Wednesday, April 15, 2015
Thursday, April 2, 2015
सम्पादकीय : मार्च-एप्रिल २०१५
सम्पादकीय
अन्तराष्ट्रिय श्रमजीवी नारी दिवस 'ह्यापी वुमेन्स डे' होइन
अन्तराष्ट्रिय श्रमजीवी नारी दिवसले आफूसँग नारी सङ्घर्ष र आर्थिक सशक्तीकरणको ऐतिहासिक उत्तराधिकार बोकेर हिडी रहेको छ, जसले गर्दा हरेक नारीले आफ्नो जीविका चलाउन सकोस् र मर्यादाको जीवनको निम्ति सङ्घर्ष गर्न सकोस्।
लडाई गर्छौँ,
तर हामी फूलको निम्ति
पनि लडाई गर्छौँ।"
यो सङ्घर्षको इतिहास रक्तपातपूर्ण थियो यसमा कुनै सन्देह छैन...
" हामी जति कदम कदम अघि बढ्यौं,
अनगन्ती नारीहरू मरे
तिनीहरू रोटीको प्राचीन गीत गाउदै,
हाम्रो शहर भएर गए!"
त्यसो भए, सामान्य रूपमा यसको इतिहास बारे चेतनाको अभावले गर्दा आज मानिसहरूले अन्तराष्ट्रिय नारी दिवसलाई पनि आमा दिवस, बाबा दिवस, प्रेमी दिवस इत्यादि झैँ धुमधामसाथ मनाई रहेका हुन्छन्। पुरुषहरूले नारीहरू प्रति आफ्नो माया र इज्जतको भाव व्यक्त गर्नुको फुल, उपहार दिने गर्छन्! अकस्मात, यो दिन तिनीहरूलाई नारीत्वको पूजा गर्ने भूत चढ्छ। यो सचेत हेरफेर (अथवा चेतनाको हेरफेर?) को फल पनि हो। यो ऐतिहासिक सङ्घर्षको प्रतीकको "वास्तविक अर्थ" हटाएर त्यसको "बनावटी अर्थ" थोपी दिने षड्यन्त्र तीव्र रूपमा चली रहेको छ। बजारमा त झन् यसको हाल खबरनै अर्कै छ। बजारले नारी दिवसको उपलक्ष्यमा केही वस्तुहरू बिक्री गर्नुको निम्ति "वुमेन्स डे-को स्पेशल डिस्काउन्ट" दिएर यस दिनलाई महत्व दिई रहेको छ! हामीले अहिलेनै बुझ्नु पर्छ कि यो एउटा जाल हो र हामी यस जालको पकडमा फसी रहेका छौ।
अन्तराष्ट्रिय नारी दिवससँग यी सबै कुराहरूको केही लेनदेन छैन। कृपा गरेर ८ मार्चलाई नारीत्वको ‘अन्धश्रद्धा’ गर्ने दिन नबनाउनु होस्। हामीले नारीको अन्धश्रद्धा गर्ने सांस्कृतिलाई घोर विरोध गर्नु पर्छ कारण यस्तो संस्कृतिले समाजमा रहेको भेद-भावको समाधान कहिले पनि गर्नु सक्दैन। यसको सट्टामा हामी यस्तो समाजमा अझै बाँचीरहेकों वास्तविकतामा लज्जित हुनु पर्ने हो, जहाँ प्रचण्ड भेद-भाव जीवनको हरेक क्षणमा निश्चित छ र यसको हिंसात्मक चरित्रले गर्दा कसैले ज्यान पनि गुमाउनु सक्छ। पुरुषत्व वा नारीत्वको आधारमा होइन तर मानवताको आधारमा उभिएको समाज तैयार गर्नुनै असली सङ्घर्ष गर्नु हो— जहाँ सबै प्राणी मर्यादा, आजाद र स्वतन्त्रसँगले जिउन सक्नेछ! यो पुरुष वा नारी हुने सङ्घर्ष होइन, यो मानव हुने सङ्घर्ष हो! त्यसो भए, आज हामी सबै एक भएर सबै प्रकारको लिङ्ग भेदभावको विरुद्धको इतिहासलाई स्मरण गर्दै एउटा प्रतिज्ञा लिउ कि अरू कोही होइन, तर तपाईँ र म यस सङ्घर्षको विरासतलाई अघि बढाएर एउटा यस्तो समाजको निर्माणतर्फ लागौं जसको आधार मानवता हुनेछ र त्यो समाज सबै प्रकारको भेदभाव, अत्याचार र शोषणमुक्त हुनेछ!
नारीहरू बारे मनुस्मृति
सन्दर्भ : नारी
नारीहरू बारे मनुस्मृति
अम्बिका राई
हिन्दु धर्मको सबै भन्दा पुरानो ग्रन्थ हो मनुस्मृति जसलाई मानव धर्म शास्त्र पनि भनिन्छ। हिन्दु धर्मको पौराणिक कथा अनुसार मनुस्मृति ब्रह्माबाट आएको शब्द हो र हिन्दु धर्ममा यसको ठुलो महत्व पनि छ। मनुस्मृतिमा जम्मा २६९० वटा श्लोकहरू छन्, र यसलाई १२ वटा खण्डमा छुटाइएको छ। लेखकले यस ग्रन्थको शीर्षक ‘मनु’ दिएको कारणले गर्दा हिन्दुहरूले ‘मनु’ नै पृथ्वीको पहिलो मानिस अनि हिन्दुहरूको पहिलो राजा भनेर मान्छन्।
लेखकको जिवनीबारेमा त्यति धेरै थाहा नभएता पनि यो कुरा साँचो हो कि उनी उत्तर भारत क्षेत्रको रूढ़िवादी ब्राह्मण परिवारका थिए। हिन्दुहरूको निम्ति मनुस्मृतिमा लेखिएका सबै कुराहरू नै सत्य हो अनि मनुस्मृतिमा जुन प्रकारले नारी जातिको बारेमा उल्लेख गरिएको छ त्यो पनि सत्य हो भनेर मान्छन् हिन्दुहरू। मनुस्मृतिमा असल नारीको चरित्र कस्तो हुनु पर्ने हो भनेर केही नियमहरू लेखिएको छ। मनुस्मृतिमा नारीलाई वर्णन गर्दै यो श्लोक लेखिएको छ: ‘यत्र नारयस्तो पोजयानते, रमणते तातर देवता [३/५६] (जहाँ नारीहरूलाई सम्मान गरिन्छ, भगवान् खुशी भएर त्यही घरमा बास गर्छन्) तर तिनीहरूले यी सबै श्लोकहरूलाई भुलिएका छन्।
प्रस्तुत छ मनुस्मृतिमा नारीजातीलाई वर्णन गरेका केही श्लोकहरू:
१. “स्वभाव एव नारिनम...”-२/२१३— नारीहरूको काम नै हो पुरुषलाई लोभ्याएर नराम्रो मार्गमा लैजाउनु, त्यही कारणले गर्दा नारीहरूसँग रहेको बुद्धिमान पुरुषलाई सधै पहरामा राख्नुपर्छ।
२. “अविद्वाम समलम...”-२/२१४— जुन नारी आफ्नो श्रेणीको चरित्रसँग साँचो रहन्छ, त्यही नारीहरूले बरालिएका पुरुषहरूलाई सम्हाल्न सक्छ, चाहे त्यो पुरुष पग्ला होस्, पढ़े लेखेको होस् वा कुनै पनि महापुरुष।
३. “मात्रा स्वास्त्र...”-२/२१५— कुनै पनि ज्ञानी पुरुष कसैको आमा, छोरी वा बहिनीको नजिक एक्लै बस्नु हुँदैन। किनकि सांसारिक इच्छाहरू यस्तो हुन्छ कि नचाहिँदो मोहमा फसाउनु सक्छ।
४. “नौदवाह्य....”-३/८— यदि कुनै पनि स्त्रीको कपाल रातो रङ्गको छ, या शरीरको बनावटमा कमी छ (जस्तै ६ वटा औंला), जो ज्यादा जस्तो बिमारी हुन्छ, जसको ज्यादा कपाल छ वा कम्ती कपाल छ अनि जसको आँखा रातो छ, यस्तो स्त्रीहरूसँग कुनै पनि पुरुषले विवाह गर्नु हुँदैन।
५. “न्रक्ष वृक्ष....”-३/९— जुन स्त्रीको नाम कुनै पनि रूख, नदी, पर्वत, चरा वा कुनै सर्पसँग मिल्छ यस्तो स्त्रीहरूसँग पनि विवाह गर्नु हुँदैन। यदि एउटी स्त्री सानो वा तल्लो जातिको हो, उ सँग पनि कसैले विवाह गर्नु सक्दैन।
६. “यस्तो ना भावेत...”-३/१०— एउटा ज्ञानी पुरुषले त्यो महिलासँग विवाह गर्नु हुँदैन जसको दाजु वा भाइ छैन, र जसको माता-पिताको समाजमा राम्रो स्थिति छैन।
७. “उचायांग...”-३/११— ज्ञानी पुरुषहरूले ती स्त्रीसँग विवाह गर्नु पर्छ जसको शरीरमा कुनै प्रकारको दाग वा अभाव छैन, जसको नाम पनि राम्रो छ, शरीर अनि टाउकोमा ठिकै मात्रमा कपाल छ, कोमल अङ्ग अनि सानो दात छ।
८. “शुद्र-अईव भार्य...”-३/१२— ब्राह्मण पुरुषले ब्राह्मण, क्षत्रीय, वैश्य अनि शुद्र जातिको महिलासँग विवाह गर्न सक्छ तर शुद्र पुरुषले केवल शुद्र स्त्रीसँग मात्रा विवाह गर्न सक्छ।
९. “ना ब्राह्मण क्षत्रीय...” -३/१४— ब्राह्मण, क्षत्रीय अनि वैश्य पुरुषले अरू कुनै पनि जातिको स्त्रीसँग विवाह गर्न पाए तापनि, उनीहरूले जस्तै स्थितिमा पनि शुद्र स्त्रीलाई विवाह गर्नु हुदैन।
१०. “हीनजाती स्त्रियम...” -३/१५— यदि यी उच्च जातिका पुरुषहरूले तल्लो जातिको स्त्रीसँग विवाह गरेमा उनीहरूको परिवारको अपमानको जिम्मेवर उनीहरू हुनेछ। यसरी नै उनीहरूको नानीहरूले पनि शुद्र जातिको वैगुन प्राप्त गर्ने छन्।
११. “शुद्रम शय्नम...”-३/१७— यदि कुनै पनि ब्राह्मण पुरुषले शुद्र स्त्रीसँग विवाह गरेमा, उसले आफ्नो अपमान साथ साथै आफ्नो परिवारको पनि अपमान गर्छ। साथै ब्राह्मणकों हैसियत पनि गुमाउछ अनि उसकों नानीहरूले पनि शुद्रको हैसियत अपनाउनु पर्दछ।
१२. “दैव पित्रया....”-३/१८— कुनै पनि कार्यको समय यस्तो व्यक्तिले चड़ाएको दान भगवानले स्वीकार गर्ने छैन, अतिथिहरू पनि यस्तो व्यक्तिसँग बसेर खानु मान्दैनन, अनि मृत्यु पछि उ नर्कमा जान्छ।
१३. “चन्डालाश...”-३/२४०— श्राद्ध भए पछि ब्राह्मणलाई दिएको कुनै पनि खाद्य चन्डाल, कुकुर, सुँगुर, कुखुरा, अनि रजस्वला भएको स्त्रीले हेर्नु हुँदैन।
१४. “न अशनियत....”-४/४३— एउटा ब्राह्मणले आफ्नो पत्नीको उपस्थितिमा भोजन गर्नु हुँदैन वा आफ्नो पत्नी तर्फ समेत हेर्नु हुँदैन। साथ साथै आफ्नो पत्नीले भोजन गर्दा अनि हाई गर्दा वा हाची गर्दा पनि उसले हेर्नु हुँदैन।
१५. “न अज्यन्ति...”-४/४४— कुनै पनि ब्राह्मणले आफ्नो बुद्धि अनि शक्ति बचाउनको निम्ति महिलाहरूले गाजल लगाएको वा शरीर मालिश गरेको वा नानी जन्माऊँदै गरेको पनि हेर्नु हुँदैन।
१६. “मृश्यन्ति...”-४/२१७— यदि कुनै महिलाको वैवाहिक सम्बन्ध बाहिर अरू कसैसँग सम्बन्ध छ भने कसैले पनि उसको हातबाट अन्न ग्रहण गर्दैन, वा यस्तो परिवारबाट खाना लिंदैन जसलाई सम्पूर्ण रूपले एउटी स्त्रीले चलाउछ वा यस्तो परिवारबाट जहाँ कुनै मृत्युको घटना घटेको छ।
१७. “बाल्य भा...”- ५/१५०— एउटा सानो केटी, तरुणी वा एउटा वृद्ध महिला कोही पनि स्वतन्त्रता पूर्वक काम गर्न सक्दैनन् चाहे त्यो आफ्नै घरमा किन न होस्।
१८. “बाल्ये पितोरवश्य....”-५/१५१— केटी नानी सानो भए सम्म आफ्नो बाबाको अधिनमा बस्नु पर्छ, विवाह भए पछि आफ्नो पतिको अधिनमा अनि विधवा भए पछि आफ्नो छोराको अधिनमा। कुनै पनि स्थितिमा उ स्वतन्त्रतापूर्वक बाँच्न सक्दैन।
१९. “अशीला काम वरतो...”-५/१५७— पुरुष जस्तै नराम्रो व्यवहारको भए तापनि, उसको पत्नीले सधैँ उसलाई पुज्नु पर्ने छ अनि उसको सेवा गर्नु पर्ने छ।
२०. “ना अस्त स्त्रिनम....” - ५/१५८— नारीहरूलाई कुनै पनि धार्मिक काम गर्ने अधिकार छैन, अनि कुनै प्रकारको प्रण/भाकल अनि व्रत लिने अधिकार छैन। उसको मुख्य दायित्व हो आफ्नो पतिलाई खुशी राख्ने अनि मात्र उसले स्वर्गमा बास पाउने छ।
२१. “कामम तो...”- ५/१६०— आफ्नो पतिको मृत्यु पछि उसले जंगली फल-फुल, जराहरू मात्र खाएर बच्नु पर्ने छ अनि आफ्नो शरीरलाई दुर्बल बनाउनु पर्नेछ। उसले अरू अन्य पुरुषको नाम पनि लिनु पाउने छैन।
२२. “व्यभाचाराय...”- ५/१६७ — यदि कुनै पनि स्त्रीले आफ्नो पति प्रतिको कर्तव्य पालन गरेन भने उ कुष्ठ रोगको शिकार बन्ने छ। मृत्यु पछि उ एउटा स्यालको गर्भमा प्रवेश गर्ने छ।
२३. “कन्याम भजन्ति...”-८/३६४— यदि कुनै महिलाले आफू भन्दा माथिल्लो दर्जाको पुरुषसँग शारीरिक सम्बन्ध राखेमा उ दण्डको हकदार बन्ने छैन तर उसलाई यस्तो सम्बन्ध आफू भन्दा तल्लो जातीको पुरुषसँग राखेमा उसले दण्ड पाउने छ।
