Friday, December 30, 2016

शतवार्षिकी स्मरण : रुसको नोभेम्बर क्रान्ति

प्रकाश विश्व


सन 1917 को नोभेम्बरमा जुन ‘दस दिनले संसारलाई हल्लाको थियो’, त्यसलाई सम्झिँदै रुसी क्रान्तिको सय वर्षगाँठ मनाउने आयोजना संसारभरि नै चलिरहेको छ। यस वर्षको नोभेम्बर देखि लिएर आउने एक वर्ष, 2017 को नोभेम्बरसम्म त्यस ऐतिहासिक घटनाको पक्ष-विपक्षमा निकै नै चर्चा र बहसको माहौल बनिन्छ होला। तर किन? किन चाहिँ एकसय वर्ष पुरानो एउटा घटनाको सान्दर्भिकता अहिलेसम्म खतम भएको छैन? हामी पनि यस चर्चामा किन आफैलाई गास्न खोज्छौं? खासगरी जुन समयमा सोभियत रसिया नै छैन, चीनले पनि समाजवादको बाटो छोडेको छ? जब यहाँनिर पनि समाजवादको नाम ओड्नेहरूले सत्तामा बसेर जनताको अधिकार कुल्चने कामनै गरेका छन् भन्ने अनुभव जनतामा हाबी छ, त्यस्तो समयमा के छ सयवर्ष पछि रूसी क्रान्ति माथि छलफलको महत्व?

एकपछि एक सरकारको नीतिहरूले वाक्कदिक्क भएका हामी जब रंगी-विरंगी दलहरू हेरे पश्चात् जम्मै व्यवस्था नै सङ्कट हो भन्ने निष्कर्षमा पुग्छौं, तब वैकल्पिक समाज कस्तो, कुन प्रकारको हुनसक्छ, त्यसमाथि चर्चा त हुनै पर्छ। अब वर्तमान समाजको बदलाव र वैकल्पिक समाजको निर्माण माथि सोचविचार गर्नेहरूले कसरी शिक्षा लिन सक्छ रूसी क्रान्तिबाट? 

इतिहासको पन्नाबाट
इतिहासको कुरा भन्दाखेरि, आजदेखि सय वर्ष अघि त्यसताकका रसियामा खटीखाने आमजनताको गुनासोको विस्फोटले गर्दा 1917 को शुरुमा नै जार(राजा)को तानाशाही खतम भएर पहिला अस्थायी मिलिजुली सरकार बन्यो। तर यस अस्थायी सरकारले जनताको आशा-आकांक्षालाई भरपाई गर्नु नसकेको खण्डमा सङ्घर्ष अझै ठुलो र निर्णायक बनिन्दै ग्रेगोरियन क्यालेण्डरको 7 नोभेम्बर (जूलियन क्यालेण्डरमा 25 अक्टोबर) को दिन क्रान्तिको जीतसँगै सोवियत संघात्मक समाजवादी गणराज्य स्थापनाको घोषणा भएको थियो।

सन् 1789 मा फ्रान्सको राज्यक्रान्तिले स्वतन्त्रता, समानता अनि भ्रातृत्वको भावनालाई प्रचार गरेर यूरोपको जनजीवनलाई गहिरो स्तरमा प्रभावित ग󰈀यो। रूसी क्रान्तिको व्यापकता अहिलेसम्मको सबै राजनैतिक घटनाहरूको तुलनामा धेरै विस्तृत छ। यसले केवल निरंकुश, एकतंत्री, स्वेच्छाचारी, जारशाही शासनलाई नै अन्त गरेको थिएन, त्यससित कुलीन जमींदारहरू, सामन्तीहरू, पुँजीपतिहरूको आर्थिक र सामाजिक सत्तालाई समाप्त गरेर संसारमा मजदूरवर्गको प्रथम सत्ता स्थापित गरेको थियो। यो क्रान्ति संसारमा पहिला क्रान्ति थियो जसमा तारिख तय गरेर क्रान्ति सम्पन्न भएको थियो। रूसी क्रान्तिको नेता लेनिनले भन्नुभएको थियो— 6 नोभेम्बर समय भन्दा अगाडि हुन्छ (स्थिति र तयारीको हिसाबले), अनि 8 नोभेम्बर गर्दा ढिलो हुन्छ, हामीलाई 7 नोभेम्बर नै काम शुरू गर्नु पर्छ अनि 7 तारिख नै क्रान्ति शुरू भयो। 

यो कुरा सुन्दा जतिनै अचम्म लागोस्, सङ्घर्षशील जनताको सामुहिक अठोटले, सजग योजनाले अनि युक्तिसङ्गत भविष्य निर्माणको सपना र पाइलाहरूले के गर्नसक्छ, त्यो क्रान्तिको दिन निर्धारण देखि लिएर क्रान्ति पछिको वर्षहरूमा समाज-सम्बन्धित विविध कदमहरूबाट हामी प्रत्यक्ष देखेका छौ। 

आजपनि पुँजीवादले किन डराउछ?
आज धेरै वर्ष भयो, केही दशक नै भनौं, पुँजीवादी व्यवस्थाले आफुलाई ‘सर्वोत्तम’ र ‘अन्तिम’ व्यवस्थाको रूपमा स्थापित गराउने काम जोरतोरले गरिरहेको छ। वैकल्पिक समाज चल्ने उदाहरण हाम्रो सामु छैन। दर्शन-अर्थनीति-समाजशास्त्र-विज्ञानमाथि गम्भीरतापुर्वक छलफल गर्ने आवश्यकता छ, भन्ने कुराहरू पनि चलिरहेको छ। तर संसारभरि आमजनताको मनभित्र कथा-उपन्यास-फिल्म-कम्प्युटर गेम्सबाट नै सजिलोसँग समाजवाद विरुद्ध, कम्युनिष्ट विरुद्ध, रसिया-चीन (अहिले जतिनै अर्को बाटोमा तिनीहरू हिडोस्) विरुद्ध घृणा तयार गर्ने सुनियोजित काम चलिरहेको छ। किन त? जुन समाजवादी व्यवस्थाको अस्तित्व नै वर्तमानमा कतै छैन, त्यसमाथि किन आक्रमण? केको डरले? हामी त्यसमै हाम्रो चर्चा केन्दित गरौं।

