अनुदीप शर्मा
हामी नेपाली भाषामा त प्राय: कोर्ट कचहरी भन्छौँ। प्रहरी चौकी वा थाना मात्रै भन्दा पनि जतिको आङ जिरिङ्ग हुन्छ हाम्रो, न्यायालय भन्दा त्यति हुँदैन। जे होस् “त्यो भय किन?” भन्ने विषय पट्टि आजको गफको मेलो होइन। यो प्रसङ्ग आउनु केवल महाकाव्यमा सर्गको अन्तिम तिर आगामी सर्गको सूचक तत्त्व आए जस्तो मात्र हो। कुनै दिन यो पनि आउला!
न्यायालयको वातावरणको कल्पना गर्दा हामीले पूर्णतः सिनेमाका दृश्यमा निर्भर रहनु पर्छ। सामान्य मानव जाति अहिलेसम्म त कोर्टदेखि अलि पर नै रहने जाति हो। न्याय मिचिँदा बरु हामीलाई चुप बस्न नै ठिक लाग्छ– न्यायालयको दलिन टेक्दा परिवारको इज्जत लिलामी हुन्छ। सिनेमामा केही हदसम्म न्याय दण्डिका र न्याय प्रक्रियाको साँच्चै अनुकरण गरिए तापनि कतै न कतै थपनी त हुन्छ नै। काल्पनिक नौटङ्की न हो। तर कतै नछुट्टाइएको एउटा कुरो चाहिँ न्यायदेवीको मूर्ति र न्यायाधीशको लट्ठी (ग्याभेल) हो।
आज कुरा उनै देवीको हो। अङ्ग्रेजीमा ‘Lady Justice’ भनी प्रसिद्ध यो न्यायमूर्तिको प्रचलन दुई थरिका स्रोतबाट भएको पाइन्छ। ग्रिसेली र मिश्र प्रदेशहरूमा पुजिएकी ग्रिसेली कानुन र न्यायकी देवी ‘थेमिस’ र मिश्रमा प्वाँख र तरबार लिएर उभिएकी सत्य र न्यायकी प्रतीक ‘मात्त’। यहाँ अर्को एउटा स्रोत रोमकी न्याय देवी जस्टिसियासँग पनि मिल्न जान्छ। यस्ता अनेक पौराणिक स्रोतबाट आएको यस मूर्तिको नक्सा ठ्याक्कै आँखा अघि उभ्याउन सफल बन्छु-बन्दिनँ, तर यसको धेरथोर आकार यस्तो भन्न सकिन्छ: आफ्ना जीवनका कुठाराघातले पीडित अधबैँसे महिला घरी उभिएकी घरी पत्थर शिलामा सोझो भई बसेकी। आफ्नो उमेरले लुछिएको, कता कता चाउरिएको शरीरलाई उनी नाङ्गा खुट्टा लिएर एउटा कुँजिएको, कता कता नपुगेको जस्तो कपडाले ढाक्न खोज्छिन्। देवी नै मानिए तापनि महिला उनी, युगौँसम्म मूर्तिमा कैद भएर कति-कतिको निम्ति कामुक अभिलाषाकी प्रतीक बनिन् होला। अझ आफ्नो कुम-कुमसम्म आउने उनका खुला केशराशी एक दिशामा हल्लिरहँदा न्यायको भीख माग्न आउने शरणार्थीले पनि आफ्ना प्रमदा सम्झँदा हुन। हातमा तर सहस्र शीर्ष पुरुष: जाति नै शक्ति छ उनको। दाहिनेमा शीत जस्तो टल्कने तरबार अनि देब्रेतिर न्याय तराजु। दुवै भीषणताको र भव्यताको प्रतीक। तर खोइ मूर्ति भएर होला वास्ता नै लाग्दैन। उभिएकी छिन् प्राचीन प्रतीक बनी, बस्।
अर्को मुख्य कुरो हो यो मूर्तिको अन्धोपन। एउटा कारिगरले सङ्गमरमरको पत्थरमा नयन कुँद्दा औसत समय लागेको एक महिना हो। यति लामो समयको मेहनत र मुख मण्डलको शोभा, उज्यालो हेर्ने सकारात्मकताको प्रतीकलाई कालो थोत्रो पट्टीले ढाकेपछिको बीभत्सतामाथि कति कति दया पलाएर आउँछ। के को अर्थ दिन चाहेको होला त्यो थाङ्ना बाँधी !! यसका भेद पनि अनेक छन्। अहिलेको युगीन हेराइले मानौँ सबै कुरालाई सकारात्मक अर्थ दिईरहेको हुँदा यो कालो पट्टि बिचरो पनि कहाँ बाँकी रहन्थ्यो र!
