Saturday, April 15, 2017

सम्पादकीय : मार्च-मई 2017

कालोलाई कालो, सेतोलाई सेतो!


लाली गुराँस प्रकाशन कालले पनि पाँच वर्ष पुरा गर्न लाग्यो। सन् 2012 मा प्रकाशित भएको लाली गुराँसले नयाँ विचार, नयाँ सङ्घर्ष अनि नयाँ समाजको सपनालाई निरन्तरता दिइरहेको छ। पाँच वर्षको हिड़ाइमा लालीगुराँसले पत्रिकाको रूपमा मात्रै सीमित नभएर न्यायिक सङ्घर्षहरूलाई साथ दिँदै, अधिकारको आवाजलाई दह्रिलो तुल्याउदै आएको छ र उचित समाज स्थापनाको निम्ति हाम्रो सामाजिक-सांस्कृतिक-राजनैतिक पाइलाहरू जारिनै छ। लालीगुराँस पत्रिका अब लालीगुराँस समूहको रूपमा परिचित भइसकेको छ।    
कस्तो समयबाट हामी गुज्रिरहेका छौँ त? कस्तो समय बिताउदै छन् त हाम्रा मानिसहरू, हाम्रा समाज अनि हाम्रा देशले? एक करोड़ पन्ध्र लाखको देश। मुट्ठीभर धनी, ज्यादातर गरीब । शिक्षित कम्ती, ज्यादातर अशिक्षित। बेरोजगार छन् असंख्य, भोलिको दिनमा रोजगारको उपाय पाउनेछन् भन्ने ग्यारेन्टी नहुनेहरूको सङ्ख्या करोड़ौं छ। रोजगारको मौका, सही ज्याला, सम्मानसित काम गर्ने अधिकार क्रमशै दुर्लभ भइरहेको छ। त्यसबाहेक पनि समाजमा छ अझै हजारौँ हेलचेक्र्याइ! 
समाजमा चलिरहेको जातिगत-लैङ्गिक-जातपात-राष्ट्रियताको असमानता र नानाथरिका वर्चस्वले समाजको सही विकासको बाटोलाई नै रोकिराखेको छ। हामी, केवल हामीमात्रै किन, प्रत्येक सचेत व्यक्ति वा समूहले नै आ-आफ्नो प्रकारले यस निस्सासिने स्थितिबाट मुक्ति खोज्दै प्रगतिको बाटो हिँड़्ने प्रयास गर्छन्, अनि यो बाटो युक्तिसङ्गत विचारले मात्रै बनिन सकिन्छ।
तर यस अग्रगतिको बाटो हिड़्न समाजको बहुमतको चासो रहे तापनि यस हिड़़ाइलाई रोक्ने प्रयास गर्नेहरू पनि लछ्याप्रै छन्। सङ्ख्यामा तिनीहरू मुट्ठीभर भए तापनि तिनीहरू सत्ताको बलले शक्तिशाली, पैसाको जोरले प्रभावकारी, आममानिसका अज्ञानता र असहायताको फाइदा उठाउने मिथ्याचारी हुन्। 
जसको उदाहरणहरू हामी चारैतिर देखिरहेका छौँ। जुन जुन कुराहरू आममानिसलाई चाहिन्छ, त्यसलाई पुरा गर्ने त कुरै छैन बरु त्यसको विपरीतमा टुङ्गो न फेदको हाँस्यास्पद कुराहरूले मानिसलाई फसाउनु, जोरजबरजस्ती गरेर मागलाई दबाउनु, लोभ्याएर जनतालाई बाटो विचलित गराउनु आदि नै यी स्वार्थी शासकहरूको कौशल हो। 
आफै हेर्नु होस् न, जब पनि यस क्षेत्रमा उत्पीड़ित राष्ट्रियताको निम्ति बेग्लै राजनैतिक संरचनाको मांग छ, तब जातजातको बोर्ड गठन हुँदैछ। जब दार्जीलिङ्गमा आमजनताले पिउने पानीको समस्याको समाधान खोजिरहेका छन्। तब त्यही भएको अलिकति पानीको स्रोत मानिने टाइगर हिल्समा कङ्क्रिटको टुरिस्ट लज बनाउने कुरा चल्दैछ! चिया मजदुरहरूलाई न्यूनतम ज्यालाको त कुरै छैन पाउनुपर्ने सहुलियतहरू समेत काट्ने षड़्यन्त्र भइरहेको छ! बगानहरू सुचारू रूपमा चलाउनको साटो बेपर्वाह भ्रष्टाचारी मालिकहरूलाई छुट दिँदै मजदुरहरूलाई राहत मात्रै दिएर स्थितिलाई सामान्य बनाउने प्रयास गर्दैछ। तर यी सबै अधिकारको मागहरू र त्यसप्रति हेलचेक्र्याइको परम्परामा एउटा हुनेहरू र नहुनेहरूको द्वन्द्व छ, युक्तिसङ्गत चिन्तन र कार्यन्वयन प्रक्रिया छ। समाजको अग्रगति यो युक्तिसङ्गत विचार-चिन्तन-मनन र सङ्घर्षको बाटोबाटै बढ़्दै जान्छ। शासकहरूको लागि यो प्रक्रिया खतरनाक हो। त्यस कारण तिनीहरू यस युक्तिसङ्गत विचारको जगलाई नै कहिलेकाहीँ, खासगरी तिनीहरूका सङ्कटको घड़ीमा चकनाचुर पार्न खोज्छन्। आजको समय त्यस्तै एक अनुभवबाट गुज्रिरहेको छ। 
देशको केन्द्र सरकारमा सत्तारुढ़ शक्ति एकैसाथ उग्र-साम्प्रदायिक र पुँजीपतिहरूको दलाल हो। तिनीहरू सत्तामा बसेदेखि नै यस युक्तिसङ्गत विचारमाथि आक्रमण भयानक रूपले बढ़ेको छ। यस शक्तिले स्वतन्त्रता संग्रामको बेलामा देशसँग विश्वासघात गऱ्यो तर आज यही शक्तिले न्यायिक अधिकारको आवाज उठाउनेहरूलाई देशविरोधीको स्ट्याम्प लगाउँदै कुल्चन्दैछन्। समाजवादी र नास्तिक विचार बोक्ने भगत सिंहलाई आफूझैँ उग्र-राष्ट्रवादी देखाउन खोज्छन, तिनीहरूको शहीद दिवसको तारिकहरू समेत बद्ली रहेका छन् र भ्यालेन्टाइन्स डे सँग दाज्ने प्रयास गर्दैछन्! यिनीहरू रोजगारको माँग सामु गो-हत्याको कुरा दोहोऱ्याउछन्, गलत आर्थिक नीतिको कुरा अगाड़ि देशप्रेमको देखावटी गर्छन्। सही विकास किन नभएको प्रश्न गर्दा अल्पसंख्यकप्रति घृणाको वाक्य उच्चारण गर्छन्। देशको जाति-धर्म-भाषा-संस्कृति र मानिसको इतिहासलाई मनपरी प्रकारले फेरबदल गरेर आफ्नै व्याख्या सिकाउन खोज्छन्!
हाँसउठ्दो लाग्छ, तर यो युक्तिसङ्गत विचार प्रक्रियालाई, त्यसको विकासलाई खतम पार्ने षड़्यन्त्र हो। यस्तो घड़ीमा कालोलाई कालो, सेतोलाई सेतो भन्ने आँट देखाउनु नै समयको आवश्यकता हो !
  

No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...