Friday, November 25, 2016

डुवर्सको अनुभव

धुनिराज


निवेदितालाई पहिलोचोटि देख्दानै मनमा आनन्द लाग्यो, कति हँसिलो उसको अनुहार। जीवनको मर्म नबुझेकी निवेदिता सबैसँग घुलमिलि हाल्छिन् शायद नानी हुनुको मूल स्वादनै त्यसमा रहेको सरल र सहजता होला। निवेदिता मसँग एकछिन् बात गरेकी मात्र थिई मसँग लुटुपुटु भई मलाई आफ्नो ठान्न थालिन् र उसको त्यो मीठो आवाजले मलाई मामा भनी सम्बोधन गर्न थालिन्। 5 वर्षकी निवेदितालाई बन्द बगानको त्रासदीको कुनै ज्ञान नै छैन र उसलाई कुनै पनि मर्मले छोएको पनि छैन । बुवा आदिवासी, नाम गोविन्द हाजरा अनि नेपाली घरकी आमाको कोखबाट जन्मेकी निवेदिताले आज संसारलाई कुन दृष्टिले हेरिरहेकी होला। तर उसले परोक्ष रूपमा देखिरहेको समस्या अनि सुनिरहेको घटनाहरूले भने उसको आउनेवाला भविष्य जीवनलाई अप्ठ्यारोमा पार्नसक्छ, किनभने शारीरिक र मानसिक क्षयरोगले त्यहाँका मानिशहरू ग्रस्त छन्। यसै वातावरणमा हुर्के, यो रोगले उसलाई पनि छुने सम्भावना छ। कयौँ वर्षदेखि यसरी नै चलीआइरहेको यी आदिवासीहरूका जीवन, दुखले पराकाष्ट नाङदापनि केही हुन्छ की भन्ने आशामै बसिरहेका छन् । 
निवेदिता पाँच वर्षकी नानी घरी उराउ बोल्छे घरी साद्री, कहिले हिन्दी अनि कहिले बंगला। उ अङ्ग्रेजी माध्यम स्कुल जान्छे। त्यहाँको निजी स्कुलहरूमा पढाउने माध्यम अङ्ग्रेजी अनि बंगला भाषा हो। सरकारी स्कुलमा हिन्दी माध्यमद्वारा पढाइन्छ तर सरकारी स्कुलमा पनि बंगलाभाषी शिक्षकहरू छन्, जसलाई हिन्दी भाषाको राम्रो ज्ञान छैन। मनोवैज्ञानिकहरू भन्छन् भाषा बौद्धिक विकासको मूल आधार हो। भाषाले नै हाम्रो सोच्ने शक्तिको विकास गर्छ। विचारको संरचना नै भाषाको आधारमा हुन्छ। त्यसैले वैचारिक विकासको निम्ति आफूले जीवन कालमा सबैभन्दा ज्यादा प्रयोग गर्ने भाषामा सबै थोक सिक्न आवश्यक छ। यहाँका आदिवासीहरू भाषिक रूपले पनि शोषित छन्। आफ्नो भाषामा आफूलाई व्यक्त गर्नु नपाउनु, पढ्नु नपाउनु दुःखको कुरा हो। यसलाई म बुझ्नु सक्छु नेपाली भाषी भएर तर नेपाली भाषीहरूको लागि प्रकाश गर्ने साधनहरू छन्, जस्तै पत्र-पत्रिका, स्कुलमा पनि पढाइन्छ, तर अल्पसंख्यक आदिवासीहरूको लागि अरू सुविधा छैन। बंगला भाषाको आधिपत्य, अर्को तर्फ नेपाली भाषा अनि जनजीवनको आधिपत्यको बिच कैयौँ वर्ष देखि पिसिरहेका छन् डुवर्सका आदिवासीहरू। यहाँको सामाजिक गठनको आधार नै मुलभुतरुपले अव्यवस्थित छ भन्न सकिन्छ किनभने एउटा समाजलाई गुणस्तरीय रूपले विकाश गर्नु हो भने भाषा, साहित्य, अर्थनीति सबैको उचितरुपले विकाश हुनुपर्छ नत्र त्यो समाज जीवित रोबटहरूको समूह मात्र हुन्छ। 
डुवर्सको पृष्ठभूमिलाई चियाकमानको रंगमंच बनाउने यिनै आदिवासीहरूका सुन्दर हातहरू हुन् । यिनीहरूले आफ्नो कैयौँ पुस्ता यहाँको माटोलाई दिएका छन् । तर आज शताब्दी बित्दा पनि यिनीहरू खान नपाएर अनि चिकित्सा नपाएर मरिरहेका छन्। चियाबगान बन्द भएदेखि यहाँको जीवनबारे सायदै बाहिरबाट कसैले अनुमान लगाउन सक्ला। यी लामा लामा लाइनहरूमा बनाएको, बगानका क्वार्टरहरूमा कैयौँ बिमारीले ग्रस्त छन्, क्षयरोग जस्ता कुपोषण सम्बन्धित बिमारीहरू छ्याप्-छ्याप्ती छ, भन्न सकिन्छ दुःखहरूको टुडिखेल भएको छ। गाउँमा कतिवटा घर खाली छ, युवाहरू भन्दा बुढाहरू ज्यादा देखिन्छ। यहाँ काइला उराउ भन्नु हुन्छ, "तीनजनाले नकमाए एक छाक पनि जुट्दैन। एउटा छोरालाई त परदेश गएर कमाइ गरेर खानु भनिदिए। यहाँ राखे पनि के गर्ने? पाल्नु सकिँदैन पैसा नभएर, छोरीको बिहा हुनसकेको छैन। उ पनि काममा जान्छ।" एक जना बुढी आइमाई आँखा भरि आँसु पार्दै भन्छन्, "जीवनले पनि कस्तो खेल खेलेको हामी गरिबहरू सँग, सास रहुन्जेल काम गर्‍यो र एक दिन चुपचाप मर्‍यो।"
मैले जीवनमा कहिले पनि यस्तो दर्दनाक घटना देखेको थिइन। सरकारले दिएको दुई रुपियाँ किलो आटा र चामलले अन्तिम सासमात्र रोकिरहेको छ। के यती मात्र हो जिन्दगी? के उनीहरूलाई आत्मस्वाभिमानसाथ जिउने अधिकार छैन?" 
बगानको अत्याचार अनि शोषणहरू सहेर पनि जसो-तसो आधा खुलेको बगानमा काम गर्दैछन् मानिशहरू। यसको फायदा उठाएर 100 रुपियाँ हाजिरामा काम गराउदैछ म्यानेजमेन्ट। अर्को तर्फ यस्तो लाचारीको फाइदा उठाउन पसेकोछ तस्करहरू। यी तस्करहरूको व्यापार यहाँका साना साना केटीहरू, दुःख पाएका महिला अनि जीवनमा केही गर्छु भनेर सपना बोकेका युवतीहरूलाई भ्रमित गरी ठुला ठुला शहरका वेश्या घरहरूमा बेच्नु हो। यी सब घटना अनि विवरणहरू त्यस जातिको हो जो चौतर्फी किनारीकृत छन्। नैतिकताको चिरमसाल बोकेर हिड़ने हाम्रो मानव सभ्यतामा यी किनारकृत् मानिशहरूको जबसम्म आवाज उठ्दैन तबसम्म तथाकथित् परिभाषा नैतिकताहरूको कुनै औचित्य रहदैन। 

No comments:

Post a Comment