कपिल तामाङ
दार्जीलिङ-तराई-डुवर्सको चिया श्रमिकहरूको अवस्था अनि सङ्घर्ष, उत्तर बङ्गालको अञ्चलहरूमा नै सीमित छ अनि यसको यथार्थ बारे बाकी संसार सधैँ प्राय अज्ञात हुन्छन्। चिया बगानको कालो यथार्थ, त्यहाँको शोषण अनि अत्याचारले चियाको बुट्टाहरूले झैँ गहिरो जरा गाडेको छ। यहाँका कम-बेसी ११ लाख मानिसहरू चिया उद्योगसँग सम्बन्धित छन् अनि तिनीहरूका पुस्ता-पुस्ताले झेल्दै आएका शोषण-अत्याचार उत्तर बंगालको चिया बगानहरू भित्रै दबिएको हुन्छ। अहिलेको यस्तो महँगाईमा पनि चिया श्रमिकहरू ९०/९५ रुपियाँको हाजिरामा कसरी आफ्नो घर-संसार चलाइरहेका छन् त? यसको उत्तर हामीले चिया बगानका श्रमिकहरूको स्थितिलाई नियालेर हेरौं भने राम्ररी बुझ्न सक्छौँ। ब्रिटिस कालदेखि नै श्रमिकहरूको श्रमको मूल्य मलिकपक्ष, सरकारपक्ष अनि युनियनको त्रिपक्षीय बैठकमा कुनै नीति बिना निर्धारित गरिन्छ— जसको वैधता तीन वर्षसम्म रहन्छ, जसले गर्दा श्रमिकहरू त्यस ज्यालामा आफ्नो श्रम दिन बाध्य हुन्छन् र आश्चर्यजनक ढङ्गले यो प्रथा आजसम्म चलिरहेको छ।
२०१४ को मार्च महिनामा नयाँ कुरा देखा पयो। तर यसपालि भने सधैँ झैँ त्रिपक्षीय बैठकमा ज्याला निर्धारण हुन सकिएन। १९४८ मा भारत सरकारले न्यूनतम ज्याला ऐन (मिनिमम वेज एक्ट) पारित गयो। तर त्यो उत्तर बंगालको चिया उद्योग क्षेत्रमा भने कहिले पनि लागु गरिएन। आज श्रमिकहरूको दबाउले हो या परिस्थितिको मांगले भनौं, चिया बगानका सबै युनियनहरू एकत्रित भएर जोइन्ट फोरमबाट न्यूनतम ज्याला ऐन लागु गर्ने मांग लिएर बाटोमा ओर्लिएका छन्। यस फोरममा सत्ताधारी पार्टीको युनियनहरू संग्लग्न छैनन्, र यस फोरमको तर्फबाट सरकारपक्षलाई दबाउ दिइरहेका छन्। यस्तो परिस्थितिमा एक्टिभिस्ट फिल्ममेकर्सको टोली ‘क्यानभास’ले एउटा तथ्यचित्रको माध्यमबाट यस विषयलाई जनता सामु लैजाने प्रयासमा “चाय गरम” भन्ने तथ्यचित्र बनायो।
“क्यानभास” हो सक्रिय सामाजिक कार्यकर्ताहरूको तथ्यचित्र बनाउने समूह। समाजमा घट्दै गरेको नाना अन्याय-असमानता-अत्याचारलाई दर्शाउने तथ्यचित्र बनाउछ क्यानभासले। समाजको साधारण जनता तथा खटिखाने मानिसहरूमाथि शासकवर्गको निरङ्कुश आक्रमणको विरुद्ध प्रतिवाद गर्दै संसारलाई यथार्थबोध गराउने चेष्टामा सक्रिय रहन्छ क्यानभास। यस सिद्धान्तमा उभिएको क्यानभासले चिया बगानको खटिखाने श्रमिकहरूको आवाजलाई अझै प्रगाढ अनि प्रचार गर्ने संकल्प लिएर “चाय गरम” नामक तथ्यचित्र बनायो। यस तथ्यचित्रको निर्माणमा कमानका श्रमिकहरू, विभिन्न सङ्घर्षसँग जोडिएका मानिसहरू, विद्यार्थीहरूको सक्रिय भूमिका रहेको छ। क्यानभासले नेपाली, बंगला, हिन्दी र अङ्ग्रेजी— यी चारैवटा भाषामा उक्त तथ्यचित्र बनाएर विभिन्न भाषा बोल्ने मानिसहरू समक्ष पुग्ने कोसिस गरेको छ।
