सुमित देवान
देब्रे होस् वा दाइनेपन्थी, सबैजनानै आफैलाई भगत सिंहको पक्षमा राख्न चाहन्छन्..! इतिहासमा एकदमै कमजोर कतिपय विद्यार्थीहरूले इतिहासलाई अर्कै प्रकारले व्याख्या गर्ने प्रयास गर्दैछन्। हिन्दुत्ववादी लश्करलाई थाह छ की उनीहरूको दलमा वैचारिक गुरुको एकदमै कमी छ, राष्ट्रिय स्वयम् सेवक सङ्घले स्वतन्त्रता संग्रामको बेला देखिनै अर्काको प्रतीकलाई उधारो लिएर आफ्नै जस्तै गरेर देखाउने गरेका छन्। तिनीहरूको यसपालिको यस्तो प्रयास केही वर्ष अघाड़ी शुरू भयो जब सरदार पटेल जसले सधै आर.एस.एस.को विषयमा घृणा देखाएका थिए र गुजरातको गृह मन्त्री थिए, तिनको ठुलो मूर्ती गुजरातमा बनाइदिने आग्रह गरे भाजपाले, नरेन्द्र मोदीको भोटको प्रचारको बेलामा। यस भोटको प्रचारको पछाड़ि पटेलको आर.एस.एस.को राष्ट्रियतावाद प्रतिको प्रश्न कहिले प्रकाशमा आएन। गृह मन्त्री हुँदा तिनले यो सङ्घलाई निषेध समेत गरेका थिए!
बाजपाई सरकारको बेलामा पनि भगत सिंहलाई आफ्नो बनाउने प्रयास भएको थियो। त्यति बेला दक्षिणपन्थीहरूले भगत सिंहको आर्य समाजी पुर्खालाई देखाएर तिनलाई पनि गेरुवा रङ्गमा रंगाउन खोजेका थिए। जब 2004 मा बाजपाई सरकार सत्ताच्युत भयो त्यस बेलादेखि भगत सिंहलाई हिन्दुत्वको नायकको रूपमा देखाउने प्रयास अलिक चिसो भयो। तर 2014 मा फेरी केन्द्रमा सरकार गठन गरे पश्चात् भाजपा फेरी पुरानै प्रयासमा लागेको छ। अचानक तिनलाई 'देश भक्त', 'राष्ट्र भक्त' यहाँसम्म की 'विराट पुरुष'को संज्ञाले भरिएको भगत सिंहको पोस्टरहरू देखा पर्न थाल्यो। त्यसपछि खबरकागज, न्युज च्यानल, रेडियो अनि एक दुई वर्ष अघाड़ी वाट्सएप द्वारा देशलाई याद दिलाउन थाले की 'हामी'ले 'भगत सिंह, सुखदेव र राजगुरुको बलिदान' लाई बिर्सी सकिका छौँ तर ‘भ्यालेन्टाइन्स डे’ मनाउनमा मस्त छौँ। हल्लो! भगत सिंह र भ्यालेन्टाइन्स डे? हजुर यो चलाकी प्रथमपल्ट देखिएको थियो 2014 मा र यही कुरा प्रत्येक वर्ष फरवरीमा दोहोरिने गर्छ। हिन्दुत्ववादीहरूको भ्यालेन्टाइन्स डे प्रतिको घृणाको भाव यहाँबाट सहजै बुझ्न सकिन्छ। त्यसैले आफ्नो घृणा व्यक्त गर्न भगत सिंह, सुखदेव र राजगुरुको बलिदानलाई 23 मार्च देखि 14 फरवरीमा सारियो! हामी सबैले इतिहासमा पढ़ेका हौ की ती तीनजनालाई ब्रिटिश सरकारले 23 मार्च 1931 मा फाँसीमा झुण्डाएको थियो, 14 फरवरी भ्यालेन्टाइन्स डे-मा होइन। भगत सिंह र भ्यालेन्टाइन्स डे को सम्बन्ध इतिहासले समर्थन गर्दैन। हामीले अघिनै भनिहाले की यिनीहरू इतिहासमा एकदमै कमजोर छन्!
