Sunday, August 31, 2014

प्यालेस्टाइनको गाजामाथि इजरेली हमला

सुमेन्द्र तामाङ

प्यालेस्टाइन-इजरायल युद्ध आजको युगको कुर बर्बर स्थिति भएको छ। ७ जुलाई २०१४ देखि गाजामा भइरहेको यस युद्धमा अहिलेसम्म १,३०० जाना प्यालेस्टिनीहरूको हत्या भएको छ अनि जुन अझै चलिरहेको छ। युद्धमा बेशी भाग जस्तै निर्दोष नागरिक, बालबालिका र महिलाहरूले आफ्नो ज्यान गुमाउनु परेको छ अनि १ लाख भन्दा बेशी मानिसहरू बेघर भएका छन। त्यसैले युद्धको परिणाम जे भए पनि जुन क्षतिग्रस्त परिस्थितिमा संसार एवं मानवतामाथि जुन दाग लागेको छ त्यसलाई सफा गर्न धेरै समय लाग्ने छ। ती १,३०० प्यालेस्टाइनिहरूको हत्याको दोष पश्चिमी देशहरूले प्यालेस्टाइनको प्रतिवादी दस्ता “हमास”लाई लाउछन्। तिनीहरू भन्छन् हमास आतङ्कवादी दल हो जसले इजरायल माथि रकेट हमला गरेको थियो अनि जसको विरोधमा इजरायल सरकारले ती सब हवाई आक्रमण गरेका हुन्। इजरायलले आफ्नो आक्रमणको निशाना 'आतंककारी हमास भएको' भने पनि अस्पताल, विद्यालय र नागरिक क्षेत्रका मानिसहरू परेका दृष्टान्त हरेक दिन टिभीमा अनि खबर कागजहरूमा देखिरहेका छौँ। 
 सन् १९९४ मा भएको सम्झौताअनुसार समुद्री किनारामा प्यालेस्टाइनीहरूको बसोबासको निम्ति गाजाक्षेत्र तय गरिएको हो। झन्डै १८ लाख प्यालेस्टाइनीको बसोबास रहेको गाजाको कुल क्षेत्रफल ३६५ वर्ग किलोमिटर (लम्बाइ ४१ किलोमिटर र चौडाइ ६ देखि १२ किलोमिटर) रहेको छ, जुन न्युयोर्क सहरको एक तिहाईजस्तो हुन आउँछ। यस क्षेत्रमा प्यालेस्टाइनीहरूको निर्वाचनमा भाँडभैलो मच्चेपछि सन् २००७ बाट 'निर्वाचित' कट्टरपन्थी हमासको नेतृत्वको सरकार छ। गाजा क्षेत्रमा प्यालेस्टाइनीहरूको आफ्नै सरकार भए पनि बिजुली, पानी र सञ्चार आपूर्तिमा इजरायली सरकारको नियन्त्रण छ। त्यो देशको आफ्नै विमानस्थल छैन। यसको अर्थ विगतमा इजरायल-प्यालेस्टाइनबीचको शान्तिसम्झौताका आधारमा प्यालेस्टाइनीहरूको हकहितका निम्ति अन्तरनिर्भरताको सिद्धान्तअनुसार यस क्षेत्रलाई अगाडि बढाउन खोजेको देखिन्छ। तर, प्यालेस्टाइनीहरू प्रत्यक्ष वा अप्रत्यक्ष कुनै पनि हिसाबबाट इजरायलको नियन्त्रणबाट मुक्त रही गाजालाई स्वतन्त्र र स्वायत्त प्यालेस्टाइनी राज्यमा रूपान्तरण गर्न चाहन्छ।
इजरायल यो तर्क दिन्छन कि तिनीहरूको यो अमानवीय हमलाको सुरुवात प्यालेस्टाइनले गरेको हो जब ३ इजरायली छात्रहरूको अपहरण प्यालेस्टाइनले हेब्रोन नामक शहरमा गऱ्यो तर यो कुरामा पनि पुरा सत्य छैन। २ जुन, २०१४, मा प्यालेस्टाइन सरकारले संयुक्त सरकार (unity govt) बनाए जसले हमास अनि फताहको हिंसात्मक नीतिको विरोध गरे जसलाई युरोपियन युनियन EU अनि युनाइटेड स्टेट्स US-ले पनि सहमति जनाए। त्यसको दश दिन वाद ३ इजरायली छात्रहरूको अपहरण भयो जो कसले गरेको भन्ने कुनै ठोस प्रमाण पनि भेटिएको छैन। पछि ती छात्राहरूको मृत्युको खबर आई सके पश्च्यात् पनि इजरायल सरकारले तिनीहरूलाई खोज्न ‘ओपरेसन ब्रदर्स कीप’ गरे यसको तहत तिनीहरूले १० प्यालेस्टिनीहरूको हत्या गरे अनि ६०० जनालाई हिरासतमा लिए जसमा हमासका धेरै जना मुख्य नेताहरू थिए। ६ जुलाई,२०१४ को दिन हमासका ७ जान नेताहरूको इजरायली आकाश हमलामा हत्या भयो जसको जवाबी हमला स्वरूप हमासले रकेट हमला गरेका थिए। पछि हमासले इजरायललाई आक्रमण बन्द गर्ने अनि पहिला पक्रिएका बन्दीहरूलाई छोडी दिने अनि गाजाको सिमाना खोली दिने मांग गरे तर त्यसको कुनै प्रकारको जवाफ तिनीहरूले पाएनन्।
