरू हरेक वर्ष वृन्दावन आउछन्। सुन्नमा कति अचम्मको कि सधै तल्लोदर्जाका ठहरिएका नारीहरू यस ‘लाठ मार’ होलीमा पुरुषहरूलाई देखावटीको लागि भए तापनि हिर्काउछन्। तर वास्तवमा के हुन्छ त?
हामी सबैजनाको अनुभव छ कि यो रङ्गको चाँड़ भित्र लुकेको छ धेरै कालो यथार्थ। होलीको रङ्गको माहोलमा धेरै महिलाहरू यौन हिंसाको शिकार हुन्छन्। होलीको रङ्ग लगाउन भनी धेरै जसोले महिलाहरूको गुप्त अङ्गमा छुने गर्छन्। यति मात्र होइन, टाड़ैबाट पनि पिचकारीले गुप्त अङ्गहरूमा ताकेर हिर्काउने चलन छ।
यस साल वृन्दावनको यही रमाइलो होली हेर्न गएका दुई जना महिला पत्रकार अनि फोटोग्राफरसँग पनि यस्तै किसिमको घटना घट्यो। आफूसँग घटेको घटनाको विवरण गर्दै पत्रकारले भनिन्— “एउटा साधुले मेरो छात्तीमा हेरिरहेको थियो, मैले केही गर्न अघि नै उसले आफ्नो कुहिना मेरो छात्तीमा दलेर गयो। एउटा साधु भएर पनि यस्तो!!” यतिमात्र होइन, एक छिन पछि एक हुल केटाहरू उसको पछि लागे अनि पिचकारीले रङ्ग हान्न थाले। केही समय वाद उसको शरीर भतभति पोल्न शुरू भयो। ऊ त्यहाँबाट भागी। उसको एक जना साथीबाट उसले थाहा पायो की त्यो पिचकारी भित्र केवल रङ्गको पानी होइन तर केमिकल मिलाएको हुन्छ, जसले गर्दा केमिकल लागेपछि शरीरको छाला काटिने गर्छ अनि पिचकारीको पानीले छोएको ठाउँमा पोल्ने गर्दछ।
फेरी यस्तै किसिमको घटना फोटोग्राफरसँग पनि घट्यो। “म होलीको फोटो खिच्न भनी पुरा तयारीमा गएकी थिए,आफ्नो क्यामेरालाई पानी देखि बचाऊनको निम्ति पनि तयार। पहिरन पनि एकदमै सोझो, सलवार अनि दुपटा। तर त्यहाँ भएका मानिसहरूको मानसिकता देखि बाच्नको निम्ति भने केही तयारी गरेकी थिइन। म आफ्नो दुई साथीहरू सँग नन्दगाउँ पुगे। त्यति बेला नै एक हुल केटाहरू आएर हामीलाई घेरे। उनीहरूले एकपछि एक रङ्गले भरेको बाल्टी हामी माथि खनाए, पिचकारीको पानीले मेरो गुप्त अङ्गमा हाने अनि एकजनाले त मेरा गुप्त अङ्गमा हाथले छोएर पनि गए। मैले केही बुझ्न सकिन।” त्यहाबाट भागेर उसले एउटा घरको छतमा उभिएर तल सड़कमा हुँदै गरेको घटना हेरी रही। त्यहाँ भएको प्रत्येक महिला सँग पुरुषहरूले यस्तै प्रकारको व्यवहार गरिरहेका थिए, त्यो चाहे 8 वर्षकी बालिका होस् वा 60 वर्षको वृद्ध आइमाई। त्यही बेला अचानक पछिबाट एउटा हाथ आएर उसको छात्तीमा छोयो। उसले त्यो हाथ पक्रेर पछि फर्की, त्यहाँ दुईजना युवक उभीएर हासी रहेको थियो। उसले ठुलो आवाजमा कराएर त्यस युवकको उसलाई छुने हिम्मत कसरी भयो भनेर सोद्धा, दिप्तीले जवाब पाई— ‘‘तिमी होलीको दिन यहाँ उभीरहेकी छौ,तिमीलाई के लाग्छ यहाँ अरू के हुन सक्छ?’
तर होलीको दिन कसैसँग रिसाउनु पनि त भएन, होइन र?! कारण ‘बुरा ना मानो होली है’ को अति मिठो ट्याग लिएर आउँछ यो चाँड़! के भयो र कसैले हाम्रो गुप्त अङ्गमा छोएर गए पनि। वर्षमा केवल एकपल्ट त यो चाँड़ मनाउनु पाउँछ र यती रमाइलो त गर्न पाइन्छ होइन र? तपाईहरूलाई के लाग्छ??
माथिको वृन्दावनको घटनाहरूको वर्णन मैले किन लेखे यहाँ?
हाम्रै वरिपरि होलीको दिन यस्ता घटनाहरू त कत्ति हो कत्ति घट्छन्। थुप्रै केटीहरू-आइमाईहरू त्यसलाई चुपचाप मानिलिन्छन्, आवाज पनि उठाउछन् होला कतिजनाले। तर यी माथिको घटनाहरूको वर्णन पढ़दा जति घिनलाग्दो अनुभूति हुन्छ, त्यति नै घिनलाग्दो अनुभव हुन्छ यस्ता घटनाको शिकार भएकी हाम्रा गाउँ-शहरकाहरूलाई। ती अनुभवलाई तपाईहरूसमक्ष राख्नलाई नै माथिको वर्णन राखे।
इतिहासको स्रोतलाई छोड़ेर हेर्दा होली त सबैको निम्ति रमाइलो चाड़ नै हुनसक्थ्यो, तर केही पुरुषहरूले यस दिनलाई पनि पितृसत्ताको झलक देखाउने दिनको रूपमा लिन्छन्। परम्परा र संस्कृतिको नाममा हरेक वर्ष हजारौँ महिलाहरूसँग यस्तो घटना घट्छ। केही महाविद्यालय अनि विश्वविद्यालयका छात्राहरूलाई त होलीको दुई दिनसम्म होस्टलबाट बाहिर निस्कने अनुमति दिइँदैन। होलीको दिन महिलाहरू घरबाट निस्किनु कमसेकम दुई-तीनपल्ट सोच्नुपर्छ। चाँड़को रमझममा लुकेको यस्ता नराम्रा घटना जहाँ कुनै मानिस यौन उत्पीड़नको शिकार बन्न पुग्छ, यस्ता घटनाको विरोध गर्न जरुरी छ, होइन र?
No comments:
Post a Comment