२४. “उत्मं सेव्मंस्तो...”-८/३६५— यदि एउटा सानो जातको पुरुषले ठुलो जातको स्त्रीसँग शारीरिक सम्बन्ध राखेमा उसले मृत्यु दण्ड पाउँने छ। तर यदि उसले आफ्नो जातको स्त्रीसँग शारीरिक सम्बन्ध राखेमा, उसले जरिमाना तिर्नु पर्ने छ।
२५. “या तो कन्या....”-८/३६९— केही कारणवस कुनै स्त्रीको जननांग च्यातिएमा उसको सबै केश काटेर वा दुईवटा औंला काटेर गधामाथि चढाइने छ।
२६. “भरतराम...”-८/३७०— यदि कुनै स्त्रीले आफूमा भएको कलाको घमण्ड गरेमा, आफ्नो पति प्रतिकों कर्तव्य पूरा नगरेमा, राजाको हुकुम अनुसार उसलाई सबैको उपस्थितिमा कुकुरहरूको अघि फ्याकी दिने छ।
२७. “पिता रक्षति....”-९/३— नारीमा स्वतंत्रतापूर्वक बाँच्ने क्षमता नभएको कारण उ सानो भएसम्म आफ्नो पिताको, विवाह पछि आफ्नो पति अनि विधवा भए पछि छोराको अधिनमा बस्नु पर्ने छ।
२८. “इमाम हि सरव....”-९/६— सबै पुरुषले आफ्नो पत्नीलाई नियंत्रणमा राख्नु पर्छ र यो उसको धर्म हो। शारीरिकरूपमा दुर्बल भए तापनि उसले आफ्नो पत्निलाई नियंत्रणमा राख्नु पर्नेछ।
२९. “पानाम दुर्जन....”-९/१३. स्त्रीको ६ वटा वैगुन : मद्यपान गर्नु, नराम्रो मानिससँग सम्बन्ध राख्नु, पतिसँग छुट्टीनु, यता-उति घुमी रहनु, धेरै लामो समयसम्म सुति रहनु अनि जता पायो त्यही वास बस्नु।
३०. “नैता रुपम...”-९/१४— यस्तो स्त्रीहरू आफ्नो पति प्रति वफादार रहंदैन अनि कसैको उमेर नहेरी अरू फाल्टो सम्बन्ध पनि राख्छ।
३१. “पुनसचाल्य...”-९/१५— पुरुषप्रतिको आकर्षण, कडा रिस र कठोर ह्दय भएकोले उनीहरू आफ्नो पति प्रति वफादार हुँदैनन।
३२. “ना अस्ति स्त्रिनम...”-९/१८— नामकरण अनि जातकरणको समयमा स्त्रीहरूले वेद मन्त्र पढ़न् पाउदैन। किनकि नारीलाई वेदको बारेमा केही ज्ञान छैन। स्त्री जाती अपवित्र हुन्छ।
३३. “देवर..सपिंडा...”-९/५८ —यदि कुनै नारीले आफ्नो पतिबाट नानी बनाउनु सकेन भने उसले आफ्नो पतिको भाइ (देवर) सँग बसेर नानी बनाउनु पर्नेछ वा अरू कुनै आफन्तसँग बसेर (सपिंडा)।
३४. “विद्वायाम...”-९/६०— कुनै पनि विधवासँग बस्नु पर्ने पुरुष केवल रातीमात्र त्यो विधवासँग बस्नु पर्नेछ। अनि उसले एउटा छोरा नजन्मिजेल सम्म उ सँग बस्नु पर्छ।
३५. “यथा विधय...”-९/७०— नियम अनुसार, भाउजू आफ्नो देवरसँग बस्दा सेतो कपडा लगाएर बस्नु पर्छ, त्यो देवर तब सम्म उ सँग बस्नु पर्छ जब सम्म उनीहरूको नानी हुँदैन।
३६. “अति क्रमय....”-९/७७ — यदि कुनै पनि स्त्रीले आफ्नो मातने, काम नगर्ने, वा बिमारी रहेको पतिले भनेको कुरा मानेन भने उसले आफ्नो पतिको घर ३ महिना सम्मको लागि त्यागनु पर्छ अनि आफ्नो गहनाहरू पनि त्यागनु पर्छ।
३७. “वन्दयशतमे...”-९/८०— एउटी बाझो महिलालाई ८ सालमा अधिरेखित गरिन्छ, जसको नानीको मृत्यु भएको छ उसलाई १० साल भित्रमा अधिरेखित गरिन्छ, तर जो झगडा गरिरहन्छ उसलाई शीघ्र भन्दा शीघ्र अधिरेखित गरिन्छ।
३८. “त्रिन्षा ...”-९/९३— कुनै पनि किसिमको धार्मिक कार्य गर्दा केही बाधा आएमा, २४-३० साल उमेर भएको पुरुषले ८-१२ साल पुगेको केटीसँग विवाह गर्नु पर्छ।
३९. यामब्रामंस्तो...”- ९/११७ — यदि कुनै ब्राह्मणले शुद्र महिलासँग विवाह गऱ्यो भने, उनीहरूको छोरालाई “पार्श्व” वा “शुद्र” भनिन्छ कारण उसको सामाजिक स्थिति एउटा मृतक शरीर जस्तो मात्र हो।
चिया उद्योगमा सम्झौता अनि मजदुरहरूका भविष्य
समसामयिक
चिया उद्योगमा सम्झौता अनि मजदुरहरूका भविष्य
प्रकाश विश्व
विगतको एक वर्षभरी दार्जिलिङ-जलपाईगुडी-अलिपुरद्वारको पहाड-तराई-डुवर्सको जम्मै चियाकमान क्षेत्रका मजदुरहरूको जीवन अर्कै प्रकारले जस्तै बगिरहेको थियो। सङ्घर्षको सन्देशले तातिएको थियो हरियो चियाबगानहरू। मजदुरहरूको रगत-पसिना निचोडेर चिया बगानको मालिकहरूले जतिसुकै विलास-वैभवको जीवन गुजारा गरोस्, जतिनै बढ्दै जाओस् उनीहरूको नाफाको पहाड, दशकौंदेखि चल्दैगरेको मजदुरहरूको जीवनको कालो अँध्यारो दिन काटिएन। यसपालि युनियनहरू एकजुट भएर सङ्घर्षमा ओर्लिएको थियो देखेर ती श्रमिकहरूले अलिकति भए पनि आशाको उज्यालो देख्न थालेका थिए। उल्लेख गर्ने जरुरत छैन कि सरकारी शासकदलको युनियनहरू यो सङ्घर्षमा थिएन। तर २४ वटा मजदुर युनियनहरू जब ज्वाइंट फोरममा एकजुट भएर माँग उठायो— यसपालि पनि सानोतिनो किस्तामा ज्याला बढोत्तरीको प्रक्रिया चल्दैन, चिया श्रमिकहरुका न्यूनतम ज्याला निर्धारित गरेर त्यो लागु गर्नुपर्छ अनि सँगसँगै परिवर्तनशील महंगाई भत्ता (भीडीए) दिनु पर्छ, त्यसैले श्रमिकहरूले विश्वास गर्न थालेको थियो कि यसपालि साच्चिने युनियनहरुले उचित सोचविचार गरेर देखावटी सङ्घर्षको बाटो छोडेर अबदेखि सुनौलो दिनतर्फ हिड्न आँट्यो जस्तो लाग्न थाल्यो। तर कसलाई थाहा थियो कि यसरी आन्दोलनको अगुवाई बिचबाटोमै रोकिने छ?
तीन वर्षको अन्तरालमा चिया श्रमिकहरूको ज्याला निर्धारित हुन्छ। मालिकपक्ष र श्रमिकपक्षले, सरकारपक्षको उपस्थितिमा सम्मिलित मोलतोलको प्रक्रियाले निर्धारित हुन्छ चिया श्रमिकहरुका ज्यालाको दर। यही परम्परामार्फतनै कहिले दुई रुपियाँ, त कहिले पाँच रुपियाँ ज्यालामा बढोत्तरी हुन्छ। आखिरमा जुन ज्याला निर्धारित हुन्छ त्यो जरुरतको तुलनामा निकै नै कम हुने गर्छ अनि जुनप्रकारले अतीतमा चिया श्रमिकहरूलाई मूल सभ्यता देखि टाढो हटाएर चिया बगानको गहिरो अँध्यारोमा धकेली दियो, त्यसरीनै अन्य मजदुरहरूसँग चिया श्रमिकको ज्यालाको पनि धेरै फरक पारिदियो। हेर्नुहोस् न, पहाडको चिया श्रमिकको ज्याला थियो ९० रुपियाँ त तराई-डुवर्सको भने ९५ रुपियाँ। यत्रो कम्ती ज्याला किन छ, त्यसको पनि व्याख्या वा बहाना छ मालिकहरुसंग— श्रमिकहरूलाई नगद राशिमा ज्याला सँगसँगै अरू विभिन्न सुविधा र सहुलियत दिइन्छ भनेर यो ज्याला कम्ती छ हरे! स्कुल, स्वास्थ्यकेन्द्र, रासिन, छाता, जुत्ता इत्यादिको लागि श्रमिकहरूलाई अझै ५५.६७ रुपियाँको सहुलियत पुर्याइन्छ भनेर मालिकहरूले दावा गर्छन्। बगानको श्रमिकहरूलाई थाहा छ, कति कम्ती राशि उनीहरूले पाउँछन्। खाली श्रमिकहरू किन, राज्य सरकार आफैले २०१४मा एउटा विस्तारित रिपोर्ट तयार पारेर यो खुलासा गरिसकेको छ कि बगानहरुमा मालिकहरुको तर्फबाट दिनुपर्ने यी सहुलियतहरु कसरी खिल्ली भइसकेको छ। जेपनि होस्, कानुन अनुसारले सबै सहुलियत दिएको खण्डमा पनि यो ज्याला निकै कम्ती नै हो— महंगाईको डरलाग्दो माहौलमा त्यो त एकदमै साफ हो नि!
गरिबी-भोकमरी-अनिकालले पीडित आफ्नै ठाउँमा प्रान्तीय बनिएको चिया बगान श्रमिकहरूले यसपालि के प्रण गरेको थियो भने उनीहरूको बाँच्नुको सङ्घर्षलाई यथासम्भव अघि बढाउनेछन्। त्यसले विगत २०१४को मार्चमा जुन ज्याला चुक्ति सम्पन्न हुने कुरा थियो, मजदुरहरूले त्यसलाई स्थगित गरेर मिटिंग-जुलुस, बगान स्ट्राइक, सम्पूर्ण चिया क्षेत्रभरी हडताल र विरोध प्रदर्शनको लहर उठायो। सङ्घर्ष गर्नुपरे गर्नुपर्छ, स्ट्राइक गर्नुपरे गर्नुपर्छ, जेल जानुपरे जानुपर्छ भनेर जब पहाड-तराई-डुवर्सको श्रमिकहरूले बलियो आवाजमा उठाए— ती सबै बोल्ने कुरामात्रै हो जस्तो लागेन। अनि सायद श्रमिकहरूको यही दबाबको कारणले नै होला स्थापित ट्रेड युनियनहरूले पनि सङ्घर्षको बाटोमा ओर्लिन बाहेक अरू कुनै चारा आत्मसात् गर्नसकेनन्।
ठण्डाको बेलामा सफा हुन्छ चिया बगान। बगानको देखभाल, राम्रो नयाँ पत्तीको लागि चियाको गाछको कलम कटाई हुन्छ। त्यसपछि लगभग मार्च महिनामा नयाँ पत्ती आउछ, साधारणत यसलाई फर्स्ट फ्लास भनिन्छ, त्यसको बजार दर नै अलग्गै हुन्छ... मालिकहरुको लागि यो समय निकै लाभदायी हो... सुनको अन्डा दिन्छ बगानहरूले यसबेलामा। त्यसैले सङ्घर्ष गरेर जित्नुको लागि पनि यो नै हो सही र उचित समय— चोट पुर्याउनलाई नाफा लुट्ने सबभन्दा राम्रो समयलाई नै टार्गेट गर्नुपर्थ्यो— यो फार्स्ट फ्लासको बेलामा नै बन्द गरिदेउ उत्पादन! श्रमिकहरुका निम्ति या नै थियो चरम हतियार। यस्तै योजना लिएर आन्दोलन अगाडि बडिरहेको थियो। यो फार्स्ट फ्लासको समय अघि फेब्रुवरी महिनाभरी एक पछि अर्को कार्यक्रमको घोषणा आएको थियो। बगानहरुमा भोकहडताल हुनथाल्यो... त्यसपछि भोकोजुलुस... फेरी आसाम सीमानाको कुमारग्राम देखि उत्तर दिनाजपुर जिल्लाको सीमानासम्म सम्पूर्ण चियाबगान क्षेत्रभरी पैदल यात्राको सुचना थियो अनि जसको अन्तमा मजदुरहरूले कलकत्ताको राजमार्गसम्म पुग्ने कुरा थियो... कलकत्ताको त्यो भोको जुलुसद्वारा दह्रिलो आवाज सिधै सरकारको कानमा पुर्याउछन् मजदुरहरू। हजार हजार मजदुरहरूको गगनभेदी स्लोगन जुनप्रकारले विगतको अगस्ट महिनामा सिलगढीको बाटोमा अधिकारको सन्देश दियो, जुनप्रकारले अक्टोबर महिनामा सामुहिक छुट्टी गरेर सबै ब्लक अफिसमा दिनभरिको धर्नामा बसे मजदुरहरू— त्यही सम्झनालाई स्मरण गर्दै नै श्रमिकहरूले के आशा गरेको थियो भने यसपालि युनियनहरुको संयुक्त मञ्च ज्वाइन्ट फोरमको नेतृत्वले श्रमिकहरू साच्चिने कुनै निर्णायक सङ्घर्षको बाटो हिड्दैछ। तर यसपछि घटना अर्कोप्रकारको हुनथाल्यो। फर्स्ट फ्लासको बेला अघि आउने साथसाथै देखापऱ्यो कि मालिकहरु माथि दबाब सृष्टिको सट्टामा क्रमिकरुपमा पूर्व-निर्धारित कार्यक्रमहरू फिक्का हुनपुग्यो। पहिला जस्तै सबै बगानमा, सम्पूर्ण चिया क्षेत्रमा कार्यक्रमहरूको सूचना पनि पुगेन। कुनै कुनै ठाउँमा भोकहडताल, भोको जुलुसको कार्यक्रम भयो, तर विभिन्न युनियन नेतृत्वको ढिलोपनले गर्दा कैयौँ ठाउँमा यो कार्यक्रमहरू औपचारिकतामा मात्रै रुपान्तरित भयो। कुनै कुनै ठाउँमा त कुनैपनि कार्यक्रमनै भएन!
