Friday, November 25, 2016

कश्मीरको इतिहास

कपिल तामङ


विगत केही महिनादेखि कश्मीरको खबरहरू मेनस्ट्रीम मिडियामा खासै नआए तापनि सोशल मिडियामा भने सनसनी भएरहेको छ। आज हजारौँको सङ्ख्यामा कश्मीरि युवाहरू मारिँदैछन् वा शारीरिक अनि मानसिक रूपले यातना भोगिरहेका छन्। नयाँ तौरले यसपालीको विरोध शुरू भएपछि 8 जुलाई देखि अहिलेसम्म दस हजार भन्दा ज्यादा कश्मीरीहरू घाइते भएकाछन्, 3000 भन्दा ज्यादा गिरफ्तार! सबै नैतिकतालाई पार गरीकन भारतीय सेनाले डरलाग्दो दमन, यहाँसम्मकि पेलेट गानबाट छर्रा गोलि पनि निर्वाधरुपमा ठोकेका छन, जसले गर्दा थुप्रैजनाको आँखा पनि नष्ट भएको छ। कश्मीरको यस विरोध प्रदर्शनको माग हो आजादी लिएर। आजाद कश्मीरको मांग किन गरिरहेका छन् त तिनीहरू? आज देशभरिमा एकपछि एक घटनाले गर्दा ‘देशप्रेम’ अनि ‘देशद्रोही’को विवादहरू पनि बढाइएको छ। त्यस सन्दर्भमा कश्मीरिहरूको पक्षमा बोल्नेहरू देशद्रोही हुन् भन्ने लान्छना पनि धेरैले गरेका छन्! त्यसैले कुनै पनि विवाद वा तर्क गर्नु अघि त्यस कुराको मूल विषय-बस्तु जान्नु अनि त्यसको इतिहासलाई नियालेर हेर्नु अति आवश्यक हुन्छ। कश्मीरको इतिहासलाई त्यसैले बुझ्नु अति जरुरी छ।
भारतको इतिहासलाई पल्टाएर हेर्दा हामी एउटा लामो अनि मिश्रित विवरणहरू पाउछौं। वास्तवमा ‘स्वाधीन’ भारत भन्दा अघि भारतको मानचित्रनै थिएन। संसारको प्रमुख पुरानो सभ्यता देखि लिएर धेरै शासकहरूको साम्राज्य हुँदै मुघल अनि त्यसपछि ब्रिटिस साम्राज्यले शासन गरेको इतिहास त हामी सबैले पढ्दै आएका छौ। यस इतिहासको विवरणमा लाग्छ हामी अनन्तकाल देखिनै एउटा भारत भूमिका बासिन्दा थियौँ। कश्मीर देखी कन्याकुमारी भारतकै पृष्ठभूमि थियों। तर के साचैनै भारत जुन अहिले एउटा देश छ चिरकाल देखिनै त्यस्तै थियों र?
भनौं भने 15 अगस्त 1947 भन्दा अघि भारतको सठीक मानचित्रनै थिएन। आजको भारत स्वतन्त्र हुनु अघि राजा, नवाब, जमिन्दार, ब्रिटिस सरकार अघिको अधिनमा सा-साना राज्य देखि लिएर ठुला ठुला साम्राज्यहरूमा बाडिएका थिए। इतिहासलाई यदि हामीले यस नजरियाबाट हेर्ने हो भने हामीले भारतको नक्सा नदेखेर विभिन्न राज्य अनि साम्राज्यको मिश्रण मात्र पाउछौ। ठुला ठुला शासकहरू जस्तै मुघल अनि ब्रिटिशहरूले धेरै राज्यहरूलाई आफ्नो अधिनमा ल्याए तापनि कहिले पुरा भारत बनेको थिएन। पछि भारत स्वाधीन हुनु अघि भारत अनि पाकिस्तानमा ब्रिटिस अधिन राज्य अनि करद राज्य (princely states) हरू जोडिएका हुन्। यसै क्रममा कश्मीरको भारतसँग जुडाउको एउटा जटिल इतिहास छ। त्यो इतिहासलाई बुझ्न अघि कश्मीरको आफ्नो इतिहास बुझ्न अति जरुरी छ।
