मुक्ति सुनवार
डुवर्सको सोनाली चिया बगानमा रोकिएको वेतनलाई लिएर भएको झडपमा क्रुद्ध श्रमिकहरूको हातबाट २२ नवम्बरको दिन म्यानेजर राजेस झुनझुनवालाको हत्या भयो। यही केही महिना अघाडी जुनमा यो राज्यको अन्य प्रान्तमा नर्थब्रुक जुट मिलमा श्रमिकहरूको विक्षोभको वहिप्रकाश स्वरूप त्यहाँको सी.इ.ओ. ले प्राण त्यागे। तर के यी सब घटनाले केही बदलाव ल्याउछ? मालिकहरूले केही शिक्षा लिन्छ? सट्टाबाज मालिकहरूको बेहिसाब पुँजी थुपार्ने प्रक्रियामा केही लगाम लाग्यो त?
विभिन्न स्रोतबाट नै प्राप्त खबर अनुसार, सोनाली चियाबगानको म्यानेजर राजेसको परिचय र उसको कार्यक्षमतालाई लिएर धेरैवटा विवादास्पद कुराहरू छन् जसमा राजेस विरुद्ध २००८ देखिनै धोखाधडी र प्राय ३० करोड रुपियाँको हिनामिनाको आरोप लगाइएको छ। राजेस विरुद्ध यी आरोपहरु पश्चिम बंगाल लगायत सिक्किम सरकारको पनि छन्।
सोनाली चिया बगानको मजदूरहरूले म्यानेजर राजेस झुनझुनवालाको हत्या गरे। पुलिस २ घण्टा पछि पुगे, अनि ७ सन्देहास्पद व्यक्तिहरूलाई पक्रे, जसमा ५ महिला अनि २ जना छात्र थियो। यस घटना पछि समाजको विभिन्न स्तरबाट धेरै आरोप श्रमिकहरू माथि आयो। प्लानटर्सहरूबाट झन् निकै नै यस्तो आरोप आयो, तिनीहरूले मुख्यमन्त्री स्वयमलाई यस घटनाको खोजबिनमा बस्ने अनुरोध सम्म पठाए। एक हिसाबले ठिकै पनि हो, व्यक्ति हत्यालाई कुनै पनि समस्याको समाधान मान्न सकिंदैन। तर हामीले यो हेर्न पनि जरूरी छ कि कुन परिस्तिथिमा यस्तो घटना घट्यो? अर्थात् किन अचानक श्रमिकहरूले यस्तो निर्णायक फैसला लिए?
सोनाली चियाबगान त साधारण चियाबगान होइन। यसको आफ्नै इतिहास छ। ३१ नम्बर राजमार्गको बाग्राकोटदेखि सात किलोमिटर भित्र छ यो बगान। सन् १९६०मा ब्रिटिसको हातबाट भारतीय मालिकको हातमा पयो यो बगान। त्यस पछि १९७२ मा खेम्का ब्रदर्सले यो चिया बगान लियो। बगानबाट हत्याउन सक्ने सबै पुँजी हत्याएर तिनीहरूले रूखो बगानमा श्रमिकहरूलाई निरास पारि लाखेटो कसे। यस्तो स्तिथिमा श्रमिकहरूले आफै यो बगान चलाउने निर्णय लिए। १९७३-१९८१ सालसम्म श्रमिक सहकारीमा (वर्कर्स को-अपरेटिभ) चलेको यो बगान, जसको बारेमा धेरैवटा राम्रा उदाहरणहरू रचिए पनि। बगान फेरी फुलेको देख्न साथ, मालिकले आफ्नो सम्पत्तिको दावी गर्दै कोर्टमा, श्रमिकहरूको यो अगुवाई गैरकानुनी हो भन्दै, मुद्दा हाल्यो। त्यस पश्चात् बगान फेरी उल्टो दिशामा हिड्न थाल्यो। श्रमिकहरूको को-अपरेटिभको समयमा जमा गरिएको कयौ लाख रुपियाँ पनि कहाँ हरायो हरायो! दीर्घकालदेखि श्रमिकहरूको प्रभिडेन्ट फण्ड र ग्रयाच्युटीको रुपियाँ पनि जमा गरेका थिएनन् मालिकले। फेरी वेतन दिइनुमा हेलचेक्राई हुन थाल्यो।
त्यहि परिस्तिथि चलिरहेको थियो अनि अक्टुबर अनि नवम्बर २०१४-को वेतन पनि तिनीहरूले पाएका थिएनन्, बारम्बार तिनीहरू म्यानेजर अनि मालिक कहाँ जाँदा पनि केहि भएको थिएन। तिनीहरूले आफ्नो वेतन पाउने आश्वासन समेत पाएका थिएनन्। त्यसरी नै तिनीहरू २२ नवम्बर पनि आफ्नो हक अनि अधिकार लिन म्यानेजर कहाँ पुगे, जब म्यानेजर वेतन दिन मानेन, तब— उत्तेजित, निराश, अनि आक्रोशित श्रमिकले म्यानेजर राजेसलाई घसिटेर, कुटेर घटना स्थलमै मारिदिए।
यो आक्रोशित श्रमिकहरूले गरेको घटना हो। र यो घटना श्रमिकहरूले झेल्नु परिरहेको स्थितिको अभिव्यक्ति हो, यो घटनाले यो पनि स्पष्ट पारिदिन्छ कि चिया बगानमा कस्तो प्रकारको दमन चलिरहेकोछ, जसले गर्दा श्रमिकहरूले यस्तो निर्णय लिन पयो। मालिकले वेतन दिईरहने भए अनि श्रमिकहरूले आफ्नो हक अधिकार नियमित रूपमा पाईरहने भए के यस्तो घटना घट्ने थियो होला?
यस घटनाको निरन्तरतामा जे हुन्छ, पक्रा पारेको श्रमिकहरूलाई जे गरिन्छ त्यसले भारतको अन्धो अनि बहुसंख्यक खटिखाने जनता विरोधी नीति अनि नियमहरूलाई अझ स्पष्ट पारि दिनेछ। जुन देशमा नियम पारित भइसकेको ७० वर्ष बितिसक्दा पनि मालिकहरूले त्यो नियम लागु गरेको छैन, अनि आश्चर्यको कुरा मालिकहरूलाई कहिले पनि यसको निम्ति जेल खट्नु पारेको छैन, त्यस देशमा श्रमिकहरूले यस्तो काण्ड गरेमा के हालत हुनेछ होला, त्यो हाम्रो कल्पना बाहिर छ। अनि देशको कानुन कहाँ हुन्छ जब, हजारौं मजदूर अनि उनीहरूको परिवारलाई लथालिङ्ग छोडेर मालिकहरू बगान बन्द गरेर भाग्छन्? चुंगथुंग चिया बगानको श्रमिक बाबु राम देवानको हत्यारा, बगान मालिक अजित अग्रवाललाई के यो देशको कानुनले कटघरामा ल्याउन सकेको छ?
यस्तै थोत्रे कानुन अनि परिस्तिथि बीच फसिरहेको छ यस देशको खटिखाने जनता। र यो घटना पनि यहि परिस्तिथि बीच उम्रिएको प्रतिक्रिया हो, र यसको समाधान सजाय होइन, अर्थनैतिक सुधार हो, जहाँ श्रमिकहरू पनि मान्छे झैँ बाँच्न पाउन्, जहाँ परिस्तिथिले तिनीहरूलाई यस्तो अमानवीय घटना घटाउन बाध्य नगरोस।
No comments:
Post a Comment