नानाथरिका झन्डाहरू, जो केही समय अघिसम्म पनि एक अर्को सँग प्रतिस्पर्धामा थियो, श्रमिकहरूको एकजुटताको परिप्रेक्ष्यमा ती सबै एकसाथ भएर यो सालभरी देश र दुनियाको अगाडी नयाँ संदेश दिइरह्यो। जसको फलस्वरुप केन्द्र सरकारको प्रतिनिधिहरूले पनि न्यूनतम ज्याला लागु हुनपर्छ भनेर स्वीकार्न थाले अनि राज्य सरकारले पनि न्यूनतम ज्यालाको माँग बारे हिचकिचाउदै भएपनि अन्तमा मौखिकरुपमा स्वीकार गर्नु बाध्य भयो। सरकारी हिसाबले राज्य सरकारको तर्फबाट १६ डिसेम्बर दिइएको प्रस्तावमा त्यही पुरानो किस्तको दरमा बढोत्तरीको कुरा नै भनिएको थियो। प्रथम वर्षमा हाजरी बढ्नेछ १७.५० रुपियाँ, त्यसपछि दुई वर्षमा वर्ष प्रति अझै दश रुपियाँ गरेर बढाएर तीन वर्षको अन्तमा अर्थात् सन् २०१७ मा जम्मा ३७.५० रुपियाँ ज्याला बढ्नेछ। पहाडको बगानहरुको ज्याला तराई-डुवर्स भन्दा ५ रुपियाँ कम छ भनेर पहाडको लागि अलग्गै ५ रुपियाँ बढाएर सबै ठाउँको चिया श्रमिकहरूको ज्याला समान गरिने कुरा आयो। अर्थात् तीन वर्षको अन्तमा दैनिक ज्याला १३२.५० रुपियाँ हुनेछ। यस सरकारी प्रस्तावलाई शासकदलको पिछलग्गु युनियनहरूले समर्थन गरेतापनि ज्वाइन्ट फोरमले त्यसलाई नकारेको थियो। यतिबेला सम्म ज्वाइन्ट फोरमको अडान थियो— जुनैपनि प्रकारले ज्यालामा आधारविहीन बढोत्तरीका प्रस्ताव स्वीकार्नु हुँदैन, न्यूनतम मजदुरी नै लागु गर्नु पर्छ। उनीहरूको तर्फबाट अझै निर्दिष्ट रूपमा के भनिएको थियो भने ३० जुन भित्र न्यूनतम ज्याला लागु गर्नुपर्छ, त्यतिबेलासम्म कुनैपनि एउटा एक पल्टको निम्ति तत्कालिक ज्याला वृद्धि हुनसक्छ, तर तीन वर्षको खुड्किला जस्तै ज्याला वृद्धिको सम्झौता उनीहरूले मान्नेछैनन्।
तर यती सङ्ख्यक कार्यक्रमहरूको घोषणा भित्रै २० फरबरी त्रिपक्षीय बैठकमा अचानक ‘स्थापित नेताहरू’, जसले यसपालिको विरोध कार्यक्रमहरूको बारे ढिलाइ देखाउन थालेको थियो, उनीहरूले नै सरकारी प्रस्ताव बारे अब सकारात्मक मनोभाव देखाउन थाल्यो अनि त्यो पुरानो सरकारी प्रस्ताव स्विकार्न तिर हिड्यो। यसप्रकारले सम्झौतामा हस्ताक्षर पनि भयो। अतिरिक्त भन्नाले यतिमात्र भयो कि न्यूनतम ज्यालाबारे एउटा एडभाइसरी कमिटीको गठन भयो, जसको म्याद भने त्यही दुई वर्ष भनेर तय भयो। हामीले बारम्बार के देखेकाछौँ भने सरकारले विभिन्न सङ्घर्षको खण्डमानै यसप्रकारको कमिटी गठन गरेर पछि त्यो कमिटीलाई निष्क्रिय पारिदिन्छ। जुट मिलको खण्डमा विभिन्न सम्झौता हुँदा पटक पटक हामीले यो धुर्त तरिकाको प्रयोग देखेकाछौँ। अर्थात् के आशंका जारी रह्यो भने, फेरी सन् २०१७ मा अझै एउटा तीन वर्षको ज्याला सम्झौता आउँछ र न्यूनतम ज्यालाको मुद्दालाई पठाईदिन्छ पछिल्लो पंक्तिमा। केही युनियनहरूले तर यस बैठकमा यसरी सम्झौतामा हस्ताक्षरको प्रक्रियालाई विरोध गरे भने एउटा युनियनले त सम्झौतामा हस्ताक्षर पनि गरेन। अनि जुन युनियनहरूले विरोधिता गरेर पनि हस्ताक्षर गऱ्यो, उनीहरूले ज्वाइन्ट फोरमभित्र प्रतिवादी एकतालाई यथावत् राख्न खोजेकाछन् अनि अर्कोतिर यो पनि छ कि यसपालि पहिला पल्ट सरकारले न्यूनतम ज्यालाको मुद्दालाई सरकारी स्वीकृति दिन बाध्य भयो। सँगसँगै यो पनि सम्झौतामा भनिएको छ कि न्यूनतम मजदुरी बारे अन्तिम निर्णय नभइन्जेलसम्म मात्रै वर्तमान सम्झौता जारी रहनेछ। अर्थात् जति छिटो यो निर्णय हुन्छ त्यति छिटोनै यो सम्झौताको म्याद सक्नेछ। यती नै हो यस सम्झौतामा आशाको चिह्न। यो नै हो मजदुरहरूको रगत-पसिना र एकत्रित आवाजको फसल।
यसप्रकारले आउने दिनहरुको कर्तव्य एकदमै साफ छ— एडभाइसरी कमिटीलाई द्रुतगतिमा र सठीक ढङ्गले काम गरेर छिटो भन्दा छिटो न्युनतम ज्याला तय गरेर त्यसलाई लागु गर्ने सिफारिस गर्नुपर्छ। सरकारले न्यूनतम ज्याला सम्बन्धित यो कमिटीको सकारात्मक सिफारिसहरू लागु गर्नुपर्छ। त्यसरी नै रद्द हुनेछ वर्तमान ज्याला सम्झौता अनि श्रमिकहरूले जित्नसक्छ न्यूनतम ज्यालाको माँग। अब यो त एकदमै स्पष्ट छ कि श्रमिकहरूलाई होसियार भएर दृढता सँग अधि हिड्नु पर्छ सङ्घर्षको बाटोमा। यस बाहेक केही बाटो छ र?
चिया विकास निगम अनि सरकारी चियाबगानहरुको निजीकरणको कहानी!
विशेष निवन्ध
चिया विकास निगम अनि
सरकारी चियाबगानहरुको निजीकरणको कहानी!
लाली गुरासको प्रतिवेदन
नोवेम्बर महिनाको अन्ततिर डुवर्सको सोनाली चिया बगानको म्यानेजरको हत्या लिएर भइरहेको गरम माहोल चिसो पनि हुन नपाई, त्यही अन्तरालमा राज्य सरकारले उत्साह साथ अघि बढाउन थाल्यो ५ वटा सरकारी चिया बगानको गैरसरकारीकरणको काम। नयाँ तरिकाले नोटिस दिएर मालिकहरूबाट टेण्डर जम्मा गर्ने आह्वान गरियो। जम्मै डिसेम्बर महिना मालिकहरूको यही शिकार खेलाईमै गयो। अनि त्यसपछि खुलासा हुनथाल्यो अरू कुराहरू।
सोनाली चिया बगानको घटनासित पाँचवटा सरकारी चिया बगानको बिकाउमाझ बाहिरबाट हेर्दा त कुनैपनि संयोग छैन। तर यी माझ एउटा सम्बन्ध छ पनि! ‘वेस्ट बेंगल टी डेभेलपमेन्ट कर्पोरेसन’ (डब्लु बी टीडीसी) को जिम्मामा रहेको बगानहरूमध्ये एक जमानामा यो सोनाली चिया बगान पनि थियो। त्यसपछि कस्तो प्रकारले सुनियोजित रूपमा सरकारले यो ‘चिया विकास निगम’ (टीडीसी)-लाई बर्बादीतिर धकेलिदियो— त्यो पनि एउटा चाखलाग्दो उदाहरण बनिसकेको छ!
सोनाली चिया बगानमा श्रमिकहरूले जुन प्रकारले म्यानेजरलाई मारेर गुनासो व्यक्त गरे, त्यो लिएर मानिसको जतिनै आपत्ति रहे ता पनि — यो घटनाले के यस्तो कुरा प्रस्ट भएन कि सरकारी चिया बगान गैरसरकारी हातमा गएपछि त्यसले कुनै सुनको अन्डा पार्नेछैन! तरैपनि सरकारले चिया बगानलाई आफूले चलाउनको सट्टा गैरसरकारी मालिकहरूलाई भेट दिएर आफ्नो काँधबाट जिम्मेवारी झड्कन चाहन्छ। यो प्रश्नमा चाँही अघिको सरकार देखि अहिलेको सरकार — जुनै गोरु आए पनि कानै चिरिएको! सन् २००७ मा डीपी वर्ल्ड ग्रूपको चेयरमेन दुबईको सुल्तान अहमेद बिन सुलेइमानलाई हेलिकप्टरमा चडाएर माथिबाट चिया बगानहरू घुमाएर देखाइन्थ्यो— नाममा ‘वाम’ रहेको त्यतिबेलाको सत्तासीनहरुको लक्ष्य थियो चिया बगानमा वन होइन, टु होइन, सेभेन स्टार होटेल बनाउनु! यसको औपचारिक नाम—‘टी टुरिजम’। तर त्यसपछि गुमाएको यो बिकाउको सपना फेरी उठ्न थाल्यो पछिको एक वर्षभरी— फेरी निलाममा चढाइयो चिया बगानहरू। ती लिएर कुरा अहिले गर्छु।
आउनुहोस्, अँध्यारोतिर यो सरकारी अभियानलाई नेतृत्व दिने टीडीसी-को इतिहासलाई एकपल्ट फर्केर हेरौं। रुग्न बगान, बन्द बगान बचाउने कुरा गर्दै सन १९७६ मा टीडीसी-को गठन भयो। पहाडको रागेरुंङ, पान्दाम र रङमुक-सिडर्स अनि डुवर्सको हिला र महुवा बगान टीडीसी-ले आफ्नो हातमा लियो। सुप्रीम कोर्टको निर्देश अनुसार एक जमानामा श्रमिक-कोपरेटिभले चलाएको सोनाली चिया बगानको पनि रिसिभर बन्नुपयो कर्पोरेसनलाई। यस्तो कर्पोरेसनको टाउकोमा आइ ए एस हरू बसेका थिए। चियाबगानको बारेमा उनीहरूको ज्ञान सीमित थियो। बरु कुनैपनि बगानको सर्दारको ज्ञान उनीहरू भन्दा बेसी हुन्छ भनिन्छ। कसरी टीडीसी दिन प्रतिदिन विनाशतिर लाग्यो, त्यसको लागि एउटा उदाहरण दिन्छु। एक समयमा बृजमोहन भन्ने एकजना टीडीसीको चेयरमेन बन्यो। उनीहरूको चिया निर्यातको पारिवारिक व्यापार थियो। त्यतिबेलाको म्यानेजिङ डिरेक्टरलाई आफ्नो पकडमा लिएर कर्पोरेसनको बगानहरुमा बृजमोहनले बायो-टी बनाउनु थाल्यो। जर्मनी गएर त्यहाँबाट क्रेताहरू पक्रेर पारिवारिक व्यापारद्वारा जर्मनीमा बायो टी-को बिक्री गर्न थाल्यो। कोलकाताको निलाममा जहिलेपनि कर्पोरेशनको बायो टी आउथ्यो, तब सबैले त्यो दार्जिलिङ र डुवर्सको चिया भनेर भ्रमित हुन्थे, किनभने इनभएसमा बायो टी लेखिदैन थियो। निलाममा सर्वोच्च मूल्य २०० रुपियाँ उठेको खण्डमा बृजमोहनको निर्यात संस्थाले २२५ रुपियाँको किमतमा त्यो किनी हाल्थ्यो। सामान्य चियाको दरमा कर्पोरेशनको बगानको बायो टी किनेर त्यो ३-४ गुना बेसी मूल्यमा जर्मनीको बजारमा बिक्री गरेर बृजमोहनको आफन्तहरूले करोडौंको नाफा कमायो। अर्कोतिर बगानमाथि थपियो नोक्सानको ठुलो बोझ।
अस्तिको दिनमा टीडीसीले खर्साङको सिङ्गेल टी कम्पनी पनि लिएको थियो। रुग्न बगानलाई स्वस्थ, लाभदायक तुल्याएपछि मामिलामा हारेर बगान फेरी पुरानो मालिकको हातमा गयो। कर्पोरेसनको करोडौं रुपियाँको खर्च गरेपछि जुन बगान चाँही उभिनु सक्यो, त्यही बगान बारे कोर्टमा अन्तिम सुनवाईको दिन सरकारको पक्षबाट कोही पनि थिएन! एकतर्फी राय सुनायो कोर्टले। पुरानो मालिकले बगानलाई हातमा लिएर अन्य एकजनालाई बेचिदियो, तिनबाट फेरी बगान किनिहाल्यो उही बृजमोहनले। बेनाममा त्यतिबेला बृजमोहनको हातमा ७ वटा बगान थियो! ७ वर्ष कर्पोरेशनको टाउकोमा बसेर उनले जुनप्रकारले आकाश छुन थाल्यो, त्यसको जाँच त कहिलेपनि भएन किन?
विभिन्न समयमा विभिन्न कम्पनीले कर्पोरेशनसित व्यपारिक लेनदेन गरेको थियो, अनि ती सबैमा स्वाभाविकरुपमानै पारदर्शिताको प्रश्नै थिएन। करोडौं रुपियाँको सरसामान कर्पोरेसनले उनीहरूबाट बाकीमा लिएको छ भनेर हिसाब देखाइन्छ। यस्तो हुनु सम्भव छ? कुनै कम्पनी सँग साठगाँठ बिना कसरी यत्रो रुपियाँको सामान सप्लाई गर्छन् उनीहरू? वर्षौदेखि आयव्ययको हिसाबको निरीक्षण भने भएकै छैन। सरकारी बगानमा उत्पादित चियाको बिक्री लिएर विभिन्न समय म्यानेजिङ डिरेक्टर वा फिनान्स डिरेक्टर रहेको व्यक्तिहरूले अवहेलना देखायो। निकै वर्षोदेखि विभिन्न पद खाली नै रह्यो। लगातार ३ वटा मिटिंगमा अनुपस्थित रहे कर्पोरेशनको डिरेक्टरको पदमा हुने मानिसको नाम रद्द हुन्छ भनेर जुन नियम थियो, त्यसलाई नकारेर लगातार अनुपस्थित डिरेक्टरहरूले कुर्सीलाई चेपेर बगानहरूलाई र बगानको श्रमिकहरूलाई अँध्यारोतिर धकेलीदियो। टीडीसीको त्यो पागलपन यहाँ सम्म पुग्यो कि उनीहरूले पुरुलियाको अयोध्या पहाडको सुखा, वृष्टिविहीन चट्टानसरिको जमिनमा चिया उत्पादनको योजना लियो अनि स्वाभाविकरुपमै व्यर्थ भयो, त्यसको फल पनि जे हुने त्योनै भयो— रुपियाँको बर्बादी र टीडीसीको बर्बादीतिर अझ एक कदम!
सरकारी संस्थालाई जानीबुझी सुकाएर गैरसरकारीकरणको बाटो कसरी प्रशस्त बनाउने, कसरी आममानिसको मनमा त्यसको बहानाहरू हाल्नुपर्ने— ती सबै हाम्रो देशको सबै सरकारलाई नै थाहा छ। नत्रभने मालिकहरूलाई नाफा कसरी हुन्छ र? नाफाको गुड कसरी पो पुर्याइदिने लालची मालिकहरुको जिब्रोमा? सरकारी सत्तामा यी पार्टीहरूलाई चढाउनुको लागि मालिकहरुको यत्रो चेष्टाको के कुनै पुरस्कार दिने छैनन् शासकदलहरु? पुँजीपतिहरू प्रति के उनीहरू यस्तो विश्वासघाती हुनसक्छन् र?