पपुलर उपन्यास देखि फिल्म, कार्टुन देखि कम्प्युटर गेम्स— सबैमा नै कम्युनिष्ट देश, पार्टी, व्यक्तिलाई भयानक प्रकारको देखाएर, तिनीहरूको शान्तिको प्रयासलाई व्यंग गरेर, तिनीहरूको समानताको चाहनालाई ढोंगी भनेर, तिनीहरूको गणतन्त्रको व्यवहारलाई देखावटीको आरोप लगाएर कम्युनिष्ट बारे एउटा घिनलाग्दो अनुभूति बनाउने प्रयास छ। यी आरोपहरूको जस्ता व्यवहार कम्युनिष्टहरूले गर्छन् कि गर्दैनन्— त्यसलाई जाँच्ने मौका नै अहिले छैन। तर, क्यालिफोर्नियामा सुनको खानी आविष्कार हुनु बित्तिकै अमेरिकाले मेक्सिकोबाट त्यसलाई कब्जा गरेको थियो, आफ्नो आर्थिक मन्दीको बेलामा तेलको लोभले इराकमा हमला गरेको थियो, विश्वभरि नै आफ्नो दादागिरी कायम गर्न जे पाए त्यही तरिकाहरू उपयोग गर्ने बेलामा अमेरिका र अरू ठुल्ठुला पुँजीवादी देशहरूले के कम्युनिष्ट माथि तिनीहरूले लगाएको उल्लेखित आरोपहरू जस्ता व्यवहार गर्दैनन्? गहिरोसँग सोच्नुहोस् त। त्यसमाथि, जब यी कथाकार वा चलचित्र निर्माताहरूले पुँजीवादी देशको अपराध जगत लिएर सृजना गर्छन्, त्यतिबेला तिनीहरू कहिलेपनि पुँजीवादी व्यवस्था वा त्यस्ता देश-देशनेताहरूलाई अलिकति पनि आक्रमण गर्दैनन्। किन? यीनिहरूले दुईवटा विश्वयुद्ध, कोरिया युद्ध, भियेतनाम-इराक-अफगानिस्तान युद्ध हेरेका छैनन्? त्यसमा को जिम्मेवारी थियो, कतिको बर्बरता त्यसमा देखा प󰈀यो — थाहा छैन? कसले कोरिया, भियेतनाम, भारत, जर्मनीलाई टुक्रा गरेको थियो— थाहा छैन? थाहा छ भने किन चाहिँ लेख्दैनन्? लेखेतापनि त्यस्तो देशनेताहरूलाई ट्याक्कै आरोप लगाउदैनन्— किन? किन? किन? 

पुँजीवाद— अपराधी बनाउने कारखाना! 
अच्छा, समाजमा अपराध कहाँ ज्यादा हुन्छ? पुँजीवादी देशहरूमा कि समाजवादी देशहरूमा? सन् 1973 मा भारतबाट पत्रकारहरूको एउटा टोली चीन भ्रमणमा गएको थियो। बेजिंगको एक होटेलमा पुगेर काउन्टरमा नाम दर्ता गराएर घरमा पस्दाखेरि ताला-चाबी मागे। होटेलको मान्छेले छक्कै प󰈀यो। तिनीहरूको कुरा बुझ्नै सकेनन्। बातचित सुनेर एकजना वयस्क होटेल कर्मचारी आएर भन्यो— “माफ गर्नुस्! हामी अहिले नै ताला-चाबी दिनु सक्दैनौ। हाम्रो देशमा अन्तिम चोटी चोरीको घटना दस वर्ष पहिला भएको थियो। यो केटा जस्ता उमेरको केटाकेटीहरूले चोरी-डकैती, ताला-चाबीको नाम नै सुनेको छैन, हेर्न त टाढाको कुरा। त्यसैले हाम्रो यहाँ होटेलहरूमा ताला-चाबीको प्रबन्ध छैन। हामी शर्मिन्दा छौं। अनि कोसिस गर्दैछौं तपाईहरूलाई चाडैनै ताला-चाबी दिने।” भारतीय पत्रकारहरू लज्जित भएर स्थितिलाई कसरी सम्हाल्नु, त्यही लिएर अलमलमा परे। त्यसताका चीनमा जनसंख्या थियो ८० करोड। घर वा होटेलमा ताला-चाबीको सिस्टम नै छैन! इंग्ल्यान्ड, फ्रान्स, जर्मनी, अमेरिकामा चोरी-डकैती के कस्तो हुन्छ त्यो त फिल्महरूबाटै थाहा हुन्छ, त्यहाँ बसेका साथीहरूबाट पनि। अनि ताला-चाबीको नयाँ नयाँ व्यवस्था बनाउनु प्रति लागिरहेका छन् त्यहाका विज्ञान-प्रविधिको अगुवाहरू।

