छेवाङ योञ्जन
समाज, राजनीति अनि साहित्यमाझ एक-आपसमा नङ र मासुको सम्बन्ध छ। एउटा समाजलाई विकासको चरम बिन्दुमा पुयाउन त्यस समाजको राजनीतिले भाइटल रोल खेलेको हुन्छ भने समाज अनि राजनीति दुवैलाई सुमार्गमा दोह्रयाउन साहित्यिक एवं बुद्धिजीवी जमातको जिम्मेवारी अहम हुन्छ भन्नुमा कुनै दुई मत नहोला। विश्वभरि छरिएका कुनै पनि जातिको सामाजिक विस्तारको इतिहास पहिल्याउँदा राजनीति अनि साहित्यले नै त्यस जातिको विकासको निम्ति प्रत्यक्ष औ परोक्षरुपमा भूमिका निभाएको पाइन्छ। यति मात्र होइन कतिपय विद्वानहरूले त राजनीति अनि साहित्यलाई समाज परिवर्तनको निम्ति प्रयोग गरिने एउटा हतियार नै ठानेका छन्। असल राजनीति अनि दुर्दर्शी साहित्यिक सोचको कारण नै आज पश्चिमी देशहरूले विश्वमा आफ्नो तीव्र विकासको चमत्कारहरू देखाइरहेका छन्। यसैले समाजिक, राजनैतिक साथै साहित्यिक विकासमा पश्चिमी देशहरूले हाम्रो तुलनामा सयगुणा बढी फड्को मारिरहेको छ। पश्चिमी देशहरूमा समाज अनि राजनीतिलाई सही बाटोमा दोहोयाउने काम बुद्धिजीवी एवं साहित्यिक जमातले गरिरहेका छन्। बुद्धिजीवी, लेखक एवं साहित्यकारहरूको साहसिक आलोचनाको कारण नै पश्चिमी देशवासीहरूमा आफ्नो समाज, राजनीति अनि साहित्यप्रति सहजै चेतनाको भावना उत्पन्न भएको हो। किनकि झुटो राजनीति र साहित्यको निन्दा गर्ने उनीहरूले एउटा असल संस्कार पालेका छन्। यसैले समाज अनि राजनीतिलाई लगाम लगाउने एउटा मात्र बस्तु हो साहित्य। साहित्य भन्नाले केवल वाङ्मयलाई मात्र नलिएर समाज सचेत व्यक्तिहरूको एउटा झुण्डलाई नै मान्न पर्ने हुन्छ। कारण साहित्यले समाजको दर्पणको काम गर्छ भने साहित्यलाई दह्रो बनाउने काम समाजको बुद्धीजीविवर्गले गरेको हुन्छ। यदि बुद्धिजीवीहरूले आफ्नो समाज अनि राजनीतिलाई छाडा छोडने काम गर्छन् भने त्यस जातिको विकासमा पूर्णविराम लाग्नसक्छ भन्दा कुनै अप्ठयारो नहोला। यहाँ विश्वसाहित्य अनि राजनीतिको चर्चा गर्नअघि आफ्नै क्षेत्रमा देखा परिरहेका यस प्रकारका समस्याहरूमाथि प्रकाश पार्न अनिवार्य ठहर्दछ। बुद्धिजीवी जमातले छाडा छोडेको कारण अहिले दार्जीलिङ पहाड चिन्तजनक अवस्थामा पुगेको छ। समाज अनि राजनीतिलाई दिशानिर्देश गर्न के यहॉंका बुद्धिजीवी जमात अनि साहित्यकारहरूले सही भूमिका निभाइरहेका छन् त? हाल यो एउटा ताजा प्रश्न भएर खडा भएको छ पहाडको राजनैतिक परिवेशमा। विगत 6 वर्ष अघिदेखि हाम्रा समाजका सचेत बुद्धिजीवीहरूले यहॉंको समाजिक अनि राजनैतिक उतर-चडाउबारे के-कस्ता प्रकारले मनथन गरिरहेका छन्? साधरण जनतामा राजनीति चलखेल अनि यसको दुरगामी प्रभावमाथि अनुमान लगाउने क्षमता प्रायः त हुँदैनन् पनि यसैले यहॉंका जनतालाई राजनैतिक दलहरूले केवल व्यक्तिगत स्वार्थको निम्ति मात्र प्रयोग गरिरहेका छन्। तर राजनैतिक दल अनि राजनेताहरूको क्रियाकलापमाथि बुद्धिजीवीहरूको सही नजर पर्नु पर्ने हो। यदि जनतालाई अन्धकारमा राख्ने राजनीति हुँदैछ भने त्यसको सही आलोचना बुद्धिजीवी जमात एवं साहित्यकारहरूबाट हुनु पर्ने हो। तर यहॉं सो भइरहेको छैन। आजभन्दा 26 वर्षअघि यहॉंको राजनीति अनि कुव्यवस्थाको आलोचनामा समाज सचेत व्यक्तिहरूले साहसिक कलम चलाएका थिए। 