सन् 1586 अघि सम्म कश्मीरमा कुनै प्रकारको विदेशी हस्तछेप भएको थिएन। कश्मीर हिमालयको काखमा बसेको एउटा सानो स्वर्ग नै थियों। सन् 1586 मा अकबरले कश्मीरमाथि आधिपत्य जमायो। त्यसपछि अफघनि सम्राट अहमद शाहले कश्मीरमा राज गर्‍यो अनि सन् 1808 मा सिख राजा रंजित सिंहले कश्मीरलाई हातमा लियो। वहाले कश्मीरको जिम्मेवारी उनको सेनापति डोगरा राजपुत गुलाब सिंहलाई दिए। त्यसपछि डोगरा राजपुतहरूले नै कश्मीरमाथि राज गरे। सन् 1839 मा रंजित सिंहको निधन भयो अनि यता ब्रिटिस साम्राज्य पनि शक्तिशाली हुँदै आए। पन्जाबलाई आफ्नो अधिनमा लिएपछि ब्रिटिस सरकारले गुलाब सिंह सँग सन् 1846 मा अमृतसर सम्झौता गरे जसको अनुसार कश्मीर डोगरा राजपुतको अधिनमा नै बस्नेछ र बदलिमा ब्रिटिस सरकारले धनसम्पतीको मुनाफा कमाए। 
कश्मीरमा अकबरको शासनकाल देखिनै इस्लाम धर्म फैलियो तर यहाँ कट्टरपन्थी धर्मको सट्टामा सुफी इस्लाम प्रचलित भयो। त्यसैले कश्मीरमा सबै धर्म प्रति सहिश्नुता थियों अनि कश्मीरियत अर्थात् कश्मीरि भाइचाराको प्रथा निकै प्रचलित थियों। तर डोगरा राजपुत शासकहरूको दमन अनि अत्याचार निकै थियों, त्यो सँग धार्मिक भेदभावहरू पनि बढ्न थाल्यो। जसले गर्दा कश्मीरि राष्ट्रवाद पनि बढ्न थाल्यो। सन् 1930 को दशकमा मुस्लिम कन्फेरेन्सको गठन भयो जसलाई पछि गएर शेख मुहम्मद अब्दुल्लाहले नेतृत्व गरे। उनी प्रगतिशील विचारधाराको मान्छे थिए। पछि 1939 मा मुस्लिम कन्फेरेन्सको नाम जम्मु एंड कश्मीर कन्फेरेन्स राखियो जसलाई पछि न्यासनाल कन्फेरेन्सको नामले चिनिन थाल्यो। अब्दुल्लाले मुस्लिम जाति लगायत अन्य सबै धर्म अनि जातिका कश्मीरिहरूलाई भाग लिने आह्वान जनाए अनि कश्मीरियतलाई कायम राख्ने बाचा गरे। सन् 1944 मा न्यासनाल कन्फेरेन्सको मुखपत्र "नयाँ कश्मीर" निस्कियो जसमा संविधान देखि लिएर अर्थनीति, नारीहरूको उन्मुक्ति, गणतान्त्रिक भागीदारी अनि उर्दूलाई मूल भाषाको रूपमा राख्ने प्रस्तावहरू थिए। सन् 1946मा कन्फेरेन्सले डोगरा राजा हरि सिंहको विरुद्ध कश्मीर छोड आन्दोलन पनि शुरू गरे। 1944 मा ब्रिटिस सरकारले सत्ता हस्तान्तरण गर्न अन्तरिम सरकार गठन गर्ने प्रस्ताव राखे तर जसमा राजा हरि सिंहले भाग लिएनन्। जब ‘टु नेशन थ्योरी’को कुरा उठ्न थाल्यो तब कश्मीरको अघि तीनवटा विकल्पहरू थिए— 1. भारतको भाग हुनु 2. पाकिस्तानको भाग हुनु अनि 3. स्वतन्त्र कश्मीर भएर बस्नु। कश्मीरको एउटा विशेषता के थियो भने 77% जनता मुस्लिम थियो भने त्यसको राजा हिन्दु राजपुत थियो। कट्टर हिन्दुवादी संस्था जम्मु-कश्मीर हिन्दु सभाले आजाद कश्मीरको पक्षमा नै उभिए अनि कश्मीरलाई हिन्दु राष्ट्र बनाउने मांग गरे भने मुस्लिम कट्टरपन्थी मुस्लिम कन्फेरेन्स (जो न्यासनाल कन्फेरेन्स बाट छुटिएका थिए) ले पनि आजाद कश्मीरको नै मांग गरे अनि न्यासनाल कन्फेरेन्सको पहिले देखिनै मांग थियो आजाद कश्मीर। स्वतन्त्र भारतको संविधानको सेक्शन 7(i) (b)को अनुसार 15 अगष्ट 1947 देखि ब्रिटिस सरकारको कुनै पनि प्रिन्सली स्टेटमा सबै अधिकारहरू समाप्त हुने कुरा लागु भयो। राजा हरि सिंहले गणतान्त्रिक अधिकारहरूलाई हानी गर्दै आफ्नो अनुशासन लागु गर्नु जाँदा जम्मुको पूंच भन्ने भेगमा ठुलो विद्रोह शुरू भयो, जसलाई पाकिस्तानले पनि मद्दत गरे। त्यस विद्रोह पछि राजा हरि सिंह पलायन भएर भारतमा आश्रय लिए अनि 26 ओक्टोबर 1947 मा Instrument of Accession मा हस्ताक्षर गरे। त्यस सम्झौताका मूल कुराहरू यस प्रकार छन्— 1) यो जुडाउ सुरक्षा (defense), बाहिरी सम्बन्ध (external affair) अनि प्रचार (communication) मन्त्रालयको आधारमा मात्र हुने छ। 