तामस मजुमदार
भारतीय चियाको वर्तमानको स्थिति
साढे दुई शताब्दीको सफल उद्योग पछाडि भारतीय चियाले संसार भरिनै आफ्नो नाम बनाएको कुरालाई कसैले नकार्न सक्दैनन्। देश आज दोस्रो श्रेष्ठ चिया उत्पादक (चीन पछाडि) भएको छ भने सर्वश्रेष्ठ उपभोक्ता साथै चौथो सर्वाधिक निर्यातकर्ता (श्रीलंका, केन्या र चीन पछाडि) भएको छ। भारतमा सर्वाधिक चिया उत्पादन गर्ने राज्य हुन्— उत्तर बङ्गाल, आसाम, तमिलनाडु अनि केरेला।
टी. बोर्ड द्वारा जारी गरिएको रिपोर्ट अनुसार भारतले वैश्विक साथै घरेलु बजारमा विगतका केही वर्षहरूमा राम्रो व्यापार गरेको आंकडा रहेको छ। चिया उत्पादन, चियाको खपत, निर्यात साथै निलामिको मूल्यको विस्तृत आंकडा निम्न टेबलमा प्रस्तुत गरिएको छ—
भारतले 2015-16मा जम्मा 1233.14 मिलियन केजी चियाको उत्पादन गरे जो कि देशको आजसम्मको सबैभन्दा धेरै उत्पादन थियो। 2014-15 को तुलनामा चियाको जम्मा उत्पादनमा 35.96 मिलियन केजीको बढ्त आयो जो पोहोर साल भन्दा 3% बेसी हो। दक्षिण भारतको चिया उत्पादनमा कमी हुदाहुदै पनि यो बढाव उत्तर भारतको (पश्चिम बङ्गाल अनि आसाम) चिया बगानकै कारणले गर्दा हो जहाँ उत्पादन 52.74 मिलियन केजी बढेको थियो (5.52% वृद्धि)।
भारत भरि चिया बगानहरू बाट चियाको उत्पादन 1.62 % ले बढेको पाइयो भने सा-साना बट लिफ फ्याक्ट्रीको चिया उत्पादन 5.81% ले बढेको पाइयो। यसैले जम्मा चिया उत्पादनको 33.85% अंश सा-साना चिया उद्योगबाट आइरहेको पाइयो। मुख्य चिया उत्पादक राज्यहरूमा साना चिया उद्योगको योगदान सबैभन्दा बेसी तमिलनाडु 53.16% त्यसपछि पश्चिम बङ्गाल 40.4% र अन्तमा आसाममा 27.55% रहेको छ।
चियाको घरेलु बजारमा खपत 2005 को 760 मिलियन केजीको तुलनामा 2013-14 मा 911 मिलियन केजी भएको छ। प्राय 20% को बढ्त यहाँ पाइन्छ। वर्षैपिच्छे चियाको खपत प्राय 15 देखि 20 मिलियन केजी बढीनै रहेको छ। देशमा उत्पादित चियाको प्राय 80% त देशमै उपभोग गरिन्छ। 2005 देखि 2010सम्ममा उत्पादन भन्दा खपतनै बेसी भइरहेको पत्तो लागेको छ।
खपतको चलन
देशमा चियाको खपतको आंकडाले देशभित्रै चियाको बढ्दो बजारको इसारा गर्छ। अहिलेसम्म चियाको उत्पादनको दर खपतभन्दा कम्तिनै पाइएको छ। यदि खपत यसरीनै compounded annual growth rate (CAGR) को 2% को हिसाबमा बढी रह्यो भने भारतले भरि परिमाणमा चिया आयात गर्नु पर्छ केवल घरेलु आवश्यकता मात्र पुर्याउनको निम्ति पनि। यसो नगर्नाले चिया उद्योगले देशीविदेशी बजारमा सन्तुलन हराउने डर छ कारण यहाँ मांग अनि आपूर्तिको समीकरणमा गडबड हुन्छ। हरदर प्रति क्यापिटा खपत पछि प्रत्येक वर्ष बढिनै रहेको छ। यो खपत 2001मा 614 ग्राम (1.44 पाउण्ड) को तुलनामा 2011मा 718 ग्राम (1.58 पाउण्ड) भएको छ जो कि अमेरिकाको