अनीश राई
गिग वर्कर ती व्यक्ति वा कामदार हुन्, जसले स्वतन्त्र रूपमा आफ्नो समय अनुरूप काम गर्दछन्। जस्तै-- अमाजन वा सुइगीको अर्डर डेलिभरी गर्नेहरू। गिग वर्करहरू विशेष गरेर डिजिटल प्लेटफर्म मार्फत काम गर्छन् र अहिलेको परिप्रेक्ष्यमा हेर्दा डिजिटल प्लाटफर्महरूले कामको प्रवृत्तिलाई द्रुत गतिमा परिवर्तन गरिरहेको छ। गिग वर्कर मुख्य दुई प्रकारका हुन्छन्: 1) स्थान-आधारित। 2) अनलाइन वेब-आधारित।
‘स्थान-आधारित’ कर्मीहरूले विशेष गरेर निश्चित स्थानहरूमा व्यक्तिगत रूपमा गएर काम गर्छन्, जसलाई 'डेलिभरी बोइज' पनि भनिन्छ। यिनीहरूको काम भनेकै अर्डर गरिएको सामान ठाउँ-ठाउँमा पुऱ्याउनु हो। यिनीहरूको काम खाना, इलेकट्रोनिक्स, ट्याक्सी सेवाहरू, किराना सामान र अन्य सामानहरूमा सीमित हुने गर्दछन्।
‘अनलाइन वेब-आधारित’ कामदारहरूले विशेष गरेर डेटा वर्गीकरण, अनुवाद र सम्पादन सेवाहरू जस्ता कार्यहरू गर्छन्, जुन सैद्धान्तिक रूपमा इन्टरनेट र टाढाबाट कहीँ पनि बसेर गर्न सकिन्छ।
माथि उल्लेख गरिएका कुराहरू पढ्दा यिनीहरूको जस्तो सहज र फाइदाजनक काम अरू केही पनि हुन सक्दैन जस्तो लाग्न सक्छ। तर कुरो ठिक उल्टो छ। वस्तवमा यो भन्दा दुःखदायी काम अरू केही हुनै सक्दैन। अनलाइन वेब आधारित काम गर्नेहरू भन्दा स्थान आधारित काम गर्ने कामदारहरूले धेरै चुनौतीको सामना गर्नु परेको हामी स्पष्टसँग देख्छौँ। अधिकांश कामदारहरू 18 देखि 30 वर्ष उमेरका नवयुवकहरू छन्। आफ्नो परिवारको आर्थिक समस्या र देशमा बढिरहेको बेरोजगारीका कारण अरू केही उपायहरू नदेखेपछि उनीहरू यो काम गर्न बाध्य बनेका छन्। हामी घरमै बसेर खाना, इलेकट्रोनिक्स, किराना सामान र अन्य सामानहरू अर्डर गर्ने भाग्यमानी भए तापनि गर्मी, जाडो वा पानी परिरहेको समयमा पनि दौडिएर यी सामानहरू हामीसम्म पुर्याउनेहरू (गिग वर्कर्स) त्यति भाग्यमानी छैनन्। यिनीहरूको आफ्ना अर्डर डेलिभरी गर्नका लागि मोटर-साइकल र बाइसाइकलको सहायता लिन्छन्। नियमित समयमा आफ्नो काम अर्थात् अर्डर डेलिभरी गर्दा कहिलेकाहीँ सडकको दयनीय अवस्था र भारी वर्षा आदिका कारणले गर्दा सडक दुर्घटनामा परेर गम्भीर घाइते र मृत्यु भएको खबरहरू पनि हामी सामाजिक सञ्जालमा प्रशस्त देख्छौँ। मृत्युलाई एउटा हातमा र आर्थिक समस्यालाई अर्को हातमा राखेर काम गर्ने यी गिग वर्कर्सहरूको काम न त पर्मानेन्ट छ न त यिनीहरूलाई बिमाको सुविधा नै छ।
यही कारणले गर्दा अहिले देशको विभिन्न राज्यहरूमा (दिल्ली, राजस्थान, पश्चिम बङ्गाल आदि) गिग वर्करहरू सडकमा उत्रेर आन्दोलन गरिरहेका छन्। सरकारले चाह्यो भने यी सबै माग पूर्ति गर्न सक्छ। तर सरकारलाई यो विषयप्रति कुनै प्रकारको चासो छैन। हालको गिग वर्कर्स आन्दोलनहरूले कम्पनीविरुद्ध उनीहरूको सामूहिक लडाई स्पष्ट रूपमा देखाएको थियो साथै कम्पनी प्रबन्धकको जिम्मेवारीबाट हात धुने नीति विरुद्ध आवाज उठाउन थालेका छन्।
गिग इकोनोमी कामदारहरूले सामना गर्ने तीन प्रमुख चुनौती:
