Friday, November 25, 2016

लेबर युनियन

छेवाङ योञ्जन । कालेबुङ

लेबर युनियनको भद्दा इतिहास बोकेर
रोइ रहन्छ मेरो चियाबारी
जहाँ कपडाको साटो घाम
रोटीको साटो जुन
तिर्खाको साटो महासागरको सपना पाल्छ
लेबर युनियन।
बन्द कारखानाको
घण्टी बज्ने आशामा
कान थापी रहन्छन् चमेलीहरू
कतै म्यानेजरले कलम काट्ने आदेश
दिन्छ कि भन्ने प्रतिक्षामा
खुर्पा उद्याइ रहन्छन् रवीदाशहरू
अनकन्टार जंगल बनिसकेको बगानहरूमा
घाइते जीवन घिसार्दा घिसार्दै
थाकी सकेका पाइतलाहरू
फेरी पनि
एकहोरो हेरिरहन्छन्
युनियनकै झण्डा
एकहोरो सुनिरहन्छन्
युनियनकै नारा
रवीदाशको आगन टेकेर
दिनहु कुद्छ
युनियनको झुटो नारा
र नाराको पछि कुद्छन् रवीदाशहरू
चमेलीको आँखा अघि
नाची रहन्छ
युनियनकै बदनामी झण्डा
र झण्डामै टासिन्छ चमेलीहरूको आस्था
तर, चमेलीहरू बुझ्दैनन्
युनियनले बगानलाई गरिरहेको बलात्कार
लोग्नेको तातो भातमा
युनियनले पिसाब फेरेको कथा
पटक्कै बुझ्दैनन् चमेलीहरू...
सभामा दिन भरी ताली बजाएर
घर फर्किरहेका रवीदाशहरूलाई
पटक्कै थाह छैन
कि युनियन अघाएको दिन नै
उड्ने छ कारखानाको चिम्नीहरूमा
कालो धुवा
र
मुसुक्क हाँसेर फ्याक्ने छ
म्यानेरजले औँठमा च्येपेको खैनी
युनियन भनेको खैनी हो रवीदाश खैनी

स्वाद परिञ्जेल च्यापी रहन्छ म्यानेरज।


No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...