घरेलु खपतको प्राय तीनगुना बेसी हो। ब्रान्डेड चियाको खुद्रा व्यापारमा 5% प्रति वर्ष आएको बढोतरी पनि घरेलु खपत बढ्नुको मुख्य कारणहरूमा एक हो। यहाँ यो भन्न जरुरी छ कि कुनै पनि देशले आफ्नो घरेलु बजारको मांग अनि आपूर्तिको समीकरणलाई असन्तुलित गरेर कहिले पनि त्यो वस्तु निर्यात गर्न सक्दैन। यसो गर्नाले घरेलु बजारमा त्यस वस्तुको दाम बढ्छ जसले देशी उपभोक्ताहरूमा असन्तुष्टि पैदा गरी दिन्छ। यसले हालैमा चिया निर्यातको दर घटेको अवस्थालाई व्याख्या गर्छ।
चिया निर्यात 2015-16 साथै 2014-15
2015-16 मा भारतको चिया निर्यात 232.92 मिलियन केजी पुग्यो जसको मूल्य 4493.10 करोड रहेको छ। भनौ भने 2015-16 मा भारतले चिया निर्यातमा ठुलो उपलब्धि पाएको छ। प्राय 35 वर्ष पछाडि 230 मिलियन केजीको रेखालाई नाघ्दै यसले रेकड बनाएको छ। 1980-81 मा भारतले 231.74 मिलियन केजी चिया निर्यात गरेको पाइन्छ, त्यसपछि 1976-77 अनि 1956-57 मा भारतले क्रमैसित 242.42 अनि 233.09 मिलियन केजी चिया निर्यात गरेको हिसाब छ।
निर्यातको चलन
विश्व बजारमा श्रीलंका, केन्या अनि चीन सँग प्रतिस्पर्धा गर्दागर्दै पनि चिया निर्यातको क्षेत्रमा भारतको स्थान पहिलो देखि झरेर चौथोमा पुगिसकेको छ। तर पनि हालैको रिपोर्टहरूले CIS (Commonwealth of Independent States) देशहरू, विशेषगरी रसियामा भारतको चिया निर्यात बढेको छ भनेर पुष्टि गर्छ। यहाँ यो कुरा याद गर्नु पर्छ कि 1990 को समयमा भारतको चिया निर्यातमा आएको डरलाग्दो ह्रासको कारण सोभियत युनियनको विलय पनि थियो कारण त्यस्ताक यहिँ देश भारत चियाको सबैभन्दा ठुलो आयातकर्ता थियो। 'क्राइसिल' रिसर्चको रिपोर्ट अनुसार ओर्थोडक्स चिया जसको बजार देशमा ना को बराबर छ, त्यसको निर्यात 5 % बढेर 95 मिलियन केजी हुने सम्भावना छ र जसको डिमान्ड CIS का देशहरू साथै टर्कीबाट भएको छ। यसको साथै उत्पादनको सीमितताले गर्दा ओर्थोडक्स चियाको मुल्यमा 10% वृद्धि हुने सम्भावना पनि रहेको छ। सबैभन्दा अधिक ओर्थोडक्स चिया निर्यात गर्ने देशहरूमा श्रीलंकाको नाम पहिलो स्थानमा आउछ। मिलाएर भन्नु पर्दा विगतको दशकमा चियाको घेरेलु बजारमा खपत छिट्टो बढि रहेको छ। तर चियाको उत्पादन भने ढिलो बढ्दैछ। त्यसैले घरेलु बजारमा चियाको बढ्दो मांग र उत्पादनमा भने ढिलाईले गर्दा निर्यातमा कमी आइरहेको छ। देश भित्रै रहेको चियाको खपतले चियाको मांगलाई बढाई रहेको छ जसमा दार्जिलिंग चियालाई अपवादको रूपमा हेर्न सकिन्छ, जसको बेसी भाग निर्यात हुन्छ। अझ ओर्थोडक्स चियाको निर्यातको मांगले निकट भविष्यमा दार्जिलिंग चिया उद्योगलाई अझ फस्टाउने मौका दिनेछ।
लिलामीको मुल्यको चलन
