Friday, December 30, 2016

कविता

साङ्ग्लोहरूसित

भिमा राई ‘तोलाछा’


संसार सबैको हो भनेर
चुपचाप काम गरिरहें
जहाँ हरिया फाँटमा हाम्रा नानीहरू
धित् मरुन्जेल खेल्न पावोस्
जहाँ आकाशका बादलले पनि
धरतीका ती रगत र मासुका डल्लाहरूसित
आह्रिस गरेको होस्
वर्षाका रिमझिम ध्वनीले
तिनीहरूसित समाहित हुन
कैयौँ सेतु बनाएको होस्
म यसरी सोंच्दथें

तिमी के गर्दैछौ?
खोजी निन्दा गरी हिँड्ने मनै भएन
कारण आफ्नो थियो
घरको खाँबो थियौ
तर, तिमीले
मेरा हातहरूमा साङ्ग्लो बाँधी सकेछौ
मेरा पाईलाहरूलाई भिराइसकेको लठारो
के हात्तीलाई माकुराको जालले
अड्काउन खोजेको जस्तो लाग्दैन र?
तिम्रो थरि थरिको लोलोपोतोलाई मैले
प्रेमको संज्ञा दिएँ
तिम्रो झुठो बहानाहरूलाई
मैले मायाको अँगालोले छपक्क छोपी दिएँ
जे जे गरेर तिमीले मेरो
स्वाधीन आकाश खोस्यौ
मेरा सपनाहरूलाई बाहुन्ने सम्झियौ
हो त्यही दिनदेखिको तिम्रो
अनुकुलताको सिंडी फुस्किएको छ






के के प्राप्तिको
तिम्रो सम्पूर्ण प्रपन्चलाई
मैले मेरो परिवार भने
त्यहाँ तिमी मालिक बन्यौ
म दासी भएर बसें
तिम्रो एक-एक आकांक्षालाई
न्याय दिने ठाउँ
जसलाई मैले मेरो घर भने
मेहनत गरें, फूलहरू फुलाएँ, सजाएँ
तिमीले त्यसलाई मेरो उडान छेक्ने
पिंजरा बनायौ
र म
पल पल चिथोरेर नङ्गाईएको
बेइमान हातले कोपारिएको
रक्त-रञ्जिरत माटोमा उभिएकीछु
र यस्तो सोंच्न थालेकी छु-
बीसवटा हड्डी भाँच्चिएको जस्तो
प्रसवपिढाको दर्द तिम्रो
गर्धनमा वर्षाउँ अनि
तिमीले बनाएको पिंजरा
हुर्हुर सल्काईदिउँ
त्यसपछि
एउटा कठोर आदेश जारी गरूँ
कि त्यो भष्मबाट
एउटा रहर लाग्दो प्रेमको गीत गाऊ!

No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...