Friday, November 25, 2016

आऊ तिमी क्रान्ति बोकेर

गंगाप्रसाद प्रधान । बाग्राकोट, डुवर्स


1. तिमीले देखेका सपनाहरूलाई
साकार तिमीले पार्नुछ।
उत्पीड़नले नाशिएको संसार
पुनःस्थापना गर्नुछ;
नवीन जोष र उमंग लिएर
आऊ तिमी क्रान्ति बोकेरं

2. कुण्ठित तिम्रा अधिकारहरू
पुनःप्राप्त गर्नुछ,
शोषण दमनबाट मुक्ति पाउन
सङ्घर्ष तिमीले गर्नुछ।
दासत्वको जंजीर तोड़ी
आऊ तिमी क्रान्ति बोकेर।

3. तिमीले बहाएका रगत पसीनाको
किमत तिमीले लिनुछ;
पुर्खाले गुमाएको माटोलाई
फर्काई तिमीले ल्याउनुछ।
विद्रोहको राँको बाली
आऊ तिमी क्रान्ति बोकेर।

4. लुटिएका तिम्रा आकाश धर्ति
खोसेर फेरि लिनुछ,
गुमेका तिम्रा भूत वर्तमान
वापस तिमीले पाउनुछ।
अंग-अंगमा जोश भरेर,
आऊ तिमी क्रान्ति बोकेर।

5. विदेशीपनको लान्छना मेट्न
सङ्घर्ष तिमीले गर्नुछ,
अन्याय र अत्याचारको विरूद्ध
आन्दोलन तिमीले गर्नुछ।
गगनभेदी नारा लगाउँदै,
आऊ तिमी क्रान्ति बोकेर।

6. मजदुर विरोधी कानूनहरू
संविधानबाट मेट्नुछ,
पुँजीवादी शक्ति विरूद्ध
एकजुट भई लड्नुछ।
मजदुर एकता बलियो पार्न
आऊ तिमी क्रान्ति बोकेर।

7. मजदूर विरोधी शक्तिसँग
सङ्घर्ष तिमीले गर्नुछ;
विश्वबन्धुत्व कायम गर्ने
लक्ष्य तिमीले लिनुछ।
नयाँ बिहानको घाम झुल्काउन
आऊ तिमी क्रान्ति बोकेर।

8. टिस्टा सुनकोश बहाई नसामा
आँखाहरूमा भरी हरियाली,
हातहरूमा पाखा पखेरो,
मनको तहमा देउराली,
मुठीहरूमा साहस बटुली
आऊ तिमी क्रान्ति बोकेर।

9. दुर छ लक्ष्य, मार्ग दुर्गम,
गर्नुछ तथापि अतिक्रमण,
धैर्य र हिम्मतको हतियार भिरी
अघि बढ्नुछ हरदम।
भय र निराशालाई अति दुर फाली
आऊ तिमी क्रान्ति बोकेर।

10. उत्साह र उमंगको घुम्टो ओढ़ी
पाखुरीमा भरी जांगर,
सच्चाइलाई जिब्रोमा राखी
इमानदारीको शक्ति बोकी,
आलस्यको घाँटी निमोठी,
आऊ तिमी क्रान्ति बोकेर।

11. आउँछन् अनेकौं आपद-विपद
डराउनु तिमीले हुँदैन।
अदम्य साहसीलाई
असफलताले छेक्दैन।
सफलताको भीमनाद गर्दै
आऊ तिमी क्रान्ति बाकेर।



No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...