इतिहासको धारमा समाज विकाससित अपराध घट्नुपर्ने थियो, न्यायपालिका उन्नत हुनु पर्ने थियो। पहिलाको नानाथरीका चोर-डकैतको कथाहरू अहिले दन्त्यकथाझैँ लाग्छ, पुरानो ग्रामीण विचार र सजायको घटनाहरू पनि त्यतिकै नाटकीय। तालिबान-आईएस जस्ता शक्तिहरूको त्यस्तो कतिवटा आचरण सुन्नमा आउँछ, तर अधिकांश मुसलमान पनि यी प्रथाहरूलाई सम्मान गर्दैनन्। अब यस सन्दर्भमा पुँजीवादी र समाजवादी व्यवस्थामा अपराध र अपराधीको कुरा गर्दा त स्पष्ट देखापर्छ पुँजीवादी व्यवस्थाको स्वरूप! भारतको कुरा त छोडिदिनुस् नै, शक्तिशाली पुँजीवादी देशहरूमा पनि माफियाराजले समानान्तर सरकार चलाउछन्। औद्योगिक क्षेत्र र महानगरहरूमा यो कुरा सप्रमाण छ। पुँजीवाद एउटा शोषण-आधारित व्यवस्था भएर अपराध र अपराधीको सामाजिक आधारको रूपमा काम गर्दछ। तिनीहरूले बनाएको ऐनलाई नकार्दै पनि यी सबै चलिरहेको छ। अर्कोतिर समाजवादी देशहरूमा अपराध र अपराधी कम्ती हुँदै अतीतको कथा र चरित्रमा बदलिएको थियो। अहिलेपनि हेर्दा अमेरिकामा अपराधको घटना आकाश छुने छ। अर्कोपट्टी नेदरल्याण्ड वा नर्वे जस्ता देशहरूमा जेलको सङ्ख्या घटाउनु पर्दैछ, किनभने अपराध नै कम्ती छ। यी देशहरूले नै त समाजवादी व्यवस्थाको विजययात्राले प्रभावित भएर वेलफेयर स्टेटको नीति अंगालेको थियो, जसको रहल अहिले पनि अवशिष्ट छ।

अपराधीको विचार बारे पुँजीवादको यात्रामा थुप्रै मानवीय कुराहरू चर्चामा आउँछ। आरोपी र अपराधी मध्ये पार्थक्य गर्नु, आरोपीलाई आत्मपक्ष समर्थनको मौका दिनु, मानवीय दृष्टिकोणबाट सजाय दिनु, अपराधीलाई सुध्रने मौका दिनु इत्यादि— के यी सबै यथार्थमा भएको छ र? न्यायविचारको व्यवस्थामा गल्ती त छदैछ, त्यसमाथि जेलखानाहरूको अवस्था त के भन्नु? अपराधी प्रायनै आफुलाई सुधार्न सट्टामा अझै ठुलो र स्थायी अपराधी भएर निस्किन्छ। समाजवादले यस सन्दर्भमा ल्याएको थियो नयाँ दृष्टिकोण र कार्यप्रणाली। वाध्यतापूवर्क र नियमानुसार श्रमबाट सजाय भोग्नु र सुधर्नु— यस्तो चिन्तन पुँजीवादी चिन्तकहरूले सोचे तापनि वास्तवमा कम्ती नै लागु भएको छ। समाजवादले यस सन्दर्भमा धेरै नै प्रगती गरेको थियो। आन्तन मकरें लिखित ‘रोड टु लाइफ’ वा ‘लर्निंग टु लिभ’ पुस्तकहरूमा यी कुराहरू निकै झल्किन्छ। ए... मकरेंको रूसी हो भनेर संशयको कुरा छ? त्यसो भए अमेरिकी लेखिका आना लुई स्ट्रंगको उपन्यास ‘वाइल्ड रिभर’ पढ्नुस् न त! 

सोभियत सङ्घ — नयाँ विचार, नयाँ जीवन 

रोमाँ रोलाँको अनुभव
सजिलो सँग सोभियत सङ्घलाई बुझ्नुको निम्ति रोमाँ रोलाँको लेखहरूका उल्लेख गर्नु असल हुन्छ। जीवनको शुरूमा भयंकर कम्युनिस्ट विरोधी रोमाँ रोलाँलाई हामी ‘आई विल नट रेस्ट’बाट चिन्न सक्छौं। कम्युनिष्टहरूले व्यक्ति-स्वतन्त्रतालाई मान्यता दिँदैन, समाजवादी रसियामा वुद्धिजीवीहरूलाई चिन्ताको स्वतन्त्रता छैन— यस्तो थियो उसको विचार र आरोप। गोर्कीले उनलाई धेरैपल्ट रसियामा निमन्त्रणा गरेका थिए, तर उनले नकारे। तर त्यो मानिसले नै पछि गएर समाजवादी रसिया प्रति सहानुभूति देखाएका थिए। विचारको यो बदलाव पनि चाखलाग्दो बाटोमा भएको थियो। उनले हेर्नुभयो संसारको जम्मै ठुल्ठुला देशहरू र देशनेताहरूले सधै समाजवादी रसियालाई समालोचना गर्छन्। तर तिनीहरूको आफ्नो व्यवहार कस्तो छ? इंग्ल्यान्ड, फ्रान्स, अमेरिकाले व्यक्ति स्वतन्त्रतालाई कतिको महत्व दिन्छन्? उपनिवेशको मानिसहरू प्रति तिनीहरूका आचरण कस्तो छ? आ-आफ्नो देशभित्र के छ तिनीहरूको नीति? आफ्नो घरभित्र उत्पीडन गर्नेहरू किन बाहिर सोभियत रसिया लिएर हल्ला गर्दैछन्? उनको मनमा आयो कि केही गल्ती पनि हुनु सक्छ, तर निश्चयनै रसियामा कुनै यस्तो एक्स्पेरिमेन्टहरू चल्दैछ, जसको नतिजा लिएर यी ठुल्ठुला देश र देशनेताहरू डराउदै छन्। त्यहाबाट खोजी शुरू भयो र उनि अर्कै अनुभवमा पुगे। 

