Saturday, January 17, 2015

दासत्व आज पनि?

प्रियांका प्रधान

हाम्रो देश एउटा स्वाधीन देश हो, देशको संविधान देखि लिएर ठुल्ठुला नेताहरू पनि यस्तै भन्छन्। प्रत्येक साल १५ अगस्ट दिल्लीमा भव्य समारोहको आयोजना भारतले स्वाधीनता पाएकोमा नै गरिन्छ। स्कुल, कलेज, अफिस सबै छुट्टी हुन्छ, हामी पनि एक दिनका लागि भए पनि आराम साथ घरमा बसेर छुट्टी मनाउछौं। तर यस स्वाधीन भारतका नागरिकहरू के साँच्चैनै स्वाधीन छन् त?
‘वक फ्री फाउन्डेशन’ नामक एउटा मानव-अधिकार सङ्गठनद्वारा प्रकाशित रिपोर्ट अनुसार भारतमा १४३ लाख मानिसहरू दासत्वमा बाँचिरहेका छन्! उनीहरू हुन त यसै देशका स्वाधीन नागरिकहरू हुन् तर उनीहरूको स्वाधीनता खोसिएको छ। यस रिपोर्टमा स्वाधीनताको परिभाषा पुरानो पारम्परिक दासत्व भन्दा भिन्न छ— जहाँ मानिसहरूलाई सांग्लोमा राखिन्थ्यो र अन्य कसैको निजी सम्पत्ति जस्तो बजारमा किन-बेच गरिन्थ्यो। 
‘आधुनिक स्वाधीनता’ भन्नाले के बुझिन्छ भने, एउटा व्यक्तिले अन्य कुनै व्यक्तिलाई आफ्नो अधीनमा राख्नु, जसले गर्दा उसको आफ्नो निजी स्वाधीनता, स्वेच्छा— केही रहँदैन र उसको यस अवस्थाबाट अर्को व्यक्ति (मालिक)-को मुनाफा, स्वार्थपूर्ति हुन्छ। आधुनिक दासत्वकै भरमा संसारका ५८ देशहरूबाट कम से कम १२२ वटा सामानहरूको उत्पादन गरिन्छ। इन्टरनेशनल लेबर ओर्गनाइजेसन (ILO)- को अनुमान अनुसार प्रति वर्ष १५० बिलियन डलर त यसरी जबर्जस्ती गराइने श्रमको गैरकानुनी मुनाफाबाटनै कमाइन्छ।
भारतमा दासत्वको निक्कै गहिरो छाप परेको छ। प्राय: १२० करोडको जनसङ्ख्या भरिनै आधुनिक दासत्वको विभिन्न रूप पाइन्छ जस्तै पुस्ता-पुस्तादेखि ऋणको बोझ मुनि दबिएर प्राय दासकै अवस्थामा धेरै मानिसहरू बाँचीरहेका छन् या भनौ मरिरहेका छन्, देह-व्यापारको लागि मानव तस्करी र जबर्जस्ती गराइने विवाह पनि यसै अन्तर्गत पर्छन्। आधुनिक दासत्वबाट तल्लो जातका मानिसहरू दलित, धार्मिक अल्पसंख्यकहरू, प्रवासी मजदुरहरू भने सबैभन्दा ज्यादा प्रभावित छन्। यिनीहरू प्राय इँटा भट्टी, कार्पेट फ्याक्ट्री, लुगाको कारखाना, घरेलु काम-काज, खनिजको खुदाई र कोही बेला सङ्गठित भिख-मांग्ने गिरोह पनि यसभित्र पर्छन्। यस्ता धेरै रिपोर्टहरू पनि पाइन्छ जहाँ प्राय नारीहरूलाई कामको लोभमा ठुला-ठुला शहरमा लगेर कि त वेश्यावृत्तिमा धकेलिदिन्छ कि जबरजस्ती पैसामा बेचेर बिहे गराइदिन्छन्। यस्ता पैसामा किनेर दुलही भित्राउने चलन हरियाणा, पंजाब इत्यादि राज्यहरूमा धेरै पाइन्छ, जहाँ पुरुष-स्त्रीको अनुपात धेरै कम छ। कति इलाकाहरूमा चाहिँ यस्ता धार्मिक अनुष्ठानहरू गरिएको पाइन्छ जहाँ नारी हरुलाई यहाँ सम्म कि सा-साना केटीहरूलाई भगवानको नाममा पुजारीहरूको यौन-तृप्तिको निम्ति चढाईएको पाइन्छ। प्रत्येक ८ मिनेटमा एउटा नानी लापत्ता हुन्छ र उ पनि यस्तै दासत्वको दलदलमा फसिन्दै जान्छ।
२०१४ मा ग्लोबल सर्भे इन्डेक्सले १६७ वटा राष्ट्रहरूमा गरेको अध्ययन अनुसार संसारका सबै राष्ट्रहरूमा नै कम-बेसी दासत्वको छाप पाइन्छ भनेको छ। मिडल इस्ट, आइसल्याण्ड, लुक्सेमबर्ग, आयरल्यान्ड आदि देशहरूमा भने प्राय प्रवासी मजदूरहरूनै अमानवीय स्थितिहरूमा बिल्डिंग बनाउने कारिगर, रसायन कारखानाहरूमा काम गर्छन्। दासत्वमा बाँचिरहेका मानिसहरूको सङ्ख्यालाई हेर्ने हो भने भारतले प्रथम स्थान ओगेटेको छ। आधुनिक दासत्व आधुनिक मानव समाजको लागि कालो दाग हो, मानवताको नाममा कलंक हो। यस समाजको जहाँ एउटा मानिसको फाइदाको लागि, उसको मुनाफाको लागि, इच्छापुर्तिको लागि अर्को मान्छे वा समुदायलाई यति बिघ्न शोषण गरिन्छ, पुस्ता-पुस्तादेखि शोषण गरिंदैछ कि उसलाई आफ्नो शोषण, शोषण होइन तर जीविका चलाउने माध्यम जस्तो लाग्छ र यस्तो अमानवीय, दयनीय अवस्था पनि सामान्य लाग्छ। त्यसैले प्रत्येक मान्छेले आफ्नो स्थिति राम्ररी बुझ्ने बेला आएको छ, र यो सोच्ने बेला आएको छ कि कतै हामी पनि त यस घृणित आधुनिक दासत्वको भागीदारी बनेका छैनौ?

No comments:

Post a Comment

Darjeeling Hills in Chorus / Twenty Percent Bonus

(The Tea Workers’ Struggle for Bonus in the  Darjeeling  &  Kalimpong  Hills,  2024  )    Samik Chakraborty    Darjeeling's Singtam ...