Saturday, April 15, 2017

उत्तर प्रदेश चुनाव अनि त्यसपछिको खेल!

कपिल तामाङ

उत्तर प्रदेशको विधानसभा चुनावमा भारतीय जनता पार्टीले बहुमत भोट पाएर सफलता हासिल गरेको छ। सरकार गठनपछि भाजपाले योगी आदित्यनाथलाई मुख्यमन्त्रीको पदमा नियुक्त गरेका छन्। योगीले मुख्यमन्त्री बन्न साथ नयाँ नीतिहरूको घोषणा गरे। ती मध्ये खास चर्चाको विषय बनेको छ एन्टी-रोमियो स्कोयाडको उत्थान र गोरुको गोश्खानहरूको पतन! 
देशकै सबैभन्दा धेर राज्यसभा अनि लोकसभा सिट भएको राज्य उत्तर प्रदेश सबै राजनैतिक पार्टीहरूको लागि धेरै महत्त्वपूर्ण छ। त्यसैले उत्तर प्रदेशको चुनावको चर्चा देशभरि नै हुन्छ। समाजवादी पार्टीले पहिले चलाईरहेको यस राज्यमा अन्य पार्टी जस्तै बहुजन समाज पार्टी, काँग्रेस जस्ता ठुलो पार्टीहरूको संयुक्त प्रयास पनि भारतीय जनता पार्टीको सामु टिक्न सकेन।
2014मा केन्द्र सरकार गठन गर्न पनि सफल भएको भारतीय जनता पार्टीले सरकारमा आएपछि नीतिहरू अनि कार्यप्रणालीहरूमा धेरै नै फेरबदल ल्याएका छन्, धरै नयाँ नीतिहरू पनि लागु गरेका छन्। ‘अच्छे दिन’को ट्याग लाइन लिएर विकासको सपना देखाउदै बहुमत भोटले केन्द्रमा आएको हो भाजपा। तर यो तीन वर्षको अन्तरलमा उद्योगपतिहरू अनि पुँजीपतिहरूको निम्ति अच्छे दिन त आएकै छ तर गरीब खटिखाने जनताले दुस्वप्नको दिनहरू देख्न परिरहेको छ। परिस्थिति जस्तै भए तापनि भाजपाले चुनावमा भने सफलता नै प्राप्त गरिरहेका छन्। यसको धेरै कारणहरू छन्, त्यसका केही पोइन्ट्स छलफल गरौँ।

राष्ट्रिय स्वयम सेवक सङ्घ (आर.एस.एस)को भूमिका
भाजपाको सबैभन्दा ठुलो साथ राष्ट्रिय स्वयम् सेवक सङ्घ (आर.एस.एस) ले दिन्छ। आर.एस.एस हुन त एउटा सांस्कृतिक अनि सामाजिक सङ्गठन हो तर त्यसको हस्तक्षेप भने राजनीति देखि लिएर ट्रेड युनियन, शैक्षिक संस्था देखि लिएर विद्यार्थी सङ्गठन सम्म छ। आर.एस.एस-को प्रचारकहरू भाजपाको लागि चुनाव प्रचारमा पनि सक्रिय भूमिका लिएको हामीले पहिले देखि देख्दै आएका हौँ। आर.एस.एस का स्वयंसेवकहरू चुनावको प्रसारमा सिपाहीका रूपमा काम गर्छन्। ‘जन जागरण’को नाम गरेर चुनाव प्रसार अनि भोटरहरूलाई मोबिलाइजेसन गर्ने काम तिनीहरू खुबै अनुशासन अनि निर्देशनका साथ गर्छन्। 
तिनीहरू भाजपाको नाम नलिइ देशभक्तिको नारा लगाएर देशको देशभक्त पार्टीलाई भोट हाल्नु भन्छन्। देशको स्वतन्त्रता सङ्घर्षमा यस आर.एस.एस-को विश्वासघाती भूमिका हामीलाई थाहा नै छ, तर आममानिसको इतिहास-अज्ञानता र अरू पार्टीप्रतिको अनास्थालाई उपयोग गर्दै सन् 2014-को लोक सभा भोटमा यिनीहरूको जोड़तोड़ प्रचारले भाजपाले यु.पी.-मा जित हासिल गरेको हो अनि 2017-को विधानसभा भोट पनि जित्न सफल भएको छ। 
चुनाव प्रचारको कामलाई सजिलो बनाउनको लागि आर.एस.एसले यु.पि.लाई 6 वटा प्रान्तमा भाग गरे— अवध, काशी, पश्चिम, गोरखपुर, बृज अनि गोरक्ष। हरेक प्रान्तलाई अझै जिल्ला अनि महानगरहरूमा विभाजित गरेका थिए। सङ्घले गोपनीयतासाथ काम गर्छन् तर तिनीहरूको भूमिका भोटर बुथ समाल्नु देखि लिएर भोटर मोबिलाईज गर्नु, हिन्दु जन सङ्ख्या भएको ठाउँमा सक्रिय काम बढ़ाउनु अनि ग्राउन्ड लेबल सर्वे गरेर परिस्थितिको जानकारी लिने सम्म हो। स्वयंसेवकको काम के हुनु पर्ने त्यो सब सङ्घले नै निर्धारित गर्छ। सङ्घ बाहेक अन्य संस्था जस्तै अखिल भारतीय विद्यार्थी परिषद्, भारतीय मजदुर सङ्घ, भारतीय किसान सङ्घ, स्वदेशी जागरण मञ्च इत्यादिले सक्रिय रूपमा चुनाव प्रसारमा योगदान गरेका छन्। यी बाहेक तिनीहरूले मानिसहरूबाट फिडब्याक लिएर नयाँ चुनाव नीति अनि कार्यक्रम तय गर्ने काम गरे।  
दलित भोट
यो बाहेक भाजपाले दलितहरू, नन्-यादवहरूलाई आफ्नो पक्षमा हाल्नु सफल भए। बि.एस.पि-का दलित भोटरहरूले पनि भाजपालाई भोट दिए। नरेन्द्र मोदीको विकाशको आस्वासन अनि देशभरि मोदीको नायक चरित्रको प्रचार त्यसमाथि पुरानो पार्टीहरूको कमजोरी अनि हेलचेक्र्याइँ यो भोट परिवर्तनमा ठुलो भूमिका खेलेको छ।