1) आर्थिक समस्या : 88 प्रतिशत गिग कामदारको महिना सकिन अघि नै पैसा सकिएको देखिन्छ। धेरै जसोको घरायसी र इन्धनको खर्च बढेको कारण यस्तो भएको हो। 90 प्रतिशत कामदारले आफ्नो परिवारको खर्च चलाउन व्यक्तिगत ऋण लिन चाहे पनि कामको प्रकृतिका कारण ऋण लिन पाएको छैन। गिग कार्यकर्ताहरूसँग धेरै कारणहरूले गर्दा बारम्बार पैसाको अभाव हुन्छ। उनीहरूकै एकजनाले भन्छन्, “पहिलो कारण, पैसा आउनु र जानुको हिसाब प्राय अनिश्चित छ। उदाहरणका लागि, भाडा, समान मासिक किस्ताहरू, वा बिलहरू महिनाको सुरुमा दिनु पर्छ, ती पैसा भुक्तानी गर्नु हप्ता दिनको लागि ढिलाइ हुन्छ।”
अर्को एकजनाअनुसार, “दोस्रो, अचानक, अनियोजित खर्चहरू छन्, जसले गर्दा पैसा पुर्याउनु गाह्रो पर्छ। सामान्यतया चिकित्सा खर्च, घर मर्मत वा सवारीसाधन, यी कारणले गर्दा कार्यकर्ताहरूमा आर्थिक समस्या उत्पन्न भएको छ।”
2. बिमा समस्या : लगभग 40 प्रतिशत गिग कर्मीहरूसँग कुनै बिमा छैन। प्रतिशत नगदले मात्र रोजगारदाताले प्रदान गरेको बिमाको लाभ लिन्छन्। बाँकी 36 प्रतिशत कार्यकर्ता आफैँले प्रिमियम तिरेर बिमा खरिद गरेका छन्। काम गरिरहेका अधिकांश गिग कामदारहरूको बिमा छैनन्। ‘बिमा’ कम्पनी अर्थात् रोजगारदाताले कामदारहरूका लागि दिनु पर्ने एउटा महत्त्वपूर्ण न्याय हो। यसै कारणले यस उद्योगमा प्रमुख चुनौतीहरू देखा पर्छन्।
एकजना गिग कर्मीले भने, “गिग कर्मीहरूको कामको प्रकृतिले गर्दा दुर्घटनाहरू भइरहन्छन्। तिनीहरू कामको दबाबमा खतरनाक ट्राफिकको साथ सडकहरू पार गर्छन्, किनकि प्रोत्साहन मोडेलहरू प्रायः प्रदर्शन दक्षतामा आधारित हुन्छन्। तसर्थ, सानो दुर्घटनाले पनि सवारीसाधन मर्मतदेखि उपचार खर्चसम्मको ठुलो आर्थिक बोझ निम्त्याउँछ, जसले गर्दा उनीहरूको स्वास्थ्य अवस्था पनि खेर जान सक्छ।”
3. आयस्रोतको अनियमितता: आयको उतार-चढाव विशेष गरी देशको आर्थिक स्थितिमाथि आधारित छ। गिग वर्करको आय सामानको ‘अर्डर अनि डेलिभरी’माथि निर्भर हुन्छ। आम मानिसले जति कमाउँछन् त्यति मात्रै उपभोग गर्छन्, त्यसैले देशको आर्थिक स्थिति राम्रो हुनु पर्छ। उदाहरणका लागि, कोरोना भाइरसको महामारी अघि, अधिकांश गिग कामदारहरूले रु 25,000 भन्दा माथि कमाएका थिए, जबकि महामारी पछि 10 मध्ये 9 जना कामदारले रु 15,000 भन्दा कम आय गर्दै छन्। यस्तो उच्च उतार-चढावका लागि देशको आर्थिक स्थिति र महामारी प्रमुख घटना हुन्।
गिग वर्करहरू बजारको उतार-चढावप्रति बढी संवेदनशील हुन्छन्, जुन 2020-21 कोभिड महामारीको समयमा स्पष्ट रूपमा देखिएको थियो। यसले गम्भीर आपूर्ति शृङ्खला अवरोध र आर्थिक उथलपुथल निम्त्यायो, किनकि लकडाउनको समयमा अधिकांश व्यवसायहरू बन्द थिए।
हाम्रो समाजले अहिलेको परिप्रेक्ष्यमा गिग वर्करहरूलाई मजदुर ठान्दैन। तर उनीहरू पनि अरू क्षेत्रका मजदुर सरह हुन्, त्यसर्थ उनीहरूलाई कामदारको रूपमा मान्यता दिनुपर्छ। सामाजिक सुरक्षा नदिई जनताका छोरा-छोरीलाई शोषण गर्ने छुट मालिकहरूलाई दिने कार्यको विरोध गर्नुपर्छ। गैर जिम्मेवार कम्पनीद्वारा लगातार भइरहेको शोषण बन्द गरिनु पर्छ। गिग कामदारहरूलाई रोजगारदातासँग संयुक्त रूपमा सम्झौता गर्ने अधिकार र उचित कानुनी सुरक्षा सरकारद्वारा प्रदान गरिनु पर्छ।
No comments:
Post a Comment