भगत सिंह भारतको महान् स्वतन्त्रता संग्रामी, क्रान्तिकारी साम्यवादी मात्रै होइन मार्क्सवादी चिन्तक पनि थिए। दुर्भाग्यवश यी कुराहरू मानिसहरू जान्दैनन् कारण भगत सिंह र उसको कमरेड चन्द्र शेखर आजादको प्रसिद्धिलाई धेरैपल्ट धेरैजना प्रतिक्रियावादी, साम्प्रदायिक नेताहरूले आफ्नो स्वार्थको निम्ति उपयोग गरेका छन्।
भगत सिंहले आफै लेखेका छन्— “मेरो नास्तिकता भर्खरैको होइन। म जब अनभिज्ञ बालक थिए त्यति बेला देखिनै मैले ईश्वरमा विश्वास गर्न छोड़िसकेको थिए। म सानो छदा खुबै लजालु किसिमको थिए भविष्यको बारेमा साह्रै सकारात्मक सोच मेरो थिएन, त्यति बेला म पुरापुरी नास्तिक बनेको थिइन। मेरो बाजे जसको देखरेखमा म हुर्के, एक जना कट्टर आर्य समाजी हुनुहुन्थ्यो। म यस्तै कट्टर आर्य समाजी वातावरणमा हुर्केको हु। आर्य समाजी अरू जे भए नास्तिक भने होइनन्। पछि गएर म आफ्नो बाबासँग बस्न थाले। उहाँ एक जना उदारवादी मानिस हुनुहुन्छ जहाँसम्म कट्टर धर्मको कुरा आउँछ। उहाँको शिक्षाको कारणले मैले स्वतन्त्रता संग्राममा आफ्नो जीवन दिने निश्चय गरे। असहयोग आन्दोलनको बेलामा म न्याशनल कलेजमा भर्ना भए। त्यहाँ गएर मैले खुल्ला रूपमा धर्मको समस्या र ईश्वरको बारेमा चर्चा र समीक्षा गर्न पाए।”
भगत सिंहको वक्तव्य 33 करोड़ देवी देवता पुज्ने दक्षिणपन्थीहरूसँग कोशौ टाढ़ा छ र युवा कार्ल मार्क्सले 1844 मा लेखेको— “धर्म संसारको सामान्य सिद्धान्त हो, यसको विश्वकोशझैं सारांश हो, यसको तर्कको लोकप्रिय रूप हो, यसको अध्यात्मिक अड़ानहरूका अभिव्यक्ति हो, यसको उत्साह हो... धार्मिक अभ्यासमा कष्ट सहनु एकैसाथ यथार्थको दुखको अभिव्यक्ति र त्यसविरुद्ध प्रतिवाद पनि हो। धर्म शोषित मानिसहरूको हाय हो, मुटुहीन संसारको मुटु हो।” कुराको नजिक छ।” [“Religion is the general theory of that world, its encyclopaedic compendium, its logic in a popular form, its spiritualistic point d’honneur, its enthusiasm….Religious distress is at the same the expression of real distress and also the protest against real distress. Religion is the sigh of the oppressed creature, the heart of a heartless world.”]
यी उद्धरणहरूले आस्तिकहरू द्वारा भगत सिंहलाई 'अपहरण'को षड़्यन्त्रबाट रोक्न त सक्छन्! अझ भएन भने आर.एस.एस-को मुख्य चिन्तक एम.एस.गोलवालकर-ले ‘विचार-सौरभ’ (Bunch of Thoughts) मा भगत सिंह, सुखदेव र राजगुरुको बलिदानको बारेमा लेखेका छन्— “शहादतलाई त्यसरी बहादुरी साथ अप्नाउने यी युवकहरू महान् व्यक्ति हुन् र उनीहरूको दर्शन पनि पौरूषले भरिएको छ, त्यसमा कुनै सन्देह छैन। तिनीहरू साधारण मानिसहरू भन्दा, जो आफ्नो भाग्यमा भर परेर भय र अकर्मण्यतामा जीवन बिताउछन्, पक्का पनि धेरै माथि छन्। तर पनि त्यस्तो मानिसहरू हाम्रो समाजमा उच्च मानिन्दैनन्। हामीले तिनीहरूको बलिदानलाई सबैभन्दा माथिल्लो दर्जाको बलिदान मान्दैनौ जसलाई अरू मानिसहरूले त्यसको अनुसरण गरोस्। कारण यी तीनजनाले तिनीहरूको लक्ष्यसम्म पुग्न बिफल भएका छन् र विफलताको मतलब हो तिनीहरूमा डरलाग्दो दोष थियो।” यो उद्धरण त्यस मानिसकोबाट हो जसले भी.डी. साभरकरको विचारसँग सहमति राख्थ्यो। भी.डी. साभरकरले बारम्बार ब्रिटिश सरकारसँग क्षमापत्र चढ़ाएको थियो, अनि ब्रिटिश साम्राज्यलाई यता चिरकालसम्म बरकरार राख्नमा सहायता पनि गर्नेछ भन्ने बाचा दिएको थियो!
इतिहासको कस्तो कमजोर विद्यार्थी हुन् यिनीहरू! यस्तो विकृत परिवर्तित तथ्य, यस्तो हास्यास्पद अनुकरण!
No comments:
Post a Comment