विवेका गुरुङ
देशको सबैभन्दा सानो राज्यहरूमा एक सिक्किम, आफ्नो सुन्दर पर्यावरण अनि शान्तिपूर्ण परिवेशले गर्दा प्रसिद्ध छ। मेरो जीवनकालको २१ वर्षमा, मैले मेरो राज्यलाई एउटा शान्त जीव जस्तो पाएको छु, जसको अङ्गहरूले सधैँ यो सन्तुलन बनाई राख्दछ। तर यो शान्त चित्र हालैको कतिपय घटनाहरूले धमिलिएको छ। यो सब शुरू भयो, जून १०, २०१४, जब नयाँ भर्ना शुरू हुन गई रहेको थियो, अनि १२ पास गरेको विद्यार्थीहरूले सिक्किम सरकारी महाविद्यालयमा भर्ना गर्न खोजिरहेका थिए। सिक्किम सरकारी महाविद्यालय गान्तोक साथै पूरा सिक्किमकोनै नामी अनि पुरानो महाविद्यालय भएकोले सिक्किमका सबै क्षेत्रको विद्यार्थीहरूले यही महाविद्यालयमा उच्च शिक्षा आर्जन गर्न रूचाउँछन्। तर यसपालि तिनीहरूलाई अर्कै कुराले पर्खी रहेका थिए- प्रशासनले यसपालि देखि सेमेस्टर अनि परीक्षा शुल्कमा वृद्धि गर्ने भए। श्रोताहरूले भने अनुसार भर्ना शुल्क रू ३७० देखि रू १४०० बनाइएको थियो भने परीक्षा शुल्क रू ६०० देखि रू ८००० बनाउने घोषणा गरिएको थियो, यो वृद्धि निश्चयनै निकै ज्यादा थियो। वाणिज्य अनि विज्ञानका विद्यार्थीहरूले त फीस दिएर भर्ना गरिसकेका थिए, तर कला विभागका विद्यार्थीहरू भने कसरी प्रशासनले कुनै सूचना बिना यसरी फीस वृद्धि गरे भनेर आतुर थिए। एक विद्यार्थीले भने अनुसार तिनीहरूले फीस वृद्धिको खबर भर्नाको दुई दिन अघि मात्र पाएको थियो। विद्यार्थीहरूलाई फीसमा वृद्धिले निकै गहिरो धक्का पर्न गयो, किनकि महाविद्यालयमा विद्यार्थीलाई बस्ने प्रबन्ध छैन, प्रायः विद्यार्थीहरू अरू तीन जिल्लाबाट आएको हुनाले तिनीहरू प्राइभेट हस्टेल अथवा किरायामा घर लिएर बस्न पर्छ। यसो हुदा महाविद्यालयले विद्यार्थीहरूलाई सूचना दिनु पर्ने थियो जसमा कि तिनीहरूले आफ्नो खर्च मिलाउँन सकोस्। सोझो भाषामा भन्न पर्दा सबै विद्यार्थीहरू वृद्धि भएको फिस तिर्न सक्षम थिएनन्। विश्वको अन्य समझदार मानिसहरू झैँ विद्यार्थीहरूले पनि किन यस्तो फिस वृद्धि भयो, भनी जान्नलाई प्रशासन समक्ष जाने निर्णय गरे। प्रशासनको सोझो उत्तर थियो- फिस वृद्धि भयो महाविद्यालयको बिल्डिंगहरू राम्रो बनाउनलाई, तर यसको असल तर्क दिन नसक्दा, विद्यार्थीहरूले प्रशासनलाई अझ जोर दिएर घच-घचाउदा, प्रशासनले एच.