Friday, December 30, 2016

सिन्कोना बगान र मजदुर

बिपल रसाइली

इतिहासमा चिया श्रमिकसंघ गठनको बेलामा यससितै सिन्कोना मजदुरहरू पनि होमिएका थिए। त्यसपछि मजदुरहरूका हित अनि अधिकार खोज्ने अध्याय सिन्कोना मजदुरहरूमा पनि शुरू भयो। दार्जीलिङको मङपू, रोङगू र लाटपञ्चर सितै सन् 1901 सालदेखि कालेबुङ महकुममाको मन्सोङमा पनि सिन्कोनाको खेतीलाई ब्यापकता दिँदै बगान शुरू गरियो। अङ्ग्रेजहरूको मजदुरहरूसितको बर्बर शासनबाट मुक्ति पाए पनि यता बगानका मजदुरहरूले भने हालसम्म पनि राजनैतिक, सामाजिक अनि आर्थिक चटारोबाट निकास पाएका छैनन्। 

दार्जीलिङ पहाड़मा बारम्बार गोर्खाल्याण्डको ब्रान्डमा टुसाउने राजनैति दल, पटक-पटकको आन्दोलन अनि यसले तयार गरेको अस्थिर राजनैति धरातलको समुखिन बन्न परिरहेका छन् बगानका श्रमिकहरू। पहाड़मा हुने विभिन्न राजनैति कार्यक्रमहरूमा पनि विशेष चिया अनि सिन्कोना श्रमिकहरूको सहभागिता रहेको नै हुन्छ। जसलाई यहाँका राजनेताहरूले जनसभाको भाषणहरूमा पनि दाबी गर्ने गर्छन्।

एकाइसौँ शताब्दीसम्म पनि बगानको हावा घरमा झुण्याएको पित्तले धण्टीको 'टवाङ... टवाङ...टवाङ...” गर्ने इसारामा फालिङ्ग लाग्न एकाबिहानै घरबाट निस्किएका मेरो बाबु ‘मन बहादुर’ टवाक लगाएको बेला यसरी गन् गन् गर्छन्। “आ...नेताहरू पनि थुप्रै देखियो, उनीहरूको जुलुसमा पनि हिँड़ियो, नारा लगाइयो, भाषण पनि धेर सुनियो, तर कसैले पनि केही नाप्न चैँ सकेन। यही बगानमा हाम्रा बाजे पुर्खाहरूले पसिना बगाए। हामीले पनि दस नङ्ग्रा खियायौँ। थुप्रै नेताहरू बनायौँ तर हामी लेबर चैँ जहिंको त्यहीँ नै छौँ। न त हामीले माटो पायौँ, न त बाटो नै।” भन्दै अरूलाई सुनाउँछन्। हो, बगानको कथा अनि व्यथाहरू यस्तै छ। यस्तै ब्रान्डेट सपनाहरू पसलहरूको हेङ्गरमा झुण्डी नै बस्छ। त्यही ब्राण्डको समान किन्न मन बहादुरहरूलाई माङ्गो पर्दा नै यसरी गन् गन् गरेका हुन्।

करिब एक दशकदेखि बगानको माटोमा यहाँका पूर्वजहरूको पसिना बगेको छ। हालसम्म चार पाँच पुस्ता बगानका श्रमिकहरू नै रहेका छन्। यहाँका प्रायः जसो परिवारहरू बगानको मजदुरीमा नै निर्भर रहेका छन्। सामाजिक अनि अर्थिकरूपमा पनि उति सबल छैनन्। जसको प्रभाव प्रायः सबै पुस्ताहरूमा पर्दै आइरहेको देखिन्छ। यस्ता गम्भीर विषयहरूबारे नागरिक-समाज पनि उति सचेत छैन। यसका लागि नयाँ पुस्ताका युवा गम्भीर बन्न पर्ने अवस्था रहेको देखिन्छ। 

राजनैति उत्तरचड़ाव अनि सामांजिक विसङ्गतिको सोझो प्रभाव बगानका निमुखा जनताले नै झेल्दै आइरहेका छन्। जब, जब क्षेत्रीय राजनैति उत्तरचड़ावहरू देखा पर्छन् तब कतिपय जिम्मेवारहीन् प्रतिनिधि अनि भालेमुङ्ग्रे अगुवाहरूको कुचक्रको सिकार पनि उही श्रमिकहरू नै पर्ने गर्छन्। यता समाजको आँखाहरूमा धुलो छेप्ने अप्परचुनिष्ठहरूका रग रगी पनि यही समय नै हुन्छ। कुरा आयो उही राजनैतिक दलहरूले तयार गरेको मजदुर सङ्गठनहरू जसलाई हाल बगानको नै एक निकाय झैँ रहेको छ। मजदुहरूको समस्यहरू केवल चुनाव प्रचारका पोस्टरहरूमा मात्र समित राखिदिएका छन् - ठेकादारहरूले। मजदुरहरूले युनियनलाई दिएको चण्डाको साटो उनीहरूले केवल झन्डा मात्र पाइरहेका छन्। 

निम्नतम् रोज, स्वस्थ्या सुविधा, गुणस्तरिय शिक्षा, रोजगार जस्ता विषयहरू मजदुर परिवारकहरूको मूलभूत समस्या हो। यस दिशातर्फ यहाँका राजनैतिक दलहरूका नजर उही नै हो। तर भोटको समय भने विभिन्न दलहरूको मेनिफेस्टोहरू यस्तै बुँदाहरूले भरिएका हुन्छन्। बगानका श्रमिकहरू बसोबासो गर्ने पुर्ख्याउली जमिनको पर्चा पट्टाको कुराले यस वर्ष बजारले निकै चर्चा बटुलेको थियो। आजभोलि कुनै राजनैतिक दलको केन्द्रीय समितिको बैठक या सरकारी दफ्तरको साटो गाउँका कुनै रक्सी पसल अनि हावा घरहरूमा यस मुद्धाको गम्भीर चर्चा भइरहेको देखिनेछ। सोही विषयलाई यहाँको क्षेत्रीय दलहरूले पनि चुनावी घोषणा पत्र बनाएको थियो। तर चुनावको हावासितै यो मुद्धा कुनै दुलोमा पसेको जस्तो छ। यस विषयले पनि श्रमिकहरूको हित अनि अधिकारको लागि यहाँको राजनैतिक दलहरू कतिको संवेद्धनशील छ भन्ने कुरा प्रष्टाएको छ।

No comments:

Post a Comment