शुरुमै यो भन्न उचित होला कि भारतीय चियाको मूल्यको अध्ययन विभिन्न लिलामीमा उठेको मूल्यबाट निर्धारित हुने गर्छ। यहाँ लिलामीमा उठेको मूल्यलाई आपूर्तिको मूल्य वा उत्पादकको मूल्यको हिसाबले हेर्न सकिन्छ तर चियाको मूल्यको चलनबारे अध्ययनमा मांगबाट जन्मेको मूल्य वा उपभोक्ताले तिरेको मूल्य वा सिधै भन्दा खुद्रा किन्नु पर्दा तिर्नुपर्ने मूल्यलाई गाभेको पाइन्दैन। र यसैले भारतीय चियाको सठीक मूल्यलाई पहिल्याउन बाधा दिन्छ। स्मरणीय छ कि टी बोर्डले 1 अक्टोबर 2015 मा जारी गरेको सूचना अनुसार जम्मै पंजीकृत चिया उत्पादकहरूलाई आफ्नो वस्तुको 50% लिलामीमा बेच्ने आदेश दिएको छ। बाँकीको वस्तु चाहिँ बगान/फ्याक्ट्रीबाट प्रत्यक्ष बिक्री हुनेछ।
वास्तवमा बगान/फ्याक्ट्रीबाट प्रत्यक्ष बिक्रीले जम्मै बिक्रीको राम्रै अंश ओगटेको छ। अचम्मको कुरा यस्तो प्रत्यक्ष बिक्रीमा चियाको खरिददारी गर्ने वा बिक्री गर्ने वा टी बोर्डलाई चियाको असल दाम प्रकाशमा ल्याउनु पर्छ भन्ने कुनै कर छैन। यसैले जो चिया व्यापारमा छैन तिनीहरूलाई भारतीय चियाको खास मूल्य कति कति छ त्यो जान्न अलिक गाह्रोनै पर्छ। यसले सोधकर्ताहरू द्वारा चिया उद्योगको नाफा-नोक्सानको हिसाबकिताब निकाल्नमा पनि ठुलो बाधा पुर्याउछ। फेरी नाफा-नोक्सानको गलत हिसाब र आंकडाले ज्याला निर्धारणमा सिधै असर पार्छ। कारण सही हिसाब नजानी तोलमोल गर्न सकिन्दै र यसरि मजदुरहरूको भाउ कस्ने क्षमता कम भएर जान्छ।
चिया लिलामीमा बिक्री भएको चियाको परिमाण पनि पहिलाको वर्ष भन्दा पछिको वर्षमा 8.05% देखि 17.82% भएको छ। उत्तर भारतमा यसको परिमाण 39.3% छ भने दक्षिण भारतमा यसको परिमाण 26.22% रहेको छ।
लिलामीको मुल्यमा वृद्धि
भारतमा बढ्दो चियाको मुल्य (साभार: द हिन्दु, जनवरी 19, 2014 )
2009-14 सम्ममा चियाको मूल्यमा वृद्धि आएको देख्न सकिन्छ कारण उत्पादनमा हुने विकाशको गति धिमा अनि खपतको गति द्रुत भइरहेको थियो। 2008 देखि 2013 मा, कालो चियाको उत्पादनमा डरलाग्दो वृद्धि भयो जसको CAGR 1.6% थियो भने खपत 2.3% CAGR को दरले बढेर गयो।
निलामीको मुल्यमा वृद्धि
2013 को 2.6 महिनाको खपतले गर्दा विगत पाँच वर्षमा संचित वस्तुको परिमाण प्राय आधा भएर गयो, त्यही समयमा भारत भरि चियाको मूल्यमा 9% को वृद्धि भयो।
टी बोर्डले यो दिनदिनै घट्दो संचित वस्तुको परिमाणलाई ठुलो चिन्ताको विषय ठानेका छन् कारण एउटा महत्त्वपूर्ण स्तरदेखि तल यसले देशको खपतलाई उत्पादन नहुने बेलामा धान्न सक्दैन।
अर्कोपट्टी 2014 मा चिया खपत भने 2-2.5% बढ्ने स्थितिमा रह्यो जसको कारण जनसङ्ख्यामा वृद्धि र प्रति क्यापिटा खपतको स्थिरता थियो। यसैले उत्पादन भन्दा खपत ज्यादा भएकोले इन्भेन्टरी लेभल अझ खस्किएर गयो जसले मूल्यमा वृद्धि गर्ने भयो। चियाको बढ्दो दाम र घरेलु मांगले गर्दा उत्पादकहरूले घरेलु बजारलाई नै बेसी महत्त्व दिनु पर्ने हो। ब्रान्डेड उत्पादकहरूको नाफाको राशि पनि अवश्यम्भावी रूपले बढ्ने भयो जसले घरेलु बजारमा चियाको खुद्रा दाम अझ बढ्ने सङ्केत दिन्छ।