आई.टि. सेल 
भाजपाको सफलता पछाड़ि आई.टि. सेलको पनि ठुलो भूमिका रहेको छ। 11 फरवरी, यु.पि चुनावको पहिलो चरणको जुलुसमा 50,000 मानिसहरू भेला पार्न 120 जना आई.टि. कर्मचारीहरू फेसबुक, ट्विटर, वाटस्आप जस्ता सोसियल मिडियाहरूमा लागि परेको खबर आयो। यु.पि चुनाव प्रचारको लागि 10,000 वटा वाटस्आप ग्रुप, फेसबुक, ट्विटर अकाउन्टहरू बनाएको जानकारीमा आएको छ। अरविन्द शर्मा भन्ने बि.जे.पि का आई.टि कर्मी भन्छन्, “चुनाव प्रसारमा हामी 6-7 घण्टा अफिसमा अनलाइन काम गऱ्‍यौँ अनि बाकी समय घर घर प्रचार अनि जुलुसहरूमा भागीदारी लिनथियौं”। गाजियावादका आई.टि सचिव अविनाश ओझाले भने, “एउटा टिम फेसबुक अनि ट्विटरमा काम गरे भने अरू फिल्डमा सङ्लग्न हुन्छन्। त्यो बाहेक प्रत्येक क्षेत्रका मानिसहरूको फोन नम्बर लिएर एस.एम.एस पठाउने काम पनि तिनीहरूले गरे। चुनाव पछि पनि तिनीहरू सक्रिय रूपमा काम गर्दै पार्टीको नीति अनि आदर्शको प्रचार प्रसार गर्ने छन् भनी ओझाले भने। '#भ्रष्टाचारको मिटाना' जस्तो ह्याश-ट्यागहरू सोसियल मिडियामा फैलाएर तिनीहरूले बि.जे.पि-लाई यु.पि चुनावमा धेरै मदत गरका छन्।

मुख्यमन्त्री योगी आदित्यनाथ 
यु.पि. चुनावको सफलता पछि बि.जे.पि-ले योगी आदित्यनाथलाई मुख्यमन्त्री घोषित गरे। हिन्दुत्वको प्रचार, आर.एस.एस अनि विश्व हिन्दु परिषदको साथले योगीलाई मुख्यमन्त्री बनायो। मुख्यमन्त्रीको पदका लागि राजनाथ सिंह, बि.जे.पि जेनेरल सेक्रेटरी मनोज सिंह धरी पनि राम्रो उम्मेदवार थिए तर किन योगी बने त मुख्यमन्त्री?
आदित्यनाथ 5 पल्ट एम.पि चुनिएका गोरखपुरका अनि उत्तर यु.पि.का मुख्य उमेदवार हुन् 2002, 2007 अनि 2012 मा जित हासिल गरेका हुन् तिनले। 2014को लोकसभा चुनावमा पनि योगीले सक्रिय भूमिका लिएर मोदीको भरोसा जित्न सफल भएका हुन्। योगीले युवा वाहिनी पनि बनाएका छन् जसले योगीको वर्चस्व कायम राख्ने काम गर्छ। बि.जे.पिको विकाश सँग हिन्दुत्व पनि एजेन्डा भएकोले योगी आदित्यनाथ तिनीहरूको तर्फबाट एकदमै उचित उमेदवार थिए।
देशभरि नै उग्र-राष्ट्रियतावाद अनि ब्राह्मणवादी हिन्दुत्वको मुद्दालाई अघि राखेर साम्प्रदायिक हिंसामा बि.जे.पि अनि आर.एस.एस.-को ठुलो भूमिका रहेको छ। विकाशको नाममा पुँजीपति अनि उद्योगपतिहरूको हितमा नीति अनि कानुन पनि फेर बदल तिनीहरू गरी रहेका छन्। 
गाई, देशभक्ति अनि हिन्दुत्वको मुद्दामा मानिसहरूलाई अल्झाएर, एकपछि एक डरलाग्दो आर्थिक नीति र गणतान्त्रिक अधिकार माथि आक्रमण ल्याएर, खटिखाने मानिसहरूका खुन चुस्ने राजनीति यिनीहरू गरिरहेका छन्। अफवाह अनि झुटो खबरको सहारा लिँदै तिनीहरूले कति दिन सत्तामा बस्ने छन् अनि पुँजीपतिहरूको स्वार्थलाई मद्दत पुऱ्याउँदै हिन्दुत्वको यस विकृत प्रचार पनि कति दिन गर्ने छन्— त्यो त समय अनि परिस्थितिले बताउछ। तर यसरी भ्रमित पार्नको राजनीतिको विपरीतमा खटिखाने मानिसहरूको शोषणको कुण्ठाहरूले एक दिन देशमा क्रान्ति ल्याउने छ अनि यिनीहरूको होड़बाजी हेर्दै त्यो दिन अब धेरै टाढ़ा छैन जस्तो लाग्छ।

No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...