प्राइभेट मालिकलाई बिक्री गर्ने सुचना त अब आएर सरकारले दिइसकेको छ। तर बगानको स्तरमा अहिलेसम्म हस्तान्तरण भएको छैन। यी बगानहरूमा कति हो कति वर्षदेखि चलीरहेको सरकारी लापरवाहीले गर्दा श्रमिकहरूको मनमा निराशा छाएको छ। आउनुहोस्, एकपल्ट घुमौं यी बगानहरू।
दार्जिलिङ जाने बाटोमा रहेको सोनादा देखि मुनि रङमुक चिया बगान। छेउमा सिडर्स बगान। अहिले संयुक्त रूपमा चल्छ यी दुईवटा बगानहरू। यो बगानको आकार पनि ठुलो छ अनि रोजगारप्राप्त श्रमिक पनि थुप्रै छन्, तर ३५० वटा पद रिटायरमेन्टले गर्दा रिक्त भएपछि ती पदहरुमा नयाँ श्रमिक नियोग भएकै छैन। यी सित केही वर्षदेखि श्रमिक-कर्मचारीहरूको ग्राच्युटि बन्द छ। पाउनुपर्ने अझै नानाथरीका थुप्रै छ। केही सानोतिनो क्षेत्र छोडेर तर रासिन र प्रोभिडेन्ट फण्ड जस्तो कुराहरू समयमा नै हुन्छ। अनि यो पनि चाखलाग्दो कुरा हो कि विभिन्न प्रकारको सुविधा हरू (जस्तै-इएलपी अर्थात् अतिरिक्त पत्ति टिप्नुको लागि दिनुपर्ने राशि आदि) प्राइभेट बगानहरू भन्दा बेसी नै छ। यहाँ बेसी जस्तो श्रमिकहरू अनि स्टाफहरूपनि निजीकरणको विरोधमा छन्। निजीकरण बिरोधी संयुक्त कमिटी बनाएर लडाई जारी छ यहाँनिर। तर केही हदसम्म यसको उल्टो विचार पनि छ बगानको श्रमिकहरू मध्ये। उनीहरू अनुसार सरकारी अवहेलनाले जन्मिएको समस्याको दबाई हो गैरसरकारी मालिकको कठिन नियन्त्रण। तर कुनैपनि क्षेत्र गैरसरकारी हातमा गएपछि त्यसको हालत के हुन्छ र? नाफालाई एकमात्र लक्ष्यको रूपमा लिएर अघि बढ्ने गैरसरकारी उद्योगले लाभको सीमालाई चरमसम्म पुर्याउन खोज्दा शोषणलाई पनि अझै डरलाग्दो बनाउछ, ती लिएर कुनैपनि संशयको अवकाश छैन।
पहाडको अर्को दुईवटा बगान भने त्यत्रो ठुलो होइन। बिचमा पहाडी खोलाको दुईतर्फ पहाडको दुईवटा भिरमा दुईवटा बगान— रागेरुंग र पान्दाम। एक समय थियो जब यो रागेरुंग बगानले निर्यात योग्य चिया उत्पादन गरेको थियो। तर आज हालत निकै नराम्रो छ। चियाको बोट अझै लगाउने अवकाश छैन। तर पुरानो बोट उखालेर नयाँ बोट लगाउनु एकदम जरुरी बनिसकेको छ। बगानको कुल आबादी सात सय जस्तो छ। यस बगानको इतिहासको पन्नाभरी उकाली ओराली छ। बारम्बार म्यानेजमेन्टको बदल भएको छ यहाँ, एक समय जब १४ वर्ष लगातार बन्द थियो यो बगान। त्यतिबेला कहिले श्रमिक कमिटी (रेजिस्ट्रेसन गरेको को-ओपरेटिभ होइन) गठन गरेर बगान चलाइयो। खाली अर्थको राशि ज्यालाको रूपमा लिएर (अरू सहुलियतहरू त्यतिबेला थिएन), अनि त्यस्तो स्थितिमा बारम्बार पुलिसको उत्पीडनको शिकार भएर श्रमिकहरूले जीवन बिताउनु पयो। यहाँको श्रमिकहरू अनुसार— परिकल्पनाको कमी, म्यानेजमेन्टको लापरवाही, रेड टेपिजम्, जलसिचाई लगायत बगानको विकासको लागि लिनुपर्ने पाइलाको कमीले साफ देखिइन्छ टीडीसीको बिग्रेको हालत। यहाँ यस्तो आरोप पनि छ कि यहाँको म्यानेजमेन्टले जमिनको हिसाबमा जानीबुझी गडबडी गरेर ट्याक्समा हेरफेर गरेको छ। स्थिति यहाँ कस्तो छ भने म्यानेजमेन्टको अवहेलनाले गर्दा निलामबाट पनि बेलाबेला फर्केर आउँथ्यो यहाँको चिया। तर सँगसगै यहाँको मजदुरहरूमध्ये यस्तो सोचाई पनि छ कि ढिलोछिटो जे पनि होस्, उनीहरूले त आफ्नो पाउनुपर्ने राशिहरू अन्तसम्म पाउछन्, प्राइभेट हातमा गएपछि के त्यो सुरक्षित रहनेछ? यहाँको बगानमा कारखाना छैन— टिपेको पत्ति यहाँबाट लगिन्छ पान्दामको फ्याक्ट्रीमा।
रागेरुंगबाट पक्का सडक बनिन्दैछ पान्दामतिर। यो देख्ने बित्तिकै के आशंका हुनथाल्छ भने — बगानको कुनै प्रभावी विकास नगरेर के यी दुईवटा बगानलाई टी टुरिजम तिर धकेल्ने योजना चलिरहेको छ? पान्दाम बगानमा चियाको बोटहरुका बिग्रेको हालतबाट यस्तै लाग्छ। दार्जिलिङ शहरको चौरास्तामा उभिएर कान्चनजंघातिर हेर्दा आफ्नै मुनि पट्टि रहेको बगाननै पान्दाम चिया बगान हो। सय वर्ष पुरानो बगान। मजदुरहरूले रागेरुंग जस्तै नराम्रो म्यानेजमेन्टको कुरा गयो। यहाँको म्यानेजमेन्ट त बगानमा कहिल्यै पनि आउँदैन भनेर सिकायत गयो। यहाँ अझै एउटा समस्या के छ भने टाउकोमा सरकार-म्यानेजमेन्ट-युनियनहरू भित्र के चलिरहेको छ, आम श्रमिकहरूलाई ती बारे केही थाहा हुँदैन। श्रमिकहरूको विचार सुन्ने, उनीहरुसित छलफल गर्ने कुनैपनि प्रक्रिया बगानमा कसैले पनि लिएका छैनन्। बगानको अनिश्चित भविष्यलाई अन्दाजा गरेरै होला, यहाँको थुप्रै मानिसहरू अरू ठाउँहरूमा, अर्को कामहरुमा नियोजित भइसकेका छन् वा त्यसको खोजीमा छन्। बगानमाथि निर्भरता घटाउनु नै यहाँको मानिसहरू मध्ये एउटा ठोस लक्ष्य बनेको छ।
अब आउनुहोस्, हेरौं डुवर्सको बगानहरूतिर। नगरकट्टाको नजिकमा हिला बगान आकारमा ठुलो नै हो। यहाँ पनि अवहेलनाको त्यो एकै चित्र। तीन वर्ष जस्तो भइसकेको छ, यहाँ सिचाई वा मलको कुनै पनि प्रवन्ध छैन। श्रमिकहरूको भनाइ छ कि फेरिपनि पत्ति टिप्ने रकममा कमी त्यति कमी आएको छैन। तर फ्याक्ट्रीको अवस्था, खासगरी ड्रायरको हालत बिग्रेको कारणलेगर्दा प्रचुरमात्रामा टिपेको पत्ति फ्याँकिदिनुपर्छ। जम्मै बगानको पत्ति उठाउने त कुरै छैन। शर्मा भन्ने एकजना म्यानेजर हुँदा बगानको विकासको नानाथरीका व्यवस्था लिइएको थियो, तर त्यसपछि सबै हरायो। श्रमिकहरूको गहिरो विश्वास छ कि यो बगान सरकारले राम्ररी चलायो भने करोडौंको लाभ दिनसकिन्छ। श्रमिकहरूले विभिन्न प्रस्ताव पनि दिएका छन्, तर सुन्नेवाला को पो छ? केही वर्ष अघिपनि लाभमै चलेको थियो यो बगान। श्रमिकहरू मध्ये एउटा अंशमा भनाई यस्तो थियो कि ठुलो कम्पनीले बगान लियो भने ठिकै हो, तर जुन मालिकहरूले अहिले चलाएको बगानहरुमा नै बाँकी राखेको छ, तिनीहरूले फेरी कसरी नयाँ जिम्मेवारी लिनसक्छ र? साधारणत मजदुरहरू चाहन्छन्, बगान सरकारलेनै चलावोस्, तर राम्रो प्रकारले। शासकदलको युनियनको नेताहरूले पनि भनिहाल्यो, “दिदीको सरकार आयो, तर यस्तो दिन आउछ भनेर कसलाई थाहा थियो?
हसिमारा भएर भुटान सीमातिर जाँदा सानो बगान हो महुवा। सन् १९७९ मा यहाँको खेतीपाती गर्ने वासिन्दाहरुबाट जमिन लिएर यो बगान बनाइएको थियो। जमिनको दाम वा क्षतिपूर्ति यिनीहरूले पाएका छैनन्। काम पाएका थिए थुप्रै मानिसले। यहाँको माटोमा बालुवाको भाग बेसी छ, चियाको बोट राम्ररी यसमा बाँच्न सकेन। त्यो शर्मा भन्ने म्यानेजर हिलाबाट यो बगानमा आएपछी केही सकारात्मक पाइला लिइएकोले श्रमिकहरू अनुसार, कुनै कुनै सेक्शनमा उत्पादन बढेको थियो। यहाँ पनि तीनवर्ष जस्तो भइसक्यो, सिचाई वा मलको प्रवन्ध छैन। पत्ति पनि राम्रो आएन। यहाँ फ्याक्ट्री नरहेकोले टिपेको पत्ति हिला बगानमा पठाइन्छ, जसको दुरत्व ११० किलोमिटर छ! गाडीको खर्च नै त धेरै अधिक हुनपुग्छ। श्रमिकहरू अनुसार — निकै जमिन खालि छ, श्रमिकको सङ्ख्या पनि जमिनको तुलनामा कम नै हो। तर टीडीसीले त्यो विषय लिएर कुनै पनि चासो देखाएको छैन। श्रमिकहरूको अनुभूति के हो भने कुनै पनि प्राइभेट कम्पनीले यो बगान लिएर चलाए, उनीहरू नाफाको खोजमा रहनेछन्। उनीहरूले यहाँ रिसर्ट बनाउनेछन्, हाउजिङ बनाउनेछन्। नजिकै छ भुटान सिमाना जयगाव। त्यसकारणले यो ठाउँ यस्तो टाउनशिप, जस्तो योजनाको लागि मालिकहरूले मनपराउने सम्भावना छ। टीडीसी आफैले त यस ठाउँबारे टी टुरिजमको हल्ला फैल्याउन थालेको थियो! श्रमिकहरूको मुख्य भनाइ यहाँ स्पष्ट छ— ‘सरकारले बगान नचलाए हामीलाई जमिन फर्काइ दियोस्, हामी पहिला जस्तै खेतीपाती गर्नेछौँ’। यहाँपनि शासकदलको युनियन बलियो छ, तर उनीहरूको नेताहरूलेनै भन्यो— ‘सिन्गुर आन्दोलन गरेर दिदी सत्तामा आयो, अनि ... दिदीको सरकारले नै .... यहाँ दोस्रो सिन्गुर बनाउनु आँटेको छ...!’ सन् १९९७ मा सिलगढी नजिक चादमनि चिया बगान विस्थापित गरिकन टाउनशिप-शपिंग मल बनाउनको लागि गोली चलाएको थियो त्यसताका सरकारले। के फेरी त्यसकै पुनरावृति हुनेछ?
यो हो बगानहरुको चित्र। निजीकरणको सरकारी सुचना आइसकेको छ, तर जमिनीस्तरमा हस्तान्तरण अहिलेसम्म भएको छैन। सरकारी सुचनामा यस्तो य्हियो कि कसैले निजी कोम्पनीमा काम मनपर्दैन भने सरकारी कामको लागि आवेदन गर्नसक्छ। तर पछि गएर खुलासा भयो कि यो प्रस्ताव मजदुरहरुको लागि होइन। प्राइभेट मालिकको सांग्लो उनीहरुलाई अन्गाल्नै पर्छ!
जुन डरलाग्दो लापरवाही सित बगानहरूलाई विनाशको स्थिति तर्फ लग्यो सरकारले, अनि जुनप्रकारले गैरसरकारी हातमा दिनको लागि बहाना समाजमा फैल्याएको छ— श्रमिकहरू मध्ये, आम मानिसहरू मध्ये .... त्यो चाखलाग्दो खालको हो। यही त ‘शिल्पायन’ होइन र?!
ओबामाको भारत सफरमा न्युक्लियर डील!
समसामयिक
ओबामाको भारत सफरमा न्युक्लियर डील!
कपिल तामाङ
२६ जनवरी, २०१५। भारतको गणतन्त्र दिवसमा अमेरिकी राष्ट्रपति बाराक ओबामालाई मुख्य अथितिको रूपमा बोलाएको थियो। सबै खबरकागज, संचारमाध्यम, समाचारहरूमा यसकै चर्चा थियो। मोदीको १० लाखको हिरा- बुट्टे सुट अनि मिशेल ओबामाको रेशमी सारी जस्तो रमझम खबरहरू पढनुमानै मानिसहरू व्यस्त भए। तर खबरकागज अनि अरू संचारमाध्यमहरूले भारत-अमेरिका बिच भएको परमाणु सौदाको खबर भने कम्ती चर्चा गरे अनि जतिनै भन्यो यसलाई ठुलो प्राप्ति हो भने। ओबामाको भारत भ्रमण केवल भारतको गणत्रन्त्र दिवसमा उपस्थित हुन मात्र नभएर भारत-अमेरिकाको व्यापार-वाणिज्यको सम्बन्धलाई अझै प्रगाड बनाउनु विशेष गरेर परमाणु सौदालाई सफल गर्नु थियो। अहिलेको केन्द्रीय सरकारले परमाणु कानुनलाई बदलेर ठुला-ठुला अन्तराष्ट्रिय कम्पनीहरूलाई परमाणु कारखानाहरूमा निवेश गर्ने खुला आहवान गरेको छ। साथै कुनै प्रकारको दुर्घटना भए त्यसको छतीपूर्तिको भार पनि ती कम्पनीहरूलाई भन्दा ज्यादा बिमा कम्पनीहरूमा थोपी दिएको छ। गणतन्त्र दिवसको दिन नै भारतवासीहरूले आफ्नो स्वास्थ्य अनि सुरक्षाको अधिकार गुमायो अनि जसको कानुन संसदले गुप्तरूपमा ओबामा-मोदीको परमाणु सौदामा पारित गरे।
ओबामाले उनको भाषणमा भने कि “परमाणु ऊर्जा”ले भारतमा सफा विद्युत ल्याउने छ जसले यहाँको पर्यावरणमा सुधार ल्याउनेछ। यसमा दुईवटा कुरा स्पष्ट हुँदैन— एक; परमाणु ऊर्जा धेरै महँगो हुन्छ अनि त्यसले भारतको गरिब क्षत्रेहरूमा विद्युत कसरी पुर्याउने छ? दुई; यदि परमाणु ऊर्जा त्यस्तो सफा अनि सुरक्षित छ भने किन अमेरिकी कम्पनीहरूले कुनै प्रकारको दुर्घटना भए तिनीहरूले छतीपूर्ति (liability) दिने कुरामा संकोच मानिरहेका छन्?
