Friday, November 25, 2016

मदर टेरिसाको सबैभन्दा ठुलो चमत्कार

गुञ्जन राणा

4 सेप्टेम्बर 2016 को दिन पोप फ्रान्सिसले मदर टेरीसालाई सन्तको उपाधिले सम्मानित गरे। उनले मदर टेरीसालाई क्याथोलिक चर्चको प्रतीक मानेका छन्। सन्त उपाधि समारोहमा भारतबाट विदेशमन्त्री सुस्मा स्वराज, बंगालका मुख्य मन्त्री ममता ब्यनार्जी अनि दिल्लीका मुख्य मन्त्री अरविन्द केज्रिवल भेटिकन सिटीमा उपस्तिथ थिए। सन्त रोम देखि पीटर बसिलिका सम्मको पदयात्रामा ममता ब्यनार्जीले बंगालका समूहसँग रबीन्द्र सङ्गीत गाउदै हिडे अनि बलुचरी रेसमले बेरेको बंगला अनुवाद बाइबल पनि पोप फ्रान्सिसलाई उपहारको रूपमा दिए! चमत्कारि कथाको सन्तलाई लिएर समारोह अनि त्यसमा राजनैतिक रङ्गका विभिन्न व्यक्तित्वहरू भेला भएको कस्तो दृश्य देख्न पायो भेटिकन सिटीले!
आर.एस.एसका सचिव मोहन भागवतले मदर टेरीसाको कामको सम्मान गरे ता पनि टेरिसाको सबलाई इसाई धर्ममा परिणत गर्ने ठुलो निजी उद्देश्य थियो भनेर पनि आरोप लगाए। भागवत अनि आर. एस. एस. त्यही संस्था हो जसले भारतलाई हिन्दु राष्ट्र गर्ने दृढ संकल्प लिएका छन् अनि घर वापसी अनि कट्टरपन्थी विचारधारा बोकेर हिड्छन्। त्यसरी नै मुस्लिम कट्टरपन्थी प्रचारक जाकिर नायेकले पनि भनेका थिए यदि मदर टेरीसा मुस्लिम भएकी भए स्वर्ग जाने थिइन्!
मदर टेरीसा अल्बानियन-इन्डियन रोमन क्याथोलिक थिए। उनको जन्म स्कोप्जे (अहिलेको रिपब्लिकन मेसेडोनिया)मा भएको थियो। उनी अठार वर्षको हुँदा आयरल्याण्ड अनि त्यसपछि भारत आए पछि बाकीको जीवन भारतमा बिताएका थिए। सन् 1950 मा टेरीसाले मिशिनेरी अफ च्यारिटीको स्थापना गरिन् जो 2012 सम्म 133 देशहरूमा फैलिएको छ भने जसमा 4,500 सिस्टर्स सक्रिय छन् ।
कुनै पनि व्यक्तिलाई यदि सन्तको उपाधि दिनु हो भने त्यस व्यक्तिले आफ्नो जीवन कालमा दुईवटा चमत्कारि काम गरेको हुनु पर्ने हुन्छ वा इसाई धर्मको विश्वासलाई कायम राख्दै शहीद भएको हुन पर्छ। 2002 मा भेटिकनका मुख्य रोमन क्याथोलिक कार्यालयले पश्चिमबंगालको बालुरघाटको एउटी आइमाई मदर टेरीसाको चमत्कारले छत्तीको टुमोर निको भएको कथालाई स्वीकार गरे। मोनिका बेस्रा नामक त्यस आइमाईले मदर टेरिसाको नक्सा भएको लकेट लगाएकी थिइन् अनि त्यस लकेटबाट उज्यालो किरण निस्के पछि त्यो क्यान्सरस् ट्युमर निको भएको दाबी तिनले गरिन्! जबकि उनको लोग्ने अनि उनका चिकित्सक डाक्टर राजन मुस्ताफीको भनाइ अनुसार उनलाई क्यान्सर होईन तर सिस्ट भएको थियो अनि जसको उपचार तिनले 1 साल देखि गर्दै आएकी थिइन् अनि निको भएको जनाए। बालुरघाट अस्पतालका कर्मीहरू जहाँ बेस्राले उपचार गरेकी थिईन् तिनीहरू भन्छन् तिनीहरुमाथि क्याथोलिक चर्चबाट त्यस चमत्कारि कथालाई फैलाउनको लागि दबाब आएको थियो! 17 डिसेम्बर 2015मा भेटिकनबाट पोप फ्रान्सिसले अर्को एक जना ब्रजीलियन मान्छेको ब्रेन ट्युमरको चमत्कारि उपचार टेरिसाले गरेको दाबी गरे। मदर टेरिसाको नाममा दुई चमत्कारको कथा जोडियो अनि उनी सन्तको उपाधिको लागि लायक बनिन्!