रवीन्द्रनाथको 'रूसको चिट्ठी'
रबीन्द्रनाथले पनि यस्ता परीक्षण-निरीक्षणको कुरा सुनेका थिए। इंग्ल्यान्ड, जर्मनी, इटालीमा धेरैले उनलाई बुढेसकालमा रसियाको जाडोमा नजानु भनेर सुझाउ दिएका थिए। जाँदापनि रूसी सरकारले उनलाई धेरै कुरानै हेर्न दिँदैन भनेर आशंका पनि उनले सुनेका थिए। तरैपनि सन् 1930 मा रबीन्द्रनाथ मस्को पुग्नुभयो। जम्मै कुराहरू हेरेपछि उनले आश्चर्य भएर ‘रसियाको चिट्ठी’मा लेख्नुभयो— “अरू कुनै देश जस्तो होइन। अरू देश र रसियामा एकदमै आधारभूत पार्थक्य छ। तलमाथिको सबै मानिसलाई यिनीहरूहरूले समानरूपमा जगाएका छन्।”.... रसियामा न आएको भए, “यस जन्मको तीर्थदर्शन असमाप्त हुन्थ्यो।” भारत बाहेक अरु कुनै देशलाई उनले तीर्थस्थलको सम्मान दिएका छैनन्। वर्गआधारित शोषणबाट जुन वर्गीय विभेद जन्मिन्छ, त्यस शोषणको अन्तसितै त्यो विभेद पनि बिलिन भइरहेको अनुभव उनले गरे— “अरू देशहरूमा हामी जसलाई जनसाधारण भन्छौं, यहाँ तिनीहरू मात्रै छन्!” अझै हजारौं वर्षदेखि मानिसभित्र ‘लोभ’ भन्ने जुन प्रवृत्तिले संसार भरिने जाल बिछाइ राखेको छ, जुन “लोभसितै जम्मै डर, संशय”, जुन “लोभको लागि नै जम्मै अस्त्रसज्जा, जम्मै मिथ्याचार र निष्ठुर राजनीति”, रबीन्द्रनाथले हेर्नुभयो सोभियत रसियामा त्यही “लोभ तिरष्कृत छ”। जम्मै समाजवादी निर्माण कार्यमा “लोभको बाधा कतै छैन”। अहिलेसम्म हामी सुन्दै आएका छौं, लोभ मानिसको एक आदिम र मौलिक प्रवृत्ति हो, लोभबाट नै शोषण र असमानता आउँछ इत्यादि। जम्मै धर्मले मानिसलाई उपदेश दिएको छ— “लोभ नगर”, “मा गृधः”— तर लोभले मानिसलाई छोडेन। यहाँनिर रसियाको माटोमा तर के स्पष्ट हुनथालेको थियो भने शोषण नरहेकोले असमानता आउदैन, असमानता छैन भने लोभ पनि बस्दैन। त्यसबाहेक त्यसताकका रसियामा शिक्षा-विज्ञान-संस्कृतिको चर्चा हेरेर पनि रबीन्द्रनाथले अभिभूत भएका थिए। अझै आयो विकासको कुरा। रवीन्दनाथको रसिया बसाइको बेलासम्म तुर्कमेनिस्तानमा केवल साढे दश लाख जनताको निम्ति सोभियत राज्यले 130 वटा अस्पताल बनाए तापनि तिनीहरू शर्मिन्दा थिए। रबीन्द्रनाथको अनुभवमा आयो कि देशभरि जुन विकास कार्यक्रमको लहर चल्दैछ, त्यसको फोकस नै पछौटे समुदाय र क्षेत्रहरू हुन। पुँजीवादी व्यवस्थामा दृष्टिकोणनै अर्कै हुन्छ— रित्तोपनको विशाल विस्तृत समतल, त्यसमा कतै कतै एक-दुईवटा समृद्धिको एभरेस्ट! त्यसभन्दा निकै फरक देखाप󰈀यो सोभियत रसिया। 

एमिल जोसेफ डिलनले देखेको सोभियत सङ्घ
डा. एमिल जोसेफ डिलन भन्ने एकजना ब्रिटिश बुद्धिजीवी रसिया विश्वविद्यालयमा प्राध्यापन, पत्रिका सम्पादन इत्यादि गर्नुहुन्थ्यो। रुसी र अन्य भाषामा तिनी दक्ष थिए, रसियालाई मज्जाले चिन्थे पनि। सन् 1877 देखि 1914 सम्म निरन्तर रसियामा बसेका थिए, त्यसपछि इंग्ल्यान्ड आएर फेरी क्रान्तिपछि सन् 1918 मा रसिया पुगेर देखे कि उनले जमा गरेको सम्पत्तिहरू सरकारले जफत गरेछ। रिसले ‘द एक्लिप्स अफ रसिया’ भन्ने एउटा किताब पनि उनले लेखिहाले, जसमा कम्युनिष्टहरूलाई कम्ती गाली दिएका थिएनन्! त्यही मान्छे फेरी दस वर्ष पछाडि फेरी सोभियत रसिया आएर अचम्भित भए। सन 1929 मा उनले लेख्नुभएको ‘रसिया टुडे एण्ड टुमरो’ मा यसरी बर्णन गरेका छन्— “Everywhere people are thinking, working, combining, making scientific discoveries and industrial inventions . . . .Nothing like it; nothing approaching it in variety, intensity, tenacity of purpose has ever yet been witnessed. Revolutionary endeavour is melting colossal obstacles and fusing heterogeneous elements into one great people; not indeed a nation in the old-world meaning but a strong people cemented by quasi-religious enthusiasm . . . . The Bolsheviks then have accomplished much of what they aimed at, and more than seemed attainable by any human organisation under the adverse conditions with which they had to cope. They have mobilised well over 150,000,000 of listless dead-and-alive human beings, and infused into them a new spirit.”