ज्ञानी जनले यसलाई अनेक अर्थ्याए पनि यसको यो स्थितिले अनेकौँ कुरालाई टड्कारो गरी के के भनी रहेको छ। यो न्यायमूर्ति पूर्वाग्रह र भेदभाव रहित समानताको प्रतीक भनी उभिँदा कस्तो अचम्म लाग्दो आभास हुँदो रहेछ। एउटा कल्पना केवल – यदि कुनै समय यसमा प्राण सञ्चार भए यी देवी अझै यसरी नै बसिरहँदी हुन् त? यदि भन्दी हुन् उनले आफ्नो गाथा: के त्यो किताब र ज्ञानीले बखान गरे झैँ यस्तै बोक्रे सुन्दर हुँदो हो त?
त्यो न्यायकी देवी अदालतमा चलिरहेका अन्याय देखेर कति विरक्त हुँदी हो! वकिलका सेता असत्य देखेर कति सलबलाउँदो हो उसको छाती ! न्यायाधीशले फाँसीको निर्णय सुनाई आफ्नो कलम शिखा भाँच्दा उसको पनि त मन हल्लिँदो हो। अन्यायको बिगुल बज्दो हो जब, गरिब र लाचारको चीर हरण हुँदो हो जब सभामा, हस्तिनापुरका मौन शूरवीरहरू झैँ मस्तक झुकाई धृतराष्ट्र, भीष्म र विदुर अनि द्रोण सरह मौन र अन्धो भई बस्नु पर्दा के हाल हुँदो हो उनको? सोचनीय छ। यो पट्टी वास्तवमा अर्थ निरपेक्ष छ। समयानुसार समाज र सभ्यताले यसलाई चिनाउँदै जाँदछ। हालको समयमा त यो केवल विरोधको प्रतीक हो। अराजकतालाई नाश गर्ने शस्त्र हुँदाहुँदै पनि बाँधिएर बस्नुपर्ने बिस्मातको र विरक्तिको प्रतीक हो। न्यायपालिकाका खस्रा हातले घरीघरी छोएर, घरी यता घरी उता सारिएको न्याय दण्ड र न्याय मिति जस्तो उसको शरीर, वर्षौँसम्म खोलिँदै बन्द हुँदै गरेको मुकदमा र लम्बिएको न्याय घडी साथै मैलाका र धुलोका काला धर्सा; र कतै कतै भाँचेर टुटेर असत्यको पल्लाले थिचेर उसको मासु लुछेको र गोडा थिचेको समय, परबाट हेर्दा उचालिएको सानो सत्यको झिल्कामा नाचेका मानिसको भ्रान्ति, रातभरि अन्धकारमा अनेक नारी बलात्कृत हुँदा आफू तरबार र तराजु बोकी बन्द अदालतमा थुनिएको, न्याय दिन नसकेको ग्लानि, गरिब र सर्वस्व हारेको मान्छेले न्यायको टोपी ओढ्न नपाउँदा अनायास चुहिएको आशु सबै सबै चुसी लाने त्यो कालो खारिएको पट्टी।
युगौँदेखि यी दृश्य हेरी आएकी पर्वत सरह अटल साक्षी न्याय देवी : हठात् कुनै दिन केही चमत्कार भइदिए र उनको गोडा थचक्क बसिदिए यदि दुवै हात भुईँमा छोडी तरबार र तराजुको झन्कार साथै बिसाई दिए उनी, ज्ञानीजन बहुरी उठी भन्दा हुन्-- “शास्त्र त्याग गरिकन् बनिन् न्याय देवी अशोक वाटिकामा रहँदाको सीता सरह शान्ति मूर्ति”।
मेरो जीवन भरको इच्छा तर भनौँ?
चमत्कार नै यदि हुँदो हो कुनै दिन र खुकुलियो पत्थर शिला भने, हे देवी – आफ्नो आँखाको पट्टि खोली तिमी खुला केश राशि बाँध्नु र तराजुका दुवै थाललाई रक्षा कवच बनाई निस्कनु युद्ध गर्न दुराचारीसँग तरबार उठाई। उस दिन जजको ग्याभेलले पनि नभनोस् -- ‘अर्डर अर्डर’।
नयाँ युग आउँदा क्रम भङ्ग हुनै पर्छ।
No comments:
Post a Comment