संगीता खेवा
अगस्ट 6, 1945। आजभन्दा 71 वर्ष अघाडी जापानको हिरोशिमा भन्ने शाहरमा अमेरिकाले परमाणु बम झार्यो। मात्र 1 किलोग्राम युरेनियम बोकेको यस बमले 13000 टन विस्फोटक जत्तिकै शक्तिको प्रदर्शन गर्दै ध्वनिभन्दा छिट्टो कुददै त्यस शाहरमा भएको जम्मै जन-जीवनलाई एक्कै क्षणमा ध्वंश गरिदियो। 2000 डिग्री सेन्टिग्रेड उत्ताप पैदा गरेर 600 मिटर गोलार्ध भएको कुनै वस्तु पनि सिङ्गो नराखी ‘लिटल बोय’ ले आफ्नो खेला देखायो। हिरोशिमाको साधारण दिनचर्यामा यसले सधैको निम्ति एउटा ठुलो खाडलको सृजना गरेर गयो। प्राय 140000 जनाले त्यतिनै बेला आफ्नो ज्यानबाट हात धोए भने हजारौँ जना घातक रेडिएसनको शिकार भएर मरे। यति मात्रै नभएर यसैको तीन दिन पछाडि अगस्ट 9, 1945 मा जापानको अर्को शहर नागासाकीलाई अमेरिकाले दोस्रो निशाना बनायो। यसपालि भने युरेनियमको साटो प्लुटोनियमले भरिएको परमाणु बमको फुट्ने पालो थियो जसको नाम ‘फ्याट म्यान’। यसले पनि 40000 जना नागरिक हरूको ज्यान लियो। परमाणु बमको भयंकर परिणामहरूले जापानलाई आजसम्म पछ्याईरहेको छ। एक समयमा मानिशहरूले भरिभराउ यी दुई शहरहरू परमाणु बम वर्षा पश्चात् कहिले आफ्नो पुरानो रूपमा फर्कन सकेनन् यो घटना पछाडि यहाँ क्यान्सर, शरीरमा विकृति, भ्रूणमा विकृति, मानसिक रोग ग्रस्त नानीहरू देखा पर्यो जो सरासर परमाणु बमको रेडिएसनको परिणाम थियो। अमेरिकाबाट पहिलो बमको परिणाम देखि सकेर पनि फेरी अर्को बमको प्रयोग गर्नु एउटा बर्बर र नृशंश निर्णय थियो। आखिर के त्यस्तो आवश्यकता पर्यो र अमेरिका परमाणु बम चलाउनु बाध्य भयो त? सबैभन्दा चल्ती उत्तर हो– जापानलाई आत्मसमर्पण गराउनको निम्ति उक्त कदम चालिएको थियो। जस्तो कि त्यस समयका अमेरिकी राष्ट्रपति हेरी ट्रुम्यानले भनेका थिए "जापानलाई अझ बढ्ता तबाही मच्चाउन रोक्न र हजारौँ अमेरिकी सैनिकहरूको रक्षाको लागि परमाणु बम झार्नु अनिवार्य थियो।" तर वास्तवमा भने जापानको आत्मसमर्पण त पहिलेनै ठिक भइसकेको थियो। त्यो बम न झरेको भए पनि जापान आत्मसमर्पण गर्न तैयार थियो। फेरी किन परमाणु बम झर्ने आवश्यकता पर्यो त अमेरिकालाई? कारण थियो आफ्नो सबैभन्दा ठुलो शत्रु रुसलाई युद्ध पछि पनि आफ्नो शक्ति देखाउनु अनि यत्रो पैसा खर्च गरेर बनाएको हतियारको परीक्षण गर्नु। हुन त दोस्रो विश्व युद्धको बेलामा रसिया र अमेरिका एक जुट भएर जर्मनीको खिलाफमा लडेका थिए अनि नाजी शासनको खेला खतम गरेका थिए तर अमेरिकालाई भने सधैँ डर थियो कि कतै युद्ध