२००८ मा अमेरिकी राष्ट्रपति बुशले सिभिल न्युक्लियर टेक्नोलोजी अनि युरेनियम चलाउने प्रस्ताव दिए अनि त्यसबेलाको केन्द्रीय सरकारले पनि “१२३ सम्झौता”(the US-Indian civil nuclear agreement)मा हस्ताक्षर गर्ने निर्णय लियो तर त्यसको घोर विरोध भयो अनि त्यो सफल भएन। त्यसबेला बिजेपी जो विपक्षी दल थिए, तिनीहरूले पनि विरोध गरेका थिए अनि अहिले आएर त्यही सम्झौतालाई पुरा गर्नुमा बिजेपी-को साचो अनुहार अनि ढोँगी चरित्र खुल्ला भएको छ।
भारतको कानुन— the Indian Civil Liability For Nuclear Damages Act- कमजोर हुदा हुँदै पनि अमेरिकी अनि भारतको बहुराष्ट्रिय कम्पनीहरू (equipment supplier) जस्तै— वेस्टिंगहौस, एल एंड टि, जे एस डब्लु अनि टाटा पावर- भने यसलाई अझै कम्जोर बनाउने तरखरमा छन्। भारतीय कानुनको धारा १७(ख) अनि धारा ४९ को अनुसार कुनै प्रकारको परमाणु दुर्घटना भए दुर्घटनाको क्षतिपूर्तिको उत्तरदायी ती सप्लायर कम्पनीहरू हुनेछ भनी भनिएको छ तर यसमा पनि धेरै कमजोरी छन्। जस्तै जो सञ्चालक छ केवल उसले मात्र क्षतिपूर्तिको मांग गर्न सक्छ, यदि ती यन्त्र-पातको सम्झौताको मूल्य ५ लाख छ भने सञ्चालकले केवल ५ लाख पाउनेछन् इत्यादि। यस कानुनी धारालाई पनि अटोर्नी जेनेरलले खारिद गर्ने प्रस्ताव राखे।
१९८४ भोपाल, मध्य प्रदेशमा ग्यास लिक दुर्घटनामा लाखौ मानिसहरूले ज्यान गुमाए हजारौले यातना भोग्नु पऱ्यो अनि जसको आज सम्म पनि गहिरो छाप भोपालले बोकेर हिड्नु परिरहेको छ। यस दुर्घटनामा सरकारले कस्तो भूमिका खेलेको थियो त? युनियन कार्बाइड कर्पोरेसन एउटा अमेरिकी कम्पनी जसको लापरवाहीले भोपाल त्यस्तो दुर्घटनाको सिकार बन्न पुग्यो। त्यस कम्पनीले ना त कुनै प्रकारको कानुन सजाई नै पायो ना त तिनीहरूले पीडितहरूलाई भने जस्तो क्षतिपूर्ति नै दिए। यु.सी.सी. को CEO अन्डरसनलाई भारतबाट भगाउनमा पनि भारत सरकारले मदत गरेको थियो। ३० वर्ष बित्दा पनि भोपालको मानिसहरूले न्याय पाएका छैनन्। १९८६, चेर्नोबील युक्रेनमा परमाणु दुर्घटना अनि २०११, फुकुशिमा जापानमा परमाणु दुर्धटना यस्ता कति दुर्घटनाहरू छन् जसले संसारलाई यातनाको सिकार बनायो। भारतले कुनै प्रकारको परमाणु दुर्घटनाको सामना गर्नु पऱ्यो भने, भारत जस्तो विकासशील देशले न त संसाधन जोगड गर्न सक्छ न त त्यस दुर्घटनालाई सम्हाल्ने छमता नै छ। इतिहास साक्षी छ जब यस्तो दुर्घटना घट्छ तब साधारण पीडित मानिसहरूले न त सरकारबाट न त त्यस कम्पनीबाट नै कुनै प्रकारको छतीपूर्ति पाउछन्। क्षतिपूर्ति त के कुरा गर्नु स्वास्थ्य चिकित्साको प्रबन्ध हुँदैन। त्यसैले यस सौदालाई मानिसहरूको लास माथि खडा गरेको सौदा भन्न सकिन्छ अनि यसको विरोध सबैले गर्नु अनिवार्य छ।
भुमि अधिग्रहण अध्यादेश
समसामयिक
भुमि अधिग्रहण अध्यादेश
प्रियशिखा राई
हालैमा भारत सरकारले अप्नाएको भूमि अधिग्रहण अध्यादेश अनुसार सरकारले अझै सजिलोसँग कुनै पनि निजी जमीन हत्याउन सक्छ। पहिलादेखि चल्दै गरेको सबै भूमि अधिग्रहण सम्बन्धित कानुनहरू पनि लगभग यस्तै थियो। हुन त यो देशको जरुरत हो भनेर भनिन्छ, तर यस पछि पनि धेरै कुराहरू छ। भूमि अधिग्रहण अधिनियम ब्रिटिशभारतमा पहिलो पल्ट ‘ल्याण्ड एक्विजिसन एक्ट’- नामले सन् १८९४ मा लागु भयो, ब्रिटिस कालमा यो नियम लागु भएको हुनाले यस नियम जनता विरोधी जस्तै नै थियो। त्यतिबेला ब्रिटिसहरूको आफ्नो राज्य एवं पुँजी फैलाउने स्वार्थले यस नियमलाई देशको स्वार्थको निम्ति भन्दै आफ्नो स्वार्थपूर्ति गर्ने हतियार मात्र बनाएको थियो। स्वतन्त्रताको पछाडि पनि यही शोषण पूर्ण नियम नै देशमा लागु भई रह्यो।
देशको विकाशको फर्जी कागजपत्र देखाउदै देशको मन्त्री एवं पुँजीपतिहरूले देशको बहुसङ्ख्यक जनतालाई बारम्बार लुटी रह्यो। सरकारी तथ्य अनुसार नै दशकौंदेखि विस्थापित भएका समुदायहरूले अहिले सम्म पुनर्वास पाएका छैनन्। त्यसमाथि ड्याम, सडक एवं सुन्दरीकरणको नाममा धेरै मानिसहरूलाई आफ्नो थलोबाट लखेटियो। यसको साक्षी छ नर्मदा बचाऊ आन्दोलन, केही साल अघिको सिंगुर, नंदिग्राम आन्दोलन, पस्को, रायगढ इत्यादि जगहहरूमा, खासगरी देशभरि एसइजेड (स्पेशल इकनमिक जोन)को लागि भूमि अधिग्रहणको शोषणपूर्ण घटना— यसको विरुद्ध उठेको जन उभारले गर्दा १२० साल वाद २०१३ सालमा आएर जनतालाई अलिकति भए पनि राहत दिने खालको सरकारलाई कानुन पारित गर्न कर लाग्यो। यही समय नै हामीले के देख्यौ भने केही दल वा अरू शक्तिहरू बाट यस्तो सुझाव पनि आयो कि सरकारले यो भूमि अधिग्रहण प्रक्रियामा नरहोस्, पुँजीपति वा निवेशकारी ले स्वयम्ले नै जमिनको मालिकबाट सिधै जमिन लिने अधिकार पावोस्। मालिकहरूले कसरी त्यो जमिन लिनेछ, त्यो उनीहरूको निर्णय माथि नै छोड्नुपर्छ भनेर यो प्रस्तावको अर्थ त हामीलाई थाह छ! पुँजीपतिहरूले जमिन छिन्नुको लागि कुनैपनि नराम्रो तरिका अपनाउनसक्छ— भयभित गराएर, जबर्जस्तीको प्रक्रियाले लुट्न सक्छ जमिनहरू। तर त्यतिबेला 'Right to Fair Compensation and Transparency in Land Acquisition, Rehabilitation and resettlement Act, 2013'- को नामले कानुन पारित भयो र यस अन्तर्गत भूमि दिने मानिसहरूको अनुमति लिन आवश्यक भयो, जून १८९४ को कानुनमा थिएन। अर्को कुरा, सामाजिक प्रभावको मूल्याङ्कन पनि यो नयाँ कानुनमा आवश्यक भयो जसको कुनै नामो निशान १८९४ को कानुन मा थिएन। अन्तमा एक भन्दा ज्यादा फसल हुने भूमिको अधिग्रहणको निम्ति पुरा राज्यको केवल ५% भूमि मात्रै अधिग्रहण गर्न सकिने प्रावधान यस कानुनमा ल्याइयो। यसमा जसको जमीन अधिग्रहण गरिंदैछ, तिनीहरूलाई पुनर्वास एवं क्षतिपूर्ति रकम दिनु पर्ने प्रावधानहरूमा अलिक सुधारहरू पनि ल्याइयो। यो १२० साल वाद बदलिएको कानुन १ जनवरी २०१४ देखि लागु भयो।
२०१४ मई-मा बी.जे.पी. सरकारको राज आउने साथ धेरै मुद्दाहरूमा कर्पोरेट पक्षधार नियमहरू लागु गर्न थाल्यो। एकाधिपत्यबाट हासिल गरेको अर्डिनेन्सहरूले अहिलेको मोदी सरकारले विकाशीय जादुको नाममा निकै जन विरोधी नीतिहरू ल्याइसक्यो। जुन सरकारको बहुमत छ, त्यसले किन चाँही अर्डिनेन्स वा अध्यादेशको बाटो अपनाउन पर्छ, त्यो त एकदमै साफ छैन। लोकसभा-राज्यसभालाई बाइपास गरेर यस्तो कानुन लागु गर्ने हतार किन, यसको त एउटै जवाफ हुनसक्छ— पुँजीपति मालिकहरु, जसले मोदीलाई जिताउनको लागि निकै खर्च गरेको छ, उनीहरुले छिटोभन्दा छिटो यो सरकारबाट उनीहरुका फायदा खोज्दैछन्। यसकारणले गर्दा एकपछि एक अर्डिनेन्स लागु गरेर मनमर्जीको कानुनहरू लागु गर्दैछ यो सरकार अनि अर्डिनेन्स राज जस्तै कायम गरेर एउटा एकदमै अगणतान्त्रिक सरकारको चेहरा दिनप्रतिदिन साफ हुँदै जान्छ। यस मुद्दाहरू मध्ये भूमि अधिग्रहण अध्यादेश एउटा हो। यो अध्यादेश त बीजेपी-ले सत्तामा आएको ७ महिना मै जनता माथि थोप्यो। २०१५ फरवरीमा मोदी सरकारले आफ्नो क्रुढ़ लक्ष्यलाई सफल पार्न यस अध्यादेशलाई स्थायी कानुनको रूप दिने उद्देश्यले संविधानमा भूमि अधिग्रहण संशोधन बिल प्रस्तुत गऱ्यो, जुन चाँही ९ मार्च लोकसभामा पारित भयो। यस बिल अनुसार २०१३-को कानुन जुन कम हानिकारक छ, यसमा मुख्य संग्शोधनहरू ल्याएर जनताहरूमा भएको थोरै लाभ पनि छिन्नु खोजी रहेको छ। यो जनविरोधी र करपोरेट फासिवादको प्रतिविम्ब-बिल अनुसार अब भूमि अधिग्रहण गर्दा जनताको कुनै सहमति लिन जरुरी पर्ने छैन। एक भन्दा ज्यादा फसल हुने भूमि पनि सरकारले अधिग्रहण गर्न सक्छ। यो बिल अनुसार ५ वटा योजनाहरू — इन्डस्ट्रीयल करिडर, पिपिपि योजना, ग्रामीण ढाँचागत योजना, किफायती आवास र राष्ट्रिय सुरक्षाको खण्डहरूमा, २०१३-को भूमि अधिग्रहण कानुनमा भएको “सहमति खण्ड” हटाईनेछ। यो ५ वटा छुटहरूमा कुनै सामाजिक प्रभावको मूल्याङ्कन पनि जरुरी रहने छैन। यी छुटहरूले किसानहरूलाई नकारात्मक रूपले असर पार्नेछन् किनभने प्रस्तावित बिलको भाषा धेरै अस्पष्ट र असम्पुर्न छ। साथै यो कमीको आधारमा कर्पोरेटहरूले आफ्नो सबै मक्सद पुरा गर्न सक्ने सुविधाहरू लुकेको छ जुन बीजेपी-को प्रत्यक्ष उद्देश्य हो।
त के देशको विकासको चर्को ताप यी गरिब जनताहरूले मात्र झेल्नु पर्ने हो? देशको विकासको नापदण्डमा यिनीहरूको विकास आउदैन? यस्ता नियमहरूले देशको असल चरित्र देखाईदिन्छ। विकासको परिभाषा नै अहिले पुँजीवादी देशको विकासको परिभाषामा परिणत भइसकेको छ। विकास भन्नाले सबै (मध्यम वर्ग)-को गाडी, सफा सडक (जुन तयार गर्नलाई सडक किनार बस्नेहरूलाई टाढो लखेटिनछ), निजी स्कुल, कलेजहरू, राम्रो लगाउने लुगा इत्यादि भएर गएको छ। के गरिब र किसानहरूको हितमा गृह उद्योग जस्ता तरिका अपनाएर विकास ल्याउन सकिदैन? विकासको परिभाषामा सबै गरिब जनताको विकासको मुद्दा जोड्नु अति आवश्यक छ। देशको गरिब जनताहरूको हितमा नियमहरू बनाउन सरकारको सबैभन्दा प्रमुख कार्य हुनु पर्छ। गरिब जनताको जीवनको सट्टामा विकास ल्याउने सरकार कदापि पनि जनता-प्रेमी सरकार हुन सक्दैन र युक्तिवादी मानिस हुनको नाताले हामीले यसको घोर विरोध गर्नु पर्छ।
धार्मिक कट्टरपन्थ र स्वतन्त्र अभिव्यक्ति
समसामयिक
धार्मिक कट्टरपन्थ र स्वतन्त्र अभिव्यक्ति
प्रसिद्ध राई
यस वर्षको सुरुमा नै दिनांक ७ जनवरी २०१५ को दिन फ्रान्समा इस्लामिक जिहादिहरूले गरेको पाशविक घटनाले सारा संसारलाई नै तनाउपूर्ण अनि घृणाको भावले चकित, त्रसित पारिदिए। अकस्मात् नकाब लगाएका दुई व्यक्तिहरूले शार्ल एब्दोको (पत्रिका) कार्यस्थलमा १२ जना कार्यकर्तालाई गोली हानेर मारिदिए, साथ साथै पेरिसमा पनि सातजना शार्ल एब्दोको कर्मचारी लगायत २ पुलिसलाई गोली ठोकेर मारिदिए। यी जिहादिहरूको रिसको सूत्र मात्र एउटा शार्ल एब्दो पत्रिकाले प्रकाशित गरेको व्यंगचित्र थियो जसले इनिहरूको मोहम्मदलाई चित्रित गरेका थिए, यही निहुँले नै यो घटनाको सुरुवात भयो।