2) यस सम्झौताको नियमहरूमा फेरबदल शासक (ruler) को अनुमति बिना हुने छैन। 3) यस सम्झौताले कश्मीरलाई भारतको भाग मानेको छैन। 4) सम्झौतामा भएको नियम बाहेक अरू सबै नियम-कानुन शासकले नै निश्चित गर्ने छ।
2 नोवेम्बर 1947 मा रेडियोमा भाषण दिदैं नेहरूले भने कश्मीरको भारतसँगको जुडाउ मानिशहरूको जनमत सङ्ग्रह (रेफरेन्डम) बाट निश्चित हुने छ। तर जब 13 अगष्ट 1948 मा संयुक्त राष्ट्र सिक्युरिटी काउन्सिलले रेफरेन्डमको समर्थनमा रिजोलुसनको कुरा उठाए तब भारतले आफ्नो कानमा तेल हालेर बसे। 21 अप्रिल 1948 देखि 2 डिसेम्बर 1957 सम्म संयुक्त राष्ट्रले धेरै प्रस्तावहरू दिए तर नाना भाती कारण देखाउदै भारत सरकारले त्यसलाई खारेज गरे जसले भारतको कश्मीरलाई भारतमा राख्ने कुटनीति साफ हुन्छ।
16 जुलाई 1947 मा शेख अब्दुल्ला, मिर्जा मोहम्मद, अग्ज़ल बेग, मौलाना मोहम्मद स्येद मसूदी अनि मोति राम बाघ संविधान सभाको सदस्य बने। त्यस पछि भारतले जम्मु-कश्मीरलाई भारतकै भागको रूपमा हेर्न थाले। अब्दुल्लाले आजाद कश्मीरको मांगलाई पक्डेर बसेका थिए 1953 देखि 1965 सम्म, उनी कैयौँ चोटि के के कारणहरूमा काराबास भए। धारा 370 संविधानको कागजमा त लागु भयो तर मानिशहरूको गणतान्त्रिक अधिकारहरू भने हराउदै जान थाल्यो। 1980 को दशक देखि उग्रवादी विद्रोहहरू बढ्न थाल्यो। तर जम्मुकश्मीर लिबरेसन फ्रन्टले भने पुरानो न्यासनल कन्फेरेन्सको विचारधारालाई नै लिएर चल्यो। यही सङ्घर्षहरूमा केही उग्र राष्ट्रियताको जन्म भयो जसको फलस्वरूप भारत सरकारले 1990 को दशक देखि भारतीय सेनालाई कश्मीरमा तैनाथ गरे राष्ट्रिय सुरक्षाको नाम गर्दै, जुन आज सम्म चली रहेको छ। जसको अनगन्ती शोषण अनि अत्याचार आजसम्म कश्मीरका मानिशहरूले भोगी रहेका छन्।
कश्मीरको जनताको एउटा ठुलो अंश नै आजादीको पक्षमा छन्, भारतीय सेनाको आतंकले गर्दा तिनीहरू भारतविरोधी पनि बनेका छन्। पाकिस्तान अधिकृत कश्मीरमा अर्कोपट्टी पाकिस्तानविरोधी नारा उठ्ने खबर पनि बेलाबेला आउँछ। पाकिस्तानको बलुचिस्तानमा फेरी अर्कै आजादीको सङ्घर्ष चलिरहेको छ। अब कश्मीरको मानिशहरुको भवितव्य लिएर हामी भन्न सक्दैनौं। तर तिनीहरू माथि चलिरहेको दमनलाई विरोध गर्नैपर्ने। अर्कोतिर त्यसैले यहाँ प्रश्न कश्मीरलाई वा इस्लामलाई वा पाकिस्तानलाई सघाउ गर्न होइन तर त्यहाँका मानिशहरूको आत्मनिर्णयको अधिकारलाई रक्षा र समर्थन हो। तिनीहरुले तय गरोस् तिनीहरुको भवितव्य। चल्ती मिडियाको लहैलहैमा न लागेर इतिहासलाई जानेर त्यसको विचार गरे उचित होला भन्ने लाग्छ।



No comments:

Post a Comment