उत्पादनमा बढ्ता, रोजगारमा कमी
चिया उद्योगका मालिकहरूको तर्फबाट एउटा महत्त्वपूर्ण कुरो के आई रहेको छ भने चियाको मूल्यमा वृद्धि भइरहेको भए पनि तिनीहरूको नाफाको रेखा भने खुबै कम बढीरहेको छ। 2014 को 'क्राइसिल' रिसर्च अनुसार नाफा केवल 19% बढेको देखाईएको छ। नाफा कम्ती भएको कारण तिनीहरूले तेल र बिजुलीको बढ्दो दाम साथै मजदुरहरूको ज्याला र अन्य सहुलियतहरूले गर्दा हो भनेर भनेका छन्। तेल र बिजुलीको दामलाई पर सारेर हेर्दा मजदुरहरूको बढ्दो ज्याला मालिकहरूको नाफामा ह्रासको कारण हो भनेर मानिलिनु साह्रै नपत्याउदो हो। हाम्रो सामान्य अर्थनीतिको ज्ञानले धरी भन्छ कि मजदुरको ज्याला उनीहरूको उत्पादन क्षमतासँग सोझै जोडिएको हुन्छ। जति बेसी उत्पादन क्षमता त्यति बेसी ज्याला।
टी बोर्डको आँकडाले बताउछ कि जहाँ 1950 देखि 2006 सम्ममा चिया उत्पादनमा CAGR 2.24% ले बढेको छ, त्यही यही समय अन्तरालमा चिया उत्पादनको क्षेत्रफल र मजदुरको रोजगारमा CAGR क्रमैले 1.03% अनि 0.50% मात्रै बढेको छ। यसैले यहाँ देख्न सकिन्छ कि चिया उत्पादनको तुलनामा चिया उत्पादनको क्षेत्रफल र मजदुरको रोजगार दुवैमा कमी छ। चिया उत्पादनको क्षेत्रफल र मजदुरको रोजगारमा कमी हुदाहुदै पनि उत्पादन बढ्नाले यो कदापि पनि बताउदैन कि मजदुरको उत्पादन क्षमतामा कमी छ।
मजदुरको उत्पादन क्षमता
मजदुरको उत्पादन क्षमताको पक्षमा एउटा कुरोले विशेष ठाउँ ओगटेको छ त्यो हो चिया गाछको उमेर जसले धेरै कम्ती प्रति गाछ उत्पादन दिन्छ। तरैपनि यस्तो बाधाहरूलाई पार गर्दै मजदुरहरूको उत्पादन क्षमतालेनै शताब्दी पुरानो चिया उद्योगलाई अहिलेसम्म जीवित तथा नाफदायी बनाएर राखेको छ।
चिया बगानका मजदुरहरू देशमा सबैभन्दा कम्ती ज्याला पाउने मजदुरहरू हुन्। चिया बगानमा मजदुरहरूको पसिनामा नाफा कमाउने मालिकहरू मजदुरहरूलाई निम्नतम सुविधाजनक जीवनस्तर पनि दिन राजी छैनन्। चिया मजदुरहरूको अति कम्ती ज्यालाको कुरा National Advisory Council (NAC) on Welfare of tea Plantations Labour को रिपोर्टमा पनि उल्लेख गरिएको छ। बंगालको धेरैजसो जनताले पनि उक्त कुरोको भर्त्सना गरेका छन्। बढ्दो उत्पादनको खर्चको कारण भने बगानलाई सुचारु रूपले चलाउनको निम्ति गर्नु पर्ने खर्चको कटौती हो। कारण मालिकहरू चिया उद्योगलाई आफ्नो धेरैवटा उद्योगहरू मद्धे केवल एउटा अवशिष्ट कमाइको जरिया मात्र मान्छन्। बगानको देखरेखको निम्ति ना को बराबर गरेको खर्चनै बढ्दो उत्पादन खर्चको कारण हो ना कि मजदुरको बढ्दो ज्याला।
No comments:
Post a Comment