८ जुलाई २०१४ मा इजरायल सरकारले गाजामा ‘ओपरेसन प्रोटेक्टिभ एज’ सुरु गरे जसको परिणामस्वरुप १,३०० प्यालेस्टिनीको मृत्य भयो अनि जुन अझै जारीनै छ। करिब १००,००० जना मानिसहरूले आफ्नो घर गुमाएका छन्। संसारलाई थाहा छ- प्यालेस्टाइनी भूमिमाथि कब्जा गरेर इजरायलीले आफ्नो देश बनाउँदै र विस्तार गर्दै लगिरहेको छ। विगत ६०-६५ वर्षको दौरानका तथ्यहरूले के स्पष्ट गरिसकेको छ भने त्यस क्षेत्रमा प्यालेस्टिनीहरूको भूमि जति सङ्कुचित भएको छ, त्यसको तुलनामा इजरायली भूमि निरन्तर विस्तार हुँदै गएको छ। शक्तिको आडमा कुनै पनि देशले अर्को देशको भूमि कब्जा गरी विस्तार गर्छ भने त्यसको प्रतिरक्षाका निम्ति सङ्घर्ष गर्नु कुनै पनि दृष्टिबाट गलत मान्न सकिन्न। एक्काइसौं शताब्दीको वर्तमान अवस्थामा आइपुग्दा पनि कुनै एउटा देशले आफ्नो स्वतन्त्रता र अस्तित्वलाई अर्को कुनै देशको नियन्त्रण र निगाहसँग साट्न बाध्य छ भने त्योभन्दा ठुलो कुरा त बरु सङ्घर्षको बलिवेदीमा आफ्नो जीवन समर्पण गर्नु हुन्छ होला। आज यही क्रूर यथार्थबीच गाजाक्षेत्रका प्यालेस्टाइनीहरू बाँचिरहेका छन्।
स्मरणीय छ, गाजामा प्यालेस्टाइनीहरूको आफ्नै सरकार भए पनि रक्षा, वैदेशिक सम्बन्ध र प्राकृतिक स्रोतको परिचालनमा इजरायलको प्रत्यक्ष प्रभाव छ। गाजा क्षेत्रको जमिन र आकाश दुवै इजरायलीको नियन्त्रणमा छ। यस अर्थमा गाजा क्षेत्रलाई इजरायलनियन्त्रित प्यालेस्टाइनीहरूको 'खुला कारागार'का रूपमा लिन सकिन्छ। तर, इजरायलीहरू आफ्नो ठुलो सहयोग र सद्भावनाका बिच गाजा क्षेत्रबाट सदैव असुरक्षित रहेको महसुस गर्छन्। परिस्थितिले इजरायल र गाजा क्षेत्रको सरकारमा पुरातनपन्थीहरू हाबी छन्। हमास गाजा क्षेत्रलाई इजरायली नियन्त्रणबाट मुक्त गर्नुपर्ने अडानमा छ भने इजरायलीहरू 'हमासको आतंककारी गतिविधि' अन्त्य गर्नुपर्ने तर्क राख्छन्। जे होस्, दुवै पक्षका अतिवादीहरूको अडानका कारण आज गाजा क्षेत्रका हजारौँ निर्दोष मानिस मारिएका छन्, हजारौँ मानिस घाइते भएका छन् र हजारौँको अंगभंग भएको छ। लाखौ मानिस विस्थापित छन् अनि लाखौँ मानिस सम्भावित आक्रमणको भयमुनि बाँचिरहेका छन्। यो गाजा क्षेत्रको जनताका निम्ति मात्र होइन मानवता र मानवअधिकारको विषयमा वकालत गर्ने संयुक्त राष्ट्रसंघ, लोकतन्त्रका मसिहा देशहरू र सिङ्गो विश्वका निम्ति एक चुनौतीको विषय बन्नष पुगेको छ।
विगत ६०-६५ वर्षको दौरानमा प्यालेस्टाइनीहरूले आफ्नो पितृभूमिका निम्ति सङ्घर्ष गर्दा इजरायली आक्रमण भोग्नु परेको यो पहिलोपटक होइन र यो अन्तिम पनि हुनेछैन। वर्तमान इजरायली सत्ताको व्यवहार हेर्दा भविष्यमा पनि गाजाका प्यालेस्टाइनीहरूले यस्ता धेरै आक्रमण र दमनहरू भोग्नुपर्नेछ, यदि यसैगरी उनीहरूले आफ्नो सङ्घर्ष जारी राखे भने। सन् १९२४ ताका हिटलरको होलोकस्ट, ग्यास चेम्बरमा लाखौँ मानिस खासगरी यहुदीहरूलाई मारेको त्रासदीपूर्ण घटनालाई विश्वले कहिल्यै पनि बिर्सन सक्दैन। आज त्यसको ठिक विपरीत एउटा 'खुला कारागार'का रूपमा रहेको 'गाजा' माथि इजरायली बमहरू बर्सिरहेका छन्। निर्दोष नागरिक र बालबालिका भकाभक मरिरहेका छन्। यो कुरा मानवअधिकार, स्वतन्त्रता र न्यायको दृष्टिबाट कुनै पनि हालतमा स्वीकार्य हुनसक्दैन। सायद यो मानवताविरुद्धको घटनालाई पनि विश्व इतिहासले आफ्नो रेकर्डमा राखिराख्नेछ।

No comments:

Post a Comment