कपिल तामाङ
उकाली ओह्राली र घुमाउरो बाटो... पहाडमा यातायात गर्न सजिलो छैन। उकालोको चडाईमा साँस लिन साह्रो पर्छ अझैँ अक्सिजनको कमीले छिटै थाक्छ पनि। दार्जिलिंग पहाडमा बसोबास गर्ने मानिसहरूलाई यो कुरा राम्ररी थाहा छ। भारत जब ब्रिटिशहरूको अधीनमा थियो त्यस बेला दार्जीलिंग तिनीहरूको लागि आराम गर्ने जगह थियो किनभने दार्जीलिंगको वातावरण तिनीहरूको लागि राम्रो अनि घर सरह थियो। आराम साथ साथै यहाँको जलवायु चिया खेतीको निम्ति उपयुक्त भएको हुनाले व्यापार गर्न हेतु दार्जीलिंगमा चियाको खेती सुरु गरियो र व्यापार सुगम बनाउन बाटो र रेल लाइन बनाउन थालियो। पहाड काटेर बनाएको सडकहरू दार्जीलिंगको जन-जीवनलाई अरू संसार सँग जोड्ने ठुलो माध्यम बन्यो।
आज त्यही बाटो अनि रेल लाइनको हालत खराब स्थितिमा छ। राजमार्ग (NH55) सन् २००९ को पैह्रोले भत्केपछि अहिलेसम्म सरकारले त्यो पूर्ण निर्माण गर्न सकेको छैन। बाँकी हाइवेको हालत पनि गम्भीरनै छ। हाइवे छोडेर गाउँ-बस्ती जाने बाटोको त झन् भन्नै नसक्ने हालतमा छ। गाडी दुर्घटना, पैह्रो जस्ता घटनाहरू त बर्खा झरीमा हरेक दिन खबर कागज तिर आएरहेको हुन्छ। बाटो बनाउने काम देखि लिएर १०० दिने रोजगारको ठिका सम्म सा-साना ठेकेदारहरूले लिन्छन्। जसमा भ्रष्टाचार अनि हेरा फेरीको सीमा हुँदैन। जसको कारणले सडकहरूको हालत खराब छ। प्रत्येक वर्ष सडक मरम्मतको काम चलिरहेको हुन्छ तर कुनै सडकको पनि भने जस्तो राम्रो स्थिति छैन।
आजको यस्तो परिस्थितिमा सब भन्दा ठुलो समस्या भएको छ सरकारी वाहनहरूको कमी अनि गाडी-भाड़ाको महंगाई। आज जहाँ सबै सामानहरूको दाम बढेर आकाश छोई रहेको छ त्यही गाडी भाड़ाको वृद्धि पहाडवासीको लागी एउटा ठुलो समस्या बन्न पुगेको छ। चिया बगानका श्रमिक अनि निम्न आर्थिक अवस्थामा जीवन ज्ञापन गरिरहेका मानिसहरूको लागी त झन् यो महँगो गाडी भाड़ा एउटा ठुलो समस्याको रूपमा देखा पर्छ। दिनको ज्याला ९०-१०० रुपियाँमा जीवन धान्न पर्ने यी मानिसहरू बजार जान सम्म दस पल्ट सोच्न पर्छ। सिलिगुडी आउनुमा मात्रै तिनीहरूले आफ्नो एक दिनको हाजिरा खर्च गर्नु पर्छ। यसरी बाँची रहेका छन् हाम्रो पहाडका मानिसहरू।
धेरै वर्ष भयो राजमार्ग बन्द भए देखी पहाडमा सरकारी बस चल्न छोडेको छ जसको भाड़ा सानु गाडीहरू भन्दा कम्ती हुने गर्थ्यो। अहिले निजी गाडीहरू (जस्तै टाटा सुमो, मारुती ओम्नि, महेन्द्र इत्यादि) ट्याक्सी गाडी भनी यातायातको साधन बनेको छ। यो गाडी मालिकहरू एउटा विशेष ठाउँलाई लक्ष्य गरेर समूह बनाँउछन् र सिन्डिकेटको गठन गर्छन्। सरकारी यातायातको कुनै सुविधा छैन अनि यी मालिकहरू मिलेरनै गाडीको भाड़ा कति हुनु पर्ने मिलाउछन्। तेल (पेट्रोल अनि डिजल)-को दाम बढ्न साथ कुनै हिसाब बिना कुनै कारण बिना गाडी भाड़ा पनि बढ्छ र यसको हिसाब न सरकारले नै लिन्छ न त यातायात गर्ने मानिसहरूले नै। अचम्मको कुरो के हो भने जुनै रफ्तार र जतिनै दरले गाडीको भाड़ा बढे पनि त्यसमा मानिसहरूको न आक्रोश देखिन्छ न विरोध नै। साधारण मानिसहरूमा यस मुद्दालाई लिएर कुनै प्रकारको प्रतिक्रिया देखा पर्दैन। अझै पर्यटकहरू आउने समय अनि दसैँ तिहारको बेला झन् मनपरी भाड़ा तोक्छन् यिनीहरू जसले गर्दा साधारण मानिसहरूले अति कठिनाइ झेल्नु पर्छ। यस्तो परिस्थितिमा पनि पहाडका मानिसहरू किन शान्त छन् त किन विरोध, आक्रोश देखाउदैनन् त? यस्तो प्रश्न जब कसैलाई सोधिए “खै कसले खोज्ने र अनि गाडी नचडी हुँदैन” जस्तो जवाबहरू पाइन्छ। यसको कारण मानिसहरूमा सचेतनता अनि जानकारीको कमी अनि एकीकृत द्वन्द्वको कमी हो। अन्य ठाउँहरूमा विशेष गरी सहरहरूमा सरकारी वाहनहरू प्रशस्त मात्रामा उपलब्ध हुन्छ। पहाड छोडी अन्य ठाँउमा ५० पैसा गाडी भाड़ा बढे भने पनि मानिसहरू सडक अवरोध गर्छन्, विरोध गर्छन् तर यहाँ त ५० रुपियाँ बढ्दा पनि कतै चाइ-चुइ सुनिन्दैन। पहाडमा किन सरकारी वाहनहरूको कमी छ त? जबकि हामी सरकारलाई कर तिरेर एउटा संवैधानिक नागरिकको कर्तव्य निभाई रहेका छौं। NBSTC का बसहरू जब तराई क्षेत्रमा प्रशस्त रूपमा चलिरहेका छन् भने हाम्रो पहाडमा किन चल्दैनन त? जबकि इलेक्शन वा स्ट्राइकको बेलामा ती बसहरू पहाडको बाटोहरूमा चली रहेको हामी सबैले देखेकै हौ। अब, सरकारी यातायात ठप्प भए त निजी गाडीका मालिकहरूले साधारण जनतालाई लुट्नै भए नि। यसैले पहाडमा बाटोको राम्रो र टिकाउ मरम्मत, सरकारी यातायातको माँग गर्नु र मनपरी गाडी भाड़ाको तीव्र विरोध गर्नु आजको महत्वपूर्ण मुद्दा बनेको छ जसमा सबैको सहयोगिता अनिवार्य छ।
No comments:
Post a Comment