सकिए पछि रसियाले उसैमाथि आइलाग्ने पो हो कि भनेर यसैले रसियालाई आफ्नो सामर्थ्य देखाउन अमेरिकाले परमाणु बमको तबाही देखुने निधो गर्यो जस्तो कि त्यस्ताकका अमेरिकी युद्ध सम्बन्धी अध्यक्ष हेनरी एल स्टिमोन्सले भनेका छन् "to persuade Russia to play ball" अर्थात् रसियालाई आफ्नो चाल चल्न उत्सुक बनाउनु। यसैबाट बुझ्न सकिन्छ कि अमेरिकालाई रसियासँग र समाजवादसँग कतिको डर लागेको रहेछ। यहाँसम्म कि ट्रुम्यान राष्ट्रपति हुनुभन्दा पहिला फ्रयांकलिन डी. रोजभेल्ट हुँदै उनले भनेका थिए "रसियालाई क्रिस्चियन सभ्यताको नियन्त्रणमा ल्याउनु अति जरुरी भइसकेको छ।" यसैले रसियालाई जसरि भए पनि तर्साउने फैसला पहिलेनै भइसकेको थियो। फरवरी 1945 मै यलता कन्फरेन्समा सोभियत युनियनले जापान विरुद्धको लडाइमा अमेरिकाको साथ दिने निर्णय भइसकेको थियो। जर्मनीले 8 मईमा आत्मसपर्ण गरे पश्चात् रुसीहरू अगस्ट 9, 1945 मा जापान अधिकृत मन्चुरियामा पुग्ने र चाडै जापानको मुख्य भूमिमा पाइला राख्ने निश्चित भयो। अमेरिकाले त्यस्ताक रसियाको सहायता लिए पनि पछिबाट उसलाई पछुतो हुन् थाल्यो कारण रसियाले जितेको धेरैवटा देशहरू सोसियलिस्ट रिपब्लिकहरू भएर जोडिन थालेका थिए। पूर्व युरोपक देशहरूमा सोभियत युनियनपट्टिको झुकाव देखेर अमेरिका खुब तर्सिएको थियो र जापानलाई रसियाले हराए भने त यसको प्रभाव जापानमाथि अवश्य पनि पर्ला भनेर ट्रुम्यानले सोचे कि अब स्टालिनलाई यो देखाउने पालो आएको छ कि युद्ध पछाडिको जापानमा सोभियत युनियनको कुनै छाप पर्ने छैन, कारण ट्रुम्यानले एउटा काडले दुइटा शिकार गर्ने निधो गर्यो, परमाणु बमलाई जापान माथिको आफ्नो जीतको माध्यम बनाएर रसियालाई आफ्नो क्षमता देखाउने। उनले आफ्नो डाइरीमा पनि लेखेका रहेछन्— "जापान विरुद्ध रसियालाई आफ्नो साथी बनाउनमा हतार गरेपनि जर्मनी जस्तै यसपालि भने रसियालाई कुनै पनि हालतमा जापानमाथि आफ्नो प्रभुत्व जमाउने मौका दिंइदैन... रुसीहरू केवल शक्तिलाई मात्रै टेर्छन्।" र उनको अघाडी यहीँ प्रश्न थियो कि कसरी रसियालाई आफ्नो शक्ति देखाउने र यसको उत्तर हिरोशिमा र नागासाकीलाई परमाणु बमले उडाएर त्यहाँको जनजीवनलाई ध्वस्त गर्नुमा थियो। फेरी जापानमाथि रसियाको असर तबमात्रै हुँदैन जब अमेरिकाले जापानलाई एक्लै जित्ने छ। अब रसियासँग मिलेर जित्यो भने त रसियाले जीतको श्रेय त लिनेनै भयो। जर्मनी जस्तै। त्यसैले अमेरिकाकोमा भएको हतियारको प्रदर्शन रुसीहरूलाई डर देखाउनु पर्याप्त हुँदैन र?