त्यही समयमा हाम्रो देशमा २७ डिसेम्बरको दिन तामिलनाडुमा बिजेपी, आरएसएस र अरू हिन्दु संस्थाका कैयों क्रोधित भिडले लेखक पेरुमल मुरुगनको पक्राउको मांग गरे। पेरुमल मुरुगनले प्रकाशित गरेको किताबले हिन्दु भगवान् शिव र कैयों स्त्री भक्तहरूको चरित्रमाथि नकारात्मक खुलासा गरेको छ भन्ने आरोप लगाए। यी विरोधीहरूले सडकमा झगडा मात्र नगरेर ठाउँ ठाउँमा नाराबाजी, हड्ताल अनि उनिको किताब 'मथ्रुभागन'का कैयों प्रतिलिपिहरू जलाई दिए। यति मात्र नभएर पेरुमल मुरुगनले फोनमार्फत अनेकौ धम्कीहरू सहनु पऱ्यो। अन्तमा पेरुमल मुरुगनले यही स्थितिमा आफूले लेखेको किताब रद्द गर्ने र अब 'लेखक' मुरुगनको मृत्यु भएको छ भनेर सुचना फेसबुकमा दिने निर्णय लिनुभयो। उनले घोषणा गरे की अब कुनै किताब लेख्ने छैनन्, आफ्नो लेखक जीवनलाई पनि त्यागने छन्। पेरुमल मुरुगन र शार्ल एव्दोको घटना टिभी, पत्रिका, खबरकागज, सोसल नेटवर्क इत्यादि जति पनि सूचनाका आधारहरू छन्, त्यहाबाट मानिसहरुका ध्यान खिच्न सफल बने। देश-विदेशमा मानिसहरू धार्मिक कट्टरवाद लिएर तर्क-वितर्क गर्न थाले। यही गुनासो थियो कि, किन एउटा मानिसले संविधान अनुसार उपभोग गर्न पाउने अधिकार, विचार पोख्न पाउने, अनुभूति बाड्न पाउने, मनको भाव लेखमा व्यक्त गर्न पाउने— एकै शब्दमा भन्नु पर्दा “स्वतन्त्र अभिव्यक्ति” पख्दा यस्तो हिंसात्मक घटना हुन्छ? आफू नास्तिक हुनु पनि नपाउनु? खै हाम्रो इच्छाको स्वतन्त्रता? धार्मिक कट्टरवादले गरेको हिंसक क्रियाको शृंखला फगत इ दुई देशमा मात्र होइन तर हालैमा हाम्रै छिमेकी बङ्गलादेशमा पनि घट्यो।
प्रगतिवादी व्यक्तित्व अभिजित रायको हत्या यस्तै धार्मिक कट्टरपन्थीको प्रहारबाट भयो, साथै उसको पत्नीलाई पनि मार्ने कोसिस गरियो। अहिले अमेरिका निवासी अभिजितले आफ्नो पत्नीसँग बङ्गलादेशमा हुने वार्षिक पुस्तक मेलामा (भाषा आन्दोलनलाई स्मरण गरी प्रत्येक वर्ष फेब्रुवरी ढाकामा हुने 'एक्काइसको पुस्तकमेला') आएका थिए, मेलाबाट फर्कदा बाटैमा तैनाथ मानिसहरूको भिडमा कट्टरवादीहरूले उनलाई छुरी हानेर निर्मम हत्या गरियो। अभिजित राय जो अमेरिकी-बंगलादेशी नागरिक हुन् अनि लेखक, युक्तिवादी, विज्ञानी, नास्तिक इत्यादिको हिसाबले चिनिन्थे। उनको 'मुक्त्तमना' इन्टरनेट ब्लग प्रख्यात छ। यस ब्लगमा प्राय सबै धार्मिक विषयहरू माथि विश्लेषण गरिन्छ र प्रत्येक तर्कमा नास्तिकतानै झल्कन्छ। धर्मको गलत नीति, रुड़ीवाद, लैङ्गिक असमानता,अन्धविश्वास इत्यादि विरुद्ध छलफल गर्नु यो ब्लगको मुख्य काम रहेको छ। लगातार आफ्नो ब्लगको बढ्दो चर्चाले धार्मिक संस्थाहरूलाई चुनौती दिएको र मानिसलाई धार्मिक भन्दा युक्तिवादी हुने प्रत्सोहन दिएकोलेनै, कैयों धार्मिक सङ्गठनले अभिजित रायलाई दागा धरी रहेका थिए। यस्ता धार्मिक दमनको विरुद्ध आवाज उठाउदा धेरै जनालाईनै ज्यान गुमाउनु परेको, निर्वासित हुनुपरेको, प्राणघातक हमला झेल्नु परेको छ। पाकिस्तानको किशोरी मालाला युसफ्जाई जो नारी शिक्षाको निम्ति अघि आएका थिए उसले पनि तालिबानबाट गोली खान पऱ्यो, हाम्रै देशमा महाराष्ट्रमा नरेन्द्र दबोल्कर जो अन्धविश्वास र युक्तिवादको विरुद्धमा अग्रसर थिए तिनी पनि धार्मिक कट्टरवादको हातबाट मारिए लगतै हालैमा त्यही महाराष्ट्रमा नै गोविन्द पन्सारे पनि यही धार्मिक गतिविधिलाई नियाल्दा मारिए, बङ्गलादेशको तसलिमा नासरिन जो धार्मिक कट्टरवादको विरुद्ध गम्भीर लेख लेख्छन, वहाँले पनि आफ्नै देशबाट निर्वासित हुनु पऱ्यो, यी व्यक्तित्वहरूले भोग्नु परेको शारीरिक र मानसिक यातना, धार्मिक कट्टरपन्थीले दमन गरेको जल्दो-बल्दो उदाहरण हुन्। धार्मिक कट्टरपन्थीहरूले गरेको सामाजिक दमनको इतिहास प्रशस्तै छन्, तर इतिहासको बाटोमा साहसी युक्तिवादी अनगन्ती व्यक्तिहरूको जिद्दी कोसिसले यस्ता धेरै रीतिहरू समाजबाट निकाल्न सकियो फलस्वरूप क्रमशः मानव जातिको प्रगतिशील दौडमा एकएकवटा अमूल्य औ स्मरणीय माइलखुट्टी सृजना गर्न सफल भए। इतिहासमा चासो राख्यै भनेपनि यही बुझ्न पाइन्छ की प्रत्येक देशको मानिसभित्र विभाजनमा जाति, रीति, संस्कृति जस्ता विषयनै विभाजनका स्रोत बनेका छन्, यसमा धर्मनै सर्वोपरी कारण पनि बन्न पुगेका छन्। अहिले मात्र होइन तर पहिले पनि धार्मिक कट्टरवादले देश देशलाई मात्र होइन, तर देशभित्र पनि आफ्नै नागरिकलाई जाति-धर्मको आधारमा विभाजन गरेका छन्। यसर्थ आममानिसको सङ्घर्षको बेजोड दौडमा पनि निसन्देह धार्मिक कट्टरवादले बाधा पुर्याएको छ। मानिस-मानिस बिच हिन्दु, मुस्लिम, ईसाई, आदिवासी आदिलाई धार्मिक कट्टरवाद जस्ता विचार सिकाएर आममानिसमाझ विषमता जन्माएका छन्। यसर्थ जनताबीच कहिले पनि एकता बनिन्दैन अनि पुँजीपतिहरू यही चाहन्छन्। मानिस एककृत हुनु भनेको नै धर्म र विभाजनलाई खतरा हो, अनि यसो हुनुनै जनसंघर्षको प्रमुख जित र उदेश्य हो। पुँजीपतिहरू पनि धार्मिक कट्टरवादलाई अधिक मान्यता दिन्छन् किनकि यसमा उनीहरूलाई नै फाइदा हुन्छ। यो उपमहादेश भरिनै धार्मिक कट्टरवादको पकड जति बढ्दै गएको छ त्यतिनै मानिसहरू अघाडी बढेर सङ्घर्षको बाटोमा ओर्लेका पनि छन् लगातार। यसरीनै सचेत भएर हिम्मत नहारी जिद्दी भएर धार्मिक कट्टरवादको विरोध गर्नुनै आजको समयको माँग हो।
प्राचीन भारतमा विज्ञान अनि प्रविधि
विशेष निवन्ध
प्राचीन भारतमा विज्ञान अनि प्रविधि
[बंगलादेशको अभिजित राय, फिजिसिस्ट अनि प्रगतिशील ब्लोगर, ढाकामा पुस्तक मेलाबाट फर्किंदै गर्दा धार्मिक कट्टरवादी शक्तिहरूको हातबाट मारिए किनभने तिनले झुठो-विज्ञान अनि अन्धविश्वासको विरुद्ध आवाज उठाएका थिए। हामी भारतमा पनि यस्तै वातावरणको सामना गर्दैछौं। अभिजित रायले प्रगतिवादी ब्लग मुकतो-मोनो शुरू गरेका थिए। यो लेख त्यहि ब्लगमा प्रकाशित भएको अशोक मुखोपाद्यायद्वारा लेखिएको हो। यही लेखको संक्षिप्त नेपाली अनुवाद यहाँ पाठकहरूको निम्ति प्रस्तुत छ।]
हालैमा प्राचीन भारतको विज्ञान र प्रयुक्ति लिएर निकै प्रचार शुरु भएको छ। आरएसएस अनुसार कुनै एकजना दीननाथ बत्राले हिन्दीमा केही किताबहरू लेखेर प्राचीन भारतमा वैज्ञानिक आविष्कारको धेरै दावा गरेकाछन्। गुजरातको बीजेपी सरकारले उनको त्यस्तो किताबहरूलाई गुजराती भाषामा अनुवाद गरेर नि:शुल्क विद्यार्थीहरूलाई वितरित गऱ्यो र अनिवार्य पाठ्य बनायो। बत्राले अब NCERT र CBSEलाई स्कुल पाठ्यक्रम संशोधन गर्ने परामर्श दिंदैछ। प्रधानमन्त्री भएपछि मोदीले स्वयम् मुम्बईमा एउटा निजी अस्पताल उद्घाटन गर्दा गणेशको हात्तीको टाउको बारे उल्लेख गर्दै प्लास्टिक सर्जरी अनि कर्णको जन्मकथा सुनाएर जेनेटिक्स मा प्राचीन भारतले कत्रो विकास गरेको थियो त्यो देखाउने कोशिश गऱ्यो। अचम्म को कुरा के छ भने, त्यहाँ निश्चयनै कतिजना डाक्टरहरू थिए, अनि उनीहरूले धरी चिया, समोसा, स्यान्डविच बिरियानी सित ज्ञानी मोदीको यस्तो भाषणहरू पचाइदिए। उहाँले विज्ञान सिक्न आवश्यक छैन भनेर आरएसएसको विश्वासलाई प्रचार गरे। त्यसको सट्टामा बरु हामीले पुरातन संस्कृत अध्ययन गर्यौ भने, राम्रो तरिकाले विज्ञान जान्नसक्छौं, त्यो पनि आजभन्दा बेसी। सबभन्दा चाखलाग्दो घटना चाहिँ भारतीय राष्ट्रिय विज्ञान काँग्रेसमा भयो। त्यहाँ धुमधामसँग एउटा सत्रनै थियो के माथि भने प्राचीन भारतमा ऋग्वेदको जमानामा के के विज्ञान र प्रविधिको विकास भएको थियो, त्यसको व्याख्यामा। एकजना पायलट (वैज्ञानिकहरूको सभामा पायलट?) आएर भन्यो त्यो जमानामानै हवाईजहाज चल्थ्यो।
सबैलाई थाहा छ कि यी सब थिएन— यी सबै बोल्नेकुरा मात्रै हो, कतिजना अन्धविश्वासी, मूर्ख, न्यूनतम युक्तिज्ञान विहीन मानिसले यी बकवासहरू मान्नसक्छन्। तर यो लेख लेख्दा यो चर्चालाई अर्को प्रकारले हामीले गऱ्यो भने एउटा नयाँ दृष्टिकोण खोलिन्छ। प्राचीन भारतमा जिन थ्योरी वा प्लास्टिक सर्जरी थिएन भन्ने कुरो त सबैलाई थाहा छ। त्यसोभए हामीले यसरी राख्नसक्छौं यो प्रश्नलाई— के यी सबै कुराहरू त्यतिखेर हुनु सम्भव थियो?
विज्ञान र प्रविधिको विकासको एउटा निर्दिष्ट गति छ। यो विकास अनियमित, जसोतसो प्रकारले त हुँदैन। एउटा लामो समयसम्म मानिसले प्रविधीलाईनै मात्र आत्मसात् गऱ्यो। त्यसको अन्तर्निहित सिद्धान्त त्यतिबेला उसलाई थाह थिएन। उहाँले बिस्तारै, धेरै पछि सम्बन्धित सिद्धान्तहरू सिकेका हुन्। उदाहरणस्वरूप, मानिसले छ हजार वर्ष पहिलेनै धातुको प्रयोग गर्नथालेको थियो, तर धातुको रसायन थाह भयो केवल दुई सय वर्ष अगाडी। आज भन्दा चार सय वर्ष अघि पनि संसारको कुनै पनि ठाउँमा मानिसले आठ भन्दा बेसी धातु बारे जानकारी पाएको थिएन। सुन, चाँदी, फलाम, टिन, जस्ता, तामा, सिसा, पारा। त्यही कारणले गर्दा कुनैपनि देशको ज्योतिषशास्त्रमा अष्टधातु भन्दा केही बेसी भनिएको छैन। भारत मा पनि।
विज्ञान र प्रविधिको समस्याहरू सजिलो नभइन्जेल सम्म यस्तो स्थिति बरकरार थियो। प्रकृतिमा यसरी नै उपलब्ध कुराहरूलाई लिएर परीक्षण-निरीक्षणको सजिलो प्रक्रियाको प्रयास-विफलताको बाटोमा केही प्रविधिको आविष्कार भयो। तर पछि गएर विपरीत हुनथाल्यो। कोपर्निकस-उत्तर पर्यायहरूमा विज्ञानको विकासको क्रम उल्टो जस्तो देखापऱ्यो। पहिला आयो सैद्धान्तिक कुराहरू, आधारभूत धारणाहरू, केही मूल सत्यहरू अनि त्यसको आधारमा ती सबै उपयोग गरेर प्रविधिको चिन्ता आयो। जस्तै न्युटनको मेकानिक्सबाट आयो यन्त्रविद्या र यान्त्रिक प्रविधिको अग्रगति। प्रकाश सम्बन्धित विज्ञान र प्रविधि, जिन सम्बन्धित नयाँ ज्ञानहरूबाट सम्बन्धित जिन प्रविधि आयो। प्राणीविद्या, उद्भिदविद्याको ज्ञान विकसित भएको छैन, कोष सम्बन्धित धारणाको अग्रगति भएको छैन, तर जिन विद्या र प्रविधि अघि हिड्नु थाल्यो — ज्ञानको क्षेत्रमा यस्तो कहिल्ये पनि हुँदैन।
विज्ञानको कुनैपनि शाखामा यस्तो एक्लैले विकास हुँदैन। भौतिकविद्याको विकास भइसक्यो, तर रसायनविद्या पछाडिएको छ, जीवविद्या स्थिर, गणितको विकास रोकिएको हालतमा हुन्सक्दैन। केही दशकौको फरक हुनसक्छ त्यसमा, तर केही शताब्दीको फरक चाँही यस खण्डमा हुँदैन। ग्यालिलियो टेलिस्कोप बनाएर बृहस्पतिलाई हेर्ने बेलामा उनले लेन्स बारे पनि सोच्नुपऱ्यो। न्युटन जब आधुनिक भौतिकवादको विकास गराउदैछन्, त्यतिबेला नै तिनी आधुनिक क्याल्कुलासको पनि जन्म दिँदैछन्। यसैले विज्ञानको इतिहास बारेमा कुनै पनि दावा गर्दाखेरी यो मुलभुत समझदारी कसैलाई पनि हुन जरुरी छ।
यो मूल कुरा सँग अझै एक-दुईवटा कुरा यो सन्दर्भमा भन्नुपर्छ। अचम्मको कुरा के छ भने, प्राचीन भारतको बारेमा केवल ती आविष्कारहरू बारे हामी सुन्दै छौ, जुन चाँही पश्चिमी देशहरूमा आविष्कार भएको छ। अझै आश्चर्यजनक हो ती सबैको नामहरू— हाम्रो देशको आविष्कार थियो भने त त्यो कुराको नाम हाम्रो देशको भाषा-संस्कृति सँग सम्बन्धित हुनपर्ने थियो। तर यी सबैको नाम चाँही एकदमै आधुनिक पश्चिमी नाम कसरी आयो? प्राचीन भारतमा जब गणेशको जिउमाथि हात्तीको टाउको लगायो, त्यसको नाम प्लास्टिक सर्जरी कसरी भयो? त्यसको नाम शुद्ध आर्य संस्कृत भाषामा “अथः अन्यशरीरेतर मुण्डयोजन” जस्तै केही हुनपर्ने थियो नि! होइन र?