वेब दम्पतीको सोभियत भ्रमण
एमिल जोसेफ डिलनको किताबमा यस्तो वर्णन पढेर प्रभावित भएर सोभियत रसियामा आइपुगेका थिए एक अंग्रेज दम्पती— सिडनी वेब अनि बिट्रिस वेब। रसिया भ्रमणको अनुभव माथि लेखिएको तिनीहरूको किताब सन् 1930मा प्रकाशित भयो— ‘सोभियत कम्युनिज्म— ए न्यु सिभिलाइजेसन?’ त्यसमा ठाउहरूको विवरण, अनेकौं अन्तर्वार्ता, नयाँ नयाँ कुराहरू थियो। त्यसपछि तिनीहरूले जम्मै रसिया घुमेर गहिरोसँग अध्ययन गरेर सन् 1937 मा त्यही किताबको दोस्रो संस्करण प्रकाश गरे यस पल्ट भने किताबको नाममा सानो बदलाव ल्याए! प्रश्नवाचक चिह्न हटाई दिए। हजुर, ‘सोभियत कम्युनिज्म— ए न्यु सिभिलाइजेसन’ नै हो! वेब दम्पतीले रसिया भ्रमण र किताब रचनाको काम गर्नुभएका थिए प्राय नब्बे वर्षको उमेरमा। जीवनभर पुँजीवादलाई हेर्ने बुझ्ने राम्रो अनुभव तिनीहरूकोमा थियो। एकतिर अशिक्षा, अस्वस्थ, कुसंस्कार, रुढीवाद, महामन्दी, महामारी, मुद्रास्फीति, बेरोजगारी, कामको अनिश्चयता, जीवनको सुरक्षाहीनता अनि अर्कोतिर चोरी-डकैती, मर्डर, लुटपाट, बलात्कार, ब्ल्याकमेल— इत्यादि हो पुँजीवादी बजार व्यवस्थाको अनुहार। यसभित्रै चुनाव, भोटको अधिकार, जननेता र देशनेताहरूका मिथ्याचार, भ्रष्टाचार, कपट, भाइभतिजावाद चलिरहेको छ। तिनीहरूले जर्मनी, इटाली, स्पेनमा फासीवादको अभ्युदय र पश्चिमी ‘गणतान्त्रिक’ शक्तिहरूको मद्दतमा तिनीहरूको शक्तिवृद्धि— सबै हेरेका थिए। यस्तो स्थितिमै रसियाबाट आउदै थियो टुक्रा टुक्रा अनौठो खबर। कौतुहल भएर वेब दम्पती आउनुभएका थिए समाजवादको निर्माण हेर्न, जसको नतिजा हो त्यो 1216 पन्नाको किताब। 

के छ त्यो किताबमा? के छैन र भन्नु नै राम्रो! विस्तृतरुपमा छ यस उज्यालोतिर यात्राको वर्णन। सोभियत समाजवादको त्यतिबेलाको यात्राले संसारलाई बाटो देखाउन सक्थ्यो। खाद्य-वस्त्रको प्रचुरताले होइन, टिभी-फ्रिज-कम्प्युटरको चमकले होइन, नयाँ नयाँ मोडेलको गाडीको जुलुसले होइन, जीवनको एक विशाल सिर्जना अभियानमा श्रमबाट एक नयाँ समाज बनाउनुको हिसाबले। पुरानोको सट्टामा नयाँ जीवन बनाउनुको हिसाबले। यो व्यवस्था यस्तो चाखलाग्दो हो कि कसैलाई अशिक्षित बस्ने उपाय छैन, अस्वस्थ हुनु वा स्वास्थ्यविधिहरू उल्लंघन गर्ने मौका छैन, त्यसले गर्दा बालश्रम छैन, बेरोजगारी पनि छैन। समाजमा भिखारी, फिरन्ते, बेघरहरू छैनन्, वृद्धहरूलाई परमुखापेक्षी भएर बस्न पर्दैन— मानिसहरूलाई नयाँ मानिसको हिसाबले निर्माण गर्नलाई सबैप्रकारका एक सर्वांगीण प्रयास। नयाँ समाज, नयाँ मानिस, नयाँ नैतिकता। 

शिक्षाको विकास, नैतिकता गठन, भाषाको मान्यता...
वेबहरू घुम्दाघुम्दै मस्कोको एउटा स्कुलमा पुगे जहाँ स्टालिनको छोराछोरीहरू पढ्थ्यो। तिनीहरूलाई थाहा थियो इंग्ल्यान्ड वा अमेरिकामा जुन स्कुलमा प्रधानमन्त्री वा राष्ट्रपतिको छोराछोरीहरू पढ्छन्, त्यहाँ कुनै विदेशी अतिथि आएभने हेडमास्टर वा टिचरहरू त्यो बताउन र देखाउन खोज्छन्। मस्कोको स्कुलमा त्यस्तो केही भएन। हेडमास्टरले भन्नुभयो यसो गर्नु मनाही छ। यसले स्टालिनको छोराछोरीहरू आफुलाई अरुभन्दा अलग सोच्छन्, उनीहरूको चरित्र विकासलाई हानी पुग्छ, अरुहरूलाई पनि नराम्रो अनुभूति हुन्छ। सबैको लागि नै एउटै नियम। पछि गएर स्टालिनको छोरी श्वेतलानाले आरोप लगाएको थियो— बाबुले हाम्रो भाइबहिनीहरू प्रति त्यति ध्यान दिएका थिएनन्!!