20 वर्षे आयु पुगिसकेका त्यसताकको तानासाही व्यवस्थालाई ध्वस्त पार्नको पछि अनुकूल समयमा नै बुद्धिजीवीहरूले आफ्नो साहसिक लेखहरू जनता समक्ष पुयाउनेको ठोस् उदाहरणहरू छन्। यस्ता कुव्यवस्था विरुद्ध त्यसताकको लेख, आलोचना आदिले नै जनचेतनाको काम गरेको थियो। फलस्वरुप दागोपाप जसस्तो शक्तिशाली तानाशाहि व्यवस्थालाई विफल पार्नमा सहयोग पुगेको थियो। तर समय अनि परिस्थितिको परिवर्तन साथ-साथै बिस्तारै हाम्रो समाजमा राजनैतिक आलोचनाहरूको खॉंचो देखापर्न थालेको छ। विगत 6 वर्ष यतादेखि स्वास्थ्य राजनैतिक आलोचनाहरूदेखि जनसाधरण बिमुख भइरहेका छन् भन्दा कुनै आपत्ति नहोला। समाज अनि राजनीतिमा दिन प्रतिदिन उताड-चडाउहरू देखा परिरहन्छ। तर यस्ता घटनाहरूको ठिकसित विश्लेषण गरी सही निचोड जनता समक्ष राख्नेे विज्ञजनहरूको कमी हुँदै गइरहेको हामी अनुभव गर्नसक्छौं। विशेष गरी हाम्रो समाजमा राजनैतिक विश्लेषकहरूकोे कमी रहेको कारणले गर्दा पनि राजनैतिक दलहरूले आफ्नो मनमानी गरिरहेको हुनसक्ने अनुमान लगाउन सकिन्छ। किनभने, राजनीतिको दुरगामी प्रभावबारे जबसम्म विशलेषकहरूले खुलेर लेख्दैनन् तबसम्म दलहरूले आँखा बन्द गरेर आफ्नो सत्ताको घोडा अघि बढाइ नै रहन्छ। हुन त पहाडमा स्वास्थ्य आलोचना पचाउने माह्वोल छैन। कुनै पनि विषयमाथि विशलेषण गरे जाति विरोधीको संज्ञा दिएर समाज वहिष्कार गर्ने प्रथा रहेको पहाडमा राजनैतिक दल अनि नेतृत्वहरूकोेे क्रियाकलापबारे आलोचना गर्नु भनेको एउटा चुनैतीपुर्ण कार्य नै हो। तर लेख्नेे माह्वोल छैन भन्दैमा राजनैतिक अत्याचारको मुकदर्शक भएर बस्नु भनेको पनि एक प्रकारको अमानवीय कार्य नै हो। समयमा नै बुद्धिजीवीहरूले पहाडको समाजिक अनि राजनैतिक दुवै पक्षमाथि असल विश्लेषण नराखे यहॉंका जनताले प्रत्येक पटकको राजनैतिक उताड-चडाउमा धोका खानेछन्। एउटा असल समाज निर्माणको निम्ति राजनैतिक अनि गैर-राजनैतिक सङ्घ-संस्थाहरूको भूमिका महत्त्वपूर्ण मानिन्छ। यसैले यी दुवै राजनैतिक दल अनि सङ्घ-संस्थाहरूलाई सही दिशामा लैजाने दायित्व समाज सचेत व्यक्ति एवं बुद्धिजीवीहरूको हो। तर हाम्रो दार्जीलिङ्गे समाजमा भने बुद्धिजीवीहरू केवल ब्राण्ड-को रूपमा मात्र विकसित भइरहेका छन्। सॉंच्चै पहाडमा बुद्धिजीवीहरूको आ-आफ्नो ब्राण्ड छन् भन्दा कुनै फरक पर्दैन। आफ्नो ब्राण्डको आधारमा नै बुद्धिजीवीहरूले समाजमा स्तर बनाइराखेका छन्। यति मात्र होइन राजनैतिक दलहरूमा पनि बुद्धिजीवीको मान्यता लिई निक्कै ठुलो-ठुलो पदभार लिएर उनीहरू बसेका छन्। तर पद अनि मान्यता अनुसार यी बुद्धिजीवीहरूको कार्यप्रणाली भने ठिक उल्टो रहेको छ। दलको कुकार्य अनि दलभित्रको अन्तरकलहहरू लुकाउन अनि सोझा जनतालाई आफ्नो दलको दास बनाउनमा मात्र उनीहरूले आफ्नो विवेकको प्रयोग गरिरहेका छन्। राजनैतिक दलहरूलाई सही निर्देशन गर्नको साटो बुद्धिजीवीहरूलाई नै उल्टो दलहरूले मोहरा बनाएर प्रयोग गरिरहेका छन्। यसैले बुद्धिजीवीहरू केवल राजनैतिक दलहरूको मोहरा अनि ब्राण्ड मात्र भइरहेका छन्। वास्तवमा आफूहरूले निभाउनुपर्ने भूमिकामा भने उनीहरू शुन्यप्रायः रहेका छन्। कतै बुद्धिजीवीहरूले नै राजनीतिक दलहरूलाई विपरीत दिशा