Friday, November 25, 2016

गुजरातमा दलित आन्दोलन

सुमेन्द्र तामाङ
"गाईनु पुछ तुमे राखो, 
हाड़का चामड़ा तुमे राखो
आमे आमरा जमीन आपो!"
मोदीको गुजरात मोडेलको कति प्रोत्साहन चल्छ मिडियामा, गुजरातमा गरिबी छैन रे! गुजरातमा सबै जनाले काम पाउछन् रे! गुजरातमा हिन्दु मुस्लिमहरू भाइ-भाइ रे! पहाडबाट पनि धेरै युवा-युवतीहरू जान्छन् गुजरात, पलायनको चक्रव्यूहमा महत्त्वपूर्ण भागीदारी छ, गुजरात राज्यको। भनिन्छ पहाड र समतललाई गुजरात जस्ता महानगरीले पाली रहेकोछ रे! मेरो धेरै साथीहरू पनि छन् गुजरातमा, छुट्टीमा घर आउदा भाषाको परिवर्तन देख्छु— यार ! बकवास न गर न! जस्ता शब्दहरूको हस्तक्षेप देख्छु। अझै, विस्तृतरुपमा कुरा गर्न जादा सामाजिक ‘गाली’हरूमा पनि हिन्दी भाषी परिवर्तनहरू देख्छु। पलायनको यो अनुहार बारे सोच्दा, मन चिसो भएर आउँछ, तर पनि चिसै मनलाई लिएर मेरो छुट्टीमा आएको साथीसँग गफ गर्न थाल्छु। गुजरातको गफ अझै चल्छ, शपिङ मल, आइनोक्स, ढोकला इत्यादी। गुजरातमा निक्कै दङ्गाहरू भएको थाहा छ। हिन्दु मुस्लिम बिचको दङ्गामा हिन्दु कट्टरवादीहरूले एउटी आइमाईको पेटको बच्चालाई काटेर निकालेको र त्यसलाई चक्कुले मारिदिएको दर्दनाक, भयानक र अमानवीय घटनाहरू भएको कुराहरू अहिले विभिन्न लेखहरू तिर पढ्छु। रिस उठ्छ ! 
 धेरै दिन देखि इन्टरनेटमा गुजरातमा भइरहेको दलित आन्दोलन लिएर निक्कै हल्ला छ। गुजरात— जहाँ गरिबहरू छैन भनिन्थ्यो, त्यहाँ दलितहरू बाटोमा ओर्लिएका छन्। दलित समूहलाई यो हिन्दु धर्म र समाजमा तल्लो दर्जाको भनी मानिन्छ र त्यही प्रकारले यिनीहरूसंग अछुत व्यवहार गरिन्छ। भारतमा जातिप्रथा डरलाग्दो रूपमा गाडिएको छ। एउटा वर्णका जनसङ्ख्याले जातिप्रथा लाई हतियार बनाएर "तल्लो" वर्णमा पर्ने जनसङ्ख्यालाई शोषण गरी रहेछ। अनि यो छुवाछुत र शोषण पहाडमा पनि भइरहेको छ, यो यथार्थ हो। यसलाई हामीले अस्वीकार गर्न सक्दैनौ। अम्बेडकरले जातिप्रथा केवल श्रमको विभाजन मात्रै होइन तर श्रमिकको विभाजन पनि हो भनी भनेका छन्। यसको साक्षात् उदाहरण गुजरात दलित आन्दोलन हो। गुजरातमा जुलाई 11 तारिख, उना भन्ने ठाउँमा 7 जना दलित युवाहरूलाई कुकुर जस्तो गरेर कुटपिट गरियो, त्यस पछि बाटोमा नांगै हिड्न लगाइयो।
प्रश्न— किन? कसले?
राष्ट्रिय स्वयंसेवक सङ्घको उद्देश्य अंगालेर ‘गाई’लाई रक्षा गर्ने एउटा टोली अहिले भारतभरिनै बनिन्दै छ। "गाई हमारी माता है" स्लोगन दिएर दिनको उज्यालोमा यो सङ्घले हिंसात्मक रूपले ती 7 जना दलितहरूलाई किन कुट्यो त्? यसको उत्तर गुजरातमा दलितहरूको कामसंग लुकेको छ। दलितहरूले मरी सकेको गाई-गोरुको छाला निकाल्ने काम गर्छन् र ती 7 जना युवकहरूले आफ्नो काम गर्दै गर्दा यी गौ-रक्षकहरू आएर तिनीहरूलाई कुटेको हो। तुच्छ काम पनि गराउनु अनि काम गर्दा पनि चुट्नु यो नै हो कट्टरवादी हिन्दुत्व। वर्ण विभाजन जोगाउने नै उद्येश्य लुकेको छ यसमा। शताब्दी देखि चली रहेको यो कुप्रथाले समाजमा यति भिन्नता, उत्पीडन, शोषण ल्याएको छ कि यसको नाममा लाखौ दलितहरू बलि चडी सकेका छन्। तर, यस घटना पछि भने जातिप्रथाको त्यो पोका विस्फोट भइरहेको छ। हजारौँ दलितहरू जातिप्रथाको विरोधमा सङ्गठित हुँदै छन्, सडकमा ओर्ली रहेको छन्। उनाको यस घटना पछि त्यहाँ हल्ला खल्ला मचियो। दलितहरू हजारौँ वर्षको देखि दबीएको आवाज, संकल्प लिएर जातिप्रथाको विरोध गरी रहेका छन्। यो आन्दोलन अहिले गुजरात भरि डढेलो झैँ फैलिरहेको छ। पुरा गुजरातकै दलितहरू एक जुट भएर र्याली गरी रहेका छन्। जिग्नेश मेवानी भन्ने एक जना समाजकर्मी यो आन्दोलनको अनुहार भएको छ। 