रूसी क्रान्ति सम्पन्न हुनुको ४ दिन भित्रै २१ नोभेम्बर लेनिनले एउटा डिक्री जारि गर्नुभयो— सार्वजनिक शिक्षाको। सोभियत रसियालाई त्यतिबेला १४ वटा देशले चारैतिरबाट आक्रमण गरिरहेका थिए, भित्र सत्ताच्यूतहरूको प्रतिक्रान्तिको कोशिश, समाज पुनर्गठनको निम्ति विपुल व्यय, सम्भावित युद्धको लागि सबै प्रकारको तयारी— त्यस भित्रै शिक्षा, विज्ञानको विकासको निम्ति अभूतपूर्व राशीको एलोकेसन। 

समस्या त कम्ती थिएन। युरोपदेखि एसियासम्म विस्तृत विशाल देश। पृथ्वीको भूभागको १/६ अंश। अर्थनीति ध्वस्त, कृषिव्यवस्था खतम, यातायात व्यवस्था भन्ने केही छैन, बाटोघाटो छैन, बिजुली छैन, शिक्षकहरू त्यति छैनन्। रसिया र युक्रेन छोडेर अरू राज्यहरू त झनै पछौटेपनको स्थितिमा, भाषा दुर्वल र अविकसित। एसियाको भूभागमा यस्ता थुप्रै जनजातीहरू थिए जसको लिखित भाषा थिएन, बोल्ने भाषा अविकसित थियो। यस्तो स्थितिमा स्कुल बनाउनु, मान्छे पठाउनु मात्रै होइन, भाषा पु󰈀याउनु, अक्षर बनाउनु र त्यसले किताब छाप्नु जस्तो कामहरू पनि रसियाले पुरा गर्ने रहर ग󰈀यो। वेब दम्पती अचम्मसँग हेर्नुभयो कि कुनै खण्डमा पनि रुसी भाषालाई अरू भाषीमाथि थोपिएको थिएन। कुनै पनि जनजातीले मातृभाषामा शिक्षाको प्रावधानबाट बन्चित नबसोस्— यसबारे पूर्णरूपमा कोसिस र ध्यान थियो देशभरिमा। सन् १९३५ मा ८० वटा भाषामा शिक्षादान चल्दै थियो, किताब छापिएको थियो। ८८ वटा भाषामा पत्र-पत्रिकाहरू निस्किन्थ्यो। सन् १९६६ मा एकजना रसियन एन्थ्रोपोलिजिस्टले लेख्दैछन्— “आज सोभियत सङ्घमा १२० भन्दा बेशी भाषामा किताब छाप्ने काम हुन्छ, जसमध्ये ४० वटाको क्रान्ति भन्दा अगाडि अक्षर नै थिएन।”

शिक्षाको मतलब फेरी भोकेसनल, चाकरी-अभिमुखी वा उत्पादनमुखी थिएन। स्कुल स्तरको शिक्षाको मतलब हो पूर्ण मनुष्यत्व आर्जनको निम्ति चाहिने प्राथमिक शिक्षामा शिक्षित गराउनु: “They are not seeking to direct the pupils' attention to particular occupations, or to persuade them to choose such occupations when they leave school, or even to create in them any special fitness" for these occupations. Whether the boys and girls eventually become carpenters or cultivators, tractor drivers or school teachers, administrators or dramatic authors, does not, at the school stage, concern the educators. What is quite sincerely intended by the polytechnical school is the very opposite of training in any particular vocation or craftsmanship; in fact, an improvement in the intellectual equipment of all the pupils throughout the land, irrespective of the particular occupations that they will severally choose.”

नारीसमाजको निम्ति खुल्ला आकाश
नारीमुक्तिको कुरा, नारी-पुरुष समानाधिकारको कुरा सभ्यता विकासको बाटोमा एउटा महत्वपूर्ण मापदण्ड हो। पुँजीवादी सभ्यता विकासको शुरुमा नै यी चर्चाहरू आउँ थालेको थियो। धार्मिक मानव कल्याणको धारणाबाट एक कदम अगाडि बढेर बुर्जुवा मानवतावादीहरूले भनेको थियो, नारीलाई उसको पारिवारिक घेराबन्दीमा अल्झाएर केवल सदय व्यवहार गर्दा मात्रै हुँदैन, उसलाई पनि सामाजिक दायित्व पालनको मौका दिनुपर्छ, त्यसको निम्ति शिक्षाको प्रवन्ध हुनुपर्छ। गणतान्त्रिक व्यवस्थामा ऐनको दृष्टिकोणमा समान अधिकार दिनु, वैवाहिक सम्वन्धको खण्डमा स्त्रीलाई विवाह विच्छेदको अधिकार दिनु— माथि भनिएको दृष्टिकोणकै नतिजा हो यी दाबीहरू। केहिदिन र केहीहदसम्म पुँजीवादी देशहरूमा यसको का󰈀यान्वयन पनि भएको थियो। त्यसपछि अड्कियो। समान अधिकार ऐनको किताबमा हुनसक्छ, तर त्यो उपलब्द्ध हुँदैन जहिलेसम्म अधिकार आर्जन र उपभोगको लागि सही परिस्थिति र मौका बनिन्दैन। पुँजीवादले त यस्ता अधिकारहरू नै आफ्नो नागरिकहरूलाई दिनसकेको छैन। नारीलाई पनि दिएन। नारीलाई शिक्षाको मौका चाहिन्छ, रोजगारको मौका चाहिन्छ, त्यसभन्दा पनि ज्यादा बाटोमा निस्किनलाई सठीक माहौल चाहिन्छ। तर बलात्कार, अपहरण, नारी बेचबिखन— सबै पुँजीवादी देशमानै कमबेसी यी विशिष्टताहरू छन्। त्यसमाथि पुँजीवादले नारीलाई, नारी शरीरलाई एक विचित्र किनबेचको वस्तुमा रुपान्तरण गरेको छ! पुरानो सामन्ती समाजमा नारी थियो परिवारको घेराबन्दीभित्र पुरुषको उपभोग्यवस्तु, सेवादासी। पुँजीवादले उसलाई त्यहाबाट केही हदसम्म मुक्त गरेतापनि बजारवृद्धिको हतियार बनाएको छ। त्यसर्थ प्रत्येक नारी नै पुँजीवादी व्यवस्थाको हातमा शृंखलाबद्ध स्थितिमा कैद छ। यसको अँध्यारोमा उ किनबेचको बस्तु, उज्यालोमा अरू सामग्री बिक्रि गर्नलाई विज्ञापनको अनुहार। त्यसले गर्दा केवल भारत, पाकिस्तान, बंगलादेश, नेपालझैँ अविकसित देशमा मात्रै होइन, युरोप-अमेरिका जस्ता ठोस् पुँजीवादी देशहरूमा पनि, रेनेसाँ, औद्योगिक क्रान्ति, आधुनिक विज्ञान, वैश्वीकरण इत्यादिको बावजुद पनि टिकिरहेको छ वेश्यावृत्ति, वेश्यालयहरू। त्यसको नयाँ नयाँ रुपहरू पनि विकसित भएको छ। 