अर्को कुरा के छ भने, मानवज्ञानको इतिहास अधि बढ्दा लाइब्रेरी र अन्यप्रकारको ज्ञान सङ्ग्रहको प्रक्रियाको अग्रगति सितै यस्तो चलन आयो कि जुन विषयको किताब, त्यसमा त्यही विषय लिएरनै चर्चा रहन्छ। भारतमा पनि ज्ञानको विकास यसरी नै भएको छ। तर प्राचीन भारतमा आधुनिक विज्ञानको सबै आविष्कारलाई खोज्नेहरूले ती विज्ञानको कुराहरू जहीतहीँ खोज्छन्। जस्तै हुनसक्छ कि उनीहरूले चुम्बक बारे खोज्दैछन् कौटिल्यको अर्थशास्त्रमा, अपेक्षवाद ब्रह्मापूरानमा, जिनविद्या महाभारतमा... यसरी होला! केही दिन अघि कतिजनाले दाबी गऱ्यो ऋग्वेदमा पाइथागोरस थ्योरेमको कुरा छ भनेर। अब भन्नुस त, किन चाँही ऋग्वेदमा पाइथागोरसको थ्योरेम रहन्छ? के ऋग्वेद ज्यामितिको ग्रन्थ हो र? किन चाँही यस्तो आशै राख्नु कि ऋग्वेदमा यस्तो कुराहरू हुनसक्छ भनेर?
प्राचीनकालमा भारतीय चिकित्सकहरू प्लास्टिक सर्जरीमा सिद्धहस्त थियो भन्ने प्रमाण हो टाउको विहीन गणेशमाथि हात्तीको टाउको जोडीदिनु! गान्धारीको सय पुत्र जन्मको घटना आधुनिक विज्ञानको स्टेमसेल रिसर्च जस्तै हो!! यस्तो वक्तव्यहरू सुन्दा सुन्दै अचानक मुम्बईको विज्ञान काँग्रेसमा एकजना पाइलटले भन्यो— वैदिक युगमा भारतमा हवाई जहाज पनि चल्थ्यो। विज्ञानमा यस्तो कुराहरूको जग्गा छैन, धार्मिक गुरुहरूको स्थानमा गाँजा पिएर कसैले यस्तो कुराहरू भन्न सक्ला, तर विज्ञानको आँगनमा यी सबै कुरा ल्याए निकै मुस्किल छ।
तर प्राचीन भारतमा गर्व गर्ने केही सम्पदा निश्चयनै छ। ती सबै प्राचीन युगको नै आर्जन हो। ती लिएर आजको काम चल्दैन, आजको जमानाको ज्ञान-विज्ञानसँग त्यसको तुलना पनि चल्दैन। तर त्यतिखेरको लागि यी सबै निकैनै महत्वपूर्ण थियो। तीनवटा विषयमा यो आर्जन समकालीन दुनियाँको तुलनामा अन्य देशहरू भन्दा अगाडि नै रहनेछ। साहित्य, भाषाविज्ञान र गणित।
साहित्यको हिसाबले ऋग्वेद प्राचीन भारतको एउटा विस्मयकारी सृष्टि हो। आजदेखि प्रायः साढे तीन हजार वर्ष अगाडी एउटा जंगलनिवासी युद्धगर्ने पशुपालक बन्जारा मानिसहरूका टोलीले सम्पूर्णरुपले दन्तेकथामै यस्तो एउटा विशाल काब्य रचना गरेको थियो अनि त्यसलाई श्रुति-स्मृति-आवृत्ति-पुनरावृति एउटा सामूहिक प्रक्रियाले एक हजार वर्षसम्म संरक्षण गरेको थियो, अनि त्यसपछि लिपिको उद्भव भएपछि लेख्ने कौशल आत्मसात गरी त्यसलाई भाग भागमा लेखिसकेको थियो— यस्तो घटना त संसारमा कम्ती नै छ। यस्तो विशाल साहित्यलाई धर्मग्रन्थ बनाएर यसको पाउनुपर्ने मर्यादालाई त सम्पूर्णरुपले खतम पारिदिएको छ। खास कुरा के हो भने, धर्मग्रन्थको हिसाबले यो ऋग्वेदको चाँही कुनैपनि योग्यता छैन। यसमा पूजाको कुरा छैन, छैन आत्मा परमात्माको कुरा, स्वर्ग-नर्क छैन, पाप-पुण्य छैन, छैन मोक्ष लाभको कुरा पनि— धर्मको लागि महत्वपूर्ण यस्तो कुनै पनि कुरा यसमा कहाँ छ र? यसमा छ प्रकृतिको विभिन्न शक्ति जस्तै सूर्य, पहाड, नदी, उषा, अग्नि इत्यादिको प्रशंसा र प्रशस्तीको कविताहरू। यी सबैलाई केन्द्रित गरी नानाथरीका आवेगको अभिव्यक्तिहरू। यसमा छ विपुल भोजनको राम्रो-नराम्रो असर बारे कुराहरू। खाद्यान्न सङ्ग्रह र लुटपाटको समस्या बारे भनिएको छ यसमा। सूर्य, पहाड, नदी इत्यादि जुनलाई देवता भनिन्थ्यो तीहरू मानिसभन्दा पनि नराम्रो हो— हिंसा, आरिस, लोभ, रिस, चाहनामा तीहरू मानिसभन्दा दस गुणा बेसी खराब हो। प्राचीनयुगको मानिसहरूका स्वतस्फूर्त काब्यको हिसाबले वैदिक सुक्त वा कविताहरूको तुलना छैन। तर धर्मिक साहित्य वा शास्त्रको हिसाबले प्राचीनता बाहेक यसको कुनै पनि मूल्य छैन।
दोस्रोमा आउँछ भाषाविज्ञान। संस्कृत सायद संसारको एकमात्र क्लासिक भाषा हो जसको जन्म भएको थियो केही चिन्ताशील मानिसहरूका निकै गहिरो विचार-विश्लेषण र संश्लेषणको बाटोबाट। वैदिक भाषा थियो खासमा मौखिक असंगठित विन्यास विहीन भाषा। त्यसबाट शब्दमूल धातुमुल खोजी निकालेर समस्त भाषाको ढाँचालाई राम्रो प्रकारले व्याकरण निर्माण गरी सङ्गठित गर्ने एकमात्र उदाहरण सायद यो नै हो। त्यही कारणले यस भाषाको लिपि प्रकरणमा प्राय सबै उच्चारणयोग्य स्वरध्वनी र व्यन्जनध्वनी अन्तर्भुक्त भएको छ। स्वरध्वनिहरू उच्चारणको क्रमानुसारले राखिएको छ। अ आ इ ई ... इत्यादि। व्यन्जनध्वनीहरू पनि मुखभित्रको उच्चारण स्थानको अनुसारले एउटा चाखलाग्दो क्रममा राखिन्थ्यो। अनि यी सबै विकास भएको थियो आज भन्दा साढे दुई हजार वर्ष अघि। यो त निश्चयनै गर्वको कुरा हो।
तेस्रोमा भन्नसकिन्छ गणितमा शून्यको आविष्कार र उपयोग। सबैलाई थाहा छ, आधुनिक गणित र विज्ञानमा पनि, शून्य एउटा महत्वपूर्ण सङ्ख्या हो। शून्य बाहेक वीजगणित वा आलजेब्राको विकास हुनु असम्भव थियो गणितीय धारणाको हिसाबले शून्यको आविष्कार ठिक कुन बेलामा भएको थियो त्यो वर्तमानमा भन्नु त मुस्किल छ। भारतीय इतिहासकारहरूले यसलाई धेरै प्राचीनकालमा धकेल्ने कोशिश गरेतापनि त्यसबारे निर्दिष्ट तथ्य प्रमाणको छैन। लगभग पाँचौ शताब्दीमा आर्यभटको समयदेखि यसको गणितीय उपयोग देखिन्थ्यो। तर आर्यभटले पनि शून्यलाई उपयोग नगरेरै धेरै गणित लेखिएका थिए। तरैपनि, त्यो समयदेखि नै शून्यलाई उपयोग गरेर विभिन्न पद्धति विकसित हुनथाल्यो। ठुल्ठुला सङ्ख्या लेख्दा यो कस्तो प्रकारले सुविधा दिन्छ, त्यो जसलाई शून्य-विहीन सङ्ख्या लेख्नबारे थाह नहुनेहरूले कल्पना गर्नु असम्भव छ। यो शून्यको धारणा र यसको आधारमा बनिएको विभिन्न पद्धति वाणिज्य लेनदेनको बाटोले अरब भएर नवम शताब्दीमा युरोप पुग्यो।
यी तीनवटा क्षेत्रहरूमा भारतको योगदान एकदमै महत्वपूर्ण छ। यस बाहेक प्राचीन भारतमा अझैपनि विज्ञान-प्रविधिको विकास भएको थियो। जस्तै— धातुविद्या, आयुर्वेद, शल्य चिकित्सा इत्यादि। यी सबै क्षेत्रमा अग्रगति संसारको अझै देशहरूको विकास सँगसँगै भएको थियो। जसले तथ्य र सत्य माथि आधारित भएर गर्व गर्न चाहन्छन, उनलाई यसबारे सचेत रहेरै दाबी पेस गर्नुपर्छ।
एकतिर हाम्रो देशबाट झुटो दावाको सङ्ख्या बढ्दा बढदै साँचो योगदानहरू भने छोप्नु आँटेको छ। त्यसमाथि यो त स्वीकार्नु पर्छ कि वर्तमानमा विज्ञान र प्रविधिमा मुलभुत योगदानको हिसाबले हामी पश्चिमी दुनियाँ भन्दा पछाडि नै छौँ। कुनै पनि झुटो चित्कारले यो सत्यलाई छोप्नु सक्दैन। तर, हामी हाम्रो गल्तीहरू राम्ररी बुझ्यौं भने, किन हामीले आधारभूत आविष्कारहरू गर्नसक्दैनौं— त्यसबारे चर्चा गर्यौ भने हामीले छिट्टै केही राम्रो अग्रगति गर्न सक्छौँ होला। झुटो दावा गर्नेहरूले यस्तो चाहन्नन्। उनीहरूले चाहन्छन् कि यस्तो सही अग्रगति नहोस्। झुटो दावा र गर्व लिएरै बसिरहोस् देशको मानिसहरू। हामीलाई नै निर्णय लिनुपर्छ, कतिबेरसम्म हामी आफूलाई यस्तो प्रकारले धोका दिँदै जान्छौं? कहिलेसम्म हामी विकसित दुनियाँ अगाडि आफूलाई यसरी हास्यास्पद बनाएर बस्छौं? वर्तमानको समयले प्रगतिको तर्फ आफ्नो दाबी उठाउन थालेको छ।
"धर्मान्तरकरण"— तसलिमा नासरिन
विशेष निवन्ध
धर्मान्तरकरण
तसलिमा नासरिन
(अनुवाद : संगीता सुब्बा)
छलकपट, जबर्जस्ती, धम्की, खुनखराबीको माध्यमबाट संसारभरि क्रिश्चियन अनि इस्लाम धर्म फैलिएको छ। यस्तो नभएको खण्डमा ती दुईवटा धर्ममध्ये कुनैले पनि मध्यपूर्वको सीमा टेकेर बाहिर आउनु सक्ने थिएनन्। यसप्रकारको धर्मान्तरकरण चाँही यहुदी र हिन्दु धर्ममा हुँदैन भन्ने हामीलाई थाहा थियो। तर अहिले के देख्दैछु भने अघाडीको त्यो पार्थक्य हराईसकेको छ। कसैले चाहेमै उ यहुदी बन्नसक्छ। कसैले चाहे भने हिन्दु पनि। थाहा भएकै कुरो हो कि हरेकृष्ण समुदायको विदेशीहरूले धरी निधारमा टीका लगाएर अनि संस्कृत श्लोक भट्टाउदै हिन्दु धर्म अप्नाउछन्। तर आज धर्मान्तरकरणको कुरा कृष्णभक्तहरूभित्रै सीमित छ जस्तो त लाग्दैन। केही दिनदेखि भारतमा पनि जन-धर्मान्तरकरणको सिलसिला चल्दैछ, मुसलमानहरुको टोली टोली हिन्दु हुँदै जाँदै छन्। के मुसलमानहरूले हिन्दुधर्म मनपराएर हिन्दुत्व आत्मसात् गरिरहेकाछन्? यदि हिन्दु धर्मप्रति आकृष्ट भएर हुँदैछन् भने मेरो केही आपत्ति छैन। तर जबरजस्ती धर्म परिवर्तन गरेको हो भने मलाई आपत्ति छ। म कुनै कालमा पनि कसैलाई जबरजस्ती केही पनि गराउनुको घोर विरोधी हु। सुन्दैछु कि हिन्दु कट्टरपन्थीहरूले मुसलमानहरूलाई जबरजस्ती हिन्दु धर्ममा हाल्दैछन् हरे। सुन्दैछु यी हिन्दु कट्टरपन्थीहरूको डरलेनै धेरैजसो मुसलमानहरू आफ्नो धर्म परिवर्तन गर्दैछन्। धर्म भन्दा जीवन बढी हुन्छ। त्यसैले जसले पनि आफ्नो जीवन बचाउने कोसिस त गर्छ नै। कसै कसैलाई रुपियाँ पैसा पनि दिइन्दैछ हरे, यसको अर्थ धर्मान्तरकरणको निम्ति लोभ पनि देखाइन्दैछ। यो धर्मान्तरकरणको निम्ति हिन्दु कट्टरवादीहरू खुल्ला हातले खर्च गर्दैछन्। एउटा मोटो फण्ड पनि बनाइएको छ यस कामको निम्ति र यो ख्रिस्तान मिशनरीय र सुफीहरूको खानकाशरीफिय पद्धति जस्तै छ। हिन्दुहरूले यो धर्मान्तरकरणको नाम दिएका छन् ‘घर वापसी’। यसको व्याख्या यसप्रकारले गरिन्छ कि ‘तिमीहरू त बाध्य भएर हिन्दुबाट मुसलमान भएका थियौँ, अब आफ्नो स्वधर्ममा फर्कने समय आएको छ, अर्थात् घर फर्कने बेला आएको छ। धर्मान्तरकरणको जब कुरा हुँदैछ तब एकजना हिन्दु कट्टरवादीलाई मैले सोधे ‘कतिदिन पछाडि यो घर फर्कने कार्यक्रम चलाइन्दैछ’? उ चुपलागेर बस्यो। त्यसपछि मैले आफै भने ‘आठसौ वर्ष, होइन र’?
