Friday, November 25, 2016

कठै प्रधानमन्त्रीको आँशु!!

प्रयास

प्रधान मन्त्री रोए, भक्कानिए।
टेलीभिजनमा रियलिटी सो हेर्नुपर्छ। आँशु र भावुकताको बिक्री गजबको हुन्छ त्यहाँ। आँशु निकै ठुलो हतियार हो मान्छेको मुटु चिर्नलाई। हाम्रो देशमा जनताको सम्वेदन र यही भावुकतामाथि टेलीभिजनले व्यापार गर्दछ। आँशु नहुँदो हो त टेलिभिजन के चल्नु??
देशका प्रधानमन्त्री त चलेनन्। अमेरिका पुगे रोए, गोवा पुगे रोए, आफ्नै मन्त्रीमण्डल बीचमा पनि रोए, आँखा अश्रुमय पारे। भावुक मानिसहरूको मन तातो तावामाथि राखिएको गुँड जत्तिकै भयो। पी.एम.-को आँशुमा पग्लिएर हिरिक्- हिरिक् परेका मानिसहरूले ‘त्यो आँशु’-को ठेगाना र नाम नै सोध्न बिर्सियो।
कसको निम्ति झरेको आँशु?- गुजरात दङ्गामा मारिएका सयौँ मानिसहरूको लागि?, एटीएम-को क्यु मा प्राण गुमाउने दर्जनौ मानिसहरूको वेदनामाथि? गुजरातमा कट्टर-हिन्दुवादका नायकहरूबाट पेलिएका दबिएका दलितहरूको आँशु माथि?? वा बिमुद्रीकरणको मार परेर नोकरी गुमाउँदै गाउँ फर्किरहेका निन्याउरो बेरोजगारहरूको निम्ति??? प्रधान-मन्त्रीको आँशुको ठेगाना पत्तै गरेनन्। उनको मन दुखाई लक्ष्यित थियो त त्यो विरोधी मतप्रति जसले ‘बिमुद्रीकरणलाई या त सम्पूर्ण रूपले विरोध गरिरहेका थिए, या त बिमुद्रीकरण लागु गर्न अघिको पर्याप्त तयारीको अभाव बारे आलोचना गरिरहेका थिए।
आलोचना वा विरोधको स्वर उठ्यो कि पी.एम-को आँखाबाट छल्किन्छ आँशु, मुटुमा सुनामी मच्चिन्छ, अनि भक्कानोसहित प्रधानमन्त्रीले, भक्तहरूलाई इसारा गर्छन्, उनको थर्थराउदो ओँठ अनि वाणीले भक्तहरूलाई नबोली भनिसक्छ: ‘देशमा अरू सबै राष्ट्रद्रोही! मात्र म देशभक्त!’
भारतमा पीएम-को कार्वाही, नीति वा कुनै पनि योजनामाथि सवाल उठायो उ रातारात देशद्रोही बन्छ। मानो लाग्छ, ‘पीएम-को सेतो दाह्री देशको जनता हो, पी एमको ५६ इन्ची छात्ती सिमाना हो, उनको वाणी सम्विधान हो, अनि उनको सबै गलतीहरू ‘कोल्याटरल’ ड्यामेज!’
जे होस् देशका मिडिया अघि जनताको आँशुभन्दा महत्वको पीएम-कै आँशु हो। त्यो प्रत्येक थोपामा दस नयाँ खबर, दस नयाँ बहस खडा हुन्छ अनि त्यससित नै टेलिभिजनलाई प्राप्त हुन्छ गजबको टीआरपी। पीएम-को आँशु कुनै रियलिटी सोमा खस्ने चलचित्रका नायक-नायिका वा टेलिभिजनमा भाग्य खोजिरहेका नयाँ कलाकारहरूको आँशुले भन्दा धेर चलाउँछ टेलीभिजन। आँशुहरूको पनि बाउ आँशु हो, पीएमको आँशु त। एक होस् वा दुई थोपा, यो आँशु दिल्लीमा चुहेर चेन्नईको झोपडपट्टीमा पनि खस्छ, उत्तर-पूर्वको हिंसा-पीडित गाउँमा पनि खस्छ, बम र बन्दुक गनाउने कश्मिर होस् या दक्षिण भारतको समुद्र तट सुनामी पर्खेर बसेको गाउँ सबैतिर खस्छ।
कसले सोध्ने ‘प्रधानमन्त्रीजी!, आँशु त खस्यो, तर खस्नु चाँही कसको निम्ति खसेको???’- कठै! त्यो लुगा नलाएको, भात नखाएको, बाबु-आमा बेगरको त्यो अनाथ अनि ठेगाना बेगरको आँशुलाई कस्तो लाग्दो हो प्रधान मन्त्रीको आँखाबाट दर्जनौ क्यामेरा अघि नाङ्गै खस्नु??

No comments:

Post a Comment

Darjeeling Hills in Chorus / Twenty Percent Bonus

(The Tea Workers’ Struggle for Bonus in the  Darjeeling  &  Kalimpong  Hills,  2024  )    Samik Chakraborty    Darjeeling's Singtam ...