प्रकाश बिश्व
विगत २ अक्टोबर वर्धमान जिल्लाको खागडागढ भन्ने ठाउँमा विस्फोटकाण्ड अनि त्यसपछि भएको घटनाहरूको परम्पराले गर्दा यस राज्यमा एउटा नयाँ र गम्भीर स्थिति उपस्थित भएको छ। यो विस्फोटमा दुइजनाको तत्काल मृत्यु भयो, र अरूहरू घाइते भयो... यो विस्फोटको घटना जुन कोठामा भयो, त्यसको तल्लो कोठामानै तृणमूल कङ्ग्रेसको पार्टी अफिस थियो। स्वाभाविक रूपमानै यो घटना सँग उनीहरूका जुडावको प्रश्न उठ्छ। अनि यसरी घटनाको क्रम अघि बढ्दै गयो... पुलिसको पक्राउको सिलसिला, फेरी सिआईडी, अनि त्यसपछि केन्द्र सरकार द्वारा सिआईडीको जाँच प्रति अनास्था व्यक्त गर्दै एनआइए (न्याशनल इन्भेस्टिगेशन एजेन्सी)-लाई यस घटनाको जाँचको लागि लगाउनु इत्यादि। यहाँको शासकदल तृणमूल काँग्रेसको विरुद्ध मुस्लिम कट्टरपन्थी शक्तिहरूलाई मद्दत दिने आरोप आइरहेको छ अनि अर्को पटी एनआईएको जाँचको क्रममा नाना किसिमको मुस्लिम कट्टरपन्थी शक्तिहरूका नाम आइरहेको छ।
अब गाह्रो कुरा के हो भने मेनस्ट्रिम मिडियाको एक अंशले जुन प्रकारले यो कट्टरपन्थीहरूको कामलाई विरोध गर्दैछन्, त्यसले गर्दा यहाँको अधिकांश मानिसको मनमा कट्टरपन्थी कार्यकलाप र अल्पसंख्यक समुदाय एउटै हो भन्ने भ्रम फैलिँदै जाँदैछ। अल्पसंख्यक मुस्लिम-बहुल क्षेत्रहरूमा कट्टरपन्थी कार्यक्रमहरू दीर्घकालदेखिनै चलिआएको भनेर बढी चढाई गरेर भनिएको रिपोर्टहरूले पनि क्रमश प्रकाश पाउँदैछ। यो पनि स्पष्ट छ कि यस्तो घटना कुनै पृथक् घटना होइन। शासकहरूका कुनै कुनै अंशको यसको पछाडि मद्दत रहनु पनि अस्वाभाविक कुरा होइन। यस्तो घटनाहरूको सठीक कारण के हो भन्नु अहिले निकै मुस्किल नै छ तर यसको पछाडि मुस्लिम कट्टरपन्थीहरूका जति हात रहने सम्भावना छ त्यो सँगसँगै हिन्दु कट्टरपन्थीहरूका षडयन्त्र पनि हुनसक्छ, अल्पसंख्यक विरुद्ध घृणा फैलाउने यो तरिका हामीले इतिहासमा धेरै पल्ट देखेकाछौं।
वर्तमान समाजको चल्दैगरेको व्यवस्थामा जुन भयानक उत्पीडन भित्र खटिखाने मानिसहरूले दिन गुजारा गर्दैछन्, शासकवर्गले सधैनै त्यही उत्पीडनलाई निरन्तर राख्न चाहन्छन्। यसको निम्ति शाषकवर्गले जसरी एकतिर चुनाव-अदालत-पुलिस-मिलिटरीको उपयोग गर्छन्, त्यसरीनै धर्मको आधारमा, जातपातको आधारमा मानिसहरूलाई छुट्टाउन पनि खोज्छन्। यसैले धार्मिक सङ्गठनहरूको माध्यमबाट शोषित मानिसहरू भित्र विभाजनलाई क्रमिकरुपले बढाउने काम गर्छन् उनीहरू। शासकवर्गको स्वार्थ पुरा गर्ने काममा धर्म लिएर साधारण मानिसको मनमा जुन विश्वास, आवेग, असहायता छ त्यो सबैलाई उनीहरूले सजिलोसँग प्रयोग गर्छन्। यसरी नै के हिन्दु, के मुसलमान के नाजी—सबै कट्टरवादले आफ्नो जनाधार तयार गर्छन्।
भारतलाई हिन्दुराष्ट्र बनाउनको निम्ति यो देशमा लगभग ९० वर्षदेखि आरएसएस (राष्ट्रिय स्वयमसेवक सङ्घ) अनि उनीहरूद्वारा सञ्चालित विश्व हिन्दु परिषद, बजरंग दल, बिजेपी, एभीविपी लगायत अन्यान्य शाखा सङ्गठनहरूले लगातार उग्र-हिन्दुत्वको विष छर्किन्दै आएको छ। एकातिर पराधीन भारतमा ब्रिटिशहरू अघाढी आत्मसमर्पण, गान्धीको हत्या, साम्प्रदायिक दंगा, बाबरी मस्जिद ध्वंस र त्यही ठाउँमा जुनसुकै प्रकारले राममन्दिर बनाउँने चेष्टा जारी राख्नु, ओडीसामा इसाई पादरी अनि तिनको नानीलाई जिउँदो जलाइदिनु, गुजरात दंगामा पहिलादेखि योजना बनाएर मुसलमानहरूका जनसंहार अनि अर्कोतिर विभिन्न धार्मिक सेवा र गठनात्मक कार्यक्रम द्वारा समाजको प्रत्येक स्तरमा हिन्दु आधिपत्य स्थापना गर्ने प्रयास उनीहरूका तर्फबाट जारी छ। केन्द्रमा मोदी सरकार आएपछि यो जम्मै कार्यक्रममा अझै गति आएको छ। अनि यसको प्रतिक्रियामा मुस्लिम कट्टरवादको आधारभूमि पनि मजबुत हुँदै जाँदैछ। उनीहरूको तर्फबाट एकपछि अर्को हमला-विस्फोट-आतङ्कको घटना त्यसको प्रमाण हो। यसरी वर्धमानको खागडागढ त्यो तालिकामा जोडिएको नयाँ एउटा नाम हो।
हिन्दु कट्टरवाद लगायत सबै प्रकारको कट्टरवादलाई नै तीव्र विरोध गर्नुपर्छ। कट्टरवाद कहिले पनि साधारण मानिसको साथी हुन सक्दैन। वर्धमान विस्फोटको घटनाको सन्धर्भमा यस राज्यमा मुसलमान कट्टरपन्थीहरूको षडयन्त्रको कामकाज अलि अलि देख्न थालिएको छ। हामीलाई यस्तो लाग्दछ कि यो घटना पछि जम्मै घटनाक्रमलाई योजना बनाएर एक धार्मिक विरोधाभासतिर तानेर लैजाने कोसिस चलिरहेछ, जसले गर्दा साधारण मानिसको जीवनको आधारभूत माँगहरू देखि जनतालाई चुकाउन सकियोस्। अनि यसले गर्दा बिग्रिन्दै जान्छ गरिब खटिखाने मुसलमानहरूको जीवनको हालत। साम्प्रदायिक विभाजनको यो राजनीति अनि यसको पछाडि रहेको षडयन्त्रकारीहरूलाई तीव्र धिक्कार र विरोध जताएर, केन्द्र वा राज्य सरकार – जो पनि होस्, उनीहरूको नराम्रो भूमिकालाई उदाङ्गो पार्दै प्रगतिवादी र समाजको शुभचिन्तकहरूको आवाजलाई बलियो गर्नु पर्छ।
No comments:
Post a Comment