आर.डी.डी (Human Resource Development Department) कार्यालय जाने सुझाउ दिए। अब एच.आर.डी.डी कार्यालयमा के भयो त्यसको अर्कै कथा छ। श्री थोमस सिंडीले यस मन्त्रालयको कार्यभार सम्हाल्दै थिए, किनकि मन्त्री टि.बि. सुब्बा, मुख्य-मन्त्री पवन चामलिंगसँग दिल्ली भ्रमणमा थिए। विद्यार्थीहरूले घण्टौ उनको कार्यालय अघि प्रतीक्षा गरे तापनि उनले यस विषय माथि केही भन्न सकेनन्। त्यसैले विद्यार्थीहरू अब अरू केही उपाय नरहदा एक जुट भई सडकमा उत्रिए, यो एउटा शान्तिपूर्ण प्रतिवाद थियो, जसको मांग फिस वृद्धि फिर्ता लिने थियो।
यति सम्म पनि प्रशासनबाट केही उत्तर नपाउँदा विद्यार्थीहरूले आफ्नो आवाज अझ दह्रिलो गर्ने निधो गरे। १४ जुलाई २०१४को कुरा हो, जब विद्यार्थीहरूले धेरै पर्खिसकेका थिए अनि तिनीहरूले आफ्नो विरोध महाविद्यालय देखि बाहिर लैजान सोँचे। विद्यार्थीहरूले राज्यको एकमात्र राजमार्ग बन्द गरिदिए अनि जब सम्म तिनीहरूको मांगहरू पूरा गरिन्दैन तब सम्म तिनीहरूले विरोध प्रदर्शनी यथावत् राख्ने भए। आई.पि.एस मनोज तिवारी अनि सदर थाना गान्तोकको इन-चार्जको नेतृत्वमा जब पुलिसकर्मीहरू घटना स्थलमा पुगे तब परिस्थिति अझ बिग्रियो। त्यस पछि जे भयो त्यो बन्न गयो प्रमुख कारण जसले राजधानीलाई विपत्ति तर्फ लग्यो। पुलिसकर्मीहरूले अचानक विरोध प्रदर्शन गर्दै गरेका विद्यार्थीहरू माथि लाठी प्रहार गरे, म आफै एक समाज शास्त्री भएको नाताले पुलिसको यो कार्यवाही गलत थियो भन्न सक्छु। त्यस दिन पुलिसले विद्यार्थीहरू माथि निर्मम लट्ठी बर्साए, धेरै विद्यार्थीहरूलाई अस्पताल भर्ना गर्न पऱ्यो, कतिले त आफ्नो हड्डी समेत भाँच्नु पऱ्यो। त्यस मध्ये, एक छात्राको घाउ निकै गम्भीर थियो जसले आफ्नो शिरमा चोट खाएकी थिइन्। जुन नीति पुलिस अनि प्रशासनले यो प्रतिवाद दबाउनलाई लिए त्यो दमनकारी थियो, अनि तिनीहरूले आफ्नो शक्ति अविवेकी अनि असंवैधानिक तौरमा चलाए। पुलिसको कर्तुत कतिको लज्जास्पद थियो त्यो अझ पनि इन्टरनेटमा भएको विडियोहरूमा हेर्न सकिन्छ। विडियो हेर्दा यो प्रश्न आउछ कि के विद्यार्थीहरू आतङ्कवादी थिए, जो सँग यस्तो बर्बरतासाथ व्यवहार गरियो?