अच्छा, सोभियत रसियामा के भएको थियो? मानव सभ्यताको चार हजार वर्ष पुरानो वेश्यावृत्तिको प्रथा यहाँनेर केवल दश वर्षमा सम्पूर्ण उन्मुलन भएको थियो। कसरी त्यो भएको थियो त्यो इतिहास एक रोमान्चक इतिहास हो। कुनै धर्महरूले जे गर्न सकेनन्, पुँजीवादले जे गरेनन्, क्रान्तिपछि गृहयुद्ध सक्नु बित्तिकै सोभियत राज्यले यस काममा हात लगाएको थियो, सफल पनि भएको थियो। अनि त्यससित चलेको थियो तिनीहरूलाई सामाजिक क्षेत्रमा भागीदारी बढाउने काम। 

यदि नारीहरूलाई पुरुष जस्तै अधिकार दिनुपर्ने हो भने तिनीहरू आर्थिक रूपमा स्वनिर्भर हुनुपर्छ। त्यसकोलागि, सोभियत सरकारले नारीलाई बाहिर उद्योगहरूमा कामको प्रवन्ध गरि दिने भयो, जसलेगर्दा तिनीहरूको श्रम पनि उत्पादनशील श्रम बनिनेछ। तर, यस्तो गर्दा नारीहरूलाई थुप्रै समस्या झेल्नुपर्ने भयो। उसलाई फ्याक्ट्री/अफिसको कामसितै घर र मातृत्वको कामहरू पनि समन्वय गर्नु पर्छ। सरकारले नानीहरूको हेरचारको लागि एउटा सामाजिक ढांचाको प्रवन्ध ग󰈀यो। ‘क्रेच’, जहाँ काम गर्ने आमाहरूको नानीहरू दिनभरी बस्न सक्छ, त्यसको व्यवस्थापन भयो। कामको बिचमा पनि आमाहरूले नानीहरूलाई भेट्ने र चाहेभने दुध दिन सक्ने भए। क्रेचहरूमा नानीहरूको एउटा सामाजिक जीवनपनि बन्यो र त्यहाँबाट नानीको खाना र लुगाको प्रवन्ध भएकोले परिवार माथि खर्चाको बोझ पनि कम्ती भयो। यस्ता क्रेचको संख्या क्रान्ति पछि निकै नै बढेको थियो, आमा र नानीहरूको विकासको लागि नियोजित संस्थानको संख्या पनि सन् १९१७ मा २७ वटा थियो, दस वर्ष पछाडि त्यो संख्या २५३९ वटा भयो। लेनिनले भनेको थियो : “A victory for Socialism is impossible until a whole half of toiling mankind, the working woman, enjoys equal rights with men, and until she no longer is kept a slave by her household and family.” यो नै थियो नारीप्रति सोभियत सङ्घको दृष्टिकोण।

वेब दम्पतीले लेख्नुभएको थियो : “In their remaking of the Russian people, Lenin and his followers began, not with Adam, but with Eve ! For the October Revolution meant to the scores of millions of peasant or wage-earning women, not merely liberation from the exploitation of the landlord and the capitalist, a liberation which could only be made effective in the course of years ; but also an immediate release from the authority of the father or the husband. From thenceforth the woman was to be in all respects of equal status with the man ; whether as a citizen, as a producer, as a consumer, or even as a member of the Vocation of Leadership.” अझै एकजना लेखिका केनिना हाले, रसियाको अनुभवलाई समेट्दै, सन् १९३३ को ‘Women in Soviet Russia’ मा लेख्नुभयो, “The process of emancipation now going on in Russia differs from all earlier ones in the recorded history of mankind in that it is carried out according to plan and on an unprecedented scale. And however that process may turn out in the course of historical development, one thing has already been attained : the humanization of woman..."

मानव सभ्यताको इतिहासमा समाजवादले नै पहिलोपल्ट नारी-पुरुष समान अधिकार स्थापनाको मतलब के हो त्यसको वास्तविक उदाहरण देखाएको थियो। धेरैले बिर्सी सके होला, सर्वजनिक भोटको अधिकार, नारीको भोट दिने र निर्वाचित हुने अधिकार इत्यादि सोभियत सङ्घमा चालु भएपछि मात्रै अरू देशहरूमा चालु भएको थियो।
स्वर्णिम इतिहासलाई सम्झिदै, सीमिततालाई चिह्नित गर्दै हामी हिड्ने छौं...

