जब सबैले दसैँ-तिहारको चाड खुसीसँग मनाइरहेका थिए तब दार्जीलिंग पहाड़स्थित अल्केमिस्ट ग्रूपको तीनवटा बगानका श्रमिकहरू बोनसको मांग गर्दै कहिले सिलिगुडी जे.एल.सी त कहिले दार्जीलिंग ए.एल.सी को अफिसमा कुदिरहेका थिए। २१०५ देखिकै कठिन परिस्थितिमा अल्झिरहेका अल्केमिस्टका श्रमिकहरू यसपालि त झन् दसैँ-तिहार पनि नमनाउने परिस्थितिमा पुगे। मालिक पक्षबाट हेलचेक्र्याइँ अनि विश्वासघातको बारम्बार शिकार बनिरहेका छन् त्यहाँका श्रमिकहरू। त्यति मात्र नभएर युनियनका अगवतहरूले पनि मालिकसंग मिलेर ठुलो षड्यन्त्र गरेर त्यहाँका श्रमिकहरूलाई बोनसदेखि वञ्चित गरेका छन् भन्ने आरोप आममजदूरहरुले बताएका छ्न्।
चिया उद्योगमा सङ्कटको नाम गर्दै एक पछि अर्को बगान धारावाहिक क्रममा बन्द हुँदै आइरहेको छ। जसको क्रममै अल्केमिस्टको बगानहरु पनि २०१५ देखि बन्दमय अवस्थामा चलिरहेको छ। तर चिया उद्योगमा सङ्कट कुनै नयाँ कुरा होइन। नव उदारबादको लहर पछि भारतका सङ्गठित उद्योग क्षेत्रहरूमा सङ्कट हुँदै कारखाना वा बगानहरु बन्द हुन थालेको ९०को दशक देखिनै हो। लगभग सन २००२ देखि उत्तर-बंगालका चिया उद्योगहरूमा पनि सङ्कट सुरु हुन थाल्यो अनि एक पछि अर्को बगान बन्द हुन थाल्यो। यसलाई नव-उदारवादको नीति, चिया उत्पदनमा असंगठित क्षेत्रको बडोत्तरी अनि मालिक पक्षबाट श्रमिकहरू प्रति अमानवीय शोषणको प्रतिफल भन्दा गलत नहोला।
२५७२ जना श्रमिकहरू भएको अल्केमिस्ट ग्रूपका चिया बगानहरुमा जम्म ८ वटा डिभिजन छ। जसको चिया धोत्रे एंड कोलेजभ्याली प्राइभेट लिमिटेडले सञ्चालन गर्छ। अल्केमिस्ट ग्रूपका मालिक तृणमूल कांग्रेसको राज्यसभा सांसद के.डी सिंहले जब बगान चलाउथे तब अल्केमिस्टको सी.इ.ओं सुजित भट्टाचार्य थिए। बीचमा बगान छोडेर अल्केमिस्ट ग्रूपले सुइकुच्चा ठोक्यो। निकै हल्ला भएपछि सरकारी हस्तक्षेप भित्रै अहिले ट्राइडेन्ट एग्रो भन्ने कम्पनीलाई बगान हस्तान्तरण भएपछि ए.के अग्रवालले चलाई रहेका छन्। अचम्मको कुरा के छ भने बगान हस्तान्तरणको प्रक्रिया डिस्ट्रिक्ट मजिस्ट्रेटको निगरानीमा हुनु पर्ने, त्यो पनि भएन। साथै हस्तान्तरणको दस्ताबेज न बगानका कर्मीहरू सँग स्पष्ट छ न सरकारी प्रशासन सँग नै। १२ अगष्ट २०१६को दिन युनियनका प्रतिनिधिहरु अनि मालिक मिलेर जे.एल.सी अफिसमा बगान हस्तान्तरण गरियो जसमा सम्झौता कस्तो छ त्यो पनि श्रमिकहरूलाई खुला जानकारी थिएन। १६ अगष्ट देखि फेरी बगान चालु भयो। श्रमिकहरूको हराइसकेको आस्था फेरी फर्केर आउन थाल्यो। १७ लाख रुपैयाँ बगानको खातामा आयो जसले बगानमा काम गर्दै गरेको श्रमिकहरूको हाजिरी अनि फिस स्टाफहरूको आधा तलब दिइयो। त्यस पछि दसैँ अघि २५ लाख रुपैयाँ आयो जो हाजिरीको