तिर त दोहोयाइ रहेका त छैनन्? अहिले आम मानिसमा पनि यस्ता प्रश्नहरू उठ्न थालेका छन्। हुन त समाजमा मान्यता पाएका वरिष्ट बुद्धिजीवीहरूले नै खुलेेआम राजनैतिक दलहरूको कुकर्महरूलाई डाक-छोप गर्ने काम गरेपछि उनीहरूको चलखेलबारे आम जनतामा हल्ला फैलिनु सवभाविक हो। वर्तमान स्थितिमा हाम्रा बुद्धिजीवीहरूले समाजमा आफ्नो छवि कायम गर्न सकिरहेका छैनन्। राजनीतिमा देखा परेको कुसंस्कारहरूलाई दह्रिलो प्रकारले आलोचना गर्नको साटो समाजका दिग्गज लेखक अनि बुद्धिजीवीहरूले यस्ता विषयमा चासो राखेेको देखिँदैन। यसैकारण अचेल पत्र-पत्रिकातिर पनि राजनैतिक लेखहरूको सङ्ख्या घट्दै गइरहेको छ। यसैले हाल आम-मानिसमा राजनीति भनेको अन्धाले हाती छामे जस्तो मात्र भइरहेको छ। राजनैतिक दलहरूको राम्रो अनि नराम्रो पक्षबारे जनता अनभिज्ञ नै छन्। जबसम्म समाजका हरेक सचेत व्यक्ति, बुद्धिजीवी, लेखक, साहित्यकार आदिले आ-आफ्नो स्तरबाट समाजलाई कुमार्गतिर लैजाने राजनीतिको ठिकसँगले व्याख्या गर्दैनन् तबसम्म हाम्रो समाज अनि जाति स्वार्थप्रेरित नेताहरूको दास भई नै रहनेछन। हाम्रो समाज र राजनीति सँग-सँगैै साहित्य पनि दिन-प्रतिदिन पछाडि पर्दै गइरहेको छ। सवार्थप्रेरित राजनीतिको कारण समाजमा देखोपरेको विकृति अनि विसंगतीहरूलाई साहित्यकार अनि सर्जकहरूले अनदेखा गरिरहेका छन्। साहित्यलाई राजनीतिमा मुछ्नु हुँदैन भन्ने किसिमको मतले पनि हाम्रो समाजमा कुराजनीतिले फस्टाउने मौका पाएको छ। किनकि विज्ञजनहरूबाट आफ्नो लेख, कृति आदिमा राजनीतिको नकारात्मक प्रभावबारे स्वास्थ्य आलोचना भइरहेको छैन। राजनीतिको स्वास्थय आलोचना पचाउने क्षमता पहाडको दलहरूमा छैन भन्ने मत पनि हाम्रा बुद्धिजीवी, सर्जक, लेखक अनि साहित्यकारहरूमा स्थापित हुँदै गइरहेको छ भन्ने धारणा पनि धेरैमा पाइन्छ। किनकि, विगतमा सर्जक, लेखक अनि साहित्यकारहरूको छप्परमा राजनैतिक दलहरूले ढुङ्गा बर्साएको इतिहास साक्षी छ। तर दलहरूको तानाशाही तागतअघि आफ्नो सिप चल्दैन भन्नु पनि एउटा कायरपना नै हो। कलमको ताकत अघि विश्र्वको कुनै पनि शक्ति टिक्न सक्दैन यो ध्रुवसत्य हो। यसैले अब पहाडको सामाजिक अनि राजनीतिक दुवै स्तरमा परिवर्तन ल्याउन कलम क्रान्तिको अवश्यक छ। हाम्रो समाज अनि राजनीतिमा देखापरेको विसंगती अनि विकृतिको पोष्टमोर्डम गर्न समस्त लेखक, सर्जक, बुद्धिजीवी अनि साहित्यकारहरूले मुखर भएर आलोचना गर्ने अनि लेख्ने समय आएको छ। राजनीति भन्नसाथै नाक खुमच्याउने पहाडका जनतालाई राजनीतिको सही परिभाषा दिने दायित्व समाजका बुद्धिजीवी, लेखक अनि सर्जकहरूको हो। किनकि, समाज अनि राजनीतिबाट बुद्धिजीवी, लेखक अनि साहित्यकारहरू अलग बस्न सक्दैनन्। ‘सॉंचो साहित्यले त सामाजिक जीवनको सबै पहलु यथार्थवादी रूपले दर्शाउँछ अनि राजनीति मानव समाजको एक अभिन्न अङ्ग हो, अतएव साहित्यलाई राजनीतिबाट कसरी अलग राख्न सकिन्छ?’- स्व. बद्रीनारायण प्रधानको यस भनाइलाई यहॉं प्रस्तुत गर्दै हाम्रा समाजका सम्पूणर्र् बुद्धिजीवी, लेखक, सर्जक, आदि समक्ष समाज अनि राजनीतिबारे असल आलोचना गरेर साहित्य मार्फत मानव धर्म पालन गरौँ भन्ने मत प्रकट गर्दछु।
No comments:
Post a Comment