तर चमत्कारको कुरालाई ज्यादा जोड नदिएको नै बेस हुन्छ कारण थोरै मानिसहरूनै चमत्कारी चिकित्सको भरोसामा बस्छन्। सबै धार्मिक प्रवक्ताहरूलेनै यस्ता चमत्कारको कुरा गर्छन् अनि कतै प्रश्न उठ्यो भने तिनीहरू हिंसात्मक पनि बन्छन्। हामी कसरि भुल्न सक्छौ कि त्यही भेटिकन सिटीमा 17 फरवरी 1600 मा गिओर्दानो ब्रुनोलाई पृथ्वी सूर्यको वरिपरि घुम्छ भन्दा जिउँदै जलाईएको थियो!
मदर टेरिसा अनि मिशिनेरी अफ च्यारिटीको प्रशंसा गर्नु भन्दा त्यसको यथार्थलाई नियालेर हेर्नु उचित हुन्छ। मदर टेरिसा स्वयमले भनेकी थिइन्—"मलाई खुसी लाग्छ जब गरिबहरूले आफ्नो पिडालाई स्वीकार गर्छन् र त्यस पिडालाई प्रभुसित बाड्छन्, मलाई लाग्छ यी गरिबहरूको यातनाले संसारलाई धेरै सहायता पुर्याएको छ ("I think it is very beautiful for the poor to accept their lot, to share it with the passion of Christ. I think the world is being much helped by the suffering of the poor people.")। उनको कलकत्तामा भएको उपचार केन्द्र हाउस अफ डाइंग जहिले पनि कमजोर हालतमा अनि सर सामग्रीको कमीमा हुन्थ्यो जसले रोगीहरूलाई धेरै असुविधा हुन्थ्यो। टेरिसा यसलाई प्रभुको इच्छा भनेर भन्थिन्। उनले त्यस केन्द्रलाई ठिक पार्न दिएको दानलाई कहिले पनि उपयोग गरेनन्, बरु केन्द्रको हालतलाई कमजोड हालतमा नै रहनु दिए। 1994 मा रबिन फोक्स जो मेडिकल जर्नलका कर्मी थिए तिनले भने—"टि. बि भएको रोगि अनि अन्य रोगि एक्कै साथ बस्छन् अनि टि.बि रोगिमाथि चलेको सिरिन्ज केवल तातो पानीमा पखालेर फेरी प्रयोग गरिन्छ, दुखाईमा भएको रोगीलाई कुनै प्रकारको पेन किलर पनि दिइन्दैन हुकुमको कमीले होईन तर सिद्धान्तको हनन हुन्छ भनेर।"
डा. अरुप च्याटेर्जी, लन्डनवासी फिजिसियन अनि "Mother Teresa: The Untold Story" को लेखकले मिशिनेरी अफ च्यारिटीले अपर्याप्त सुविधामा आफ्नो संस्थान चलाई रहेको पाए। डा. च्याटेर्जीले मदर टेरिसाद्वारा चलाइने होम्सहरूमा ‘पिडाको संस्कार’ पाए। यहाँ नानीहरूलाई पलंग सित बाधिएर राखिएको पाइयो, मर्नु आटेको मानिसहरूलाई अलिकति राहत एस्पिरिनले दिन्थ्यो भने मदरले एकपल्ट इस्तेमाल भइसकेको इन्जेक्सनको सियो फेरी प्रयोग गर्नमा जोड दिन्थिन्। यहाँ पाइखाना पनि उहिलेको पाराको थियो जहाँ बारबेर केही थिएन र एकको सामुने अर्कोले पाइखाना गर्नु पर्थ्यो।