त्यो रात आगो बल्यो, जनता आक्रोशित भए, अब मुद्दा फिस वृद्धि नभएर पुलिसको बर्बर अत्याचार भयो। जनता यस विरुद्ध सङ्गठित हुन थाले। यो विरोध तीन स्तरको थियो। पहिलो विद्यार्थीहरूको फिस वृद्धि विरुद्ध प्रतिवाद, त्यस पश्चात् अस्थायी कर्मचारीहरूको विरोध, जुन विरोध धेरै अघि देखि चल्दै आएको छ, अनि अन्तमा जनताको विरोध जसले पुलिस अनि प्रशासनको बर्बर कार्यवाहीलाई ठिक मानेनन्। यो विरोध बढ्दै गयो अनि शान्त जनता तीक्ष्ण काँड भए। विद्यार्थीहरूले घटना सम्बन्धित पुलिस कर्मीहरूको राजीनामा अनि लिखित रूपमा माफी माग्ने मांग गरे। राजमार्ग अझ बन्द नै थियो किनकि विद्यार्थीहरूको कुनै पनि मांग पूरा गरिएको थिएन। अतः १६ जुलाईमा विद्यार्थीहरूको एउटा टोली जसमा पूर्व विद्यार्थीहरू पनि थिए, एच.आर.डी.डी कार्यालय गए, अन्य विद्यार्थीहरू अझ सडकमा प्रतिवाद गरिरहेका थिए। अब स्थिति जनता बनाम सरकारको प्रशासनिक कार्यवाही थियो। अनि सिक्किमको सबै जनताले यसमा सहयोग पुर्याए, कसैले खबर कागजमा लेख लेखे भने कसै अझ उग्र भए।
यो पनि खबर आयो कि विपक्षी दलहरूले पनि यसलाई समर्थन दिए, तर यो कतिको सहयोगी भयो त्यो भन्न गाह्रो छ। १६ जुलाई पनि त्यतिकै बित्यो, तर विद्यार्थीहरू माझ कुनै लिखित एवं स्पष्ट बयान सरकार तर्फबाट आएन। सरकारले सबै शैक्षिक संस्थानहरू १ अगस्त सम्म बन्द रहने घोषणा गऱ्यो, सरकारले यसो गर्न पछिको कारण विद्यार्थीहरूलाई आन्दोलनमा रहेको असामाजिक तत्वहरू देखि बचाउन बताए। तर यसले प्रशासनिक निर्णयलाई अझ पर धकेलिदियो। १७ जुलाईमा जनताको भिड शान्त थियो, पुलिस कर्मीहरू सतर्क थिए, थुप्रै गाडीहरूमा आइ.आर.बि. (Indian Reserve Battalion) महाविद्यालय अघि तैनात थियो। अनि पहिलेको विरोध प्रदर्शनीमा रहेका विद्यार्थी एवं जनताहरूलाई पुलिसले गिरफ्तार गर्दै थिए। राज्य सरकारले केन्द्रीय सरकारलाई पठाएको प्रतिवेदन जसमा विद्यार्थी आन्दोलन पछि माओवादी सङ्गठनहरू रहेको बताइएको थियो, त्यो सबै भन्दा अचम्भित हुने कुरा थियो। अनि त्यस पछि खबर आयो कि फिस वृद्धि फिर्ता लिइएको छ अनि सबै सरकारी शैक्षिक संस्थानहरूमा शिक्षा प्राथमिक स्तर देखि कलेज स्तर सम्म निःशुल्क गरिने घोषणा गरिएको छ। दुवै मुख्य पुलिस कर्मीहरूलाई अर्कै ठाउँमा सारिएको छ। तर मुख्य प्रश्न यो रहन्छ कि के सरकारले उठाएको यो कदमले आउँदो दिनहरूमा यस्तो घटना फेरी नघट्ने सुनिश्चित गर्छ? आउँदो दिनहरूमा के सरकारका अधिकारीहरूले अमानवीय व्यवहार गर्न अघि सोँच्छन् होला? निश्चय नै यस्तो हुने छैन। प्रतिवाद अझ सकिएको छैन अनि यस प्रतिवाद वाद अझ धेरै कुरा निस्कने छन्। अनि सबैभन्दा ठुलो कुरा त यो प्रतिवादले यो स्पष्ट पारिदियो कि जनता निष्क्रिय छैन, अनि निष्क्रिय नहुनु शान्तिपूर्ण निष्क्रियता हुनु भन्दा त राम्रो नै हो।
मार्क्सले भन्नु भएको छ कि-“समाजमा द्वन्द अवश्यम्भावी हुन्छ जसले समाजलाई अन्त्यमा अझै एकजुट हुन सिकाउछ, अनि विद्ध्यार्थीहरूद्वारा गरिएको विरोध यसको सर्वोत्तम उदाहरण हो।”
No comments:
Post a Comment