अर्कोपट्टि संसारलाई देखाउनुको लागि त जापानलाई घुडाँ टेकाउनको निम्ति बमको प्रदर्शन गर्नु जरुरी छ। त्यसैले नेभीमा कार्यरत अधिकारी स्ट्राउसले नेभीका उच्चपदाधिकारी जेम्स फोरेस्ट्रललाई परमाणु बमको उपयोग गर्नै पर्छ तर यस्तो प्रयोग जापानको यस्तो ठाउँमा गरियोस् जहाँ यसको शक्ति देख्न सकियोस् तर मानव ज्यानको कुनै क्षति चाहिँ न होस् भन्ने सल्ला दिएका थिए। उनले टोकियो देखि केही पर स्थित क्रिप्तोमेरिया जङ्गलमा परमाणु बम प्रयोग गर्न सकिन्छ भनेका थिए। फोरेस्ट्रलले सहृदयतासाथ उक्त सल्ला मानेका पनि थिए। तर फेरी किन यत्रो निअस्त्र जनताको बलि? अमेरिकी एयर पोलिसी कमिटिको अध्यक्ष थोमस के फिनलेत्टरले यसको जवाबमा भनेका थिए कि तिनीहरू सँग बेसी समय नहुनुको कारणले गर्दा तिनीहरू केही हजार मानिशहरूलाई मारेर आफ्नो स्वार्थ पुरा गर्न बाहेक उनीहरूसँग कुनै उपाय थिएन। के को निम्ति समय थिएन त? रसियाभन्दा पहिले आफूले जापानलाई सयस्त बनाएको उपाधि लिनुको निम्ति समय। जापानकै आत्मसमर्पणको कुरो थियो भने त 22 जुलाईमै जापानले शान्ति संदेश पठाएको थियो जसलाई अमेरिकाले सोझै नकारे र तीन हप्ता पछाडि जनजीवनले भरिएको दुईवटा जापानी शहरको नामोनिशान मेटाई दिए। जापानले पनि आफ्नो आत्मसमर्पण कारण परमाणु बमलाईनै बताएका थिए कारण जापान जस्तो शक्तिशाली देश जसले अरू धेरैवटा एसियाली देशहरूलाई कब्जा गरिसकेका थिए र आफ्नो ताकतको घमण्डमा चुर थिए, तिनीहरूले सजिलै हार मानेको चाल पाए देशवासी साथै अन्य देशको छेउमा लाज हुने भएकोले जापानले पनि परमाणु बमले गरेको तबाहीको साह्रै निन्दा गरेनन् बरु आफ्नै स्वार्थको निम्ति उक्त घटनालाई इस्तेमाल गर्यो। यसैबाट बुझ्न सकिन्छ कि शासकले कहिले पनि जनताको दर्दलाई बुझ्दैन र जस्तै दुर्घटनालाई पनि आफ्नो स्वार्थको निम्ति प्रयोग गर्न सक्छ। अमेरिकाको यो फैसला पछाडि केवल राजनैतिक नेताहरू सहमति मात्र नभएर म्यानहेटन प्रोजेक्टक धेरैजसो वैज्ञानिकहरूको पनि सहमति थियो तर धेरै जसो वैज्ञानिकहरू भने आफूले बनाएको वस्तुको विनाश देखेर लज्जित पनि भए। म्यानहेटन प्रोजेक्टमा कार्यरत् भौतिक विज्ञानका विशेषज्ञले मार्च 1944 मा परमाणु बमको सफलतापूर्वक जाँचको 18 महिना अघि जेनेरल ग्रोभरले यस्तै बातचितमा "तिमीले अहिलेसम्ममा बुझी सक्यौं होला कि हाम्रो यो बम बनाउको मूल उद्देश्य रसियालाई डर देखाउनु हो" भनेको सुन्दा सातो उडेको थियो कारण तिनी र अरू कतिपय वैज्ञानिकहरू परमाणु बम बनाउनुको खास लक्ष्य नाजीहरूले भन्दा पहिला यो हतियार बनाउने होडबाजीमा जित्नु मात्रै सोचेका थिए। कारण तिनीहरू सोच्थे "दुष्ट नाजीहरू" भन्दा पहिले असल अमेरिका" को हातमै यस्तो खतरनाक साथै शक्तिशाली हतियार हुनु पर्छ। यसरि आफ्नै जनतालाई पनि अध्यारोमा राखेर अमेरिकाले आफ्नो फाइदाको लागि परमाणु बमको सृष्टि गर्यो र अहिलेसम्म यहीँ शक्तिको बलमा परमाणु शक्ति नभएको देशहरूमा हैकम झाडी रहेको छ। अब परमाणु बमलाई त सबैले नकारी सक्यो त्यसैले वैकल्पिक शक्तिको रूपमा भए पनि अमेरिका परमाणु शक्तिलाई प्रधानता दिन्छ यसरि परमाणु शक्ति पैदा गर्ने होड चलिरहेको छ संसार भरिनै र भारत पनि कम छैन। प्राकृतिक शक्तिको विकल्प किन यस्तो चिजलाई बनाउनु जसले संसार र सभ्यतालाईनै नष्ट गर्न सक्छ? कारण सहज छ यसले संसारमा आतङ्क बनाई राख्छ र सबैलाई थाह भएकै कुरो हो "जसको शक्ति उसैको भक्ति।"
No comments:
Post a Comment