भारतवर्षको अधिकांश मुसलमानहरूनै धर्मान्तरित हुन्। सानो जात, दुखी दरिद्र हिन्दुहरू मगजसफाईको कारणले होस्, रुपियाँ पैसाको लोभले होस्, सुफिहरूको आचरणले मुग्ध भएर होस्, ब्राह्मणहरूको घृणा पाएर होस् वा मुसलमानहरूको पिटाई खाएर होस्, मुसलमान भएका हुन्। अहिले पनि हुँदैछन्। हिन्दु-मुसलमानको विवाह भए हिन्दूपक्षलाई मुसलमान हुनु पर्छ। यसको विपरीत मुसलमान हिन्दु भएको घटना हुँदैन भन्दानै चल्छ। सय-सय वर्षदेखि भारतीय महाउपदेशमा हिन्दुहरूलाई धर्मान्तरकरण गरिएको छ। आज हिन्दु कट्टरवादीहरूले जब प्रतिशोध लिन खोज्दैछन् वा विपरीत घटना घटाउन खोज्दैछन् तब दिल्लीको संसद धरी थर्कमान भयो! हिन्दुहरूलाई मुसलमान वा ख्रिस्तान बनाउन सकिन्छ तर कसैलाई हिन्दु बनाउन सकिन्दैन! यस्तो विषमता मानिलिनु हुँदैन। हिन्दुहरू महाउत्साहसाथ मुसलमानहरूलाई धर्मान्तरकरण गराउदैछन्, तर २५ करोड मुसलमानहरूलाई के धर्मान्तरकरण गराउन सम्भव छ? २५ जनालाई धर्मान्तरकरण गराउदा त चारैतिर आवाज उठ्दैछ, निन्दाको “छि छि” हुँदैछ!
धर्म परिवर्तनको अधिकार सबैलाईनै हुनु पर्छ। केशको स्टाइल, लुगाको फेशन, घर गाडी, राजनैतिक दल, नीति-आदर्श, पति-पत्नी सबै त फेर्न सकिन्छ, तब धर्म फेर्न नसकिने के कारण हुन सक्छ र? धर्म के यस्तो ? ढुङ्गा हो जसलाई जीवनबाट हटाउन सकिन्दैन! मानिस जति खुसी धर्म परिवर्तन गरून्, जुन धर्म मनपर्छ त्यहीँ धर्म ग्रहण गरून्। हिन्दुबाट मुसलमान होउन्, मुसलमानबाट हिन्दु होउन्, ख्रिस्तानबाट यहुदी, यहुदीबाट मरमन, मरमनबाट जिउभास युटनेस, जिउभास युटनेसबाट बोद्ध, बोद्धबाट जोरास्ट्रीयन, जोरास्ट्रीयनबाट बहाई, बहाईबाट पेगन होउन् वा जे इच्छा त्यै होउन्। धर्म परिवर्तन मानवअधिकारको अंश हो। स्वतःस्फुर्त रूपमै मानिसले धर्म परिवर्तन गरून्। अथवा स्वतःस्फुर्तनै मानिस नास्तिक भएर जाऊन्। धर्मको सांग्लोदेखी मुक्त होउन्। म त धर्मको संग्लोबाट शैशवदेखिनै मुक्त छु। खासमा कुनै पनि शिशुलाई धर्मद्वारा चिन्हित गर्नु उचित होइन। कुनै पनि शिशु कुनै धर्मविश्वास लिएर त जन्मेको हुँदैन। नानीहरूमाथि आमा-बाबुको धर्म विश्वास लादिन्छ। सबै नानीहरू आफ्नो आमा-बाबुको धर्मलाईनै आफ्नो भन्न बाध्य हुन्छन्। सबैभन्दा राम्रो त के हुनेछ भने नानी ठुलो भए पछि वा बुद्धि पलाएपछि यदि उसलाई संसारको जम्मै धर्मको बारेमा ज्ञान दिइयोस्, केवल धर्म मात्र होइन उसलाई नास्तिकता र मानवतन्त्र सम्पर्कमा पनि ज्ञान दिइयोस्, त्यसपश्चात् उसले आफ्नो विश्वासको निम्ति जुन कुनै धर्म छान्नेछ, अथवा नास्तिकता मन परे उसले त्यहीँ ग्रहण गर्ने छ। राजनैतिक विश्वास ग्रहण गर्नको निम्ति त वयस्क हुन पर्छ, तब धार्मिक विश्वास ग्रहण गर्नको निम्ति वयस्क हुने आवश्यकता किन छैन?
धर्म विश्वासको निम्ति अन्धोपनको प्रयोजन हुन्छ! अनभिज्ञ शिशुहरू यसको निम्ति अति उपयुक्त हुन्छन्। आँखा देख्ने मानिसहरूले त धर्मको परिकथालाई सहजै मान्न सक्दैन! यदि धर्मको नाममा नानीहरूको मजगसफाई आजदेखि बन्द गरे संसारबाट धर्मको विलुप्तिमा बेसी दशक लाग्ने छैन।
जब धर्मको अस्तित्वकै बारेमा प्रश्नचिन्ह लागि रहेको छ, यति बेला पनि हिन्दु कट्टरवादीहरू चाहिँ मुसलमान कट्टरवादीहरूको अनुसरण गर्नमै व्यस्त छन्। दायित्व लिएरै भन्दैछु, हिन्दु कट्टरवादीहरूले मुसलमान कट्टरवादीहरूको पदछाप अनुसरण गरिरहेका छन्। मुसलमानहरू भायलेन्स गर्छन् त्यसैले हिन्दुहरू पनि गर्ने। मुसलमानहरू विधर्मीहरूलाई धर्मान्तरित गर्छन्, त्यसैले हिन्दुहरूले पनि गर्ने। मुसलमान कट्टरवादी र हिन्दु कट्टरवादीमा ज्यादा फरक छैन। जम्मै कट्टरवादीहरूको एउटै धर्म, एउटै मन्त्र हो: मानिसहरूलाई विभ्रांत गर, समाजलाई स्थावित गर।
सुन्दैछु धर्मान्तरण विरोधी एउटा ऐन जारी गरिंदैछ हरे। यो चाहिँ अति नै भयो। जिवनको अन्य जुन कुनै विश्वास परिवर्तन गर्ने अधिकार मानिसको हुनु, केवल धर्म परिवर्तन गर्ने अधिकार मात्रै नहुनु! यसको कुनै अर्थ छ? कुनै एउटा निर्दिष्ट धर्मको खाँचामा मानिसलाई बन्दी बनाएर राख्नु अन्याय हो। संविधानमा यदि गणतन्त्र र मानवअधिकारको कुरा लेखिएको छ भने, धर्मान्तरकरण विरोधी ऐन कानुनीरूपमा लागु गर्न सकिन्दैन। म बुझ्दिन धर्मको विलुप्तिको आशंका लिएर किन यस्तो भय? धर्मलाई के कुनै शक्तिको प्रयोगले पक्रेर राख्न सकिन्छ? कहिले राख्न सकिएको छ? सुमेरिय, मेसोपोटामिय, मिशरिय, ग्रीक, रोमन, भाइकिंग इत्यादि कति हौ कति धर्म मरेर खरानी भइसक्यो। आजकल हिन्दु धर्म, बोद्ध धर्म, यहुदी धर्म, ख्रिस्ट धर्म, इस्लामपनि एकदिन मर्नेछ। प्रकृतिसँग मेरो प्रार्थना गर्छु अब उसो झुठो अभिज्ञान अनि कुसंस्कार निर्भर नयाँ कुनै धर्म यो पृथिवीलाई जलाउन नजन्मोस्।
मानवतन्त्र बाँचोस्। कुनै धर्मले मानव सभ्यतालाई बचाएर राख्दैन। मानिस प्रति मानिसको ममताले मात्रै सभ्यतालाई बचाउछ। मानिसको मुक्तचिन्ता, कुसंस्कारमुक्ति, विज्ञान मानसिकता, युक्ति बुद्धिलेनै मानिसलाई बचाउँने छ।
"अछुत समस्या" — भगत सिंह
शहादत दिवसको श्रद्धाञ्जली
अछुत समस्या
भगत सिंह
(अनुवाद : गुञ्जन राणा)
[काकीनडामा १९२३-मा कांग्रेसको अधिवेशन भयो। मोहम्मद अली जिन्नाहले आफ्नो अध्यक्षीय भाषणमा त्यतिबेलाको अनुसूचित जातिहरूलाई, जसलाई त्यतिबेला ‘अछूत’ भनिन्थ्यो, तिनीहरूलाई हिन्दु र मुस्लिम मिशनरीहरूमा बाड़ीदिने सुझाऊ दिए। हिन्दु र मुस्लिम धनी मानिसहरू यो वर्ग भेदलाई पक्का गर्नको निम्ति रकम दिन तैयार थिए। यस्तो प्रकार अछूतहरूको ‘साथी’ यिनीहरुले अछुतहरूलाई धर्मको नाम बाड़ने कोशिश गर्दथिए। यही समय जब यो विषयमा निक्कै चर्चा चलिरहेको थियो त्यतिबेला भगत सिंहले ‘अछूत का सवाल’ नामक लेख लेखे। यस लेखमा श्रमिक वर्गको शक्ति अनि सीमाहरूको अनुमान लगाएर यसको प्रगतिको लागी ठोस सुझावहरू दिइएको छ। भगत सिंहको यो लेख जुन १९२८ मा ‘कीर्ति’-पत्रिकामा विद्रोहिको नाममा प्रकाशित भएको थियो।]
हाम्रो देशको जस्तो खराब हालत अरू कुनै देशको भएको छैन। यहाँ थरी थरीको प्रश्नहरू उठी रहन्छ। यस्तै एउटा महत्वपूर्ण प्रश्न अछूत-समस्या हो। समस्या यो हो कि ३० करोड जनसङ्ख्या भएको भारतमा ६ करोड मानिसहरू अछुत मानिन्छन्। तिनीहरूको स्पर्श मात्रले धर्म भ्रष्ट हुन्छ भनिन्छ! मन्दिरमा उनीहरू गए भगवानहरू रिसाउछन्। तिनीहरू कुवाबाट पानी निकाले कुवा अपवित्र हुन्छ। यो प्रश्नहरू बिशौं शताब्दिमा उठीरहेछ, सुन्दा नै लाज लागेर आउछ। हाम्रो देश निकै आध्यात्मिक छ, तर हामी मनुष्यलाई मनुष्यको दर्जा दिन हिच्किचाउछौं, जब कि पूर्ण भौतिकवादी मानिने युरोप देशमा लगातार इन्कलाबको नाराहरू उठिरहेछ। उनीहरूले फ्रान्स अनि अमेरिकाको क्रान्ति पश्चात्नै समानता घोषणा गरिसकेका छन्। आज रुसले पनि सबै प्रकारको भेद भाव मेटाएर क्रान्ति गर्न जमर्को कसेका छ। हामी सधैँ आत्मा परमात्माहरूको महत्व लिएर नै चिन्तित छौ अथवा यो जोरदार बहसमा फसेका छौ कि— के अछूतहरूलाई जनै दिन उचित हुन्छ? तिनीहरूको वेद-शास्त्र पड़ने अधिकार छ? हामी सधैँ भन्छौ कि हामीलाई विदेशमा अवहेलना गरिन्छ। अङ्ग्रेजी शाषणले हामीलाई अङ्ग्रेज समान मान्दैन। तर के हामीलाई यो गुनासो पोखाउने अधिकार छ?
सिन्धको एकजना मुस्लिम सज्जन श्री नूर मोहमदले, जो बम्बई कौंसिलको सदस्य पनि हुन्, यस बारेमा राम्ररी भनेका छन्—
“यदि हिन्दु समाजले अरू मनुष्यलाई आफू जस्तै अन्य प्राणीलाई विद्यालय जान निषेध गर्छ, अनि यदि बोर्डको सचिव, जसले लाखौ मानिसहरूको प्रतिनिधित्व गर्छन्, उनले अरू आफ्नो साथी-भाइहरूलाई स्वच्छ पानी पिउने आधारभूत अधिकारबाट बन्चित गर्छ भने, उनलाई नोकरशाही बाट अझ धेरै अधिकारहरू माँगने के अधिकार छ?
अरू देशहरू बाट आउने मानिसहरूलाई आरोप लगाउन अघि हामीले यो हेर्नु पर्छ हामी आफै हाम्रो आफ्नै मान्छेहरू सँग कस्तो बर्ताव गरिरहेछौ।”
कुरा एकदमै साँचो छ। तर यो एकजना मुस्लिमले भनेको हुनाले, हिन्दुहरू भन्छन् कि, हेर उनीहरू अछूतहरूलाई मुस्लिम बनाएर आफ्नो तर्फ लैजान खोज्दैछन्।
जब तिमी तिनीहरूलाई पशु भन्दा पनि तल्लो दर्जाको सम्झन्छौ भने तिनीहरू निश्चय पनि अर्को धर्ममा जाने छन्, जसमा तिनीहरूले अधिक अधिकार पाउनेछन्, जहाँ तिनीहरूले मान्छे जस्तो मर्यादा पाउने छन्। त्यस पछि यो भन्नु कि, मुस्लिम अनि ईसाईहरूले हिन्दु धर्मलाई नोक्सान पुर्याउदैछन्, भन्नु व्यर्थ हुन्छ।
कति स्पष्ट कुरा छ, तर यो कुरा सुनेर सबै जना डराउछन। ठिक यस्तै चिन्ता हिन्दुहरूलाई पनि भयो। सनातनी पण्डितहरूले पनि केही न केही यस विषयमा सोच्न थाले। बिच बिचमा ठुला ‘युगान्तरकारी' भनिनेहरू पनि यसमा सामेल भए।
पटनामा हिन्दु महासभाको सम्मेलन लाला लाजपत रायको अध्यक्षतामा भयो, जो पहिले देखि नै अछूतहरूको ठुलो समर्थक रहेका थिए यसले गर्दा त्यहाँ ठुलो बहस शुरु भयो। निकै भना-भैरी चल्यो। चर्चाको विषय थियो कि अछूतहरूले जनै लगाउनु पाउँछन या पाउँदैनन। वा तिनीहरूलाई वेद-शास्त्र पड़ने अधिकार छ कि छैन। सबै सामाजिक सुधारकहरू क्रोधित थिए तर पनि लाला जीले अछूतहरूले जनै लगाउनु पाउने अनि वेद-शास्त्र पनि पड्नु पाउनेमा सबैलाई सहमत गराए। यसो गरेर तिनले हिन्दु धर्मकों लाज बचाए, नत्र परिणाम के हुने थियो होला?
नभए सोच्नुहोस न, कस्तो लजास्पद कुरो, कुक्कुर पनि हाम्रो काखमा बस्छ, भान्साघर भित्र डुल्छ। तर अछूत मानिसको स्पर्शले धर्म भ्रष्ट हुन्छ रे। विशिष्ट समाज सुधारक पण्डित मालवीय, जो अछूतहरू समर्थक भनी प्रचलित छन्, तिनी पनि सार्वजनिक स्तरमा एउटा मेत्तरले लगाईदिएको माला त लगाउँछन तर आफैलाई त्यो वस्त्र सहित ननुहाए सम्म अपवित्र ठान्छन। कस्तो छल हो यो। सबैलाई माया गर्ने भगवानको मन्दिर बनाइएको छ, तर त्यहाँ अछूतहरु गए, त्यो मन्दिर अपवित्र हुन्छ। भगवान् रिसाउछन। देशमा यस्तो छ भने, बाहिर समानताको निम्ति झगडा गर्नु के हामीलाई सुहाउछ? यसो गरे, यो हाम्रो कृतघ्नताको सीमा हुनेछ। जसले हाम्रो सानो सानो काम गरेर सुविधा दिन्छ, तिनीहरूलाई नै हामी पर पर गर्छौ।
Subscribe to:
Posts (Atom)
Darjeeling Hills in Chorus / Twenty Percent Bonus
(The Tea Workers’ Struggle for Bonus in the Darjeeling & Kalimpong Hills, 2024 ) Samik Chakraborty Darjeeling's Singtam ...
-
(The Tea Workers’ Struggle for Bonus in the Darjeeling & Kalimpong Hills, 2024 ) Samik Chakraborty Darjeeling's Singtam ...
-
W hen our country is facing multitudes of social movements of the toiling masses and our society is highly sensitive about gender viole...