रूपमा नै वितरण गरियो। अक्टोबरमा बोनसको कुरा उठ्न थाल्यो। पहाड साथै तराई-डुवर्समा १९% बोनस तय भयो। तर अल्केमिस्टका बगानहरूमा कुनै बोनस आएन। श्रमिकहरू हतास भएर जिज्ञासा गर्दा दिएको २५ लाख रुपैयाँ नै बोनस हो भन्ने कुराहरू पनि उठ्न थाल्यो। दसैँ त्यसरी नै बित्यो। १९ अक्टोबर २०१६ को दिन सबै युनियनहरू मिलेर बनाएको संयुक्त कमिटिले दार्जीलिंग ए.एल.सी अफिसमा मालिक पक्षलाई बोनस विषय छलफल गर्न बोलाएको भयो। तर मालिक पक्षबाट कोही पनि प्रतिनिधि उपस्तित भएनन्। आक्रोसित श्रमिकहरूले बाटो घेराउ गरी ठुलो विरोध प्रदर्शनी गरे। भित्र अफिसमा भने यूनियनका प्रतिनिधिहरू फोन मार्फत मालिकपक्ष सँग बोनसको सम्झौता गर्दै ११.३३% बोनस पाउने निष्कर्षमा पुगे। लाचार श्रमिकहरू वाध्यता पूर्वक राजी भए। तय गरेको ११.३३% बोनसमा पनि ८.३३% तिहार अघि दिने अनि ३% तिहार पछि दिने कुरा भयो।
तिहार आयो अनि गयो र आजको दिन सम्म बोनसको एक रुपैयाँ पनि श्रमिकहरूले पाएका छैनन्। युनियनका प्रतिनिधिहरुबाट पनि श्रमिकहरूले आस्था हराइसकेका छन्। २२ नोवेम्बर २०१६मा कलकता हाइकोर्टमा मालिक पक्षलाई प्रशासनले हस्तान्तरणको दस्ताबेज प्रस्तुत गर्ने आदेश दिएको छ। त्यसको प्रतीक्षामा नै बसिरहेका छन् श्रमिकहरू। सङ्घर्षको बाटोमा ओर्लेका छन् अल्केमिस्ट बगानका श्रमिकहरू। युनियन अनि प्रशासन दुवै बाट हतास श्रमिकहरूले आफै सङ्घर्ष गर्ने संकल्प लिएका छन्।
बोनस लिएर दुखलाग्दो स्थिति अझै थुप्रै बगानको मजदुरहरुलाई झेल्नुपयो। कलकता वा दार्जीलिङमा मिटिंग गरेर एउटा राशि तय गर्छ र बगानमा आएर अर्कै दिने परम्परा चलिरहेको छ। यो वर्ष चिया उद्योगमा रेकर्ड मुनाफा भएको छ तरैपनि बोनसको राशी घटाएर मालिकहरुले आफ्नो पहिचान दिइसकेका छन।
वर्तमान चिया उद्योग बारे चर्चा गर्दा डंकन्सको कुरा आइहाल्छ। डंकन्स-गोयेंकाको बगानहरूको हालत अघि देखिनै गम्भीर थियो। अहिले फेरी डंकन-गोएंकाले बगान चलाउन, प्रसासनले पनि आदेश दिएका छन्। प्राय २ सालको बन्दको स्तिथि पछाडी, डंकन्सले आफ्नु ७ वटा बगान खोल्ने निर्णय लिएको छ। बीरपारा चिया बगान नोवेम्बर २३ देखि अनि अरू ६ वटा (तुलसीपारा, हन्टुपारा, दुम्सीपारा, लंकापारा, डिमडीमा अनि गरगन्डा) २०१६ सालको बीचमा खोल्ने सूचना दिएको छ डंकन्स ग्रुपले। बगान खोल्ने बित्तिकै सबैजना मजदुरहरुलाई एक हजार रुपिया दिने पनि कुरा गरेको छ। तर इतिहास हेर्दा अनि पहिलेको परिस्थितिहरू सम्झंदा श्रमिकहरूले कुन आधारमा यस घोषणा मानि लिने अनि विश्वास गर्ने त्यो एउटा ठुलो चिन्ताको बिषय हो। आखिरमा, इतिहास साक्षी छ कि आखाँ छोप्नु र बोरा ओडाउनुनै त यिनीहरुलाई मज्जाले आउछ!
No comments:
Post a Comment