टेरिसाको उद्देश्य गरिब दुखीबिच पीडाको संस्कार र लाचारीपनलाई बढावा दिनु थियो। एकपल्ट दर्दले चिच्याउदै गरेको एउटा रोगीलाई तिनले भनेकी थिइन्— "तिमी येशु जस्तै पिडा सहदै छौ, येसुले यसबेला तिमीलाई चुम्बन गर्दै छन्। यसको उत्तरमा त्यस रोगीले भनेका थिए— "त्यसोभए तिम्रो येसुलाई मलाई चुम्बन गर्नु बन्द गर्नुको लागि भन"! तर अचम्मको कुरो के हो भने टेरिसा आफैले चाहिँ कहिले पनि पिडा सहनु पर्छ भनेर सोचिनन् र उपचारहरू आफ्नो केन्द्रहरूमा गराएनन्, बरु जब तिनलाई चिकित्सको आवश्यकता पर्‍यो त्यतिबेला तिनले अमेरिका गएर क्यालिफोर्नियाको सबभन्दा महँगो उपचार लिएकी थिइ। टेरिसालाई धनीहरूले सम्पत्ति थुपारेर लाखौ मानिसहरूलाई भोकै परेकोमा कुनै आपत्ति थिएन, नत्र भने किन केवल गरिबहरू मात्रै बाचाईनुको निम्ति सहनु पर्थ्यो धनीले होइन। 
क्रिस्टोफर हिच्किंस पहिलो मानिस थिए जसले रोमन क्याथोलिक चर्चलाई मदर टेरिसाको सत्यतामा शङ्का जनाए। यहाँ हिच्किंसद्वारा दिइएको समालोचना "The Missionary Position: Mother Teresa in Theory and Practice"पुस्तकबाट केही पंक्तिहरू उद्घृत गरिएको छ, "मदर टेरिसा गरिबहरूको साथी थिएनन्, तिनी गरिबीको साथी थिइन्। तिनी भन्थिन पिडा प्रभुले दिएको उपहार हो। सारा जीवन तिनले त्यो कुरोको विरोध गरिन जो यस गरिबीको उपचार हो। त्यो हो नारीहरूको सशक्तिकरण र घरेलु पशुहरू जस्तै अनिवार्य प्रजननबाट नारीहरूको मुक्ति। 
1979 मा नोबल शान्ति पुरस्कार थाप्दै गर्दा पनि तिनले भनेकी थिइन्— "गर्भपात नै संसारको सबैभन्दा डरलाग्दो पाप अनि शान्तिको सबैभन्दा ठुलो दुस्मन हो।" 1993मा आयरल्याण्ड गएको बेला तिनले भनेकी थिइन्— "हामी हाम्री माता अघि एउटा कसम खाउ कि हामी यो देशमा एउटा पनि गर्भपात हुन दिँदैनौ।" तालीले वातावरण गुन्जायमान बन्यो। तिनले अझ थपिन्— "कुनै गर्भ निरोधकको इस्तेमाल पनि हुन दिदैनौं।" सामूहिक बलात्कारले बसेको गर्भलाई पनि तिनी झार्ने पक्षमा थिइनन्। तिनी छुटानामको पनि घोर विरोधिता गर्थिन्। सर संसारभरीबाट लाखौँ रुपिया जम्मा गरेर पनि तिनी यसलाई उपचारमा खर्च गर्दैन थिइ। तब यत्रो पैसाको तिनी के गर्थी? तिनले पहिलै स्पष्ट गरेकी थिई तिनी सामाजिक काम गर्ने कार्यकर्ता थिइनन्। मदर हाउस अघाडीको एउटा साइन बोर्डमा लेखिएको थियो— "उनीहरूलाई भनी देऊ हामी यहाँ कामको लागि आएका होइनौ, हामी यहाँ येसुको लागि आएका हौ। हामी सबैको अघाडी धार्मिक अनुयायी हौ। 14 जनवरी 1992 मा क्यालिफोर्नियामा तिनले भनेकी थिइन्— "मैले 29000 जना मर्दै गरेको मानिसहरूलाई धर्म परिवर्तित गरेकी छु।" 
मदर टेरिसाको अनाथालयबाट बिक्री गरिएको सनातन पावेल आफ्नो जरा खोज्दै कोलकाता आइपुगेका थिए। तिनलाई एउटा बेल्जियन दम्पत्तिलाई 100000 रुपियाँमा बेचिएको थियो। कुनै पनि दानी संस्थालाई नानी गोद दिने अनुमति छैन। के यो तस्करी होइन? उसको आमाबाबु जिउदै हुदाहुँदै पनि उनलाई टुहुरो बनियो अनि बेचियो। गोद दिँदा उसको आमाबाबुको अनुमति पनि लिइएको थिएन। United Nations International Children’s Emergency Fund (UNICEF) को रिपोर्टले यस कुरोको पुष्टि गर्छ कि प्राय 500000 जना नानीहरू तस्करी भएर युरोप आइपुग्छन्। 
यसैले यी कुरोहरू सबैभन्दा ठुलो चमत्कार जस्तो लाग्दैन? 


No comments:

Post a Comment