5 अगष्ट मा यस आन्दोलनले नयाँ मोड लियो। 5 अगष्ट देखि दलितहरू अहमदाबाद देखि उना सम्मको 350 किलोमिटर पैदल र्याली गरे। अहमदाबाद देखि शुरू भएको यो र्याली 15 आगस्ट उना पुग्दा, 2 लाख भन्दा ज्यादा दलितहरू त्यहाँ भेला भएको थिए। 10 दिन को यो र्यालीमा दलितहरू जोडिँदै गए। बिच बाटोमा आर.एस.एस. का कर्मीहरूले हमला पनि गरे कति हौ कति, तर पनि आन्दोलन अझै ठुलो हुँदै गयो। हिन्दुत्वलाई यो ठुलो धक्का थियो। मोदीजी, जो गुजरातबाट, गुजरात डेवेलोपमेन्ट मोडेल मार्फत नै सुपरहिट भएको हो, चुप चाप बसे। जति आन्दोलन बढदै गयो, दबाब पनि बढदै गयो, झन् बढ्यो आन्दोलन। मुस्लिमहरू पनि यस आन्दोलनलाई समर्थन गर्दै अघि आए। दलित-मुस्लिम एकताले गर्दा आन्दोलन झन् दह्रिलो भएको छ अहिले। यस आन्दोलन को स्लोगन हो— "जुल्मी जब तक जुल्म करेगा हिन्दुत्व के हतियारो से/चप्पा –चप्पा गुन्ज उठेगा इन्कलाबके नारोसे से", "गाईकी पुछ तुम रखो, हमारी जमिन हमे दो। "
 यस मनुवादी दर्शनको निम्ति गुजरात दलित आन्दोलन एउटा ठुलो चुनौती हो। यो असमानता, उत्पीडन, शोषण, शासनको विरोधको प्रतीक हो। दलितहरूले अब छाला निकाल्ने अनि फोहोर सफा गर्ने जस्ता तुच्छ कामहरू न गर्ने संकल्प गरेका छन्। शायद भारतीय दलित इतिहासमा यस्तो आवाज उठाउने यो दलित आन्दोलनहरूमा पहिलो होला। ब्राह्मण अनि अरू उच्चस्तरीय जातहरूको मैला सफा गर्ने कामलाई नकार्नु नै यस आन्दोलनको मुख्य सङ्घर्ष अनि सफलता पनि हो। 15 अगष्टमा उनामा जिग्नेश मेवानी, राधिका वेमुला (रोहित वेमुल्लाको आमा) र कन्हैया कुमार जस्ता नयाँ पिडीको व्यक्तित्वहरूले दलित उत्पीडन लिएर सङ्घर्षको आवाज दियो। कति आमाहरूले आफ्नो नानीहरू घरमा छोडेर यस महार्यालीमा भाग लिए अनि यस जातिवादी, ब्राह्मणवादी, हिन्दुत्वको खिलाफ आवाज अनि सङ्घर्ष गर्ने नारा दिए। नारी शोषण अनि जातिवादको सांग्लोलाई तोड्न यो एक मुख्य योगदान थियो। 
 आर.एस.एस.को हिन्दु राष्ट्रको कल्पना (अर्थात् मुस्लिम अनि अरू अन्य अल्पसंख्यक धर्मलाई की त हिन्दु बनाउनु अथवा मारी दिनु वा खेद्नु) मा यो दलित आन्दोलन एउटा ठुलो बाधा हो। पुँजीवाद र कट्टरवादी हिन्दुत्वको मिश्रण मार्फत अहिले जस्तो प्रकारको राजनैतिक र सामाजिक स्थिति छ पुरा भारत देशको— त्यो कश्मिर, मणिपुर, बस्तर हेर्दा एक हद सम्म देख्न पाईन्छ। जब सम्म एउटा मान्छेले अर्को मान्छेलाई मान्छेको स्तरमा हेर्दैन तबसम्म जातिवादको दबदबा चालिनै रहने छ यस समाजमा। यसैले जातिवादलाई खतम गर्नु नै मूल उद्देश्य हुनुपर्छ। कट्टरपन्थी हिन्दुत्व जब सम्म खतम हुँदैन, जातिवाद समाजमा फस्टाइ रहने छ। त्यसैले नयाँ समाजको निर्माण जहाँ मान्छे मान्छेमा समानता हुनेछ छ भनेको नै धार्मिक कट्टरवादको विनाशबाट मात्रै हुनेछ। गुजरात दलित आन्दोलन यसैको प्रतीक हो। 


No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...