त्यस तथ्यचित्रमा चियाबगान अनि चिया बगानका श्रमिकहरूको ऐतिहासिक पृष्टभूमि देखि लिएर चियाबगानको ऐतिहासिक सङ्घर्षको विस्तृत विवरण दिदैं आजको सोचनीय अवस्था अनि आजको सङ्घर्षको तथ्य सबैको सामु स्पष्ट पार्ने चेष्टा गरिएको छ। ब्रिटिस शासनकालमा तराई अनि डुवर्सको क्षेत्रहरूमा राँची, बस्तार, राउरकेला अनि छोटानागपुरबाट अनि दार्जिलिंग पहाड क्षेत्रमा भने नेपाल अनि अञ्चलहरूबाट दासको रूपमा मानिसहरूलाई ल्याएर चिया उत्पादन गर्न हेतु खटाइएको जानकारी पनि हामी यस तथ्यचित्रमा पाउन सक्छौँ। भारत स्वतन्त्र भएतापनि यहाँका मानिसहरू भने दासत्वमै बाँचिरहेका छन्। समय बित्दै जाँदा पुँजीवाद फस्टाउन थाल्यो, नयाँ-नयाँ कल-कारखानाहरूको निर्माण हुन साथ चिया बगानका मालिकहरूले चियाबाट भएको नाफा अनि बगान चलाउने पैसा नयाँ कल-कारखानाहरूमा निवेश गर्न थाले जसको कारण चिया बगानको अवस्था दिन प्रतिदिन बिग्रन थाल्यो। मालिकहरूले यो मूल कारणलाई नकार्दै चिया उद्धयोग सङ्कटमा छ भन्दै बहाना गर्न थाले। एक पछि अर्को चिया बगानहरू बन्द हुन थाल्यो अनि जुन बगानहरू खुला थियो ती बगानहरूको अवस्था पनि कमजोर हुन थाल्यो। चिया बगानलाईनै आफ्नो संसार भनी चिनेका चिया श्रमिकहरू भने भोकमरी अनि कुपोषणको शिकार बन्न पुगे। मृत्युको किलकिलेमा झुन्डिरहेको चिया श्रमिकहरू यसरी नै बाँचिरहेका थिए, तर आज अत्याचारले सीमा नाघेको छ... जसको विरुद्ध सबै चिया श्रमिकहरू एकत्रित भएर बाटोमा ओर्लिएर आफ्नो हक अनि अधिकारको मांग गरिरहेका छन्। इतिहास हेर्यौ भने थाहा पाउनेछौं, कि पहिले पनि चिया श्रमिकहरूले धेरै सङ्घर्षहरू गरेका छन्— जसमा १९५५-को मार्गरेट होपको गोलीकाण्ड एउटा ऐतिहासिक घटना हो। यसपालिको सङ्घर्षको मूल मुद्दाको रूपमा चिया उद्धयोगमा न्यूनतम ज्याला निर्धारण औ लागु गर्ने अनि परिवर्तनशील महँगाई भत्ता (variable dearness allowance) दिने कुरा उभिएको छ। यी मुद्दाहरूलाई प्रमुखता दिएर विभिन्न चियाबगान साथै शहरहरूमा पनि यो तथ्यचित्र देखाउने काम चल्दैछ। हालैमा कलकत्तामा पनि यसको प्रदर्शन भएको थियो जहाँ धेरैवटा तप्काका मानिसहरू र विभिन्न कार्यकर्ताहरू भेला भएर चिया बगानको यो मुद्दाको समर्थन गरे र आ-आफ्नो विचारहरू व्यक्त गरे।
श्रमिकहरूको उक्त मुद्दाप्रति सरकार अनि मालिकपक्षबाट भने कुनै प्रकारको सकारत्मक प्रतिक्रिया देखापरेको छैन। फेब्रुवरी महिना देखी छल-फल भइरहेको छ, तर न्यूनतम ज्याला निर्धारणको विषयमा आजसम्म कुनै निष्कर्ष निस्केको छैन। धेरै पल्ट त्रिपक्षीय बैठक असफल भए पछि श्रमिकहरू बाटोमा ओर्लेका छन्। ११-१२ नवम्बर सबै चिया बगान हडताल अनि १२ नवम्बर आम- हडताल सफल भएपछि सरकार अनि मालिक पक्षप्रति दबाउ बढेकोछ। तर सङ्घर्ष अझै जारी छ अनि श्रमिकहरूको दृढ संकल्प देख्दा यो सङ्घर्ष सफल हुन्छ भन्ने आशा सबैको छ।
No comments:
Post a Comment