यो लेख अब लामो हुन थाल्यो। यसलाई अझै विस्तृत रूपमा चर्चा गर्न आवश्यकता अवश्य नै छ। यो वर्ष नै त्यसको लागि असल होला। क्रान्तिको सयवर्षलाई सम्झिँदै। त्यससित अवश्यनै चर्चा गर्नु पर्छ लामो र कठिन बाटो हिड्दाहिड्दै के के समस्याहरू पनि आएको थियो। बाहिर र भित्रबाट यस व्यवस्थालाई खतम पार्नुको लागि क-कसको के कस्तो भूमिकाहरू छ त्यो पनि हामीले देखेका छौं। किन गौरवशाली यो व्यवस्था सामयिक रूपमा बिचलित भएको छ, ठहरिएको छ। हामीलाई कुनै पूर्वाग्रहले ग्रस्त नगरोस, विकासको सही बाटो खोज्नु आवश्यक छदैछ। मानवसभ्यताको निम्ति रूसी उदाहरण निकै नै महत्वपूर्ण हो, त्यसलाई नजरअन्दाज गर्ने क्षमता कसैकोमा कहाँ छ र?

फासीवादलाई रोक्न सोभियत सङ्घको, समाजवादको महान योगदान
आज हामी जुन स्थितिमा छौं, देशमा फासीवादको पाइला टेक्ने संकेत, देश-देशमा त्यस्तै फासीवादी, उग्र-राष्ट्रियतावादी शक्तिहरूको दबदबा, यहाँसम्मकी ठुलोदादा अमेरिकामा पनि डोनाल्ड ट्रम्पको विजयले निकै नै भयावह संकेत दिंदैछ। संसारको इतिहासमा हिटलरको नाम फासीवादसित ओतप्रोत छ। अन्तिममा हिटलरको पराजय मानव सभ्यताको जीत थियो, र त्यसमा सोभियत रसियाको भूमिका पनि कसरी कसैले नकार्न सक्छ? हिटलरको पालोमा गोयबल्स उसको प्रचार सचिव थियो। एउटै झुटोलाई बारम्बार भनेर त्यसलाई जनमानसमा साचो हो भनेर स्थापित गराउनु नै उसको खासियत थियो। उसले आफनो देशभित्र यहुदीहरूलाई खेदाउनुको लागि यस पन्थको उपयोग त गरेकै थियो, स्टालिन र सोभियत विरुद्ध पनि त्यसरी नै प्रचार गर्थ्यो। संसारको सामु त्यसलाई नराम्रो देखाएर आफ्नो स्वार्थ पुरा गर्नु। तिनीहरू भन्थे रसियाको आममानिस निकै नै दुखलाग्दो हालतमा छन्, गुनासो पनि पुरै छ, तर डरले तिनीहरू आवाज उठाउन सकेको छैनन्। संसारलाई सुनाउन गोयबल्सले भनेको झुटोले हिटलरको मनमा पनि के धारणा भएको थियो भने एकपल्ट रसियाको सीमा नाघेर उसको सेना भित्र पस्न सके भने स्टालिनलाई साह्रो पर्छ, र क्रोधित रूसी जनता पनि आँट लिएर स्टालिन र सोभियत विरुद्ध सङ्घर्षमा उत्रिन्छन्। 

वास्तवमा युद्ध घोषणा गरी हिटलरको सेना रुस सीमा भित्र पस्यो। खै, जनतामा विरोध त छैन! रिपोर्ट सुनेर हिटलरको निर्देश आयो “अझै अगाडि बढ, जनताको गुनासो त पाइन्छ नै”। जर्मन सेना मस्को छेउमा पुगिसक्यो, तरैपनि क्रोधित जनतासँग भेट भएन। तीन वर्षको निम्ति लेनिनग्राड अवरुद्ध थियो, तेल छैन, इन्धन छैन, खाद्यान्न छैन, बिजुली छैन... तरैपनि खै त विभीषणहरू?! स्टालिनग्राडमा त जर्मन सेनाको एउटा विशाल टोलीको आत्मसमर्पणबाट द्वितीय विश्वयुद्धको चक्कानै उल्टो घुम्न थाल्यो। धेरै लामो युद्ध गरेर, रगतको धारा बगाएर, बम-गोलीले ध्वस्त पारेर अन्तमा हिटलर र चर्चिल-रुजभेल्टले पनि बुझिसकेका थिए— झुटो कुराको पुनरावृत्तिले कहिल्यै सत्य बनाउन सकिन्दैन। 

त्यस युद्धमा सोभियत रसियालाई निकै नै क्षति पुगेको थियो। अढाई करोड मानिस मरे, अझै करोडौं घाइते भए र हराए। सम्पत्तिको क्षतिको त सीमा छैन। तर हिटलरले यो युद्ध गरेर एउटा महान उपकार ग󰈀यो। त्यो थियो पुँजीवादको विपरीत समाजवादको शक्तिलाई संसार अगाडि स्पष्ट पारिदिनु। साहित्य चाहेभने साहित्य, उद्योग चाहेभने उद्योग, विज्ञान चाहेभने विज्ञान, देशप्रेम चाहेभने देशप्रेम, युद्ध चाहेभने युद्ध— सबै मापदण्डमा यस समाजवादी व्यवस्थाले पुँजीवाद भन्दा आफुलाई शक्तिशाली प्रमाणित गरेको थियो। यस युद्धमा हिटलरको पराजयले समग्र मानव सभ्यतालाई फासीवादको विपदबाट रक्षा गरेको थियो— केवल यसैको लागि भए पनि संसारलाई सोभियत रसिया प्रति आभारी हुनुपर्ने हो। सोभियत रसियाको अन्तरवस्तुमा जुन ठोस् कुरा थियो त्यो हो सचेत रूपमा र सुनियोजित ढंगमा आफ्नो हिड्ने बाटो तय गर्नु। लेनिनको नेतृत्वमा क्रान्तिको शंखघोष जसरी छ होइन, आठ होइन, सात तारिख नै ध्वनित भएको थियो! 

No comments:

Post a Comment