Friday, November 25, 2016

स्वतन्त्रता

महेश। तीनधरिया

स्वतन्त्रताको 70 सालमा
देश स्वतन्त्र छ
तर के स्वतन्त्र छ कुलकोठाको देवता ?
के विचार स्वतन्त्र छ ?
विचारसंग बाँधेको धर्म स्वतन्त्र छ ?
किन पुरोहित बाजे
गिर्जाघर भित्र पसेर हालेलुया भन्न मान्दैनन् ?
किन प्रभू माइलाहरु
बोलबम् को प्रसाद र टिका थाप्न मान्दैनन् ?
के स्वतन्त्र छ व्यवहार ?
धाराको पानी स्वतन्त्र बग्दै, बग्दै, बग्दै, बग्दै
घर, घरको गाग्री, लोटा हुँदै
कुलकोठामा पसे जस्तै
के स्वतन्त्र छ
कमिनी बोजूका पाइलाहरू?
जसरी स्वतन्त्र बास्छ भाले
आफ्नै अक्षर र भाषा बोकेर
के स्वतन्त्र छ
हाम्रा बाल बालीकाको क,ख,ग,अ,आ,इ,ई ?
के स्वतन्त्र छ तिनीहरूका
भाषा अनी शिक्षा ?
बतास जसरी स्वतन्त्र बग्छ
हुरी बनेर देखाउछ पौरख
नातावाद र पक्षपात बिच
के स्वतन्त्र छ
बिरबहादुरहरूका पौरख अनि मेहेनत ?
70 सालको स्वतन्त्रतामा
के स्वतन्त्र छ गाउँका पाइलाहरू ?
के स्वतन्त्र छ कमानका अक्षरहरू ?
के स्वतन्त्र छ बस्तीका पौरखहरू ?
स्वतन्त्र देशमा

के स्वतन्त्र छ गाउँ, कमान, अनि बस्तीहरू ?

No comments:

Post a Comment